» » » दिल्ली अपडेट: प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा


प्रधानमन्त्री प्रचण्डको पत्रकार सम्मेलन
नयाँदिल्ली, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको बताउनुभएको छ । 

नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आज आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले अब नेपाल र भारतबीच नयाँ सम्बन्धको सुरुवात भएको र त्यसले दीर्घकालीन महत्व राख्ने बताउनुभयो । 

उहाँले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विषयमा खुलेर कुराकानी भएको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले भारतीय प्रधानमन्त्रीसँग खुलेर दिलदेखि नै कुरा गरँे । म भ्रमणबाट पूर्ण सन्तुष्ट छु । यसले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । मैले विश्वास लिएको छु, भ्रमण पूर्णरुपमा सफल भएको छ ।” 

संविधान लेखन प्रक्रियादेखि नै असन्तुष्टि जनाउँदै आएका पक्षसँगको सहमतिमा नै नेपालको संविधान संशोधन प्रक्रिया अगाडि बढाउने उहाँको कथन थियो । प्रधानमन्त्रीले भन्नुभयो, “सबैको सहमतिमा सर्वमान्य तवरले संविधान संशोधन हुन्छ । त्यो प्रक्रिया ऐतिहासिक हुन्छ भन्ने मेरो ठहर छ ।”

नेपालको संविधान सहजरुपमा कार्यान्वयन हुने प्रक्रियामा अगाडि बढेको र नेपालको आन्तरिक विषय आन्तरिक तवरबाटै हल गर्न आफू र आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको कथन थियो । 

नेपालको समग्र विषय भारतले विशेष प्राथमिकतामा राखेको र नेपालप्रति आपसी हित र चासोमा विशेष ध्यान दिएको भन्दै प्रधानमन्त्रीले साझा चासो र हितमा एकआपसमा मिलेर काम गरिने उल्लेख गर्नुभयो । 

नेपालको जलविद्युत् विकास, भौतिक पूर्वाधार एवम् पर्यटनका क्षेत्रमा उल्लेखनीय रुपमा सहयोग गर्न भारत सरकार तयार रहेको भन्दै प्रधानमन्त्रीले संविधानको कार्यान्वयनसँगै आर्थिक समुन्नतिको दिशामा अगाडि बढाउन वर्तमान सरकार प्रतिबद्ध रहेको र त्यसमा भारतको पूर्ण सहयोग रहने बताउनुभयो । 

लामो समयदेखि रोकिँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना, अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई गति दिन भारत सरकार सहमत भएको भन्दै प्रधानमन्त्रीले हुलाकी सडक, सीमा सुरक्षालगायत विषयमा महत्वपूर्ण सहमति एवम् समझदारी भएको बताउनुभयो । 

नेपाल लगानीका लागि उपयुक्त गन्तव्य रहेको सन्दर्भमा भारतीय लगानीकर्ता तथा उद्योगी व्यवसायीलाई लगानीका लागि आफूले आग्रह गरेको जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले यसबाट आर्थिक समृद्धिको मार्गसमेत प्रशस्त भएको उल्लेख गर्नुभयो । 

भारतीय पक्ष निर्माणाधीन आयोजनालाई दु्रतरुपमा अगाडि बढाउन सहमत भएको भन्दै प्रधानमन्त्रीले ऊर्जा, रेल सञ्जाल र सडक सञ्जालको विकास प्रक्रियाले समेत गतिलिने स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री दाहालले समकक्षी प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह, उद्योगी व्यवसायी, पत्रकार लगायतसँग महत्वपूर्ण छलफल भएको र द्विपक्षीय हित तथा चासोका बारेमा विचार विमर्श भएको बताउनुभयो । 

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र सचिव शङ्करदास बैरागी लगायतको सहभागिता रहेको थियो । 

प्रधानमन्त्री आफ्नो चारदिने राजकीय भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते भारत प्रस्थान गर्नुभएको थियो । 

प्रधानमन्त्री दाहाललाई भारत सरकारले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड र सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता
नयाँ दिल्ली, १ असोज । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच आज भेटवार्ता भएको छ । 

भेटवार्तामा दुई देशको सम्बन्ध, सुरक्षा चासो र आपसी हितका विविध आयामका बारेमा छलफल भएको थियो । 

नेपाल र भारत असल मित्र भएकाले एकअर्काको चासोलाई सम्बोधन गर्ने र आपसी हितका विषयमा प्रधानमन्त्री दाहाल र राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । 

प्रम प्रचण्डद्वारा नाथ्पा झाँक्री आयोजना अवलोकन
नयाँदिल्ली, १ असोज । भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज हिमाञ्चल प्रदेशमा रहेको नाथ्पा झाँक्री जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ । 

प्रधानमन्त्री दाहाल सो आयोजनाको अवलोकनका लागि चण्डीगढ विमानस्थल हुँदै आयोजनास्थल पुग्नुभएको थियो । प्रधानमन्त्री दाहालको स्वागतमा सडकका दायाँबायाँ नेपाल–भारत सम्बन्ध अमर रहोस् लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । 

कुल एक हजार ५०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजना भारतको अग्रणी जलविद्युत् आयोजनामा पर्दछ । स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्रीले उक्त आयोजनाको निर्माणको कौशल र सीपलाई नेपालले अनुशरण गरेर जलविद्युत् क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो । 

आयोजनाका प्राविधिक तथा प्रतिनिधिले परियोजनाका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भौतिक पूर्वाधारको विकासका क्षेत्रमा उक्त आयोजना एक विशिष्ठ आयोजनामध्ये एक रहेको र नेपालले त्यसबाट धेरै सिक्न सक्ने जानकारी दिनुभयो । 

आयोजनाको स्थलगत अवलोकनमा जानुभएका नेकपा ९माओवादी केन्द्र०का सांसद टेकबहादुर बस्नेतले उक्त आयोजना भौतिक पूर्वाधारको अनुकरणीय नमुना रहेको बताउनुभयो । 

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले पनि आयोजना र त्यसको सीप एवम् प्राविधिक पक्ष नेपालले सिक्नुपर्ने खालको रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री सिंहबीच भेटवार्ता
नयाँदिल्ली, १ असोज । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहबीच भेटावार्ता भएको छ । 

राष्ट्रपति भवनमा आज साँझ भएको भेटवार्तामा दुई पक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो । 

भेटमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री लेखक, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालको सहभागिता रहेको थियो ।


प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री सिंहबीच भेटवार्ता

नयाँदिल्ली, १ असोज । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । 

राष्ट्रपति भवनमा आज साँझ भएको भेटवार्तामा दुई पक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री दाहाल र गृहमन्त्री सिंहबीच एक अर्काको हित तथा सीमापार आतङ्कवाद नियन्त्रणलगायतका विषयमा छलफल भएको थियो । 

भेटमा परराष्ट्र मन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालको उपस्थिति रहेको थियो ।

परराष्ट्रमन्त्रीको पत्रकार सम्मेलन
नयाँ दिल्ली १ असोज । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताउनुभएको छ ।

भारत भ्रमणबारे जानकारी दिन उहाँले आज एक होटलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भन्नुभयो, “सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य थियो, त्यसमा हामी सफल भयौँ ।” 

भारत सरकार, राजनीतिक दल र जनताको तहमा पनि प्रधानमन्त्रीको भ्रमणबाट उच्च उत्साह देखिएको आफूले महसुस गरेको उल्लेख गर्दै मन्त्री डा महतले यस भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ थपेको जिकिर गर्नुभयो । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित भएको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै उहाँले दुई देशबीचका सबै विषयमा खुलेर छलफल भएको र त्यसले आगामी दिनमा सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो । 

विगतमा भएका सम्झौता एवम् प्रतिबद्धतालाई निश्चित समय सीमाभित्र कार्यान्वयनमा ल्याइने र त्यसका लागि दुई देशबीचमा भएका मन्त्री, सचिव एवम् प्राविधिकस्तरीय संयन्त्रलाई क्रियाशील गराउने प्रतिबद्धता व्यक्त गरिएकाले पनि आगामी दिनमा विकासको विषयले प्राथमिकता पाउने बताउनुभयो । 

उहाँले द्विपक्षीय छलफलमा एक एक गरेर आपसी हितका विषयमा छलफल भएकाले कार्यान्वयनको पाटोले थप उत्साह थपिएको बताउनुभयो । परराष्ट्रमन्त्री डा महतले भन्नुभयो, “भारत सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको एक विलियन डलरमध्ये ७५० मिलियन डलर सहुलियत ऋण र बाँकी अनुदान छ, सहुलियत ऋणको सेवा र सामग्री ७५ प्रतिशत भारतको हुनुपर्ने व्यवस्था थियो, त्यसलाई हटाएर सहज बनाउने सहमति भएको छ ।” 

उहाँका अनुसार ढल्केबरमा सबस्टेसन बनाउने कुरामा सहयोग गर्ने, तराई हुलाकी राजमार्गमा दोस्रो चरणको महत्वपूर्ण आयोजनामा सहुलियत ऋण दिने र ४०० केभी टान्समिसन लाइन गोरखपुर– बुटवललाई पनि अगाडि बढाउने सहमति भएको छ । 

पञ्चेश्वर आयोजना अगाडि बढाइने र विद्युत् व्यापारमा सहज पहुँचलाई पनि द्विपक्षीय मन्त्रिस्तरीय संयन्त्रले त्यसलाई टुङ्ग्याउने सहमति भएको छ । सीमा सुरक्षाका सन्दर्भमा थप सहजीकरण गर्ने, थप नाका खोल्ने, सिँचाइ आयोजना, लिङ्क रोडलाई विकसित गर्ने, रेल्वे लिंकलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्ने विषयमा कुरा अगाडि बढाइएको छ । 

संविधानका विषयमा भारत सरकारले पहिले नै स्वागत गरेको उल्लेख गर्दै मन्त्री डा महतले लोकतन्त्रको सुदृढीकरणमा जाने प्रक्रियालाई सराहना गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–“नेपाली जनताले संविधानसभा मार्फत संविधान निर्माण गर्ने ऐतिहासिक काम भयो, त्यसलाई अझै विकसित गर्ने र कतिपय मागलाई सम्बोधन गर्ने सरकारको पहललाई पनि सरकारात्मक रुपमा भारतले लिएको छ, त्यसकारण संविधानको विषयमा कुनै समस्या छैन ।” 

द्विपक्षीय छलफलका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानका विषयमा भन्नुभएको विषय उल्लेख गर्दै डा महतले भन्नुभयो– “संविधान नेपालको आन्तरिक विषय हो, त्यस विषयमा जे भएको छ, मेरो केही भन्नु छैन ।” 

उहाँले विगतका कुराभन्दा पनि भविष्यप्रति केन्द्रित भएर दुई देशबीचको सम्बन्धलाई विकासको जगमा मजबुत पार्ने र दुई देशका विषयलाई दुवै देशका जनताका हितमा अधिकतम प्रयोग गर्ने गरी कार्यान्वनलाई अगाडि बढाउने स्पष्ट बाटो लिइएको बताउनुभयो । 

नेपाल र भारतको संयुक्त विज्ञप्ति

नयाँदिल्ली, ३१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका अवसरमा दुवै सरकार दुई देशबीचको सम्बन्ध सुधार गर्नका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न सहमत भएको छ । 

दुवै देशका सरकार प्रमुखबीचको छलफलपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपाल– भारतको बहुपक्षीय सहकार्य, निकट र सौहाद्र सम्बन्ध विस्तार गर्नका लागि उच्चस्तरीय भ्रमण आदानप्रदान गर्न लागिएको उल्लेख गरिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाल भ्रमणको निम्तो दिनुभएकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ भने नेपालबाट भारत भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डललाई न्यानो आतिथ्यता दिएकाप्रति प्रधानमन्त्री दाहालले आभार प्रकट गर्नुभएको छ । 

दुई देश र जनताबीचको सम्बन्ध परापूर्वदेखि नै गहिरो तथा अतुलनीय मित्रताको जगमा संस्कृति तथा सभ्यतामा रहेको उल्लेख गर्दै जारी विज्ञप्तिमा दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन विद्यमान संरचनालाई महत्वका साथ अगाडि बढाउने उल्लेख गरिएको छ । 

दुवै देशका प्रधानमन्त्री दुई देशबीचको सम्बन्धलाई अझै गहिरो बनाएर दुई देशबीचका जनताको हितमा प्रयोग गर्न सहमत भएको उल्लेख गरिएको छ । उहाँहरुबीच दुई देशका निकायलाई नियमित तवरले निर्देशन दिएर विगतका निर्णयलाई कार्यान्वयनमा लैजाने सहमति गर्नुभएको छ । 

दुई देशका प्रधानमन्त्रीले उपक्षेत्रीय सहकार्यका लागि सहमति जनाउँदै दुवै सरकारले यसको अनुसन्धान गर्ने र विशेषगरी व्यापार, पारवहन, कनेक्टिभिटी र ऊर्जाका विषयलाई प्राथमिकता दिइएको छ । उहाँहरु सार्क र बिमेस्टेक परिधिमा रहेका र क्षेत्रीय सहकार्यलाई महत्वकासाथ अगाडि बढाउने विषयमा सहमत हुनुभएको उल्लेख गरिएको छ । 

उहाँहरु दुई देशबीचको प्रबुद्ध समूहको बैठक सन् २०१६ मै गर्ने र त्यस समूहले नेपाल र भारतबीचको सम्बन्धका विषयमा स्वतन्त्र तवरले बहुपक्षीय सम्बन्धको विकास गर्न थप सहयोग गर्न सुझाव दिने अपेक्षा गरिएको छ । 

गत साल गएको विनाशकारी भूकम्पका समयमा भारतले पु¥याएको एक बिलियन अमेरिकी डलर ९रु एक खर्ब०सहयोगप्रति नेपाल सरकार र नेपाली जनताले आभार व्यक्त गरेको उल्लेख गरिएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा दुईपक्ष सहमत भएका परियोजनालाई कार्यान्वयन गर्ने भूकम्पपछि दिने भनिएको रु तीन लाख अनुदानलाई थप सहयोग गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ । 

संविधान जारी भएको गत वर्ष गणतान्त्रिक नेपालको ऐतिहासिक क्षण भएको उल्लेख गरिएको छ । उक्त संविधानमा सबैको अपनत्व हुनेगरी कार्यान्वयनमा लैजान सफल होस् भन्ने नेपाल सरकारलाई भारत सरकारले कामना गर्दै जारी प्रक्रिया पूरा हुने अपेक्षा गरेकोे छ । 

संयुक्त राष्ट्र सङ्घका विषयमा अन्तर्राष्ट्रिय समान धारणा राख्न तथा विकासोन्मुख देशका लागि एकहुने उल्लेख गरिएको छ । त्यसैगरी नेपालले संयुक्त राष्ट्र सङ्घ ,सुरक्षा परिषद्मा नेपालले सहयोग गर्ने बताइएको छ । 

दुई देशका प्रधानमन्त्रीबीच एकीकृत रुपमा संयुक्त चेकपोस्ट निर्माणको छिटो प्रक्रिया सुरु गर्ने, जसले जनता र वस्तुको आवागमनलाई सहज र छिटो हुने विश्वास लिइएको सम्झौतामा उल्लेख छ । 

रक्सौल–वीरगन्ज र विराटनगर–जोगवनीमा एकीकृत संयुक्त चेकपोस्ट निर्माणलाई तीव्रता दिने तथा नेपालगन्ज र भैरहवा नाकाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्ने उल्लेख छ । 

यसैगरी जयनगर–बिजलपुर–बर्दिवास र जोगवनी–विराटनगर नेपाल–भारत सीमा रेलमार्ग परियोजनाको हालसम्मको प्रगतिबारे दुवै प्रधानमन्त्रीले समीक्षा गर्दै यसको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको छ । 

नेपालगन्ज–नेपालगन्जरोड, काँकडभिट्टा–नयाँ लपाइगुरी, भइरहवा–नउतन्वाबीच दुई देशको सीमा रेलमार्ग रेलमार्गको निर्माणको सुरुवात गर्न दुवै पक्ष सहमत भएका छन् । 

मुजफपुर–ढल्केबर विद्युत् प्रसारण लाइनलाई पूर्ण क्षमतायुक्त रुपमा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन दुवै देशका प्रधानमन्त्रीले सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभयो । 

डिसेम्बर २०१६ सम्म कटैया–कुसाहा र रक्सौल–परवानीपुर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गर्ने र दुई देशबीचको विद्युत् बिस्तारलाई पूर्णता दिने, दुवै देशका प्रधानमन्त्रीले दुई देशबीच विद्युत् जडानसम्बन्धी क्रस बोर्डर गुरुयोजना २०३५ र विद्युत् व्यापारको कार्ययोजना २०२५ को तयारीप्रति सन्तोष प्रकट गर्नुभएको उल्लेख छ । 

दुवै देशका प्रधानमन्त्रीले प्रमुख हाइड्रोपावर प्रोजेक्ट पञ्चेश्वर, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायत परियोजनालाई समयमै कार्यान्वयन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन निर्माण सम्बन्धी गत अगस्ट २०१५मा भएको सम्झौताको स्वागत गर्दे निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिईएको उल्लेख छ ।

भारतीय विजनेशम्यानसँग प्रधानमन्त्री प्रचण्ड

नयाँ दिल्ली, भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानी कर्ताका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउनुभएको छ । 

यहाँस्थित होटल ताजमा आज नेपाली र भारतीय व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली तथा भारतीय लगानीकर्तालाई नेपाली कानुनले समान व्यवहार गरेकाले लगानी बढाउन अनुरोध गर्नुभएको हो । 

प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपाली तथा भारतीय लगानीलाई कुनै पनि भेदभाव हुँदैन । तपाईहरु ढुक्क भएर नेपालमा लगानी गर्नुहोस् ।” 

उहाँले राजनीतिक स्थायित्व भएपछि समृद्धि नेपालको मुद्दा भएको र त्यसतर्फ नेपाल अगाडि बढेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल सुरक्षित लगानी गन्तव्य हो भारतीय लगानीका लागि सबैभन्दा राम्रो लगानीको स्थान नेपाल बन्न सक्छ । उहाँले नेपाल सानो देश हो, तर नेपालमा लगानीको थुप्रै सम्भावना छ ।” प्रधानमन्त्री दाहालले भारतीय लगानी कर्तालाई पूर्णरुपमा सुरक्षा दिने विश्वास दिलाउनुभयो । 

त्यसैगरी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कुल व्यापारको ६५ प्रतिशत भारतसँगको व्यापार रहेको उल्लेख गर्दै उहाँले बजारमा लगानी पनि आवश्यक छ भन्नुभयो । 

उहाँले दुई देशबीचको व्यापार ग्यापलाई पनि कम गर्नका लागि भारतीय लगानी कर्ताले नेपालमा लगानी गर्नुपर्ने बताउनुभयो । डा महतले नेपालमा जलविद्युत्, जडीबुटी एवम् कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुहँुदै त्यसतर्फ ध्यान दिन अनुरोध गर्नुभयो । नेपालले अपनाएको उदार नीतिबाट नेपाल विश्वकै उपयुक्त लगानी गन्तव्य भएको उहाँको भनाइ थियो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले नेपाल र भारतीय व्यापारी तथा उद्योगीको सम्बन्ध सदियौँ पुरानो र मजबुद रहेकाले दुई देशका उद्योगी मिलेर नेपालको विकास गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले नेपाल लगानीका लागि उपयुक्त स्थान भएको प्रष्ट पार्नुभयो । 

सो कार्यक्रममा भारतीय लगानीकर्ताका तर्फबाट एससी अग्रवालले प्रधानमन्त्री दाहालले नेपालमा लगानीका लागि विश्वास दिलाएको प्रति खुसी व्यक्त गर्दै त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले नेपाल लगानीका लागि अवरोधभन्दा पनि पुलका रुपमा रहेकाले विश्वासको वातावरण बनेको उल्लेख गर्नु भयो । 

कार्यक्रममा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा रहेका लगानीका अवसरबारेमा भारतीय व्यापारी समुदायलाई जानकारी गराउनुभएको थियो ।


राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट
नयाँ दिल्ली, ३१ भदौ । भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

भारतीय राष्ट्रपति भवनमा आज भएको सो भेटमा दुवै मुलुकको आपसीहित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । सो अवसरमा निकट भविष्यमा हुने भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका बारेमा समेत कुराकानी भएको थियो । भेटमा दुवै मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो । 

यसअघि प्रधानमन्त्री दाहालले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक भेटवार्ता गर्नुभएको थियो ।


भारतीय अर्थमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट

नयाँ दिल्ली, भदौ । भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका अर्थमन्त्री अरुण जेटलीबीच आज भएको भेटमा नेपालको आर्थिक विकास र विकासका पूर्वाधारमा भारतको सहयोग सम्बन्धमा छलफल भएको छ । 

आजै यसअघि प्रधानमन्त्री दाहालसँग भारतीय जनता पार्टीका महासचिव राम माधव र नेपाल मामिलाका जानकार एसडी मुनिले पनि भेटवार्ता गर्नुभएको थियो । 
यसपछि प्रधानमन्त्री दाहालसँग भारतीय ऊर्जामन्त्री पियुष गोयलले भेटवार्ता गर्दै हुनुहुन्छ । आजै प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गर्ने कार्यतालिका छ ।



भारतसँग तीनबुँदे समझदारी

नयाँदिल्ली, भदौ । भारत सरकारले नेपालको तराई क्षेत्रको सडक स्तरोन्नति तथा सुधारका लागि परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने राजकीय भ्रमणको क्रममा भएको तीन बुँदे समझदारीपत्रमा उक्त परामर्श सेवा उपलब्ध गराउने सहमति भएको हो । 

यस्तै, भूकम्पपछिको पुनःनिर्माणका लागि पहिलो संशोधनीय डलर ऋण सुविधा उपलब्ध गराउने विषयमा अर्को समझदारी भएको छ । 

भूकम्पपछिको पुनःनिर्माणका लागि ७५ करोड अमेरिकी डलरको ऋण सुविधा उपलब्ध गराउने नयाँ सम्झौता पनि भएको छ ।


मोदी र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन
नयाँ दिल्ली भदौ । । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृृत्वको सरकार भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी हित अभिवृद्धिमा प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा विद्यमान सम्भाव्यताबाट दुवै मुलुकले लाभ लिनुपर्ने बताउनुभएको छ । 

भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा दुवै मुलुकको दिगो आर्थिक विकासका लागि आपसी साझेदारी आवश्यक रहेकामा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो – “विकासका लागि शान्ति र राजनीतिक स्थिरता आवश्यक छ ।” 

प्रधानमन्त्री दाहालले दुवै मुलुकका प्रतिनिधिमण्डलबीच पञ्चेस्वर बहुउद्देश्यीय परियोजना अघि बढाउन विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० हुलाकी सडक, विद्युत् प्रसारण लाइन सम्झौता रेलवे सेवा, जलविद्युत् परियोजना सम्बन्धमा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण छलफल भएको बताउनुभयो । 

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा रहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले दुवै मुलुकबीच हुने उच्चस्तरको राजनीतिक भ्रमणले सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निकट भविष्यमै भारतका राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण हुने अपेक्षा पनि गर्नुभयो । 

भारतको आर्थिक विकासबाट नेपालले प्रेरणा लिने बताउँदै उहाँले आर्थिक समृद्धिका लागि व्यापार र पारवहन सम्पर्क सञ्जाल आवश्यक रहेकामा जोड दिनुभयो ।

मोदी र प्रचण्डबीच भेटवार्ता
नयाँदिल्ली, । भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता सुरु भएको छ । 

दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउस पुग्नुभएका प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गर्नुभएको छ । 

आजै दुईपक्षबीच आपसी सम्बन्ध विस्तार र दुई पक्षीय हितका बारेमा वार्ता र सहमतिपत्रमा हस्ताक्षर तथा संयुक्त पत्रकार सम्मेलन हुने बताइएको छ ।

प्रधानमन्त्री दाहाल आजै भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गर्ने कार्यतालिका छ । 



प्रधानमन्त्री प्रचण्डसँग स्वराजको भेट
नयाँदिल्ली, भदौ । भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

भारतीय राष्ट्रपति भवनमा आज भएको सो भेटमा दुवै मुलुकको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको थियो । 

भेटमा परराष्ट्र मन्त्री डा प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकसमेत सहभागी हुनुहुन्थ्यो । 

यसअघि प्रधानमन्त्री दाहालले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गर्नुभएको थियो । आजै प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम छ ।


प्रधानमन्त्री प्रचण्डद्धारा गान्धी समाधिमा पुष्पहार अर्पण
नयाँदिल्ली, । भारतको चारदिने राजकीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गर्नुभएको छ । 

प्रधानमन्त्री दाहालले आज गान्धीको समाधिमा फूलगुच्छा अर्पण गर्नुका साथै त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको छ । भारतीय राष्ट्रपति भवनमा आयोजना गरिएको विशेष समारोहपछि प्रधानमन्त्री दाहाल राजघाट जानुभएको हो । 

भारतको औपचारिक भ्रमणमा जाने विदेशी राष्ट्रप्रमुख एवम् सरकार प्रमुखबाट गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने चलन रहँदै आएको छ । भारतको स्वतन्त्रता आन्दोलनका नेतृत्वकर्ता गान्धीको सम्मानमा समाधिस्थल बनाइएको हो । 

आजै, प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यतालिका छ ।

प्रधानमन्त्री प्रचण्डद्धारा  ‘गार्ड अफ अनर’ ग्रहण
नयाँदिल्ली, भदौ । भारतको चारदिने राजकीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले ‘गार्ड अफ अनर’ ग्रहण गर्नुभएको छ । 

भारतीय राष्ट्रपति भवनमा आज विहान आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री दाहाललाई उक्त सम्मानमा भारतीय सेनाको विशेष टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहालसँग हात मिलाउनुका साथै नेपाली प्रतिनिधिण्डलसँग परिचय गर्नुभएको थियो । 

प्रधानमन्त्री दाहाल केहीबेरमा महात्मा गान्धी समाधिस्थल राजघाट जाने कार्यक्रम रहेको छ । आज दिनभर उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुनुभएको छ । आजै, प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ । 

बिहीबार नयाँ दिल्ली आउनुभएका प्रधानमन्त्री दाहाललाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल, उहाँकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा रहनुभएको छ । 

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सांसदलगायत हुनुहुन्छ ।

प्रचण्डको भेटघाट 
नयाँ दिल्ली भदौ । चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतका राष्ट्रपति प्रणव मुखर्जीदेखि लिएर समकक्षी नरेन्द्र मोदीसँग महत्वपूर्ण भेटवार्ता गर्नुहुनेछ । 

उहाँले आज भेटघाट एवम् द्विपक्षीय वार्ता गर्नुका साथै महत्वपूर्ण सम्झौता हुने पनि कार्यक्रम रहेको छ । यहाँस्थित भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालका अनुसार महत्वपूर्ण भेटघाटका क्रममा दुई देश बीचको हितका विषयमा कुराकानी हुनेछ । 

प्रधानमन्त्रीको कार्यतालिकाअनुसार राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुनेछ भने उहाँले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । 

त्यसपछि प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपतिसँगको भेटवार्तालगत्तै उहाँले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकारका वरिष्ठ मन्त्री एवम् पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ ।

भारतमा प्रचण्ड व्यस्त
नयाँ दिल्ली भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार यहाँका विभिन्न राजनीतिक दलका नेता एवम् यहाँस्थित नेपाली प्रवासीसँग अन्तक्र्रिया गर्नुभयो । 

भेटघाट तथा अन्तक्र्रियाका क्रममा उहाँले नेपाल–भारत सम्बन्धका विविध आयाम एवम् द्विपक्षीय हितका विषयमा कुराकानी गर्नुभएको हो । प्रधानमन्त्री दाहालले नेपाली जनता र आफ्नो मुलुकको हितका लागि आफू निरन्तर सङ्घर्ष गरिरहने यहाँस्थित नेपालीलाई विश्वास दिलाउनुभयो । 

बिहीबार प्रधानमन्त्री दाहालले यहाँस्थित नेपाली राजदूतावासमा भारत विहारका मुख्यमन्त्री नितिशकुमार एवम् यहाँका विभिन्न राजनीतिक दलका नेतासँग छलफल गर्नुभएको हो । 

प्रधानमन्त्री दाहालको प्रतिनिधिमण्डलमा रहनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले यहाँका प्रवासी नेपाली तथा राजनीतिक दलका नेतासँग भेटघाट भएको जानकारी दिनुभयो । 

प्रधानमन्त्री भारत आएदेखि नै भएका भेटघाटका विषयमा जानकारी दिँदै परराष्ट्रमन्त्री डा महतले भन्नुभयो, “प्रधानमन्त्रीलाई भेट्ने विभिन्न राजनीतिक दलका नेताहरु नेपालका पुराना मित्र हुनुहुन्छ, नेपालको लोकतान्त्रिक आन्दोलनदेखि हालसम्म नै सघाउँदै आउनुभएको थियो ।” 

उहाँले नेपालको लोकतान्त्रिक पद्धति अझ राम्रो होस् भन्ने विश्वास राख्ने नेतासँग भएको भेटमा द्विपक्षीय हितका विषयमा कुरा गर्नुभएको बताउनुभयो । नेपालका सन्दर्भमा प्रधानमन्त्री दाहालले नेपालमा लोकतान्त्रिक संविधान जारी भएको र त्यसमा भएका कतिपय समस्याहरु बाँकी छन् तीनलाई आन्तरिक प्रक्रियाबाटै समाधान गर्ने बताउनुभएको परराष्ट्रमन्त्री डा महतले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “नेपालको आन्तरिक मामिला हामी आफँैले समाधान गर्न हामी प्रयासरत छौँ र समाधान निकाल्छौँ ।” 

मुख्यमन्त्री नितिशकुमारले प्रधानमन्त्रीलाई अर्को पटक भारत भ्रमणमा आउँदा विहार, पटना, बोधगया आउन प्रधानमन्त्री दाहाललाई निम्तो दिनुभयो । उहाँले विहारका विषयमा आफूले प्रधानमन्त्री दाहालसँग छफफल गरेको पनि बताउनुभयो । 

उत्तर विहारमा आउने नेपाली नदी, सुरक्षा एवम् डुबानका विषय नेपाल र भारतका साझा मुद्दा भएका बताउँदै मुख्यमन्त्री नितिशकुमारले सबैका बारेमा आफूले छलफल गरेको बताउनुभयो । 
नेपाल र भारतबीच लामो सिमाना भारतको पनि एक हिस्सा भएको र दुई देशबीचका जनताको सम्बन्ध दुई देशको नाताभन्दा पनि यो अरू स्वाभाविक सम्बन्ध भएको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्रीसँग भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, नेसनललिस्ट काँग्रेसका महासचिव डिपी त्रिपाठी, जनता दल युनाइटेडका नेता शरद यादव लगायतका नेताले राजदूतावासमा भेट गर्नुभएको थियो । 

प्रवासी नेपालीको गुनासो, बैंक खातासम्म खोल्न पाइएन 

भेटघाटका क्रममा वर्षौं एवम् पुस्ताँैदेखि भारतमा रहेका नेपालीले आफ्ना दैनिक समस्यादेखि यहाँका सरकारसँग गर्नुपर्ने पहलका विषयमा प्रधानमन्त्री दाहालसँग समाधानका लागि अनुरोध गरेका छन् । 

रासन कार्डदेखि लिएर मतदानको अधिकारसम्म नेपालीले नपाएकामा त्यस विषयमा पहल गरिदिन आफ्ना प्रधानमन्त्रीसँग गुनासो गरेका हुन् । त्यसैगरी, उनीहरुले नेपालमा जारी भएको संविधानमा पनि आफ्नो अधिकार आवश्यक भएको भन्दै अब बन्ने संसद्मा आफूहरुको प्रतिनिधित्वको माग गरे । 

विगत लामो समयदेखि भारत बस्दै आउनुभएका मोहन कार्कीले सञ्चारमाध्यममा आउने समाचारका कारणले यहाँको प्रशासनले नेपालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । उहाँले भन्नुभयो, “पछिल्लो समयमा यहाँका प्रहरी, प्रशासन हामीमाथि अफेन्सिभ ९आक्रामक० तवरले प्रस्तुत हुन्छन्, त्यसले गर्दा आफ्नो दैनिकीमा पनि समस्या भोग्नु परेको छ ।” 

बोर्डरको समस्या, पेन्सन, बैंकमा खाता खोल्ने समस्या छ, प्रत्येक गणतान्त्रिक सरकारलाई आफूले अनुरोध गरेपनि भारत प्रवासको समस्या समाधान नभएको गुनासो विगत ४५ वर्षदेखि भारतमा बस्दै आउनुभएका रघुनाथ ज्ञवालीको छ । 

भारतीय सरकारी एवम् गैरसरकारी कार्यालयमा कार्यरत नेपालीको पेन्सन भारतको सिमानाका बैंकसम्म मात्र जाने गर्दछ, नेपालभित्रका बैंकमा पठाइँदैन, त्यसले गर्दा पेन्सन तथा तलब बुझ्न नेपालीले दुःख भोग्नु परेको उहाँहरुको गुनासो थियो ।

नयाँ दिल्ली भदौ ३१ गते ।
आज प्रचण्ड र मोदीबीच यी विषयमा हुन्छ कुराकानी
-पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना विवरणलाई अन्तिम रूप दिइने, जो वर्षौंदेखि रोकिएको छ 
-महाकाली नदी र गण्डक नहरमा सिँचाइ परियोजना 
-ढल्केबर–मुजफ्फर प्रसारण लाइनको क्षमता अभिवृद्धि, 
-हेटौँडामा विद्युत् सबस्टेसन स्थापना 
-गोरखपुर–भैरहवा प्रसारण लाइन
-बंगलादेशबाट पारवहन सुविधा गर्ने विषयमा पनि छलफल हुने 
-विभिन्न क्षेत्रमा भारतीय लगानी आकर्षित गर्ने विषय
-नेपाली कृषिजन्य उत्पादनलाई भारतमा लैजान सहजीकरण 
-ऊर्जा व्यापार सम्झौताको प्रोटोकल 
-गौरीफन्टा नाकाको स्तरोन्नति 
-कास्कीको ढिकुरपोखरीमा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना 
-दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा पनि छलफल 
-हुलाकी राजमार्गको दोस्रो चरण निर्माण 
-एकीकृत जाँच चौकीहरू निर्माण 
-नेपालको व्यापार घाटा कम गर्ने विषय 
-नेपाल प्रहरी एकेडेमी निर्माण 

दूतावासमा रात्रीभोज
नयाँ दिल्ली, । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालको सम्मानमा आज दिल्लीस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको छ । 

उक्त रात्रिभोजमा भारत सरकारका उच्चपदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता एवम् कूटनीतिक नियोगका प्रमुखको सहभागिता थियो । 

सो अवसरमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने रहेको बताउँदै यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप विस्तार गरेको छ भन्नुभयो । 

नेपाल–भारत सम्बन्ध राजनीतिक, ऐतिहासिक, सांस्कृतिक एवम् जनस्तरमा अत्यन्त महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो – दुई देशबीचको यस्तो सम्बन्धले दुबै देशका जनताको भाग्य तथा आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने छ । 


उहाँले गत वर्षको भूकम्पमा भारत र भारतीय जनताले पु¥याएको सहयोग र सहानुभूतिप्रति आभार पनि व्यक्त गर्नुभयो । 
विहारका मुख्यमन्त्री नितिशकुमार र प्रचण्डबीच भेट
नयाँ दिल्ली, । प्रधानमन्त्री पुष्पकमल दाहाल र विहारका मुख्यमन्त्री नितिशकुमारबीच नेपाल र भारतको विहार राज्यसँगको सम्बन्ध सुमधुर बनाउने विषयमा छलफल भएको छ । 


नेपाली दूतावास नयाँ दिल्लीमा प्रधानमन्त्री दाहाललाई भेट्न आउनुभएका मुख्यमन्त्री नितिशबीच करिब एक घण्टा भएको छलफलमा नेपालको दक्षिणी सीमा जोडिएको सबैभन्दा ठूलो भूभाग विहारमा पर्ने भएकाले सम्बन्ध थप मजबुत बनाउने विषयमा कुराकानी भएको हो । 



प्रधानमन्त्री दाहालले नेपाल र भारतको विहार राज्यबीचको आपसी र मैत्री सम्बन्ध अरुहरुका लागि समेत अनुकरणीय छ भन्दै सीमा क्षेत्रमा देखिने असहज अवस्थालाई मिलेर समाधान गर्नुपर्नेमा छलफल भएको बताउनुभयो । नेपाली र विहारी समुदायबीचको सम्बन्ध स्वाभाविक छ भन्दै प्रधानमन्त्रीले कुनै समस्या रहे त्यसलाई आपसी संवादका माध्यमबाट हटाउन सकिने बताउनुभयो । 



विहार र नेपाली समुदायबीचको सम्बन्ध जनता जनताबीचको सम्बन्ध रहेको र आत्मीय रहेको बताउँदै मुख्यमन्त्री नितिशले उक्त सम्बन्धलाई थप प्रगाढ, मैत्री एवम् भावनात्मक बनाउनुपर्नेमा जोड दिनुभयो । भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री नितिशले राष्ट्रिय विषयमा प्रधानमन्त्री तहमा नै कुरा हुने भए पनि असल छिमेकीको हैसियतले प्रधानमन्त्री दाहालसँग खुलेर छलफल भएको जानकारी दिनुभयो । 

मुख्यमन्त्रीले प्रधानमन्त्री दाहाललाई विहार राज्यको भ्रमणको निम्तो समेत दिनुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारीले जानकारी दिनुभयो ।


शरद यादवसँग प्रचण्डको भेट
नयाँ दिल्ली, । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र जनता दल (युनाइटेड) का अध्यक्ष शरद यादवबीच भेटवार्ता भएको छ । 

यहाँ आज भएको भेटवार्तामा आपसी हित, दुई देशको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारीले जानकारी दिनुभयो । 

नेपाली समुदायसँग प्रधानमन्त्री
नयाँ दिल्ली, । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको कार्यान्वयनको प्रक्रिया सुरु भएको बताउनुभएको छ ।

नेपाली दूतावास नयाँ दिल्लीले यहाँ आज आयोजना गरेको नेपाली समुदायसँगको अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान र सङ्घीयताको कार्यान्वयनको प्रक्रियाले गति लिएको र त्यसका लागि आफ्नो नेतृत्वको सरकारले विशेष पहल गरिरहेको बताउनुभयो ।

संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि सबै पक्षसँगको सहमतिलाई आफूले विशेष जोड दिएको र केही सफलता हात लागेको पनि उल्लेख गर्नुभयो ।

संविधानको सर्वस्वीकार्यता बढाउनका लागि आफूले सक्दो पहल गरिरहेको र असन्तुष्टको मागलाई समेत निकट भविष्यमा नै सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ थियो । संविधान मुलुकको साझा दस्तावेज भएकाले सबै पक्षको भावनालाई सम्बोधन गर्नु र उनीहरुलाई साथै लिएर जानुपर्ने आवश्यकता रहेको उहाँले स्पष्ट पार्नुभयो ।

शान्ति प्रक्रियाका बाँकी रहेका विषयलाई सम्बोधन गर्ने प्रयासमा आफू रहेको जानकारी दिँदै प्रधानमन्त्रीले प्रवासी नेपाली समुदायको भावनालाई सम्मान गर्दै उनीहरुलाई मुलुक निर्माणको महाअभियानमा साथै लिएर जान तयार रहेको बताउनुभयो । उहाँले संविधानको कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको र त्यसलाई अगाडि बढाउन प्रवासी नेपालीको पनि प्रमुख दायित्व रहने भएकाले सरकारसँग मिलेर काम गर्न आग्रह गर्नुभयो ।


सो अवसरमा मूल प्रवाह अखिल भारत–नेपाली एकता समाज, प्रवासी नेपाली सङ्घ भारत, अखिल भारत–नेपाली एकता मञ्च, जनसम्पर्क समिति भारत लगायत प्रतिनिधिले सीमा क्षेत्रमा नेपालीले भोग्नु समस्या, बैंक तथा वित्तीय संस्थामा नेपाली समुदायले भोग्नुपरेको व्यवधान लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीले प्रवासी नेपाली समुदायको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने र भारत सरकारसँग नेपालीको समस्याबारे कुराकानी गर्ने विश्वास दिलाउनुभएको थियो । 


अखिल भारत नेपाली एकता समाजको कार्यक्रम
नयाँ दिल्ली, । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको परिवर्तनका लागि प्रवासी नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आज आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको परिवर्तनको प्रक्रियामा प्रवासी नेपाली समुदायको भूमिकालाई सरकारले उच्च मूल्याङ्कन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली समुदाय जहाँ रहे पनि नेपालको हितमा नै काम गर्दै आएको छ । राजनीतिक परिवर्तनमा प्रवासी समुदायको भूमिका महत्वपूर्ण र उल्लेखनीय छ । अब मुलुकको आर्थिक विकास र समृद्धिका लागि पनि प्रवासी समुदायको भूमिका प्रभावकारी हुनुपर्छ ।”


अन्तक्र्रियामा सहभागी मञ्चका अध्यक्ष ईश्वरी भण्डारीका अनुसार प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल–भारत सम्बन्धका बारेमा जानकारी गराउनुभएको थियो । यसैबीच अखिल भारत नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई व्यापार सहजीकरण, दुई देशको सम्बन्ध लगायत विषयमा १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा
नयाँदिल्ली, । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका क्रममा केही बेरअघि यहाँ आइपुग्नुभयो ।

प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभयो ।

प्रधानमन्त्रीको स्वागतार्थ विमानस्थलमा यहाँस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, भारतको विदेश मन्त्रालयका उच्च अधिकारी तथा नेपाली दूतावासका अधिकृत उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्य परराष्ट्रमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सांसदलगायतलाई उहाँहरूले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री दाहाल, उहाँकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा रहनुहुनेछ ।

प्रधानमन्त्री दाहालले आज अपराह्न यहाँस्थित नेपाली समुदायसँग नेपाली राजदूतावासमा छलफल गर्ने कार्यक्रम छ । आजै साँझ प्रधानमन्त्री दाहाल आफ्नो सम्मानमा आयोजना हुने स्वागत समारोहमा सरिक हुनुहुनेछ ।


प्रतिनिधिमण्डलका अन्य सदस्य पनि दुवै समारोहमा सहभागी हुने कार्यक्रम छ ।


प्रधानमन्त्री भारत प्रस्थान

काठमाडौँ, भदौ ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

उहाँका साथमा प्रधानमन्त्री दाहालका पत्नी सीता दाहाल, भ्रमण दलमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक पनि प्रस्थान गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, मुख्य सचिव, सरकारका उच्चपदस्थ अधिकृत तीनवटै सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गर्नुभएको थियो ।

सो अवसरमा उहाँलाई सांसद तथा नेकपा ९माओवादी केन्द्र०का नेता तथा कार्यकर्ताले पनि बिदाइ गर्नुभएको थियो । सोही अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री दाहालको सम्मानमा सम्मान गारथ अर्पण गरेको थियो ।

नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति प्रणव मुखर्जीका राजकीय पाहुनाका रुपमा राष्ट्रपति भवनमा बस्नुहुने छ । प्रधानमन्त्री दाहालले भोलि शुक्रबार आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठकमा भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।

सोही दिन प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्नुहुने छ । राष्ट्रपति भवनमा भोलि नै आयोजना हुने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुने कार्यक्रम रहेको छ । भोलि बिहान प्रधानमन्त्री दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री दाहाल भारतको मैत्रीपूर्ण राजकीय भ्रमण पूरा गरी आगामी असोज २ गते स्वदेश फर्कनु हुनेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..