» » उपेन्द्र यादवले भन्नुभयो, सरकार गिराउन र बनाउन दिल्लीलाई प्रयोग गर्नु हुँदैन


काठमाडौं, भदौ २४ गते । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आन्तरिक समस्या हल नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुको कुनै औचित्य नहुने स्पष्ट पार्नुभएको छ ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष यादवले धेरै नेताको लागि ‘दिल्ली’ सरकारमा जाने र सरकारबाट गिराउने माध्यम बनेको भन्दै द्धिपक्षीय सम्बन्धलाई त्यस्तो खेलमा समाहित गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयोे, ‘आन्तरिक मामिलालाई लथालिंग पारेर यही अवस्थामा दिल्ली जाँदा स्वयम् प्रधानमन्त्रीलाई पनि भारतले राम्रो मान्दैन, त्यसैले जाने बेलामा दिल्ली जाने तर फर्कने बेलामा बिल्ली बन्न नपरोस् ।’

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको कार्यतालिका सारेर भएपनि पहिले आन्तरिक मामिला हल गर्नुपर्ने सुझाव दिँदै उहाँले भन्नुभयो, ‘मुलुकका बर्निङ् ईस्युलाई सम्बोधन नगरी, लथालिंग छोडेर भ्रमणमा जाने रुचि नै गलत हो, यो प्रवृत्ति नै गलत छ ।’

प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारको प्रश्नमा यादवले हुन त स्वयम प्रधानमन्त्रीले पनि भारत भ्रमणको बारेमा केही माग्न जान लागेको होईन भनेको तर तर पनि जनतालाई सुसुचित गर्नुपर्ने प्रतिकृया दिनुभयो ।

उहाँले प्रधानमन्त्री दाहालले भारत लगत्तै अमेरिका भ्रमण गर्न लागेकोमा समेत आपत्ति जनाउनुभयो । यादवले भन्नुभयोे, ‘अहिले किन जानु पर्यो, युएनको बैठकमा भाग लिन प्रधानमन्त्री नै जानुपर्छ भन्ने छैन, मन्त्री या सांसदलाई पठाउँदा पनि हुन्छ नि ।’

तीन बुँदे सहमति
अध्यक्ष यादवले सरकारले संविधान संशोधन त परै जाओस मोर्चासँग गरेको तीन बुँदे सहमतिमा अहिलेसम्म प्रवेश नै नगरेको आरोप समेत लगाउनुभयो ।

उहाँले गृहकार्य भैरहेको छ भनेर बाहिर कुरा आएको छ, तर कहाँ भएको हो, थाहा छैन, यदि घरभिर भएको हो भने आफूलाई जानकारी नरहेको बताउनु भयो । संविधान संशोधन गर्ने नेपालको आन्तरिक मामिला भएकोले सो विषय नेपाल आँफैले टुँगो लगाउने कुरामा आफू विश्वस्त रहेको यादवले बताउनुभयो ।

संविधान जारी भए यता नेपाल–भारतवीच दुरी बढेको उल्लेख गर्दै असन्तुष्ट पक्षहरुको मागलाई संवैधानिक ढंगले संशोधनमार्फत हल गर्नुपर्ने आजको आवश्यकत्ता रहेको बताउनुभयो ।

यादवले संविधान कार्यान्वयनको लायक नै नभएकाले आफूहरुले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन लागेको स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले मधेशीको लासमाथि टेकेर रगतको छिट्टाले पोतिएको संविधान बलजफ्ती जारी गरिएको हो, यसलाई स्वीकार नगर्ने बताउनुभयो ।

चीनको राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको भन्ने हल्ला चलिरहेको छ, यहाँको धारणा के हो भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, ‘सरकार गठन पुरा नहुँदै छिमेकी देशमा दुत पठाएर सरकारले गम्भिर गल्ती गर्यो, अब हेर्दै जानुहोस के के असर पर्ने हो ?’

स्थानीय निकाय प्रादेशिक सरोकारको विषय भएकोले केन्द्रिय निकायले हस्तक्षेप गरेको आरोप लगाउनुभयो । उहाँले प्रादेशिक संरचना र संघीयतालाई नै धरापमा पार्ने षड्यन्त्रको लागि स्थानीय निकायको चुनावको हल्ला चलाईएको बताउनुभयो । संविधान संशोधनमार्फत आफूहरुको माग सम्बोधन नभएसम्म चुनाव सम्भव नभएको अध्यक्ष यादवको दावी थियो ।

संशोधनको नाममा संशोधन गर्ने काम गरिए आफूहरुलाई त्यो कुरा कुनै हालतमा मान्य नहुने यादवले चेतावनी दिनुभयो । अध्यक्ष यादवले भन्नुभयोे, ‘गठबन्धन वा मोर्चासँग सहमति नगरिकन संशोधन गरियो भने हामी त्यसको घोर विरोध गर्छौ, समष्टिगत रुपमा समस्याको समाधान हुनुपर्छ, त्यसको लागि संविधान संशोधन गर्नुपर्छ ।’

बलजफ्ती नाम मात्रैको लागि संशोधन गर्ने काम गरिए आफूहरु सशक्त आन्दोलनमा होमिने चेतावनी दिँदै यादवले भन्नुभाये, ‘आन्दोलनले संविधान बर्खास्त गर्छ, आँफैले गरेको गल्ती सुधार गर्ने वा सच्याउने अवसर हो, बल सरकारको कोर्टमा छ ।’ ९० प्रतिशतबाट संविधान जारी भएको भन्नेहरुले नै आज आएर संविधान संशोधन गर्नुपर्छ भन्दै हिँडेकोले संविधान संशोधनको विकल्प नभएको यादवको भनाई थियो ।

प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसदबाट जनताको नाममा गरेको सम्बोधनबारे प्रतिक्रिया दिँदै उहाँले भन्नुभयोे, ‘प्रधानमन्त्रीले बोलेपछि पु्र्याउनुपर्छ, बोली बचनमा पक्का हुनुपर्छ ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..