» » सबै काम भारतले नै गरि दिएपछि अरुको के काम ?


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बन्न लागेको नयाँ सत्ता समिकरणको सरकारमा मन्त्री बन्नका लागि नेताहरुको दौडधुप शुरु भएको छ । आआफ्ना शक्ति लगाउनका शक्ति केन्द्रमा दौडधुप गरिरहेका छन् ।

खासगरि मुख्य सत्तासाझेदार दल नेकपा (माओवादी) केन्द्र र नेपाली काँग्रेसका नेताहरु दौडधुपमा लागेका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा यो कुरा मिलाउन गाह्रो हुने देखिएको छ । केही महिना पहिले भएको पार्टी एकीकरण पूर्ण नहुँदै पार्टी सरकारको नेतृत्व गर्न पुगेको छ । यस अवस्थामा दलमा विभिन्न गुट, उपगुट कायमै छ । त्यसलाई मिलाउनका लागि फलामको च्यूरा चपाउने सरह नै हुन्छ ।

डा.बाबुराम भट्टराई गइसकेपछि जनमोर्चाबाट आउनु भएका नारायणकाजी श्रेष्ठले नै भागबाण्डा खोज्ने गरेका थिए अब त त्यस्ता नारायणकाजीहरु धेरै भएका छन् । रामबहादुर थापा (बादल), मातृका यादव, तिलक परियार, परी थापाहरुले पनि अब निर्माण हुने सरकारमा आफ्नो हिस्सा खोज्नुहुन्छ । हुन त उहाँहरुको आफ्नै कुनै सांसद छैन ।

 तैपनि सांसदहरु उहाँहरुको दैलो चाहार्दै छन् । हेडक्वाटरमा मन्त्रीका लागि सिफारिस गरि दिनुपर्ने भन्दै उहाँहरुको घरदैलो पुग्ने गरेको छ । माओवादीका एक नेताले भन्नुभयो, बादलहरुसँग आफ्नो सांसद नभएपनि उहाँहरुले पनि सत्तामा आफ्नो हिस्सा खोज्नु हुनेछ । हिस्सामा प्राप्त मन्त्री वा अन्य पद कहाँ बाड्छन् । त्यो उहाँहरुको कुरा हो तर हिस्सा चाहिन्छ नै ।’

त्यसो त पार्टीभित्रका ठूला नेताहरुमा नै मन्त्रीका लागि कुरा मिलिरहेका छैन । ओली नेतृत्वको सरकार ढाल्नमा मुख्य भूमिका रहनु भएका कृष्णबहादुर महारा, संसदीय लेखा समितिका अध्यक्ष समेत रहनु भएको जनार्दन शर्मा, वर्षमान पुन, टोपबहादुर रायमाझी, राम कार्की, गिरीराज मणी पोखरेल, हितराज पाण्डेलगायतकै बीचमा मारामार छन् ।

त्यसभन्दा तल हरिबोला गजुरेल, उमेश यादव, रेखा शर्मा, प्रभु साह, उमेश यादव, सत्यनारायण भगत, राम सिह, शिवकुमार मण्डल, अशोक जयसवाल, निषा साहहरुको दौडधुप पनि बाक्लिएको छ । मन्त्री बन्छु नै भन्दै कम्मर कसेर शक्ति केन्द्रहरु धाइ रहेका छन् । कतिपय नेताहरु त मन्त्री बन्नकै लागि भारतीय दूतावाससम्म पुग्नुभएको छ ।

यिनै नेताहरुले नेतृत्वमाथि दवाव दिलाउनका लािग जिल्लाबाट पनि मान्छे बोलाएर काठमाडौमा राखेका छन् । जिल्लाबाट ल्याएका नेताहरुलाई राजधानीका विभिन्न गेस्टहाउसहरुमा राखिएको छ । दिनभरि उहाँहरु लाजिम्पाटदेखि पेरिसडाँडास र सिहदवारसम्म कुदेका देखिन्छ । आआफ्ना पहुँच भएका नेताहरुलाई भेटेर फलानो मन्त्री बनाई दिनुपर्यो भनि दवाव दिनुहुन्छ ।

सिहदरवारमा भेट्नु भएका माओवादी ेनता सत्यनारयण भगतले यसपाली मलाई मन्त्री बनाएन भने यो संसदीय दल उडाई दिने कुरा गर्नुभयो । जिस्केर वा मजाकमा भनेपनि उहाँको बोलीमा आक्रोश थियो । उहाँले भन्नुभयो, मधेशमा मभन्दा सिनियर नेता को छन् । पछि पछि आउनेहरु मन्त्री भए म चाहि शुरुदेखि पार्टीमा लागेपनि मन्त्री बन्न पाएको छैन । म पार्टीमा जोगी बन्न आएको त होइन नि ।’

मन्त्री बनाई दिन भन्दै तपाई कहाँ कतिको नेताहरु आइरहेका छन् जिज्ञासामा मधेश प्रदेशका इन्चार्ज समेत रहनु भएका माओवादी नेता मातृका यादवले आफू कहाँ त्यस्तो कुनै व्यक्ति कोही नआएको प्रतिकृया दिनुभयो । आफू कहाँ कोही नआएपनि सुन्दैछु, राजधानीमा नेताहरुको चहल पहल बढेको छ, त्यसले पार्टीमा राम्रो सँस्कारको विकास नगर्ने भनि उहाँले टप्पणी गर्नुभयो ।

काँग्रेस
सबभन्दा ठूलो दल काँग्रेसमा पनि मन्त्री बन्नका लागि दौडधुप गरिरहेका छन् । शुरुदेखि दुई गुटमा रहेका नेपाली काँग्रेसमा जहिले पनि ६०–४० को भागबण्डा हुन्थ्यो । ४० को नेतृत्व शेरवहादुर देउवाले गर्नु हुन्थ्यो भने संस्थापन पक्षका कोइराला परिवार । सुशिल कोइरालाको निधन भएपछि भएको महाधिवेशनबाट शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापति बन्नुभयो तर अझै त्यो भागबण्डा गएको छैन । अहिले संस्थापन पक्षको नेतृत्व रामचन्द्र पौडेलले गरिरहनु भएको छ ।

संस्थापन पक्षबाट मिनेन्द्र रिजाल, महेश आचार्य, सिता देवी, प्रकाशमान सिह, किरण यादव, सुजात कोइराला, गगन थापालगायत मन्त्रीका लागि दौडधुपमा छन् भने देउवाको पक्षबाट विमलेन्द्र निधि, प्रकाशशरण महत, रमेश लेखक, महेन्द्र यादवलगायतका छन् । काँग्रेसका नेताहरु पनि विभिन्न शक्ति केन्द्र धाइरहेका छन् । दूतावासदेखि लिएर पूर्वराष्ट्रपति निवाससम्म धाइरहेका छन् । देउवा पक्ष स्रोतले भन्छन्, विमलेन्द्र निधि र महेन्द्र यादवमध्ये एकजनालाई मात्र दिने कुरा छ । तर महेन्द्र यादवभन्दा विमलेन्द्र निधिको पलरा भारी छ । विमलेन्द्र मन्त्री बन्ने लगभग पक्का भएको छ ।

मन्त्री बन्नकै लागि महेन्द्र यादव दूतावाससम्म पुगेका छन् । दूतावासले सबै काम हामीले नै गराई दिने हो भने तपाईहरुको के काम यति कुरा त तपाईहरु आफै मिलाउनुस् भनि पठाएपछि महेन्द्र यादव अहिले खेमा परिवर्तन गर्ने दावमा हुनुहुन्छ । उहाँ आफ्ना निकटलाई भन्छन्, जबसम्म विमलेन्द्र निधि यहाँ रही रहन्छ तबसम्म मेरो मन्त्री बन्ने पालो आउँदैन त्यसैले खेमा नै परिवर्तन गर्छु ।’

मधेशवादी दल
सरकार निर्माणका लागि अहिले सबभन्दा चर्चामा मधेशवादी दलहरु रहेका छन् । मधेशवादी दलका नेताहरु भन्दैछन् हाम्रो माग सम्बोधन नभएसम्म हामी सरकारमा जाँदैनौ ।’ तर मिडियादेखि नागरिक समाजसम्मले पत्याई रहेका छैन । मधेशवादी दलले सरकारमा नजाने कुरा जति गरेपनि ती दलमा को मन्त्री बन्ने दौडधुप देखिएको छ । अहिले सबभन्दा बढी चर्चा संघीय समाजवादी फोरम नेपालको रहेको छ । ठोस प्रतिवद्धता आए, सविधान संशोधनको कुरा अगाडि बढे सरकारमा जान सकिने अभिव्यक्ति पार्टीका अध्यक्ष उपेन्द्र यादवबाट नै आइरहेका छन् ।

साउन ७ र ८ गते केन्द्रीय समिति तथा १० र ११ गते केन्द्रीय परिषद्को बैठकमा पनि सरकारको सम्बन्धमा ब्यापक चर्चा भएको बताइन्छ । काँग्रेस र माओवादी गठबन्धनबाट ठोस प्रतिवद्धता आए सरकारमा जाँदा नै राम्रो भनि सुझाव पनि आएको पार्टीका नेताहरु बताउँछन् । फोरम नेपालले लगभग तीन मन्त्रालय पाउने चर्चा छ ।

 त्यसमा स्वंय उपेन्द्र यादव आफै पनि जाने सकिने सम्भावना रहेको स्रोतले जनाएको छ । अशोक राई पनि मन्त्री बन्ने आकांक्षा देखाउनु भएको छ । त्यस्तै अभिषेक प्रताप शाहको पनि चर्चा त्यतिकै छ । त्यसको साथ विरेन्द्र महतो, डा.शिवजी यादव, लालबाबु राउत, लक्ष्मी चौधरी, छाया शर्मा पन्थ, श्रवण अग्रवालको चर्चा उनको पार्टी कार्यालयमा रहेको छ ।

त्यसपछि सद्भावना पार्टीको पनि चर्चा छ । लक्ष्मण लाल कर्णले बेला बेलामा सञ्चारमाध्यममा बोलि दिएपछि सरकारमा सद्भावना पार्टी जाने चर्चा अलि बढी भएको छ । हुन त सो पार्टीका अध्यक्ष राजेन्द्र महतो सरकारमा जाने कुरा लिएर एकदमै कडा हुनुहुन्छ । मधेशी, आदिवासी जनजातिले उठाएको माग सविधानमा संशोधन नगरेसम्म सरकारमा जानु हुँदैन भन्दै आउनु भएको छ तर सरकारका एकदमै आकाँक्षि लक्ष्मणलाल कर्णको जोडबल अलि बढी देखिएको सरकारमा जाने विषयमा ।

उहाँले भन्दै आउनु भएको छ, राजनीतिकमा जोगि बन्न आएको होइन, सरकारको तर्फबाट ठोस प्रतिवद्धता आए सरकारमा जाने भन्दै आउनु भएको छ । त्यसमा धेरैमा दुईटा नभए एउटा मन्त्रालय सद्भावना पार्टीलाई दिने चर्चा छ । त्यसमा लक्ष्मणलाल कर्णको नाम एक नम्बरमा रहेको छ । त्यसपछि नरसिह चौधरी पनि आफ्नो आकाँक्षा व्यक्त गरिरहनु भएको छ भने विमल केडियाको नाम पनि चर्चामा छ ।

तमलोपाको बेग्लै कथा
तराई मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशन भएको एक महिनाभन्दा बढी भइसक्यो तर पार्टीको पदाधिकारीहरु चयन तथा मनोनय गर्न मात्र बाँकी छ । पार्टीमा अहिले अध्यक्ष दुईजना उपाध्यक्ष, कोषाध्यक्ष र अरक्षणका पाँचजना केन्द्रीय सदस्य मात्र रहेका छन् । अन्य पदाधिकारीको आज चयन हुने भोली चयन हुने भन्दै टार्दै आइरहेका छन् तर कहिले हुने टुगों छैन ।

यही बीचमा सत्ताको खेल शुरु भयो । महन्थ ठाकुरलाई भित्रभित्रै सरकारमा जाने इच्छा भएपनि पार्टीका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठी सरकारमा जाने नामै लिइरहनु भएको छैन । कारण उहाँ अहिले सभासद् हुनुहुन्न र सभासद् नभएको व्यक्ति मन्त्री नबन्ने भएपछि अँगुर अमिलो हो भने जस्तै सरकारमा जानु हुँदैन भन्दै आउनु भएको छ । तर अर्कोतिर सर्वेन्द्रनाथ शुक्ला सरकारमा सहभागिका लागि तछाड मछाड गरिरहनु भएको छ । ब्याक साइडबाट जसरी पनि सरकारमा जानुपर्छ भनि लविगंमा लाग्नु भएको छ ।

पार्टी स्रोतका अनुसार केदारनन्द चौधरी र बृजेश गुप्ता पनि सरकारमा जान पक्षमै देखिनु भएको छ तर बाहिर खुलेर बोल्नु भएको छैन । उहाँहरु पनि बाहिर बाहिर माग पुरा नभएसम्म सरकारमा नजाने भनिरहनु भएको छ भने अर्को चोरबाटोबाट सरकारको लविगं गर्दै शक्ति केन्द्रहरु धाउँदै आउनु भएको छ । यस विषयमा गोविन्द चौधरीसँग जिज्ञासा राख्दा उहाँले सरकारको चलखेलमा मधेशवादी दल यदि लागि सक्नु भएको भने सरकारमा जाँदा राम्रो, यदि सरकारमा जाने थिएन भने ओली सरकार ढाल्नमा सहयोग नगरेको भए पनि हुन्थ्यो भनि जवाफ दिनुभयो ।

 त्यस्तै सोही पार्टीका नेता बीपी यादवसँग जिज्ञासा राख्दा प्रतिकृया दिँदै भन्नुभयो, हाम्रो मधेशतिर महिलाहरुलाई श्रीमानको नाम सबैलाई थाह हुन्छ तर नाम कसैले लिइरहेका हुँदैन त्यस्तै छ मधेशी दलको अवस्थामा भित्रभित्रै सरकारमा जाने इच्छा सबैको छ तर खुलेर कोही आइरहनु भएको छैन ।’

त्यस अलावा शरत सिह, अनिल झा, राजकिशोर यादव र महेन्द्र राय यादवको पार्टी पनि सरकारमा जाने भनि सोच बनाइ रहेका छन् । फेरि यतिकै होइन, मधेशवादी दलले विगतदेखि उठाउँदै आएको माग सम्बोधन गर्नुपर्ने हुन्छ । सविधानलाई संशोधन गर्नुपर्छ अनि मात्र सरकारमा जाने कुरा उहाँहरुले पनि भन्दै आउनुभएको छ ।


साउन १६ गते सहारा टाइम्स पत्रिकामा छापिएको

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..