» » कृषकलाई राष्ट्रपति पुरस्कार


राजविराज, साउन ३२ गते । जिल्ला कृषि विकास कार्यालय सप्तरीले आर्थिक वर्ष २०७२÷७३ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार सोमबार वितरण गरेको छ ।

सो कार्यालयले आयोजना गरेको ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार, २०७२’ पुरस्कार वितरण समारोहमा यस जिल्लाभरिबाट प्रथम हुने तरकारी बालीबाट हनुमाननगर–७ निवासी कृष्ण विहारी मेहता, द्वितीय हुने पशुपालनबाट बकधुवा–८ निवासी कृतिप्रकाश तिवारी र तृतीय पुरस्कार प्राप्त गर्ने फलफूलतर्फ कागतीबालीबाट पत्थरगाडा–६ निवासी भागवत यादवसहित तीनजनालाई जनही रु दश हजारका दरले राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

त्यस्तै, खाद्यान्न, फलफूल, तरकारी, माछा, बाली उत्पादन र कृषक समूह प्रतियोगितामा प्रत्येक विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने २० जना कृषकलाई क्रमशः रु पाँच हजार, रु तीन हजार, रु दुई हजार र रु ५०० का दरले नगद पुरस्कार तथा प्रमाणपत्रसमेत वितरण गरिएको बाली संरक्षण एवम् सूचना अधिकृत दिनेशप्रसाद यादवले बताउनुभयो ।

साथै, जिल्ला कृषि विकास कार्यालयमा उत्कृष्ट काम गर्ने प्राविधिक सहायकद्वय अग्निदेव चौधरी र देवनारायण यादवलाई क्रमशः प्रथम र द्वितीय पुरस्कारबापत रु पाँच हजार, रु तीन हजार तथा नाप्रास बेचन सढोक यादवलाई सम्मानपत्र प्रदान गरिएको सूचना अधिकृत यादवले जानकारी दिनुभयो ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला वन कार्यालयका प्रमुख धिरेन्द्रप्रसाद सिंह, विशिष्ट अतिथि जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा काशिनाथ यादव र जिल्ला कृषि विकास कार्यालय सप्तरीका वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले सामूहिक रुपमा कृषकलाई फूलमालासहित पुरस्कार वितरण गर्नुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..