काठमाडौं, २० भदौ । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले एमालेले अहिले जतिसुकै फुर्ति लगाएपनि उनीसँग संविधान संशोधनको पक्षमा उभिनुको विकल्प नभएको बताउनुभाये ।
यादवले भन्नुभयोे, ‘एमालेले अहिले ठूलो–ठूलो स्वरमा संशोधनको विरुद्धमा बोलिरहेको छ, अब काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाले संशोधनको प्रस्ताव दर्ता गर्दा एमाले कतिको जिम्मेवार बन्छ त्यो त्यहीँ देखिन्छ ।’
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै उहाँले संविधान संशोधन नेपाललाई डुबाउनको लागि नभई शान्ति, समृद्धि र नेपाललाई बचाउनको लागि भएको स्पष्ट पानुभयो ।
उहाँले एमालेले सत्ता छाड्नु परेको पीडा र कुण्ठा पालेर राष्ट्रको भविष्य अन्धकार बनाउन खोजेको आरोप लगाउँदै भन्नुभयोे, ‘कुण्ठा पालेर राष्ट्रको भविष्य मात्रै होईन, यसले अरुलाई भन्दा पनि स्वयम् एमालेलाई नै हानि गर्छ ।’
उहाँले आफूहरुको कोहीसँग दुश्मनी नभएको समेत बताउँदै कुनै पार्टी र नेता विशेषसँग दुश्मनी छैन, काँग्रेसबाट संवादको लागि सहज हुन्छ भनेर आफूहरुले यो विकल्पव रोजेको बताउनुभयो ।
नेकपा एमालेका नेता शंकर पोखरेलले काँग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताउनुभयो ।
उहाँले भन्नुभयोे, ‘विगतमा हामीले आन्दोलनकारीसँग सहमति गरेरमात्रै संविधान संशोधन गरौं भन्दा काँग्रेसले नै दुईवटा विषयमा मात्रै संशोधन गरौं र मधेशीको सबै माँग सम्बोधन हुन्छ भनेको र हामीले सोही बमोजिम संविधान संशोधन गरेका हौं, फेरि अर्को संशोधन भन्ने अधिकार काँग्रेसलाई छैन् ।’
कसैका लागि आवश्यक नभएको विषयमा काँग्रेस किन रुचि राख्छ, यसमा काँग्रेसले क्षमायाचना गर्नुपर्छ, उहाँले भन्नुभयो, अर्को सहमति नभएसम्म संशोधनको कुरा गर्ने अधिकार काँग्रेस, पार्टीका सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिलाई छैन् ।’
उहाँले निधिले पहिलोपटक संशोधन गर्दा आफूले जिम्मा लिने कुरा गर्नुभएको बताउँदै अब फेरि कुन नैतिकताको आधारमा संशोधन गर्ने कुरा गरेको निधीले सार्वजनिक रुपमा माफी नमाँगेसम्म संशोधनको कुरा गर्ने नैतिक अधिकार नरहेको पनि टिप्पणी गर्नुभयो ।
पोखरेलले मधेशी मोर्चाले भन्ने बित्तिकै एमालेले संविधान संशोधनमा सहयोग नगर्ने बताउनुभयो । एमालेसँग छलफल र सहमति नगरी संशोधनको प्रस्ताव आयो भने त्यसलाई नस्वीकार्ने उहाँले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधनको लागि एमालेको सहयोग अनिवार्य रहेको बताउनुभयो ।
‘संविधान संशोधन नगरी अहिलेकै अवस्थामा चुनाव हुन कठिन छ, संशोधन प्रस्ताव पेश गरेरमात्रै मधेशी मोर्चाका साथीहरुले त्यसैलाई ईस्यु बनाएर चुनावमा जाने हो भने निर्वाचन हुन सक्छ, प्रस्ताव जाने तर संशोधन नहुन पनि सक्छ, प्रस्ताव लैजानको लागि हामी तयार छौं’, उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले संविधान संशोधन स्वयम् संविधान कार्यान्वयनको एउटा पाटो भएको स्पष्ट पारेका छन् । उहाँले भन्नुभयो, ‘संविधान कुनै जंगबहादुर र महेन्द्रको शालिकजस्तो होईन, यो गतिशिल दस्तावेज हो, जति संशोधन हुन्छ जनताको भावना त्यति नै प्रतिनिधित्व हुन्छ ।’
उहाँले एमालेले मधेशीलाई विदेशी देखेको आरोप लगाउँदै एमालेको यो प्रवृति राम्रो होईन, यसरी समस्याको समाधान हुँदैन्, एमालेपनि जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभयो ।
No comments: