बर्दिया, भदौ २५ गते । मयुरबस्तीका २६ कृषकले तरकारी खेतीबाट जीविकापार्जन गर्दै आएका छन् ।
बढ्दो बेरोजगारी र आत्मनिर्भर बन्न चाहने इच्छाले हिजोआज स्थानीय कृषक व्यावसायिक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् ।
घट्दो उत्पादन अनि बढ्दो जनसङ्ख्याका कारण खेतीपातीमा रुमल्लिने कृषकका लागि तरकारी खेती आयआर्जनको विकल्पका रुपमा रहेको छ ।
विसं २०६५ देखि परम्परागत रुपले तरकारी खेती थालेका उनीहरुले सञ्चालन गरेको मिलन सहकारीको समन्वयमा २०७० देखि सक्षम जनजाति तरकारी उत्पादन कृषक समूह गठन गरी सामूहिक तरकारी खेती सुरु गरेका हुन् ।
समूहले गरेको प्रगति देखेर साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले सामूहिक तरकारी खेतीका लागि रु आठ लाख अनुदान समेत दिएको छ ।
यस्तो सहयोग पाएपछि एकै वर्षमा रु २७ लाख ४८ हजार ४७७ आम्दानी गर्न सफल भएको समूहका सचिव भीमबहादुर चौधरीले बताउनुभयो ।
त्यस्तै विभिन्न सङ्घसस्था, जिल्ला कृषि विकास कार्यालय लगायतबाट समेत बीउबिजन र प्रविधिक सहयोग प्राप्त भएपछि आम्दानीमा समेत वृद्धि भइरहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख परशुराम रावतले बताउनुभयो ।
No comments: