» » सविधान संशोधन बारे प्रचण्डले ल्याएको प्रस्ताव अपूरो–भण्डारी


काठमाडौं, असोज ९ गते । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले संविधान संशोधन गर्न अघि सारेको प्रस्तावबाट मधेशको समस्या हुन नसक्ने बताउनु भएको छ ।

अध्यक्ष भण्डारीले विवादित पाँच जिल्लालाई थाँती राखेर प्रदेशको सिमांकनवारे विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रस्ताव नौलो नभएको बताउनु भएको छ ।

 उहाँले अघि थप्नुभयोे, ‘सिमाङ्कनको समाधान नै अहिलेको पेचिलो समस्या हो, यसलाई टुँग्याउनुपर्छ भन्ने हाम्रो माग हो, पछि थाँती राख्ने र आयोग बनाएर विवादित पाँच जिल्लाको समाधान गर्ने भन्ने कुरा हामीलाई मान्य छैन, यसो गरियो भने पछि समस्या उत्पन्न हुन्छ ।’

संघीय गठबन्धनका नेता समेत रहनु भएका भण्डारीले राज्यपूर्नसंरचना आयोगले अघि सारेको प्रस्ताव अनुसार सामथ्र्य र पहिचान अनुसार नै प्रदेशको सिमांकन हुने कुरामा आफूहरु विश्वस्त रहेको बताउनु भयो । उहाँले थप्नु भयोे, ‘मोर्चा जातीय राज्यको पक्षमा छैन, तर पहिचान मेटिनुहुँदैन् ।’

प्रचण्ड नेतृत्वको सरकारको एकमात्रै जिम्मेवारी भनेको नै संविधान संशोधनमार्फत असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्ने भएकोले सरकारले सोही बमोजिम काम गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयोे, ‘सरकारले काम गरिरहेको छ, तर जुन स्पिरिटका अनुसार काम गर्नुपर्दथ्यो त्यो हुन सकेको छैन् ।’

उहाँले संविधान संशोधन नभएसम्म तीनवटै निकायको निर्वाचन हुनै नसक्ने बताउनुभयो । भण्डारीले थप्नुभयो, ‘निर्धारित मितिमै तीनवटै निकायको चुनाव भएन भने संविधान कार्यान्वयन हुँदैन, यसप्रति सबै जिम्मेवार बन्नुपर्छ ।’

सरकार र मधेशी मोर्चावीच भएको तीन बुँदे सहमति कार्यान्वयन निराशजनक नभएको समेत उहाँले बताउनुभयो । भण्डारीले भन्नुभयो, ‘प्रधानमन्त्री स्वयमले पनि सकारात्मक कदमहरु चाल्नुभएको छ, उहाँले यूयनको बैठकमा समेत उहाँ जानुभएन, यो कदम एकदमै प्रशंसनीय छ, मोर्चा यसको स्वागत गर्छ, प्रम समस्या समाधानको लागि गम्भिर हुनुभएको छ ।’

संविधान संशोधनको लागि सबै राजनीतिक दलहरुले खुल्ला हृदयले छलफल गर्नुपर्ने बेला आएको भण्डारीको भनाई थियो ।
संविधान संशोधन प्रस्ताव दशैंअघि नै संसदमा पेश हुनेमा मोर्चा आशावादी रहेको उहाँको विश्वास छ । यद्धपी उहाँले संशोधन प्रस्ताव संशोधनको नामको लागि मात्रै दर्ता नभएर समस्याको समाधान गर्नेगरि अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संशोधन प्रस्ताव दर्ता गर्दा हतारिनुभन्दा पनि गम्भिरताका साथ अघि बढाउनुपर्छ, हडवडीको विवाह कन्चटीमा सिन्धुर जस्तो नहोस् भन्ने हाम्रो कामना छ ।’

संशोधनमा प्रुमख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको उहाँको विश्वास थियो । उहाँले भन्नुभयो, ‘एमाले पनि यही देशको पार्टी हो, संशोधनबारे व्यापक छलफल गर्नुपर्छ ।’

एमालेपनि मुलुकको ठूलो र जिम्मेवार पार्टी भएकाले जिम्मेवारीबाट एमालेपछि नहट्ने उहाँको दावी थियो । दुई तिहाईले संविधान संशोधन गर्नुभन्दा पनि दलहरुवीचको सहमतिबाटै संशोधन गर्नु नै बुद्धिमता हुने भण्डारीको तर्क छ । उहाँले थप्नुभयो, ‘सँख्याको बलमा संविधान जारी गर्दा आज यो समस्या आएको छ, फेरि पनि त्यो दुष्टता गर्नु हुँदैन बरु सहमतिबाटै दीर्घकालिन रुपमा समस्याको समाधान गर्नुपर्छ ।’

भण्डारीले पछिल्लो समय नेपालको राजनीति गोलचक्करमा फसेको समेत टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयोे, ‘यसबाट मुलुकलाई निकाल्नुपर्छ, त्यसको लागि सबै दलहरु गम्भिर भएर प्रस्तुत हुनुपर्छ ।’  आन्दोलनरत पक्ष र सरकार पक्ष दुवैले लचकता प्रस्तुत गर्नुपर्ने उहाँको सुझाव छ ।

स्थानीय निकायको चुनावको लागि आयोगले अघि सारेको संख्यामा समेत आफुहरुको आपत्ति रहेको भण्डारीको भनाई छ । स्थानीय निकाय प्रादेशिक संरचनाको मर्म र भावना अनुसार अघि बढ्ने संघीय प्रावधान भएकाले अहिलेको प्रक्रिया र आधार नै गलत रहेको उहाँको आरोप छ । भण्डारीले थपे,‘यसले त संघीयतालाई नै पूर्ण रुपमा सिध्याउने काम गरेको छ ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..