» » यसरी मनाइन्छ चौरचन


–श्यामसुन्दर यादव
तराईमा आइतवार चौठचन्द्र अर्थात् चौरचन चाड मनाइँदै छ । यो चाडलाई स्थानीय भाषामा चौठीचानसमेत भनेर सम्बोधन गरिन्छ । विशेष महत्व एवम् अपार श्रद्धासाथ मनाइने चाडमध्येकोे चौरचन पनि एक हो ।

यो चाड गणेश चतुर्थीका दिन साँझ व्रतालुले आ–आफ्ना घरको आँगन तथा कौसीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर मनाउने गर्छन् । भगवान् गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक

जनविश्वास रहेको छ । कथामा उल्लेख भएअनुसार चन्द्रमालाई आफ्नो सौन्दर्यमाथि धेरै घमन्ड थियो । उनको घमन्डका कारण भगवान् गणेशबाट श्रापित भई कलंकित भएको विश्वास गरिन्छ । एकपटक गणेशको सुँड भएको रुप देखेर चन्द्रमा हाँसेर अपमानित गरेपछि उनले तिमीलाई जसले हेर्छ त्यसलाई कलंक लाग्नेछ भनी श्रापित भएको कथामा उल्लेख छ ।

चन्द्रमाको अवस्था देखेर ब्रह्माले श्रापबाट मुक्ति पाउन पूजाविधि बताउँछन् । सोहीअनुसार चन्द्रमाले गजानन गणेशको पूजा गरेपछि गणेश प्रसन्न भएर श्रापमुक्त गरिदिए । गणेशले ‘भदौको शुक्ल चतुर्थीका दिन जसले तिमीलाई हेर्नेछ उसलाई कलंक लाग्दैन, पापबाट मुक्ति पाउनेछ’ भने । यतिमात्र होइन, भदौ चतुर्थीको चन्द्रमा दर्शन गरेपछि मनोवाञ्छित फलसमेत प्राप्ति हुने गणेशले भने । यसैकारण तराईका जिल्लामा यो चाड विशेष महत्व एवम् निष्ठापूर्वक मनाउने गरिन्छ ।

यो चाड प्रारम्भमा मिथिला क्षेत्रमा मिथिला नरेशले गरेको सप्तरीका इतिहासविद् हरिकान्तलाल दासको भनाइ छ । उनकाअनुसार यो चाड विधिपूर्वक गरेपछि मिथिला नरेशलाई मनोवाञ्छित फल प्राप्त भएको थियो । यस चाडमा व्रतालु महिला दिनभरि निराहार रहेर पुरी, खीर तथा विभिन्न प्रकारका पकवान बनाउने गर्छन् ।

विभिन्न प्रकारका मिठाइका साथै दहीको विशेष अनिवार्यता रहेको छ । यस अतिरिक्त नरिवल, केरालगायत उपलब्ध फलफूलसमेत पूजासामग्रीका रुपमा राखिन्छ । कुम्हार ९कुमाले०ले बनाएको माटाको भाँडो ९वर्तन० को अनिवार्यता रहेको छ । कुम्हारले बनाएको माटाको भाँडोमा दही जमाएर चढाउने यस चाडको विशिष्टता रहेको छ ।

चाड प्रयोजनका लागि दूधलाई राम्रो तताएर छालीसमेत नलिकाले नयाँ वर्तनमा दही जमाइन्छ । नयाँ वर्तनमा दही जमाइने दही ढिक्काजस्तै हुने गरेकाले यो दही विशिष्ट मानिन्छ । चौठीचान बाबाको प्रतीकका रुपमा चन्द्रमालाई अर्घ दिनका लागि व्रतालु महिलाले पुरी तथा खीर बनाउनका लागि प्रयोग गरिने चामल निकै सावधानीपूर्वक राखिने गरिन्छ । कुटानीपिसानीसमेत पवित्रतासाथ गरिन्छ । चौरचनका लागि पुरी बनाउन जाँतोमा चामल पिँधेर पीठो बनाइन्छ ।

सोही पीठोको पुरी, पेरूकिया, खजुरिया आदि बनाइन्छ । चौरचनमा चढाइने प्रसादलाई पशुपक्षीले छोएमा वा जुठो गरिदिएमा अशुभ मानिन्छ । साथै चौरचनका लागि प्रयोग हुने प्रसादलगायतका सामग्री बच्चाले नछोओस् वा मुखमा नलियोस् यसका लागि बडो सावधानी अपनाइन्छ । पूजासामग्री बच्चा वा पशुपन्छीले जुठो गरिदिएमा चर्मरोग लाग्ने विश्वास रहेकाले अन्य चाडको तुलनामा अत्यधिक सावधानी अपनाइन्छ । साथै यो चाडमा कबुला गरेमा चर्मरोग निको हुनेसमेत जनविश्वास छ ।

मानवका लागि मात्र नभई पशुका लागि समेत पूजा गरिनु चाडको अर्को विशेषता हो । परिवारका सम्पूर्ण सदस्य तथा पशुको नामबाट समेत कौरना, छाँछ, मटकुडा, कौरनी आदिमा दही जमाएर चढाउने मान्यता रहँदै आएको छ । पशु चौपायाको नामबाट कौरनी ९माटाको वर्तन० मा दही जमाएर चढाइन्छ । सम्पूर्ण सदस्य तथा पशुको नामबाट चौठीचान्दको नामबाट पूजा गरेपछि रोगव्याधीबाट मुक्ति पाउनुका साथै समृद्धि प्राप्ति हुने जनविश्वास छ । साँझ आँगनमा माटो र गोबरले लिपपोत गरिन्छ । उक्त स्थानमा चामललाई पिँधेर बनाइको घोल ९पिठार० ले अरिपन ९चौका० लगाइन्छ ।

त्यसपछि चौठीचानलाई चढाउन तयार पारिएको पुरी, खजुरिया, पेरूकिया, खीर, फलफूल, दहीलगायतका पकवान तथा मिष्ठान्न सजाएर राखिन्छ । पूजास्थलमै बस्न पिँढी वा आसन राखिएको हुन्छ । जसलाई स्थानीय भाषामा ‘मड़र’ भनिन्छ । पिँढीमा पूजापश्चात् पुरूष बस्ने परम्परा रहेको छ । बस्नका लागि राखिएको पिँढीको अगाडि केराको पातमा प्रसादका रुपमा विभिन्न परिकार चढाइन्छ । सूर्यास्तपश्चात् साँझ उदाउँदो हँसिया आकारको चन्द्रमालाई सम्पूर्ण सामग्रीको अर्घ दिइन्छ । सम्पूर्ण परिकार तथा पकवान चौठीचान्दलाई समर्पण गरिसकेपछि अन्त्यमा जलढार ९जलब चढाएर० गरिन्छ । त्यसपछि परिवार पुरूष ‘मड़र’मा बसेर प्रसाद ग्रहण गर्ने गर्छन् ।

चौठीचानलाई अर्घपश्चात् परिवार अन्य सदस्यसमेत प्रसाद ग्रहण गर्ने गर्छन् । मडरका लागि पातमा चढाइएको प्रसाद बाँकी रहेमा पातसहित आँगनमै खाल्डो खनेर गाडिन्छ ।

सबेरैदेखि व्रतालु महिलाले चन्द्रमा उदाउने आसमा बसिरहेकी हुन्छिन् । हँसिया आकारको चन्द्रमा पश्चिम–दक्षिणतर्फ आकाशमा देखिएपछि अर्घ दिइन्छ । कुनै वर्ष कालो बादल लागेर वा पानी परेर चन्द्रमा आकाशमा नदेखेपछि केहीबेर हात जोडेर दर्शन दिन बिन्ती गरिन्छ । यस विषयमा मैथिलीमा यस्तो गीतसमेत चर्चित छ– आबऽ हौ चौठीचान, लपकऽ हौ पुडी ।’

 समग्रमा, मिथिला–मधेसको अति प्राचीन लोकचाड हो । परम्परागत रुपमा यो चाड एकपछि अर्को पुस्ता हुँदै हस्तान्तरण हुँदै आएको छ । चन्द्रमाको पूजा गरिने यो चाडमा स्थानीयस्तरमा उपलब्ध सामग्री प्रयोग साथै कुम्हार ९कुमाले० को माटाको वर्तन प्रयोगले जातीय सहिष्णुतालाई जोड्ने काम गरेको छ । यस अतिरिक्त प्रायःजसो चाड घरपरिवार तथा परिवारजनको सुख समृद्धिका लागि गरिन्छ तर यो चाड भने घरमा पालिएका पशुचौपायाका लागि समेत गरिन्छ ।

चाडको अन्य पक्ष मजबुत रहे पनि ‘मड़र’ ९पिँढी० मा पुरूष मात्र बस्न पाउने बाध्यकारी अवस्था वर्तमान अवस्थामा परिमार्जनयोग्य छ । महिला र पुरूषबीच समानताका लागि विभिन्न संघर्ष तथा आन्दोलन भइरहँदा यो चाडमा समेत ‘मड़र’ मा बस्ने बाध्यकारी अवस्थालाई परिमार्जन गर्नु आवश्यक छ ।

ratopati

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..