» » यसरी मनाईन्छ अवतारी पर्व


दिलबहादुर चौधरी

अतवारीको बारेमा तमाम कहकुट (भनाई) छ । एउटा कहकुट छ ‘द्वापर युगमा एकचोटी घुम्दैफिर्दै भेंवा (भीम) हिमालयको तराई (थारु बसोबास गरेको ठाउँ) मा आइपुगे, त्यहाँ एउटा राक्षसले थारु चेलीलाई बलात्कारको प्रयास गर्दा भेंवा (भीम) ले बचाए ।
 त्यस दिन आइतबार परेकोले वहाँको सम्झनास्वरुप आइतबार ब्रतको शुरुवात भएको हो ।’ एउटा भनाई छ कि ‘महाभारतकालमा एउटा थारु गाउँमा एउटा राक्षसले हाहाकार मच्चाएको थियो, गाउँका हरेक घरबाट दिनहुँ उसले मानिसको आहार गर्ने बेलामा एकदिन एकघरका थारुचेलीको पालो थियो, भेंवा (भीम) त्यस ठाउँमा पुगे र घरमा रुवाबासी र चिन्तित देखेर सोधेछन् र घरवालाले बेलीबिस्तार लगाएछन्, त्यस चेलीलाई भेंवा (भीम) ले बहिनी स्वीकार गरे र बचाउने बाचा गरे, राक्षस पुगेपछि त्यसको संघार गरे र बहिनीलाई बचाए ।
 त्यसबेलादेखि आइतबार ब्रत शुरु भएको हो ।’ एउटा भनाई छ कि ‘एकचोटी द्रोपतिसहित पाँच पाण्डव सुर्खेतको काक्रेबिहार घुम्न आएका थिए, थारु राजा दङ्गीशरण पाँच पाण्डवका समकालीन थिए र उनीहरुको बिचमा घनिष्ट सम्बन्ध थियो, त्यहीबेला दङ्गीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे, भेंवा (भीम) ले ती शत्रुलाई परास्त गरी दङ्गीशरणलाई सहयोग गरे, त्यस दिन आइतबार थियो, त्यहीबेलादेखि थारु समुदायमा यो ब्रतको शुरुवात भएको हो ।’

सांस्कृतिक मिसावट
धेरै इतिहासकार र बिद्वानहरुमा कसैले थारुहरुलाई किरात मानेका छन् भने कसैले निग्रेटो वा द्रविड मूलका मानेका छन् । यसरी किरात, निग्रटो वा द्रविड जे भनेपनि इतिहासकार र बिद्वानहरुको हेराईमा, बुझाईमा थारुहरु अनार्य हुन् भन्ने रहेको छ ।
आर्यहरु हिन्दकुश पर्वतश्रृङखला पार गरेर जमुनाको पश्चिमी तटसम्म कब्जा गरिसकेपछि पहाडमा बस्ने किर (किरात) जातिलाई पनि पराजित गरे । द्रविड र निग्रेटोलाई परास्त गरेपश्चात उनीहरुमाथि कतिपय आफ्नो संस्कृति लादे भने उनीहरुको कतिपय संस्कृतिलाई आफ्नो संस्कृति बनाए ।
यसरी कतिपय संस्कृति संघर्षले र कतिपय संस्कृति आपसी मेलमिलाप र सदभावले आर्य र अनार्यको संस्कृति मिश्रित हुन पुगेको देखिन्छ । यही सांस्कृतिक मिसावटले अहिले थारुहरुमा ‘हामी आर्य वा अनार्य’ भन्ने बहस पनि छ ।
तर शिव, पार्वती, बिष्णु, कुमार, हनुमान, गणेश, शीतला, आदि देवदेवी पहिले द्रविडका देवता थिए, अनार्य थिए र आर्यद्वारा गृहित भए, त्यति मात्रै होइन, देवताका सामने धूप–अगरबत्ती बाल्ने, घण्टा बजाउने, देवदेवीलाई भोग लगाउने, प्रसाद बाँड्ने काम पनि द्रविडले गर्थे, पछि आर्यले अनुकरण गरे र आफ्नो बनाए (हाम्रो समाज एक अध्ययन–जनकलाल शर्मा) ।

इतिहासकार महेश चौधरी पनि यस कुरामा सहमत छन् र यस कुरालाई आफ्नो ‘स्थविरहरुको प्राचिन इतिहास र संस्कृति’ मा बडो बिस्तृत रुपमा लेखेका छन् । उनले शाक्य, लिच्छवि, जनक, थारुहरुलाई इक्ष्वाकू बंशका मानेका छन् । यसले के प्रष्ट हुन्छ भने समयक्रममा केहि दबाब र केहि मिलापले संस्कृतिको पनि मिसावट हुन्छ । थारुहरुको हकमा पनि त्यही भएको छ ।

अतवारी कहिले पर्दछ ?
नेपालको तराईका मूलबासिन्दा आदिबासी थारुहरु बिशेषतः कृष्णाष्टमी, अतवारी ब्रत बस्छन्, जितिया, सामाचकेवा मान्छन् । कतैकतै अनन्त ब्रत पनि बस्ने गर्दछन् तर यसको त्यति ब्यापकता छैन । कृष्णाष्टमी ब्रत, अतवारी ब्रत थारुहरु किन र कहिलेदेखि बस्न थालेका हुन्, यकिन भन्न गार्हो छ । तर कृष्ण जन्म अष्टमीमा बिशेषतः कृष्णको पुजा, आराधना र अतवारीमा पाँच पाण्डवमध्ये भीम र सूर्यको पूजा, आराधना गर्छन, ब्रत बस्छन् ।

अतवारी ब्रत भाद्र शुक्ल पक्ष ९ओजरीया० को पहिलो आइतबारमा पर्दछ । यस सम्बन्धमा ttps;|/hif\.wikipedia.org/wikif| थारुहरु पहिलेदेखि भाद्र महिनाको शुक्ल पक्षको पहिलो आइतबारलाई बर्का अतवार÷अतवारी मान्ने गरेका छन्, जुन कुष्ण जन्म अष्टमीपछि पर्ने शुक्ल पक्षको पहिलो आइतबार पर्ने गर्दछ ।

अतवारी ब्रत विधि 
अतवारीका ब्रतालुहरु वा घरपरिवारले शनिबारका दिन नै तालतलैयामा माछा मार्ने, घोंघी वा गँगटो आदिको जोहो गर्छन् वा मन परेको कुनै पनि चिजको जोहो गर्छन् । राती कुखुरा बास्नु भन्दा अगावै उठेर अधरतिया÷भिन्सर्या (दर) खाने गर्दछन् । यदि खाँदाखाँदै कुखुरा बास्यो भने ब्रत भंग हुन्छ, बस्न पाउँदैनन् । यसलाई कडाईका साथ लागू गरिन्छ । साना बच्चाको हकमा भने यो लागू हुँदैन ।

बिहान घरका महिलाहरु नियमित काम सकिसकेपछि ब्रतका लागि रोटी तयार गर्दछन् । यसमा यदाकदा अन्य परिकार प्रयोगमा ल्याएपनि बिशेषतः रोटीको पकवान बनाउँछन् । बिशेषतः पकवान बनाउने ब्यक्ति पनि ब्रतालु नै हुन्छ । कहिंकहिं ब्रतालुहरु एकचोटी दोपहरमा पानीसम्म सेवन गर्छन्, अन्यथा धेरैजसो ब्रतालुहरु दुईदेखि चार बजेभित्रै (सूर्यास्त अगावै) आफूलाई पायक पर्ने खोलानाला, हेण्डपम्प आदिमा नुहाउँछन्, सफासुग्घर हुन्छन् । उनीहरु भीमको पुजा, स्मरण गर्दछन् । घरमा ब्रतालुहरु बस्ने ठाउँ गाईको गोबरले लिपपोत गरिएको हुन्छ । ब्रतालुहरु लिपपोत गरिएको ठाउँमा बस्छन् ।

उनीहरुको अगाडि सुकेको गोबरको गुइँठाको आगो राखिन्छ, धुपीसल्लाको धूलो र घिउ मिलाई तयार गरिएको धूप दिइन्छ । पकाइएका सबै परिकारहरु एक भाग ब्रतालुका लागि र अर्को भाग भीमका लागि सबैका अगाडि राखिन्छ ।

यसरी देवताका लागि राखिएको अगाडिको परिकार, देवताका लागि छुट्याइएको अगाडिको राशन अर्थात अग्रंराशन नै अग्राशन हो । यसरी सबैथोक राखिसकेपछि ब्रतालुहरु आगोमा सल्लाको धूप चढाउँछन्, त्यसपछि तयार भएका सेवन गरिने सबै परिकारहरु आगोमा अलिअलि गरी चढाउँछन्, सफा जल चढाउँछन् र देवताका लागि छुट्याइएको अग्राशन अलिकति सार्छन् र आफू सेवन गर्छन् ।

देवतालाई भोग लगाईएको यही अग्राशन चेलीबेटीलाई प्रसादको रुपमा दिन जान्छन् ।

कृष्ण जन्माष्टमीमा ब्रतको दिन बिशेषतः साँझ फलाहार हुन्छ, अन्नाहार हुँदैन, अन्न बार्ने गर्छन् भने अतवारीमा सूर्यास्त हुनु अगावै अन्नाहार हुन्छ, नून, खुर्सानी बर्जित हुन्छ ।

कृष्णाजन्माष्टमी होस् वा अतवारी होस् बिहान चाहिं अग्राशन निकालिन्छ र अन्नाहार नै गरिन्छ । तर चलनचल्तीको भाषामा धेरैले बिहानकोलाई चाहिं फलाहार नै भन्ने गर्छन् ।

टुँग्याउनीमा के भन्न सकिन्छ भने अतवारी ब्रत थारुहरुले मनाउने एक मुख्य ब्रत हो, जो प्राय थारु गाउँमा मान्ने गर्दछन् । कहिं कहिं यसलाई सूर्यको उपासनाको रुपमा पनि लिने गरेका छन् । तर थारुहरुका पुर्खा पुरनियाहरुका अनुसार महाभारतका भीम जसले हिडिम्बको संहार गरे, हकअधिकार मिच्ने, अन्याय र अत्याचार गर्ने आफ्नै सय भाई कौरबको संहार गरे र हक अधिकार प्राप्त गरे, तिनै भीमको थारुहरु पुजा आराधना गर्दछन्, ब्रत बस्छन् ।

जुन ब्रत बस्दा मनमा चिताएको फल प्राप्त हुने गर्दछ भन्ने जनविश्वास रहेको छ ।

स्रोतः थारुवान डटकम

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..