» » मधेशवादी दललाई कालो दिवस मनाउने अधिकार छैन


–सुरेशकुमार यादव
गत वर्ष सविधान जारी भएको असोज ३ गतेको दिनलाई सरकारले सविधान दिवस राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेसँगै संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि असोज ३ गतेको दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय भदौ १९ गते गर्यो जब कि त्यसअघि नै सरकारले दुई गतेदेखि तीन गतेसम्म सविधान दिवस मनाउने निर्णय गरीसकेको थियो ।

मधेशी मोर्चा र संघीय गठबन्धनले कालो  दिवस मनाउन निर्णय गर्दा के के नाटक गरे त्यसको कथा बेग्लैछ । कथा सुन्दा र पढ्दा मधेशी जनतालाई लज्जित बनाउने खालको छ ।

सरकारले ३ गतेका दिनलाई दिवसको रुपमा तीन दिनसम्म मनाउने सरकारको घोषणाको नक्कल गर्दै मधेशी मोर्चा र गठबन्धनले पनि तीन दिन कालो दिवस मनाउने विवादस्पद निर्णय गर्यो । सविधान अपुरो र अपूर्ण रहेको कुरा जगजाहेर छ ।

यो कुरा सबैले स्वीकार गरेका छन् । यहाँसम्म कि मधेशप्रति कडा देखिएका एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले पनि यो सविधान पूर्ण छैन, काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि त्यसै भनिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले पनि सविधान पूर्ण छैन संशोधनको आवश्यकता रहेको भनिरहेका छन् ।

तर, के पूर्ण छ, के अपूर्ण छ, कहाँ कहाँ कति संशोधन गर्नुपर्छ त्यसको मापदण्ड आआफ्नो होला तर मधेशी मोर्चा तथा गठबन्धनका कतिपय नेताहरुले यसलाई पुनर्लेखन नै गर्नुपर्ने भनिरहेका छन् । सविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर आन्दोलन गरिरहेका छन् । यहाँसम्म कि सविधान संशोधनको दिनलाई कालो दिवसको रुपमा मनाउने र ब्ल्याक आउट गर्ने जस्ता निर्णय पनि गरेका छन् जो यी मधेशवादी दलका नेताहरुलाई सुहाउँदैनन् ।

उनीहरुले एकातिर सविधानलाई स्वीकार गर्दै सविधान तहत विभिन्न गतिविधि गरिरहेका छन् भने अर्कोतिर त्यही सविधानको विरोध गर्दै चलाउने र च्यात्ने कुरा गरिरहेका छन्, मधेशी मोर्चाको यो दहोरो चरित्र भएन र ?

पहिलो कुराः नयाँ सविधान अनुसार सञ्चालित व्यवस्थापिका संसदमा रहेर त्यसको सबै सेवा सुविधा उपभोग गरिरहेका छन् । अर्कोतिर सविधानको विरोध पनि गरिरहेका छन् भने संसद त्याग्नु पर्ने हो कि होइन ?

दोस्रो कुराः त्यही सविधानको धारा २९८ अनुसार प्रधानमन्त्रीको चुनाव हुँदा मधेशी मोर्चाका नेताहरुले प्रधानमन्त्रीका लागि तत्कालिन काँग्रेस सभापति सुशिल कोइरालामा मत हालेका थिए । के यसलाई सविधान स्वीकार गरेको भन्ने कि नभन्ने ?

तेस्रो कुराः पछिल्लो समय यही नयाँ सविधान अनुसार प्रधानमन्त्रीको उम्मेदवारीका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समर्थनमा मधेशी मोर्चाका नेताहरुले हस्ताक्षर गरेका थिए । पक्कै पनि सविधान बाहिर रहेर प्रचण्डले उम्मेदवारी दिएका थिएनन् होला । यसलाई सविधान स्वीकार गरेको भन्ने कि नभन्ने ?

चौथो कुराः प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा मधेशी मोर्चामा आवद्ध दुई जना सांसद पनि सहभागि थिए त्यो पनि सरकारी सेवा सुविधा र खर्चमा । यो भ्रमण पनि सविधान अनुसार नै भएको हो । के यसलाई सविधान स्वीकार गरेको भन्ने कि नभन्ने ?

पाँचौ कुराः गत माघ ९ गते सविधान संशोधन भएको छ, जसलाई मधेशी मोर्चाले स्वागत गरेको छ, त्यसलाई सविधान स्वीकार गरेको मान्ने कि नमान्ने ?

छैठो कुराः गत चैत १ गते गाउपालिका, नागरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सँख्या तथा सिमाना निर्धारण आयोग गठन भयो त्यसको आधिकारिक विरोध कही कतै भएको छैन । जब कि मधेशी मोर्चाका सांसद संसदमा छन् । सविधान स्वीकार गरेको भन्ने कि भन्ने ?

सातौ कुराः असार ५ गते संसद कार्यसञ्चालन नियमवाली संसदबाट पारित। संसदीय सुनुवाई समिति गठन भयो, त्यसमा पनि कतैबाट कुनै विरोध भएन, यसमा पनि सविधान स्वीकार गरेको भन्ने कि नभन्ने ?

आठौ कुराः भदौ २३ गते भाषा आयोग र भदौ २९ गते उच्च अदालत गठन भयो । त्यसको पनि आधिकारिक विरोध कतैबाट देखिएको छैन । यसलाई सविधान स्वीकार गरेको भन्ने कि नभन्ने ? 

यस्ता दर्जनौ उदाहरणहरु छन्, जसले प्रष्ट हुन्छ कि मधेशी मोर्चाले सविधान स्वीकार गरिसका छन् । यदि त्यस्तो हो भने माग पूरा नभएसम्म सविधान अनुसार हुने कुनै पनि गतिविधिमा सहभागि नहुने त्यस प्रकारको सेवा सुविधा नलिने घोषणा गर्नुपर्यो । नभए यो दोहोरो चरित्र देखाउनु हुँदैन ।

कोही मण्डला र कोही शान्तिबाटीकामा गएर नाटक देखाउने अधिकार यी मधेशी नेताहरुलाई छैन । मधेशी जनतालाई बेवकुफ बनाएर राजनीतिक रोटी सकेर नुनतेल लगाउन पाइदैन ।

यो आज कालो दिवस मनाउने र ब्ल्याक आउट गर्ने अधिकार मधेशी जनताको छ जो यो सविधान ल्याउनका लागि पनि रगत बगाए र सविधान कार्यान्वयन गराउनमा पनि रगत बगाए तर यिनै दोहोरो चरित्र भएका नेताहरुका कारण सफल हुन सकेन । मधेशी जनता यी नेताहरुको जस्तो नयाँ सविधान अन्तर्गतको कुनै पनि सेवा सुविधा लिनेमा परेका छैन । सबै कुरालाई वहिष्कार गर्दै आएका छन् । नयाँ सविधान अनुसार कुनै पनि गतिविधि मधेशमा हुन दिइरहेका छैन ।

कालो दिवस त मधेशी जनता, मधेशी समाजका लागि मात्र हो । जो स्वतस्फूर्त काठमाडौ लगायत देशैभरि कालो दिवस मनाउँदैछन् । ब्ल्याक आउट गर्दैछन् । जो स्वागतयोग्य छ बरु यी नाटक गर्नेहरुलाई बहिष्कार गरौं ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..