» » महन्थ ठाकुरकै ड्राइभरले गरेका थिए खुर्सानीको धुलो छर्केर चोरी


काठमाडौं ११, असोज – तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही पिडाडी ३ घर भई पेप्सीकोला बस्ने रन्जितप्रसाद गुप्ता र महोत्तरी मेघनाथ घोरन्ना घर भई पेप्सिकोला बस्ने परमानन्द भन्ने प्रचण्ड प्रताप सिंह रहेका छन् । पक्राउ परेकामध्ये गुप्ता तमलोपा अध्यक्ष ठाकुरका पूर्व ड्राइभर हुन् ।

तमलोपा अध्यक्ष ठाकुरको घरबाट ब्रिफकेस चोरेर भागेकाहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । गत भदौ २४ गते साँझ ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुरको आँखामा खुर्सानीका धुलो हालेर सानोठिमीस्थित घरमा चोरी भएको थियो । चोरहरुले ठाकुरलाई कुखुरी हानेका थिए, जसबाट उनको हातमा चोट लागेको थियो ।

महाशाखाका डीएसपी रमेश थापाका अनुसार गत असोजदेखि फागुनसम्म ठाकुरका सवारी चालकका रुपमा उनले काम गरेका थिए । ‘घरमा काम गर्ने अन्य व्यक्तिसँग सम्बन्ध राम्रो नभएपछि गुप्तालाई हटाइएको रहेछ,’ डीएसपी थापाले भने, ‘उनकै योजना चोरी भएको पाइयो ।’

अर्का अभियुक्त सिंह पनि जागिरको लागि पटक पटक ठाकुर कहाँ पुगेका थिए । जसका कारण उनीहरुलाई घरको अवस्थितिबारे जानकारी थियो ।

प्रहरीका अनुसार बाहिरको ढोका पनि खुल्ला देखेपछि उनीहरु सिधै कोठामा पुगेर सोफामा भएको ब्रिफकेस बोकेर भागेका थिए । त्यसक्रममा ठाकुरकी छोरी मिनाक्षीले देखेपछि खुर्सानीको धुलो हानेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनीहरुले चोरी गर्नु दुईदिन अघिदेखि नै घरको रेकी गरेका थिए । र, २३ गते पनि चोरी गर्ने योजनासहित पुगे पनि सफल हुन नसकेपछि दोस्रो दिन अर्थात २४ गते फेरि पुगेका थिए ।
 
चोरी भएको ब्रिफकेसमा ५० हजार जति मात्रै पैसा भएको तमलोपा अध्यक्ष ठाकुरले प्रहरीसमक्ष बताएका छन् । अपराध महाशाखाको टोलीले गुप्तालाई काठमाडौं काँडाघारी र सिंहलाई ललितपुरबाट पक्राउ गरेको हो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..