» » म कुनै नेताको मान्छे होइन, पार्टीको मान्छे हुँ


कृष्णा सिह
सहप्रवक्ता, तराई मधेश लोकतान्त्रिक पार्टी

कृष्ण सिह तराई मधेश लोकतान्त्रिक पार्टीका युवा अध्यक्ष हुनुहुन्छ । नवलपरासीमा भएको महाधिवेशनमा सहमहासचिवमा उम्मेदवारी दिनु भएका उहाँ अध्यक्ष महन्थ ठाकुरको मनोनयमा सहप्रवक्ता पनि बन्नुभयो । महोत्तरी फुलहटाका ३४ वर्षीया कृष्णा सिह एमाले हुँदै २०५३ सालमा माओवादी बन्नु भएको थियो जब तमलोपा गठन भयो, तमलोपाको युवा संगठनमा लाग्नु भयो, प्रस्तुत छ उहाँसँग मधेशवादी दलमा युवाको भूमिकालगायतको विषयमा सहारा टाइम्सले गरेको कुराकानीः

महाधिवेशन सकिएको लामो समयपछि पदहरु मनोनय भयो, त्यसमा तपाईलाई सहप्रवक्ताको जिम्मेवारी दिएको छ, कस्तो महसुस गर्नुभएको छ ?
–म त सहमहामन्त्रीको उम्मेदवार थिए । तर परस्थितिले यस्तो बन्यो कि चुनाव भएन । सबै पदको बाँडफाँड गर्ने जिम्मेवारी अध्यक्षजीलाई दिने काम भयो । अन्ततः लामो समयपछि कार्यसमितिले पूर्णता पाएको छ । त्यसमा मलाई सहप्रवक्ताको जिम्मेवारी दिएको छ । यो पदको गरिमा मैले बुझेको छु । पार्टीका अन्य पदभन्दा यो पद अलि पृथक छ । यदि यसलाई राम्रोसँग सदुपयोग गर्न सक्यो भने पार्टीका लागि पनि राम्रो र आफ्नो राजनीतिक केरियरका लागि पनि राम्रो हुन्छ ।

दोस्रो चरणको मनोनयमा नपरेपछि तपाई अलिकति विचलित देखिनु भएको थियो र अब पद पाएपछि पार्टीले न्याय गरेको हो जस्तो लाग्यो तपाईलाई ?
–तपाईले भनेको जस्तो म विचलित थिइनन् । तर अलिकति असन्तुष्ट पक्कै थिए । त्यसको कारण के हो भने मैले शुरुदेखि नै भन्दै आएको हुँ कि जसले पार्टीमा जसरी योगदान दिएका छन् त्यसको मूल्यांकन त्यसरी नै हुनुपर्छ । तर मैले त्यस्तो देखिनन् । त्यसले गर्दा म अलिकति असन्तुष्ट भएको थिए । मैले फेसबुकमा पनि लेखेका थिए कि म दुखी छु तर हिम्मत हारेको छैन । मलाई त सहप्रवक्ता बनायो तर धेरै महत्वपूर्ण साथीहरु अझै छुटिरहेका छन् तर मलाई विश्वास छ कि ती साथीहरुलाई पनि कुनै नकुनै जिम्मेवारी दिइनेछ ।

भनिन्छ, युवाहरु पार्टीका नेताहरुको पिछलग्गु हुन्छ, नेताहरुको झोला बोकेर हिड्छन्, आन्दोलनमा मात्र प्रयोग गर्छन् आदि आदि, के यो सही हो ?
–तपाईले भनेको कुरा सही हो । तर, यो कुरा सबै युवा तथा सबै दलमा लागु हुँदैन । सबै दलमा यस्तै प्रवृतिका युवा छन् भने होइन । खासगरि तराई मधेश लोकतान्त्रिक पार्टीमा हेर्नुहुन्छ भने युवाहरुमा त्यस्तो प्रवृति पाउनु हुन्न । मलाई नै हेर्नुस् सहप्रवक्ता जस्तो जिम्मेवारी दिएका छ । यो मैले आफ्नो क्षमताले पाएको हुँ । कसैको आशिर्वादबाट पाएको होइन । मैरे कुरा गर्नुहुन्छ भने म कुनै नेताको पछाडि लागेको छैन । म संस्थाको पछाडि लागेको छु । कोही शुक्लाका मान्छे होला, कोही बृषेशका मान्छे होला, कोही त्रिपाठीका मान्छे होला त कोही सोनलका मान्छे होला तर म कसैको मान्छे होइन, पार्टीको मान्छे हुँ ।  

तपाई युवाको अध्यक्ष भएको नौ वर्षपछि सहप्रवक्ता बन्नुभयो, यही गति गयो भने पार्टीको नेतृत्व तहमा पुग्न कति समय लाग्ला ?
–इमान्दारीता र लगनशिलताले काम गरि रहयो भने पार्टी नेतृत्वमा जान धेरै समय लाग्दैन । तपाईहरु अरु पार्टीको अवस्था हेर्नुस् न कतिपय व्यक्तिहरु वर्षौदेखि केन्द्रीय सदस्यमा अल्झेर बसेका छन् । मलाई लाग्छ, नौ वर्ष कुनै लामो समय होइन ।

तमलोपा बाहुनहरुको पार्टी हो रे, पछिल्लो समय पदाधिकारी चयन हुँदा झन यो कुराले चर्चा पाएको छ के यो कुरा सही हो ?
–यो सरासर गलत हो । कुने मान्छेले बोलेका छन् या लेखेका छन् भने कुनै सेन्टिमेन्टमा गएर लेखेको होल वा बोलेको होला । म बाहुन होइन, म राजपुत हुँ । यादव पनि आउनु भएको छ, गुप्ता पनि आउनु भएको छ, दलित आदिवासी जनजातिहरु पनि छन् । तर अर्को कुरा म यहाँ जोड्न चाहन्छु, महाधिवेशनमा मैले चुनावमा बढी जोड दिएका थिए । सायद चुनाव भएको भए आज जुन आरोपहरु लागि रहेका छन् ती आरोपहरु लाग्ने थिएन सायद । जिल्लाको प्रतिनिधिहरु हुनुहुन्छ भने ब्राहमण समुदायका थिएन । पक्कै पनि यो भन्दा अलि बढी समावेशी हुन्थ्यो तर हामी आफै चुक्यौं, अध्यक्षलाई जिम्मेवारी दियौं । यदि अध्यक्षलाई जिम्मेवारी दियौं भने अध्यक्षले गरेको निर्णय स्वीकार गर्नु बाहेक हामीसँग अरु कुनै विकल्प छैन । अध्यक्षजीले आफ्नो तजविजमा मनोनित तथा चयन गर्नुभएको छ । यसको आलोचना गर्ने अधिकार कसैलाई छैन ।

पदाधिकारीमा त एउटा पनि दलित तथा मुस्लिम देखिएन यो त विचारनीय तथा सबैले बुझ्ने कुरा हो नि त्यस्तो किन भएन ?
–यो सही कुरा हो । मैले यस विषयमा पार्टीका अध्यक्षजीसँग कुरा गरेको थिए । उहाँले सबै समुदायलाई समावेश गराउने प्रतिवद्धता जनाउनु भएको छ । दलित हाम्रा संगठनमा छैन भने होइन, मुस्लिम हाम्रो संगठनमा छैन भने होइन । कार्यसमितिमा यिनीहरुलाई राखिएको छ तर पदाधिकारीमा राखिएको छैन । तर यो नै अन्तिम हो भने होइन । पार्टीमा थुप्रै जिम्मेवारीहरु बाँकी छ त्यस ठाउँमा साथीहरुलाई राख्न सकिन्छ ।

मधेशवादी दलमा युवाहरुको भूमिका सन्तोषजनक छ ?
–ठिक प्रश्न गर्नुभयो । साँच्चै भन्ने हो भने मधेशवादी दलमा युवा तथा विद्यार्थीले जुन भूमिका खेल्नु पर्ने हो त्यो भूमिका खेलिरहेको छैन । तपाईले भनेको जस्तो कतिपय युवा विद्यार्थीहरु नेताको पिछलग्गु भएर नै दिन बताउँछन् । काम नगरेर प्रोमोशन लिन चाहेका छन् । काम गरेर पार्टीमा अगाडि बढौ भने सोच धेरै कम युवामा पाइएको छ । नेतालाई भनसुन गरेर, चाकरी बजाएर अगाडि बढौ भने सोचहरु पाइन्छ ।

मधेशवादी दलमा युवालाई पार्टीमा जिम्मेवारी दिएपनि निर्णायक तहमा भूमिका नदिएको जस्तो देखिन्छ, कस्तो लाग्छ यो सही कुरा हो ?
–त्यो त हो । माथि माथि पदमा बसेकाहरुले कुनै निर्णय गर्छन् तर त्यही बसेका कुनै युवा साथीहरुलाई थाह हुँदैन । सञ्चारमाध्यमबाट थाह पाउनुपर्ने अवस्था छ । तर यसमा नेतृत्व तहलाई मात्र दोष दिएर हुँदैन । युवाहरुमा पनि कमि कमजोरी छ । उसले पनि पार्टीको गतिविधिमाथि चासो राख्नुपर्छ । पार्टीका नेताहरुसँग सम्पर्कमा बस्नुपर्छ । नजानेका नबुझेका कुराहरु सोध्नुपर्छ । अर्थात एक्टीभ हुनुपर्छ अनि मात्र भूमिका पाइन्छ । नत्र भए आफिसमा आएर दिनभरि कुरा काटेर बसेपछि कसैले बोलाएर भूमिका दिदैन । त्यसका लागि आफै पनि बाटो बनाउनुपर्छ ।

युवाले मात्र चाहेर हुँदैन, नेतृत्व तहले पनि युवालाई चाहनु पर्यो नि ?
–आमा बुवाले छोराछोरीलाई डाक्टर बनाउँछु, इन्जिनियर बनाउँछु भनि सोच बनाएका हुन्छन र त्यही सोच बनाएर अगाडि बढेको हुन्छ । तर आमा बाबुले मात्र सोचेर हुँदैन । छोराछोरीले पनि त्यही सोचका साथ अगाडि बढ्नुपर्छ । त्यस प्रकारको क्रियाकलापहरु गर्नुपर्छ । त्यस्तै प्रकारको वतावरणहरु बनाइरहनु पर्छ अनि मात्र सफल हुनसक्छ । यो कुरा पार्टीहरुमा पनि लागु हुन्छ । पार्टीको स्कूलिगं कस्तो हो, सोच कस्तो हो, के उद्देश्य लिएर राजनीतिक गरिरहेका छन्, त्यसले पनि फरक पर्छ । पार्टीका नेता तथा नेतृत्वकर्ताले चाहेर मात्र हुँदैन, युवा तथा विद्यार्थीले पनि आफ्नो बाटो आफ्नै तय गर्नुपर्छ । पार्टीमा युवाको धेरै सम्भावना छ तर त्यहाँसम्म पुग्नका लागि आफै बाटो बनाउनुपर्छ ।

भनिन्छ नि युवाहरुलाई आर्थिक अवस्थाले समस्या पारेको हुन्छ त्यही भएर नेताको पछि लागेका हुन्छ रे, तपाई युवाको अध्यक्ष पनि हुनुहुन्छ यो कतिको सही कुरा हो ?
–यो नै सबभन्दा ठूलो समस्या हो । राजनीतिकमा सबभन्दा महत्वपूर्ण कुरा हो । राजनीतिकमा लागेपछि साइडमा कुनै आयस्रोत छैन भने त्यो नेता भ्रष्ट हुन्छ वा दलाल बन्छन् वा त्यही कुनै नेताको पछि लाग्छन् । राजनीतिकमा अगाडि बढ्नका लागि कुनै नकुनै आर्थिक उपार्जन गर्ने काम गर्नुपर्छ । आर्थिक अवस्था कमजोर हुनेका लागि राजनीतिक गर्न गाह्रो हुन्छ । त्यो पनि काठमाडौमा आएर कुनै काम छैन । डेरा लिएर बसेका हुन्छन् र पोलटिक्स गर्छु भन्छन् भने उ या त भ्रष्टाचारी गर्नुपर्छ वा नेताको दान दक्षिणाबाट चल्नुपर्छ ।

तपाई के गर्नुहुन्छ ?
–युवा डट कम मेरो एउटा म्यागजिन हो तर त्यसबाट केही आय छैन । जनकपुरमा मेरो घर छ । घरभाडाबाट महिनाको ६० हजार आउँछ । मेरो श्रीमती जागिरे हुनुहुन्छ । म फिल्महरुमा पनि अलि अलि लगानी गर्छु । महिनाको २५ हजार आमाबुवाले मलाई पठाई दिनुहुन्छ । सानो तिनो कम्प्यूटरको विजनेश पनि छ । यतिले मलाई राजनीतिक गर्न सजिलो बनाएको छ । सानातिनो आवश्यकताका लागि कसैको मुख ताकेर बस्नुपर्दैन ।

पार्टीभित्रै होलटाइमरको व्यवस्था गर्यो भने नेताहरुमा आर्थिक समस्या आउँदैन नि, मधेशवादी दलमा यस्तो किन नभएको हो त ?
–एकदम ठिक कुरा । मेरो यो धेरै पहिलादेखिको सोच हो । पार्टीभित्र धेरै यस्ता फाल्छु खर्च भइरहेका हुन्छन् जसको हिसाब किताब पनि हुँदैन तर पार्टीमा केही युवालाई होलटाइमर नेताको रुपमा राखेर त्यसको दैनिक गुजाराको व्यवस्था पार्टीले गर्दियो भने धेरै राम्रो हुन्छ । पार्टीलाई सिस्टमेटिक रुपमा चलाउनका लागि होलटाइमर कार्यकर्ता चाहिन्छ । म फेरि यो कुरा पार्टीमा राख्छु ।

तपाई पार्टीको सहप्रवक्ता हुनुहुन्छ, पार्टीको सूचना मिडियालाई दिनका लागि के कस्तो योजना बनाउनु भएको छ ?
–म सहप्रवक्तामा आएको धेरै दिन भएको छैन । एक हप्ता जति भएको छ । पहिलो चरणमा पार्टीको सूचना केन्द्रलाई व्यवस्थित बनाउने तिर लागेको छु । पार्टीको कुनै पनि सूचना सहज ढंगबाट पत्रकार तथा अन्य व्यक्तिले कसरी प्राप्त गर्न सक्छ त्यसको योजनामा लागेको छु । पार्टीको आधिकारीक ट्वीटर पनि खोलेको छु । पार्टीको वेवसाइट पनि छ, त्यसलाई मैले दुरुस्त गर्न चाहन्छु । सञ्चारकर्मीको सम्पर्कलाई अपडेट गर्दैछु । आइटीमा एमबीए गरेको मान्छे भएकाले सूचना प्रवाह गर्नका लागि म टेक्नोलोजीलाई अलि बढी प्रयोगमा ल्याउछु ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..