» » सौराहाको पीडाः जहाँ हात्तीलाई पिटी पिटी मनोरञ्जन दिइन्छ


–डा.शरदसिंह यादव
गत दशैंमा परिवारका साथमा कतै घुम्ने जाने तयारी गर्दै थियौं । सबैजनाको सल्लाह भयो सौराहा जाने । चितवनको सौराहा जाने मेरो इच्छा पनि पहिलादेखि थियो । सबैको मनसँग मेरा मन पनि मिल्यो र हामी आन्तरिक पर्यटकको रुपमा सौराहा पुग्यौं ।

पर्यटकहरु चाहे त्यो विदेशको होस् वा स्वदेशको घुम्न जाने भनेको मनोरञ्जनका लागि हो । अर्कालाई पिडा दिएर लिएको मनोरञ्जन कस्तो मनोरञ्जन ? म सौराहा जादाँ त्यस्तै पाए । सौराहामा प्रचलित रहेको मनोरञ्जन मध्येको एक हो हात्तीमा चढेर जगंल घुम्नु । त्यहाँ भएका जगंली जनावर अवलोकन गर्नु । हामी पनि त्यस मनोरञ्जनमा सामेल हुन पुग्यौं । जब हामी हात्ती को सवारी गरेर जगंल घुम्न थाल्यौ । त्यहाँको अवस्था देखेर साह्रै चित्त दुख्यो । हाम्रो जगंल सफारीको करीब दुई घण्टा समय हात्तीको महोतसँगको कुरामा नै बित्यो ।

एउटा पत्रकारले सोधेको प्रश्नहरु जस्तै एक माथि अर्को प्रश्न सोध्दै गए । उसले जवाफ दिदै गयो । दिनभरि पर्यटक बोकेर जंगल घुमाएर थकित मुद्रामा देखिएका हात्तीलाई माउतेले फलामको रड तथा डण्डाले टाउकोमा पिटेको देख्दा मेरो मन रोयो । मेरी पाँच बर्षीया छोरीले पनि अंकल हात्तीलाई नपिटनुस् पनि भनिन् । माउतेको जवाफ थियो, पिटेन भने हिड्न मान्दैन ।’ 

हामीलाई त्यो दुई घण्टाको समय १० घण्टा बराबर भयो कति खेर फर्कि हालौ जस्तो भयो । जंगली जनावर हामीले केही पनि हेर्न पाएनौ । सौराहाको त्यो खण्डमा मात्र ५२ वटा हात्ती थिए । जसबाट सरदर १५–१६ घण्टा काम लिइन्छ । त्यो पनि ३६५ दिन । हात्तीहरु कुनै संस्था, व्यक्तिको लागि पैसा कमाउने मेसिन जस्तै काम गरि राखेको छ । बिरामी हुँदा पनि खटिने अवस्था छ ।

नेपालमा अहिले पशु कल्याण ऐन नबनेको अवस्था छ । सायद केही समयमा सरकारले यो ऐन लागु गर्नेछ । मनोरञ्जनको लागि जनावरको उपयोग कुनै नौलो कुरा त होइन तर पशु अधिकारको कुरा लाई ध्यानमा राख्न सके उसको पिडा रहित जीवन जिउन पाउने अधिकारलाई सुनिश्चित गर्न सके राम्रो हुन्थ्यो ।

संयोग भनौं हाम्रो टोलीमा दुई जना क्यानडाका नागरिक पनि थिए । मैले यहि विषयमा उनीहरुसँग भने कि तिम्रो देशमा यसरी कुनै जनावरलाई पिटेर मनोरञ्जन लिइन्छ ? उसले कुरा बुझेछ र जवाफ दिए, हाम्रो देशमा यस्तो हुन्न । हाम्रो देशमा कानुन कडा छ । साथै उसले यतिसम्म भने कि यो कृयाकलाप मलाई पनि मन परेन । मैले पनि पाप बोध गरे ।’ मेरो मनको कुरा उसले सहजै बुझेछ । मेरो भनाई यति मात्र हो जुन कुराले अर्कालाई पिडा बोध हुन्छ त्यो गर्नु र गर्न दिनु हुन्न ।

पशु कल्याण भनेको भोक तिर्खाबाट मुक्ती, दुखाई, रोग, कष्टबाट मुक्ती हो । उनीहरुले पनि आफ्नो प्राकृतिक व्यवहार प्रदर्शन गर्न पाउनु पर्छ । पशु कल्याण ऐनमा पशुप्रति निर्दयता भनेको, मानिसले पशुपालन, आश्रय, आहार, प्रजनन, स्वास्थोपचार, व्यवस्थापन पशु ढुवानी, कुनै पशुलाई उसले नसक्ने श्रम यातायात, भारी बोक्ने, कृषि काम तथा अन्य काममा जवर्दस्ती लगाउने, वैज्ञानिक अनुशन्धान, मनोरञ्जन सिनेमा, सर्कस, खेल समेतका कार्यमा पशुको प्रयोग गर्दा तोकिएको मापदण्ड विपरित पशुलाई पिडा दिने शारीरमा हानी नोक्सानी पु¥याउने, रोगी पशुलाई जवर्दस्ती कामका लगाउने समेतका अमानविय व्यवहार गरेमा पशुप्रति निर्दयता भएको मानिन्छ ।

हाम्रो मुलुकमा फितलो कानुनले गर्दा यस्ता कृयाकलाप मौलाएको हुनसक्छ । प्रकृतिको आनन्द लिन त्यही प्रकृतिमा रमाएर बस्ने कुनै जनावरलाई कष्ट दिनु कहाँसम्म उचित हुन्छ । एक पटक सोचौँ । बाँचौ र बाँच्न देउको सिद्धान्तमा हिडन सक्यो भने यही संसार हाम्रो लागि स्वर्ग हुन सक्छ ।

-लेखक यादव पशु चिकित्सक तथा अधिकारवादी हुन्_                                                                               

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..