» » तिलाठी कुनौली झडपः एक यथार्थ


-जय प्रकाश गुप्ता
सप्तरीको सीमावर्ती तिलाठी-कुनौली क्षेत्र केही काल तनावमा रह्यो । नेपाली क्षेत्रबाट बगेर भारतीय क्षेत्रमा पस्ने बर्षाकालीन नदीको वहावलाई कुनौली तिरका मानिसहरूले बाँध बनाई रोक्न खोजेपछि तनाव भएको हो ।
दशगजा क्षेत्रमा नेपाली सीमापारीका भारतीयहरुले बनाउन लागेको बाँध नेपाल तिरका जनताले भत्काउन खोजेपछि झडप भयो । दुबै तिरका केही मानिसहरू घाइते भए । घाईते नेपालीहरूको तस्वीर बीर योद्धाको रूपमा नेपालका पत्रपत्रिका, संचार माध्यमहरूमा प्रस्तुत गरियो । भर्खरै नेपाली राजनीतिमा छाएको स्वाभिमानको मुद्दालाई यस घटनाले निकै हौस्याएको छ ।

तिलाठी तिरका जनताले भारतीय अतिक्रमणका खिलाफमा सीमा रक्षकका रूपमा लडाई लडे; यही सूरतालमा यस घटनाको चित्रण एवं चर्चा आउने समयमा भैरहने छ । अहिले यस बिषयलाई माध्यम बनाएर राजधानी काठमांडूको सडकमा भारतका बिरोधमा कार्यक्रमहरू हुन शुरू भैसकोको छ । वास्तवमा यी सब सतही कुरा हुन् ।

तिलाठीको घटना भारतीय अतिक्रमण होईन । न त तिलाठीका जनता भारतसंग लडेकै हुन् । यस बारे जे जस्तो बहस गरिएपनि यथार्थमा यो दुबै तिरका जनताका जनजीविकाका सवाल मात्र हुन् । यस्तो समस्या दशकौ देखि सीमावर्ती दुबै तिरका जनताले भोग्दै आएका छन् । यस समस्याले गर्दा तिलाठी र कुनौलीका जनताका बीच झडप भएकै हो । तर, यस पटक सप्तरीका पत्रकारहरूले काठमांडूको बजारमा बिक्न सक्ने सामग्री हो यो भनी पहिचान गरेर पस्कन सफल रहें । काठमांडूलाई पनि मन पर्यो-यस प्रकारको चित्रणयुक्त लेखाई ।

समस्या भने अर्कै हो । यदि समस्याको पहिचान गरिएन र यसलाई फगत अनुत्पादक राष्ट्रिय स्वाभिमानको लडाईसंग जोडेर शो-पिसको रूपमा राखियो भने आउने बर्षहरूमा पनि यही रूपमा यसको पुनरावृति भै नै रहन्छ । कुनै दिन काठमांडूको सत्ताले भारतलाई महान मित्रवत् छिमेकी देखेको बर्षातमा पनि तिलाठी र कुनौलीका बीच यस प्रकारको द्वन्द भै नै रहने छ ।

यस टिप्पणीसंग बि.स. २०६४, साउन २७ गते प्रकाशित कांतिपुरको सह प्रकाशन "नेपाल साप्ताहिक" को एक रिपोर्ट पोष्ट गरिएको छ । यस रिपोर्टमा तराईको बाढीको विपत्ती वारे विस्तृत चर्चा गरिएको छ । अहिलेको बाढीमा जसरी नेपालगंजको होलिया क्षेत्र, चितौन-नवलपरासीको सुस्ता क्षेत्र, महोत्तरीको जलेस्वर क्षेत्र र सप्तरीको तिलाठी-सकरापुरा क्षेत्रको चर्चा भै रहेको छ, ठिक यसै किसिमले त्यस बेलापनि पनि यिनै क्षेत्रहरूमा आएको बाढी र त्यहांका बासिन्दाहरूले भोग्नु परेको विभिषिकाको चर्चा गरिएको छ ।

सप्तरीमा एउटा रमाईलो प्रसंगको चर्चा हुने गरेको छ । खाडो नदीले हरेक वर्ष नै सप्तरीको तिलाठी लगायतका दक्षिणी क्षेत्रहरूलाई डुवानमा पार्ने गर्छ । खाडोको बौलाहा हुने पानीको भेल तोपा, महदेवा, इनरूवा, सखुवा हुदै तिलाठीलाई डुबानमा पार्दै कुनौली तिर बग्दछ । यो आजको कुरो मात्र हैन, दशकौं देखि यस्तै हुदै आएको छ । नेपालबाट यसरी बगी आउने पानीको प्रलयकारी प्रवाहबाट जोगिन भारतपट्टीको कुनौलीका मानिसहरू सदैव बच्ने उपाय खोज्दै आएका छन ।

यसरी कुनौलीबासीहरूले प्रायस: हरेक वर्ष नै दशगज्जामा बाँध बनाउने गर्दछन । अब यसबाट जोगिन नेपालपट्टीका तिलाठी लगायत क्षेत्रका मानिसहरूको मुख्य काम हुने गर्दछ ।


अब यो बाँध न भत्काएमा पानीको स्वभाविक निकास कसरी हुने त ?
यसका लागि सप्तरीको सि.डी.ओ. कार्यालयमा जिल्ला दैवी प्रकोप उद्धारको यौटा सानो रकमको बजेट हुन्थ्यो । कहिलेकाँही यसमा जि.बि.स.ले पनि केही रकम थप्ने गर्दथ्यो । ठूलो वर्षा भएको बेला, बाढीले उत्पात गर्न लाग्दा, खाडो र महुली आदिको पानीले तिलाठी, रमपुरा-मल्हनीया, ईनरुवा-सखुवा, वेलही-तिलाठी आदि गाँउहरूलाई डुवानमा पार्न लाग्दा सप्तरीका सि.डी.ओ. ले तिलाठी तिरका मानिसहरूलाई बोलाएर त्यो बजेटको केही रकम दिन्थ्यो-रक्सी मासु खान र कुनौलीको त्यो बाँध कटान गर्नका लागि ।

यो पैसा र रकम लिन हुलका हुल मानिसहरू आउथें । रकम लिन्थे, राती भोज भतेर गर्थे र ठूलो बाढी आएको मौकापारी राती राती हुलका हुलमा गई कुनौलीबालाले दिनरात गरी बनाएको बाँधलाई भत्काई दिन्थे । हरेक बर्ष नै यस कामको सिलसिलामा दुबै तिरका मानिसहरूका बीच हात हालाहाल हुन्थ्यो । झैझगडा हुन्थ्यो । बाढीको पानी बगेर जान्थ्यो । स्थिति यतिकै साम्य हुन्थ्यो ।

त्यहां राष्ट्रिय स्वाभिमानको कुरो, भारतीय अतिक्रमणको कुरो कहिल्यै उठ्दैन्थ्यो । हाल तिलाठीका देवनारायण यादवको बडो चर्चा छ । यस पटकको झडपमा यिनी घाईते भए । पत्रपत्रिका र सामाजिक संजालमा यिनको रगताम्य तस्वीर भाइरल भएको छ । यिनी नेपाली कांग्रेसका तर्फबाट उ बेला सप्तरी जि.बि.स.का सदस्य थिए ।

यिनीहरूपनि माथी चर्चा गरिएको बाँध भत्काउने काममा सरिक हुन्थे । यस पटकपनि यो समस्या जनजीविकाको समस्या नै हुन भन्ठानेर सरिक भएका हुन । अहिले भने यिनी नेपाल मुलुकप्रति मधेसी राष्ट्रवादीताको प्रतीक भएका छन् । यद्यपि यो एक संयोग मात्र हुन ।

म यस टिप्पणीका मार्फत सतही विवादमा जान चाहन्न । संक्षेपमा मेरो भन्नु छ कि तिलाठीको घटनालाई समस्याको चूरोको रुपमा हेरिनु पर्दछ । समस्याको चुरा हो:

१) चुरे भूस्वख:लनबाट उत्पन्न प्रतिकूलता: चुरेमा भैरहेको निरन्तरको भूस्वख:लनबाट तराईका नदीहरूको सतह माथी अग्लिएको हुदां जल प्रवाहको दिशा परिवर्तित भएको छ ।

२) चुरे र महाभारतबाट निस्कने खाडो, त्रियुगा,महुली र सुन्दरी नदी अर्ध चन्द्रकारमा पूर्व तिर फर्कदै कोशीमा प्रवेश गर्ने गरेको हो । यी नदीहरू कोशी ब्यारेजको पश्चिमी तटबन्धलाई छेडेर कोशीमा पस्ने गरेको हो । यसलाई बाटो दिनका लागि उक्त बाँधमा ढोका बेगरको पुल र केही सुलेज गेटहरू बनाईएको थियो ।
अहिले कोशी छिर्नु पहिले नै यी सबै नदीको प्रवाह रोकिएको छ । यसरी नै कोशी नदीले सुन्सरी तर्फ अर्थात पूर्वी छेउबाट बाटो बनाएकोले पश्चिमी भाग बालुवा थुप्रेर अग्लो भएको छ । यस्तो अवस्थामा यी सबैको पानी सोझै दक्षिण तर्फ बाटो बनाई वैरवा, पोर्ताहा, भारदह, सखुवा, हनुमाननगर, ईनरूवा र अर्को तर्फ राजबिराज, पकरी, तोपा, कट्टी बर्साइन, कोईलाडीहरू हुदै तिलाठी भई कुनौली तर्फ निकास खोज्छ । नदीले यो बाटो खोज्छ खोज्छ ।

३) यसबाट निकासको एक दायित्ववान पक्ष भारत सरकार हो । कोशी योजना र कोशी सम्झौता अनुसार उक्त नदीहरूको निर्बिघ्न प्रवाहको हेरचार र सम्भार गर्ने दायित्व भारत सरकारको हो । उसले बर्षौ देखि यो काम गरेको छैन ।

४) अर्को दायित्ववान पक्ष नेपाल सरकार हो । यिनले आवधिक रूपमा हुने भनिएको कोशी कोर्डिनेशन कमिटीको बैठकमा यस एजेण्डालाई राख्नु पर्दछ तर कहिल्यै राख्दैन ।

५) अहिलेको जस्तो अवस्था नआओस भनी सचेतता राख्ने महत्वपूर्ण जिम्मेवारी स्थानीय निकायहरूको हो । जनताको हो । यस तर्फबाट जिम्मेवारीको निर्वाह भएको छैन । उदाहरणको लागि राजमार्ग भै भारदहबाट बरमझिया तिर लाग्नुस् । महुली नदीको पुल पर्छ । यो पुलबाट पूर्व तिर १ कि.मी. नपुग्दै नदीको प्रवाह खेतीका कारणले पुरै रोकिएको देखिन्छ । त्यत्रो खहरे महुली नदीको पानी त्यहांबाट कोशी तर्फ जानै सक्दैन ।

अब बरमझियाबाट कंचनपुर तिर बढनोस् । बरमझिया पार नहुदै सुन्दरी नदीको पुल पर्छ । पुलको पूर्व तिर नदीको भागलाई धान खेत बनाईएको छ । पश्चिम तिर बसोबास बनाईएको छ । त्यत्रो सुन्दरीको पानी कता बग्ने ?

यी कुराहरू गंभीर बिषय हुन् । मैले भोगेको, जानेको, देखेको र अध्ययन गरेको बिषय हो । यसर्थ, यी बिषयहरूमा ध्यान नदिएमा निश्चित रुपमा फेरी २०७४ सालको बर्षामा पनि यही अवस्थाको पुनरावृति हुन्छ, जुन २०६४ साल र त्यस पछि हुदै आएको हो ।

तिलाठी र कुनौलीको झगडा जनजीविकाको झगडा हो । न त राष्ट्रिय स्वाभिमानको न त भारतीय अतिक्रमण बिरूद्धको संघर्ष नै हो । तर, यो विवाद भारत सरकार र नेपाल सरकारका बीच हुनुपर्ने हुनै पर्दछ । अन्यथा यसको समाधान हुन सक्दैन । भारत सरकारले निर्वाह गर्नुपर्ने दायित्व पुरा गर्नै पर्दछ र नेपाल सरकारले आफ्ना देशको हितका खातिर भारतसंग कुटनैतिक माध्यमबाट पहल गर्नै पर्दछ ।

यी काम नगरेर कुनौली र तिलाठीमा राष्ट्रिय स्वाभिमानको जीत खोज्नु र भारतीय अतिक्रमणको खिलाफमा प्रतिरोध देख्नु मुर्खहरूको मुर्खता बाहेक अरू केही होईन .

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. मुझे बहुत आश्चर्य होरहहै न्यूज़ आज सप्तरी का घटना को मुदा बनाकर भारत बिरोधी अभियान चलाया जारहा है ये एक गलत बात है केपी ओली नसलबदि है उस के नजरमे कलह मधेशी देश बिरोधी था रास्ट्र घाटी था आज मधेशी रास्ट्र बदी होगया। भाई मधेशी आपन मधेश का रक्षा सयोम कर सकता है दूसरे को जरुरी नहीं। रही तिलाठी बांध का झगड़ा । न उसमे नेपाल लड़ा था न उसमे भारत लड़ा था बस मधेश का हरेक गाओ में पानी को झगड़ा होता है इसी तरह इस गाओ उस गाओ का साधारण झगड़ा है फिर उसका बेटी का बिबाह तिलाठी में होगा तिलाठी का बेटी का बिबाह उस गाओ में होगा दोनों सागा समधी है। इश बात को काठमांडू में बैसे लोग खास करके एमाले के समर्थ कुछ लोग इश्को भेजने में लगे है। भारत नेपाल का कोई झगड़ा नहीं है। मधेशी मधेश भक्त है और रहेगा जय मधेश आपन जमीं का रक्षा स्योआम करेगा

    ReplyDelete

..