» » तीन बुँदे सम्झौता कार्यान्वयन हुने मधेशी मोर्चाका नेता सशंकित


काठमाडौ भदौ २२ गते । नेपाली काँग्रेस र माओवादीसँग तीन बुँदे सम्झौता गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएको छैन ।

सहमति भएको एक महिनाभन्दा बढी भइसक्दा पनि सविधान संशोधनको विषयमा गृहकार्य समेत शुरु नहुनुले सरकारी गठबन्धनप्रति शंका उत्पन्न भएको मोर्चाका नेताहरु बताउनु हुन्छ ।

मधेशी मोर्चाका एकघटक तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सविधान संशोधन हुने कुरामा आफूलाई विश्वास नलागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, हामीसँग सहमति गरेका छ तर त्यसको केही प्रगति छैन । जहिले सोध्दा भन्छन् गृहकार्य भइरहेको छ तर के गृहकार्य भइरहेको छ केही भन्दैनन् ।’

हिजो सविधान पुनर्लेखनमा प्रादेशिक मोर्चाहरुको चासो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष ठाकुरले सरकारले सविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा लैजाने भनेको छ तर आफूहरुसँग कुनै छलफल नभएकाले सो प्रस्तावलाई स्वीकार नगर्ने बताउनुभयो ।

तीन बुँदे सहमति हुँदा सविधान संशोधन प्रस्तावमा सहमति गरेर मात्र लैजाने सत्ताधारी दलहरुले भनेका थिए तर अहिले आफू खुशी लैजाने तयारी गरिरहेको बुझिएको बताउँदै उहाँले यदि त्यस्तो हो हो भने त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो ।

संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सविधान संशोधन हुन्छ र समस्या समाधान हुन्छ भनि आफूलाई विश्वास नलागेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, विश्वास नलागेपनि आश मारेका छैनौ ।’

आदिवासी जनजाति, मधेशी, दलित र शिल्पीहरुको अनुसार सविधान ल्याउनका लागि संघर्ष नै गर्नुपर्ने उल्लेख गर्दै उहाँले सविधान संशोधन गरेर समस्या समाधान गर्ने विश्वास सरकारले कायम गर्न नसकेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, सविधानको ३०६ धारामध्ये १८० धारा विभेदकारी रहेको छ, यस अवस्थमा सविधान पुनर्लेखन बाहेक अरु कुनै विकल्प छैन ।’

यद्यपी समस्या समाधान हुनेगरि सविधान संशोधन गरेर अरु माग पछि पनि पुरा हुने विश्वास दिलाउन सकियो भने समाधानको बाटो खोज्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, अहिलेलाई यति भयो, अरु पछि गर्दै गरौला भने विश्वास हुने गरि सविधान संशोधन हुनुपर्छ ।’ तर तीन दलले समस्या समाधान नहोस् भनि चाहेको उहाँले आरोप लगाउँदै उहाँले तीन दलको रवैयाले समस्या समाधान हुन्छ भन्नेमा आफूलाई विश्वास नलागेको बताउनुभयो ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले सविधान संशोधनबाट समस्या समाधान हुने कुरा सत्ताधारी दलले विश्वास दिलाउनुपर्ने बताउनुभयो । हालसम्म सत्ताधारी दल काँग्रेस र माओवादीले सविधान संशोधन हुने कुरामा विश्वास दिलाउन नसकेको उल्लेख गर्दै उहाँले समस्याको समधान सविधान संशोधनबाहेक अरु कुनै विकल्प नरहेको बताउनुभयो ।

पहिला त सविधान संशोधनका लागि काँग्रेस र माओवादी तयार हुनुपर्यो, उहाँले भन्नुभयो, सविधान संशोधनमा एमालेले नसघाए उसको पत्ता साफ हुन्छ ।’

नागरिक समाजका अगुवा डा.सुन्दरमणी दीक्षितले पनि तीन दलमाथि विश्वास नगर्न मधेशी मोर्चाका नेताहरुलाई सुझाव दिनुभयो । समस्या समाधान हुन्छ भन्दा भन्दै पछि गएर केही हुँदैन दावी गर्दै उहाँले सविधान संशोधनका लागि दवाव दिन आन्दोलनबाहेक अरु कुनै विकल्प नरहेको धारणा राख्नुभयो ।
 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..