» » आजदेखि जितिया पर्व प्रारम्भ


 धनुषा, असोज ६ गते । पवित्र मानिएको जितिया पर्व धनुषासहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।

व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ चिउरा दही र अमोट ९आँपको रसबाट तयार हुने खाद्य पदार्थ० खान्छन् । आजको दिनलाई ‘नहा, खा’ अर्थात् नुहाएर खानु भनिन्छ ।

शुक्रवार बिहान ४ बजेदेखि पानी समेत नखाई उपवास बसेकी वर्तालु महिलाले शनिवार बिहान १० बजे व्रत सम्पन्न गर्नेछिन् ।

व्रतालुले आज जनकपुरधामको पवित्र जलासय गङ्गासागर, अरगजसर, धनुष सागर, गोरधोइ पोखरीलगायत पोखरी र नदीमा स्नान गरी जितमाहनको कथा सुनेर व्रतको शुभारम्भ गरियो । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन रहेको छ ।

व्रत बस्नु अघिल्लो दिन आज व्रतालुले विभिन्न जलासयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आआफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा माछ मरुवा ९कोदो० भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओठगन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ ।

प्रायःजसो महिलाले ओठगनमा च्युरा, दही खाने गरेको पाइन्छ । त्यसपछि विकट उपवासका क्रम सुरु हुन्छ । आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत विशेष विकट रहेको पण्डित लालबाबु झा बताउँछन् ।

सन्तानको दीर्घ जीवन, पुत्रप्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । पुरोहित इन्द्रकान्त झाले यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्ने बताउँछन् । पितृपक्षमा मनाइने पर्वमा महिलाले आफ्नो दिङ्वगत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने पनि व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खर जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बसेर यो व्रत सुरु भएको पौराणिक कथन छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..