» » प्रहरीकै संरक्षणमा तस्करी

-मनिष गुप्ता 
कपिलवस्तु साउन २९ गते । कपिलवस्तुमा तस्करी बढदै गएको छ । नियन्त्रण गर्ने निकाय प्रहरीले संरक्षण दिएपछि अहिले जिल्लामा तस्करी झनै मौलाउदै गएको पाईएको छ । जिल्लाका आधादर्जन भन्दा बढी नाकाहरुबाट प्रहरीकै मिलोमतोमा तस्करी मौलाएको छ ।

विगत एक महिना यता भारतीय बजारसँग जोडिएको सातवटा नेपाली सीमानाकाबाट रासायनिक मल,
किराना, ईलेक्ट्रोनिक्स र कस्मेटिक सामान, चामल चल्लादेखि सुर्तीजन्य पदार्थ, लत्ताकपडा र खाद्यान्नको तस्करी तीब्र भएको छ । यी सब समान नाकाबाट अवैध ढंगबाट छिर्छ भने कुरा प्रहरीलाई थाह नभएको होइन तर आँखा चिम्लेको छ, त्यसवापत कमिशन जो आइरहको छन् ।

स्रोतका अनुसार तस्करीमा नेपाल र सशस्त्र प्रहरीको लाईन रहेको छ । सीमा नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेपनि बिना भन्सार मालसामन भित्रिनुले पनि यो कुराको पुष्टी गरेको छ । हथिहवा दोहनी, चाकरचौडा, बिजुवाको गुलरी, रंगपुर, मर्यादपुर कुुशहावा बढनी, भिल्मी, लगायतका नाकाहरुबाट खुलेयाम मालसामानहरु आइरहेका छन् । धानमा रासायनिक मल हाल्ने सिजन भएकाले अहिले सबै भन्दा बढी भारतीय रसायनिक मलको तस्करी हुने गरेको छ ।

प्रति बोरा अढाईसय देखि ३ तीन सयसम्म फाईदा हुने भएकाले अहिले तस्करहरुले जति सक्दो भारतीय मल भित्र्यार बिक्री गर्ने गरेका छन् । प्रहरीसँग सेटिङ मिलाएर तस्करहरुले ठाउँ ठाउँमा मलको गोदामै खडा गरेको लवनीका एक स्थानीयले बताउनु हुन्छ ।

पकडी, लवबी ,चाकरचौडा लगायत बजारहरु अबैधरुपमा भित्र्याईएका भारतीय मलले भरिभराउ छन् ।
किसानले नाकाबाट एक दुई बोरा मल ल्याउँदा पक्राउ गर्ने गरेको तर तस्करहरुले बोराका बोरा मल ल्याएर नेपालमा गोदाम गर्दा किन पक्राउँदैन भने कुराले के संकेत गर्छ सहजै बुझ्न सकिन्छ ।

 भारतबाट गैर कानुनीरुपमा भित्राईएका युरिया र डिएपी गरी १३ बोरा रासायनिक मल पकडी चौराहामा साउन २७ गते नाटकीयढंगले पक्राउ पर्नुले पनि तस्करीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथ रहेको पुष्टी भएको बताइन्छ ।

सीमानाका चाकरचौडाबाट छिराईएको उक्त मल लु १ ख ९१७२ नम्बरको यात्रु बाहक बसमा ल्याईएको थियो ।

चाकरचौडाबाट उत्तरी पिपरा जाँदै गरेको उक्त बसमा अबैध मल रहेको राष्ट्रिय अनुसंधानका कर्मचारीहरुले दिएको सुचानका आधारमा नियन्त्रणमा लिईएको थियो । चाकरचौडामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले छाडेको उक्त मल पक्राउ गर्न ईलाका प्रहरी कार्यालय पकडीले समेत चासो देखाएको थिएन । राष्ट्रिय अनुसन्धानको कर्मचारीको दवावमा बाध्य भई प्रहरीले मल नियन्त्रणमा लिएका थिए ।

१३ बोरा मल पक्राउ गरे पनि शुरुमा प्रहरी उपरीक्षक बिष्णु केसीलाई आठ बोरा मात्र पक्राउ गरेको जानकारी गराईएको थियो । घटनाबारे थाहा पाएपछि सञ्चारकर्मीको टोली पकडी पुगेपछि ईलाका प्रहरी कार्यालयको गेटमा बोराले छोपेर लुकाईएको पाँच बोरा मल फेला पर्यो । ईलाका प्रहरी पकडीका प्रहरी निरीक्षक माहोम्मद ईसरायल अन्सारीले राष्ट्रिय अनुसन्धानको कर्मचारीहरुको सुचनाका आधारमा मल पक्राउ गरेको बताए ।

प्रहरी हवल्दार उदय भान्ले सुरुमा आफूलाई आठ बोरा मात्र मल पक्राउ गरेको बताएकाले जिल्ला प्रहरीमा सुरुमा त्यही जाहेर गरेको उहाँले बताउनुभयो । पक्राउ परेको सो मल पकडीमा रहेका मलका कारोबारीहरु कान्ती वर्मा राधेश्याम बरई, गलिराम हरिजन, रवीन्द्र चौधरीको रहेको स्थानीयले बताउनुभयो । यसअघि २० दिन पहिले पनि राष्ट्रिय अनुसन्धानकै कर्मचारीको सुचनाका आधारमा २३ बोरा अबैध चिनी पक्राउ गरिएको थियो ।
पकडी– ६ सेमराका रारजेन्द्र प्रसाद चौधरीले चाकरचौडाबाट बस, जीप, मोटरसाईलमा दिनहु बोराका बोरा मल, चीनी, दाललगायतका सामाग्री आउने गरेको बताउनुभयो । ‘यो बाटो हुँदै खुलेयाम माल जाने गर्छ तर कसैले पक्राउ गर्न चासो दिदैनन’ उहाँले भन्नुभयो ।

 तस्करहरुले चाकरचौडामा रहेको सशस्त्र र नेपाल प्रहरी तथा ईलाका प्रहरी कार्यालय पकडीलाई मासिक लाईन बापत रकम बुझाउने गरेको स्रोतको दावी छ । पकडीमा कार्यरत प्रहरी हवल्दार उदय भान यादवले त्यसका लागि चाजोपाजो मिलाउने र रकम संकलन गर्ने गरेको छन् ।

साउन २६ गते बिहान साईकलमा लोड गरेर भारतीय युरिया मल लैजाँदै गरेका धरमपनीयका दुई कृषकले प्रहरीले सीमानाकामा प्रति बोरा ५० देखि सय रुपैया लिएर असुल्ने गरेको आरोप लगाउनुभयो ।

उता प्रहरी उपरिक्षक बिष्णु केसीले सीमानकाबाट तस्करी भएको बिषयमा आफूलाई कुनै जानकारी नभएको दावी गर्नुभयो ।
 तस्करी नियन्त्रणकालागि  प्रयासमा लागेको उहाँले बताउनुभयो । ‘सीमा तस्करी रोक्ने हाम्रो मात्र काम होइन अन्य निकाय खासगरी भन्सार उत्तिकै जिम्मेवार छ’ उहाँले भन्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..