» » एमाले नेता शंकर पोखरेल विरुद्ध साइबर क्राइमको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार


काठमाडौं भाद्र २२ गते । रंगभेदी ट्विट गरेर मधेशी समुदायको अपमान गरेका नेकपा एमाले नेता शंकर पोखरेल विरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीले आज महानगरिय प्रहरी परिसर टेकुमा साइबर क्राइम अन्तर्गत एमाले नेता पोखरेल विरुद्ध दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको हो ।

एमाले नेता पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार जाहेरी दर्ता गर्न सुवेदी नेतृत्वको टोली टेकु पुगेको थियो । ‘हामी जाहेरी दर्ता गर्न सक्दैनौं, अब तपाईहरुले के गर्नु हुन्छ तपाईहरुको मर्जी’– सुवेदीले प्रहरीको प्रतिक्रिया सुनाउनुभयो ।

गम्भीर मुद्दालाई कमजोर बताउँदै जाहेरी दर्ता गर्नबाट जोगिन प्रहरीले कुतर्क गरेको सुवेदीले आरोप लगाउनुभयो ।

‘शंकर पोखरेल विरुद्धको जाहेरी दर्ता गर्न प्रहरीले सीधै अस्वीकार गर्यो’– जाहेरी दर्ता गर्न टेकु पुगेका युवा फोरमका उपमहासचिव सुवेदीले भन्नुभयोे,– ‘हामी पुग्नु अघिदेखि नै प्रहरी दबाबमा देखिन्थ्यो सायद उहाँहरुमाथि राजनीतिक प्रेसर हुनुपर्छ ।’

एमालेको दबाबले पोखरेललाई जोगाउन प्रहरीले उजूरी दर्ता गर्न नमानेको सुवेदीको आरोप छ । उहाँले भन्नुभयो, ‘रंगभेद विश्वबाट अन्त्य भइसक्दा पोखरेलले सिङ्गो मधेशी समुदायलाई कालो भन्दै सार्वजनिक ट्विट गर्दा पनि प्रहरीले जाहेरी दर्ता नगर्नु कानूनी राज्यको अपहेलना हो’– सुवेदीले भन्नुभयोे ।

परमादेशका लागि अदालत जाने
एमाले नेता शंकर पोखरेल विरुद्धको जाहेरी बुधबार प्रहरीले दर्ता गर्न नमानेपछि परमादेशका लागि अदालत जाने उजूरीकर्ता दुर्गामणि सुवेदीले बताउनुभयो ।
‘न्यायका लागि अदालतको ढोका जहिले नि खुल्ला हुन्छ, परमादेशका लागि अब हामी अदालत जान्छौं’– सुवेदीले भन्नुभयो ।

अदालतको परमादेशपछि जाहेरी दर्ता गर्न प्रहरी बाध्य हुने उहाँले बताउनुभयो ।

संघीय समाजवादी फोरम नेपालको युवा संगठन युवा फोरमले पोखरेललाई पाँच वर्ष कैद सजायको मागसहित जाहेरी दिएको हो ।

एमाले नेता पोखरेलले मंगलबार ‘मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ’, भनेर ट्विट गरेका थिए । चौतर्फी विरोध र आलोचना भएपछि पोखरेलले ट्विट डिलिट गरेका थिए ।

युवा फोरमका उपमहासचिव सुवेदीले नेता पोखरेलले रंगभेदी चरित्र प्रदर्शन गरेको र मधेसी समुदायको स्वाभिमानमा चोट पु¥याएको बताउनुभयो ।

‘एमालेको सचिव जस्तो परिपक्व नेताले मधेस आन्दोलित भइरहेका बेला दिएको यस्तो रंगभेदी, जातिभेदी र साम्प्रदायिक अभिव्यक्ति मुलुकको अखण्डता र राष्ट्रियताको विरुद्धमा छ’, सुवेदीले भन्नुभयो, ‘यस्ता साम्प्रदायिक व्यक्तिहरुलाई कानूनी कारबाही हुनुपर्छ ।’

विद्युतिय कारोबार ऐनको उक्त दफामा ‘कम्प्युटर, इन्टरनेट विद्युतीय संचारमाध्यममा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्वका सामग्री वा कसैप्रति घूणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन तथा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई १ लाखसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनेछ’, भनि उल्लेख छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..