» » मधेशमा झुला मेलाको रौनक


जनकपुर, साउन २२ गते । मिथिलाञ्चलमा झुला उत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाइरहेको छ ।

सांस्कृतिक परम्पराका रुपमा प्राचीन राजधानी जनकपुरलगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ ।

यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा रहेको छ ।

झुला उत्सवको पहिलो दिनलाई मणिपर्वतको झुला भनिन्छ । उक्त दिन अपराह्न जनकपुरका ५२ कुटीबाट डोलामा रामसीताका मूर्ति राखी रङ्गभूमिमा ल्याइएपछि जानकी मन्दिरका महन्तद्वारा उत्सवको सुरुवात गरिन्छ ।

मणिपर्वत झुला उत्सवका दिन जानकी मन्दिर, राममन्दिर र लक्ष्मण मन्दिरका मूर्तिलाई एकै ठाउँमा राखी झुलाउने गरिन्छ । यस दिन टाढा टाढाबाट श्रद्धालु झुलामा आउने गरेका कारण रङ्गभूमिमा मेलाको रुप दृष्टिगौचर हुन्छ ।

झुला उत्सवको सुरुवातसन्त परम्पराको प्रारम्भदेखि नै भएको मानिन्छ । सन्त सम्प्रदायका गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मान्ने बृन्दावनबाट झुला जनकपुरमा आएको बताइन्छ ।

साओनमे उपवन वन फूले 
झुला झुले नन्दकिशोर 
कदमक डारीमे लागल हिडोला 
झहरय नभ घनघोर 

धार्मिक पृष्ठभूमिमा आधारित उक्त गीतलाई समाजशास्त्रीय दृष्टिकोणबाट मनन गर्दा झुलको सुरुवातलाई सङ्केत गरिररहेको छ ।

सन्तहरु खुला चौरमा अथवा कुनै रुखको छहारीमा वास बसे पनि आफ्नो झोलामा श्रद्धासाथ ल्याएका शालीग्रामलाई आसनमा राखी झुलाउने गर्दथे । सम्भवतः यो परम्परा त्यसै बेलादेखि सुरुवात भएको विश्वास पाइन्छ ।

जनश्रुतिअनुसार, सीताको माइतीमा दाइजोका रुपमा प्राप्त मणिहरु महलमा राख्ने ठाउँ नपाइ बाहिर राख्दा पहाड नै भएको थियो । त्यसैको स्मृतिस्वरुप झुला उत्सवको प्रारम्भमा रङ्गभूमिमा आज पनि मणिपर्वत मनाउने परम्परा रहेको छ ।

जनकपुर एवम् यस क्षेत्रका प्रत्येक मठ मन्दिरमा झुला उत्सव मनाइए पनि जानकी एवम् राममन्दिरमा विशेषताका साथ मनाइन्छ । जानकी मन्दिर जसलाई नौलाखा मन्दिर पनि भनिन्छ । सो मन्दिरमा विशेष प्रकारका तीनवटा सिंहासनमा रामसीताको मूर्ति राखी झुला झुलाउने गरिन्छ ।

त्यस्तै, राम मन्दिरको झुला उत्सवका लागि गङ्गासागर र धनुषसागरको मध्यमा निर्माण गरिएको झुला घरमा झुला उत्सव अवधिभरि नै विशेष किसिमले मनाइने गरिएकोमा समाज विकासका नाममा यस परम्परालाई हटाउँदै राम मन्दिरको बरण्डामा सीमित गरिएको छ ।

जनकपुरमा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्त सुरकिशोर दासबाट भएको पनि कथन पाइन्छ ।

दासको आगमनको समय सन् १७३० मानिन्छ । लक्ष्मण मन्दिर, दुल्हादुल्हीन, रत्नसागर, रसिक निवास र अग्निकुण्ड मन्दिरको झुला उत्सवले पनि जीवनलाई आनन्दमय रुपमा ग्रहण गर्न प्रेरित गर्दछ ।

मिथिलाञ्चलमा कृषि रोपाइँ सकिने बित्तिकै झुला उत्सवको रौनक सुरु हुन्छ । यस क्रममा प्रत्येक मठ मन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ ।

उमङ्गमय वातावरणमा श्रद्धालुद्वारा गाइने गीत जीवनको अभिन्न अङग बनेको प्रतीत हुन्छ–

झुला लगे कदमकी डाली 
झुले कृष्ण मुरारी ना।।। 

यी गीतमा कृष्णको प्रभाव देखिए पनि त्यसलाई रामसग दाँजेर गाइने गरिएकाले आनन्दको सहज स्वभाविक उच्छवासको अनुभूति हुने गर्दछ ।

उत्सवमा गाइने कजरी लोकगीतले श्रद्धालुलाई तान्ने वातावरण त रहन्छ नै, जानकी मन्दिरमा बिहान साँझ बजाइने सहनाइको ध्वनिले जनजनको ह्दयमा यो उत्सव सधैँ बसिरहने परम्परा पनि बनेको पाइन्छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..