» » छिन्नमस्ता मन्दिरमा विद्यादेवी


सप्तरी, कात्तिक ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय छिन्नमस्ता गाविसमा रहेको छिन्नमस्ता भगवती मन्दिरमा आज विशेष पूजापाठ गर्नुभएको छ ।

उहाँले मन्दिर परिसरमा रहेका शिव, नारायण तथा हनुमान मन्दिरमा पनि पूजाअर्चना गर्नुभयो । सो अवसरमा राष्ट्रपतिद्वारा मन्दिरका पीठाधीश महाकान्त
ठाकुरबाट टीका र प्रसाद ग्रहणसमेत गर्नुभयो ।

मन्दिरको पूजापछि राष्ट्रपति भण्डारीले मन्दिर परिसरमा राष्ट्रिय शान्ति मानवकल्याण हेतु नेपालमा प्रथम पटक हुन लागेको एक हजार आठ लक्ष्यचण्डी रुद्रमहायज्ञको मण्डप शिलान्यास समेत गर्नुभयो ।

आगामी चैत १६ गतेदेखि सो महायज्ञ सुरु हुने रुद्रमहायज्ञ समितिले जनाएको छ ।

 पूजापछि छिन्नमस्ता मन्दिर परिसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले धार्मिक, साँस्कृतिक र जातीय विविधताले भरिपूर्ण नेपालका प्रत्येक नागरिक कुनै पनि भेदभाव नराखी शान्ति एवम् मानवकल्याणमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले दुई दशकदेखि मुलुकमा विद्यमान अस्थिरता, भेदभाव र द्वन्द्वले कसैलाई हित नहुने हँुदा त्यसलाई त्यागी सबैले विकासको बाटो अपनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले मन्दिरमा आफूले देशमा शान्ति र सबैको कल्याणको कामना गर्दै आराधना गरेको जानकारी दिनुभयो ।

 “छिन्नमस्ता भगवती मन्दिरको आफ्नै ऐतिहासिक तथा पौराणिक महत्व छ, यसको विकासका लागि स्थानीय निकाय र सरकारले यथाशीघ्र पहल गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

समारोहमा मन्दिरका पीठाधीश ठाकुर र छिन्नमसता गाविसका पूर्वअध्यक्ष सत्यनारायण यादवले राष्ट्रपतिको स्वागत गर्दै अभिनन्दनपत्र पनि चढाउनुभएको थियो ।
विश्वका शक्तिपीठमध्ये ५२ औँ शक्तिपीठका रुपमा छिन्नमस्ता मन्दिर रहेको मन्दिरलाईसरकारले २०६५ सालमा शक्तिपीठ घोषणा गरेको पीठाधीश ठाकुरले जानकारी दिनुभयो ।

विसं २०६५ मा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवका उपस्थितिमा पूर्वाञ्चलको १६ जिल्लाका विविध सम्मेलनमा जगत्गुरु बालसन्तले छिन्नमस्ता भगवती मन्दिरलाई शक्तिपीठ घोषणा गरेको बताइएको छ ।

पीठाधीश ठाकुरका अनुसार करिब एक हजार वर्ष अगाडि राजा शक्रसिंहले जङ्गलमा सिकार खेल्ने क्रममा पोखरे गुफाबाट छिन्नमस्तादेवीको मूर्ति फेला पारेपछि सामान्य मन्दिरका रुपमा स्थापना गर्नुभएकामा २०३९ सालमा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्रले हवाईजहाज यात्रामा दुर्घटनाबाट जोगिएको खुसियालीमा भगवतीको पक्की मन्दिर अझ ठूलो आकारमा बनाउनुभएको थियो ।


सो मन्दिर अन्तर्गत १४ बिघा जमिन छ । मन्दिर परिसरमा पोखरी र विभिन्न देवीदेवताका मन्दिर समेत निर्माण गरिएको छ । मन्दिरमा दर्शन गरेपछि भाकल पूरा हुने जनविश्वास छ ।

यहाँ मासिक रुपमा नेपाल र भारतका हजारौँ भक्तजन दर्शन र पूजापाठ गर्नका लागि आउने गरेका छन् । यहाँ दैनिक खसी बोका र परेवाको बलि दिने गरिँदै आएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..