» » मधेशमा जातीय राजनीतिको डरलाग्दो रुप


–सुरेशकुमार यादव
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्तालाई साउन १७ गते विहान ८ बजे उहाँकै निवासमा म भेट्न गएका थिए । अधिकाँश समय मधेशमै बिताउने र मधेश तथा देशको राजनीतिलाई नजिकबाट नियालि रहने जेपी गुप्ता काठमाडौ आउनु भएको छ भनि थाह पाएर राजनीतिक गफगाफ गर्नका लागि म उहाँकै निवासमा पुगेका थिए ।

 पहिलो तल्लामा रहेको उहाँको स्टडी कक्षमा पुग्दा उहाँले पत्रिका कटिङ्गहरु फाइलिङ गर्दै हुनुहुन्थ्यो । कटिङ्गहरु एकएक गरि त हेर्न पाइन तर यसो नजर कुदाउँदा अधिकाँश राजनीतिक समाचारका कटिङ्हरु थिए, जसलाई उहाँले क्याटोगरीकली फाइलहरुमा बडो जतनका साथ मिलाएर राख्नु भएको थियो । यसैबाट अनुमान लगाउन सकिन्छ, राजनीतिमा निस्कृय देखिनु भएका जेपी गुप्ता त्यसप्रति कति चासो लिनु भएका छ भनेर ।

कोठामा छरिएर रहेका फाइलहरु मिलाउँदै जेपी गुप्ताले बडो शालिन र मन्द भावुकमा भन्नुभयो, के छ सुरेश बाबु भन्नुस्, कस्तो भइरहेको छ तपाईको कामहरु ।’ मैले पनि छोटो प्रतिकृया दिँदै भने, ठिकै छ सर जसो तसो चलिरहेको छ बरु तपाई अधिकाँश समय मधेशमै बिताउनु हुन्छ भन्नुस् के छ उतातिरको खबर । के भइरहेका छन् मधेशमा ।’ उहाँको बोल्ने शैली (भाषण) बाट म मात्र होइन, धेरै मान्छे प्रभाावित छन् भने कुरा मैले आफ्नै कानबाट धेरैको मुखबाट सुनेको छु । उहाँले मधेशका बारेमा बोल्नु थाल्नु भयो, म एक्लो स्रोता जस्तै ध्यानपूर्वक सुन्न थाले । एउटा पत्रकार भएको नाताले मैले उहाँको एक एक शब्द र बडी ल्याङ्गुवेज र हाउ भावमाथि ख्याल गर्न थाले ।

अरु के कारणले उहाँ कानुनी उल्झनमा फँस्नु भएको छ र राजनीतिकमा निस्कृय हुनुभएको छ, म त्यतातिर जान चाहन्न । तर, उहाँको बोली, बडी ल्याङ्गुवेज र हाउभाव सुन्दा र हेर्दा मधेशप्रति साह्रै चिन्तित भएको पाए । कतै नकतै विगतमा मधेश राजनीतकमा भएको त्रुटीहरुको दोषी आफू पनि रहेको भान उहाँमा पाए । करिब डेढ घण्टा भएको कुराकानीमा उहाँल बारम्बार एउटै चिन्ता जाहेर गर्नु भयो मधेशमा जातीयताको राजनीतिक ।
उहाँले एउटा फेहरिस्त सुनाउनु भयो र भन्नुभयो, सुरेशजी अरु कतै टाढा जानु पर्दैन, यो एक दुई महिनामा उपेन्द्र यादवले पार्टी प्रवेश गराएको, राजेन्द्र महतोले पार्टी प्रवेश गराएको, तमलोपाले पार्टी प्रवेश गराएको, विजय गच्छदारले पार्टी प्रवेश गराएको लिस्ट हेर्नुस् मधेशको राजनीतिक कता जाँदैछ आफै प्रष्ट हुन्छ ।’
हो, मैले उहाँहरुले पार्टी प्रवेश गराएको समाचारहरु सर्सति सम्झे । प्रवेश गरेकाहरुको अनुहार सम्झे । जेपी गुप्ताले संकेत गरेको कुरा ठ्याकै मिलेको रहेछ ।

‘उपेन्द्र यादवको पार्टीमा प्रवेश गराएका अधिकाँश यादवहरु छन्, राजेन्द्र महतोले पार्टीमा प्रवेश गराएका अधिँकाश साहु, तेली, पचपनियाँ, बनियाँ रहेका छन्, तमलोपाले त्यति पार्टी प्रवेश गराएका छैन, जति गराएका छन् त्यसको लिस्ट हेर्नुस्, उच्च जातिका बाह्रमण, कायस्थ रहेका छन्, विजय गच्छदारले पार्टीमा प्रवेश गराएका अधिकाँश थारुहरु छन्, सुरेशजी मधेशमा यो खतरनाक अवतरण हो । यसले मधेशलाई सुदृढ होइन, बर्बाद गर्छन्’ गुप्ताले बडो गम्भीर भएर यो कुरा भन्नुभयो ।
दलहरुमा जातीय पडक हावी रहेको कुरा याद गरेपनि मधेशमा यसले यस्तो रुप लिँदैछन् भने याद गरेको थिइनन् । मलाई जेपी गुप्ताको कुराले गम्भीर बनायो । मधेशमा कुनै भेला, सम्मेलन, गोष्ठी गर्नु भयो भने स्वतन्त्र रुपमा मान्छे भेला हुँदैनन् ।

 भन्छन्, ए यो त फलानो जाति मान्छे, ए यो त फलानो पार्टीका नेता भनेर एकजातिका समुदाय अर्को जातिले गरेको कार्यक्रममा जान छाडेका छन् । मधेशमा खुलम खुल्ला बहस शुरु भएको छ यो त यादवको पार्टी, यो त साह तेलीको पार्टी, यो त झाको पार्टी, यो त थारुको पार्टी भनेर एकअर्काको भेला, सम्मेलनहरु बहिष्कार गरीरहेका हुन्छन् । खासगरि यी मुख्य चार कलस्टर नै मधेश हो । जसलाई नेताहरुले आआफ्नो तारिकाले कब्जा जमाएर बसेका छन् ।

कोही यादव कुनै पार्टीमा नलागेपनि उहाँको सेम्पेथी उपेन्द्र यादवमाथि नै हुन्छ । ब्राहमण, कायस्थ कुनै पार्टीमा नलागेकापनि उनको सेम्पेथी महन्थ ठाकुरमाथि नै हुन्छ । साहु, तेली, पचपनियाँ कुनै पार्टीमा नभएपनि सेम्पेथी राजेन्द्र महतोमाथि नै हुन्छ । थारुहरु कुनै पार्टीमा नभएपनि उनको सेम्पेथी विजय गच्छदारमाथि नै हुन्छ । यस अवस्थामा कसैले कुनै दल वा संगठन बनाउन चाहे पनि सम्भव छैन ।

कुनै एउटा संगठन बनाउनुस्, त्यसमा यदि यादवको सँख्या बढी छ भने यो त उपेन्द्र यादवको संगठन हो भनि आरोप लगाई दिन्छ, झाहरुको बर्चस्वको संगठन छ भने यो त महन्थ ठाकुरको संगठन हो आरोप लगाई दिन्छ । साह, तेली, सुरीको छ भने यो त पक्कै राजेन्द्र महतोले खोलाएको होला भनि आरोप लगाई दिन्छ । थारुहरुको कुनै संगठन छ भने पक्कै पनि यो विजयकुमार गच्छदारको लगानीमा खुलेका होला भनि आरोप लगाई दिन्छ ।

मेडियाकै कुरा गरौं, राजेश अहिराजले कसरी कुन अवस्थामा मधेशवाणी चलाई रहनु भएका छ उहाँलाई नै थाह होला तर मधेशवाणी महन्थ ठाकुरको सहयोगमा सञ्चालित भइरहेको आरोप थेग्न राजेश अहिराजलाई गाह्रो भएको छ । बीपी साहले हुलाकी न्यूज चलाई रहनु भएको छ ।

 यो त राजेन्द्र महतोको सहयोगमा चलिरहेको छ भनि आरोप थेग्न बीपीलाई कति मुस्किल भएको छ । लाली यादवले सहारा टाइम्स पत्रिका सञ्चालन गरिरहनु भएको छ, यो त उपेन्द्र यादवको सहयोगमा सञ्चालित भइरहेको अरोप थेग्न उहाँलाई कति गाह्रो भएको छ । यो छ मधेशको अवस्था ! यस्ता दर्जनौ उदाहरणहरु छन् जसले मधेशलाई मनोवैज्ञानिक रुपमा जातीय रुप दिएर खण्डखण्डमा विभाजित गरि दिएका छन् ।

अमेरेन्द्र यादव, दिनेश यादवहरु मधेशमा कुनै कार्यक्रम लिएर जानु भयो भने त्यसमा अधिकाँशको उपस्थिति यादवको हुन्छन् । दीपेन्द्र झा, राजेश अहिराज, धर्मेन्द्र झा, प्रशान्त झा, मोहन सिहहरु कुनै कार्यक्रम लिएर जानु भयो भने उच्च जातिका उपस्थिति ज्यादा हुन्छ ।

तुलानारायण साह, बीपी साहहरु कुनै कार्यक्रम लिएर जानु भयो भने साह, तेली सुरीको उपस्थिति ज्यादा हुन्छ भने लक्की चौधरी, सिएन थारुहरु कुनै कार्यक्रमहरु लिएर जानु भयो भने अधिकाँश थारुहरुको उपस्थिति हुन्छ । यस्तो किन ? अमरेन्द्र यादव, राजेश अहिराज, बीपी साहहरुले कार्यक्रममा मेरा जातिका मान्छेहरु आउन भनि चाहेर आएको होइन । नचाहेर पनि मान्छेको उपस्थिति त्यस्तै भइ दिन्छ किनभने ती उपस्थित समुदायहरु राजनीतिक स्कूलिगंका कारण जातीय मनोविज्ञानबाट जक्रिएका छन्, अफिमको नासामा लठिएका छन् र आफ्ना सहगोत्री देख्नै वित्तिकै हुरुक्क भएर कार्यक्रममा सहभागि हुन्छ ।

साउन २६ गते तराई मधेश लोकतान्त्रिक पार्टीले आफ्नो कार्यसमिति सार्वजनिक गर्यो । सार्वजनिक गरिएको कार्यसमिति हेरेपछि त्यसको ब्यापक टिक्का टिप्पणी भइरहेको छ । मैले पनि फेसबुकमा एउटा स्ट्टस लेखे, त्यसपछि एकजना अनिल झा भन्ने व्यक्तिले मलाई सोध्नु भएको छ अनि फोरममा के छ ? मानौ म फोरम नेपालको कार्यकर्ता भएर तमलोपाको बारेमा टिप्पणी गरेको छु । यस्तो छ मधेशको मनोविज्ञान । एक कदम अगाडी बढ्न दिँदैन । जे काम गर्नुस् तपाईलाई जातीय रंग लगाएर यस्तो लोतपोत गर्दिन्छ कि अगाडी बढ्न खुट्टा लरर्बाई दिन्छ ।

तमलोपाले सार्वजनिक गरेको कार्यसमितिमा ७४ जनामध्ये १८ जना बाहुन रहेका छन् । सम्पूर्ण केन्द्रीय कार्यसमिति समितिको एक चौथाई बाह्रमण (झा) मात्र छन् । कायस्थ र अन्य उच्च जातिको हिसाब नै गरिएका छैन । २४ प्रतिशत ब्राहमणको बाहुल्य रहेको सो कार्यसमितिले मधेशको राजनीतिमा कस्तो असर पार्छ । कल्पना गर्न सकिन्छ ।

अध्यक्षमा महन्थ ठाकुर, उपाध्यक्षमा ह्रदयश त्रिपाठी, अर्का उपाध्यक्षमा सर्वेन्द्रनाथ शुक्ला, दुई जना सहमहामन्त्री राकेश मिश्र र जयप्रकाश ठाकुर ब्राहमण जातका हुनुहुन्छ । (उहाँहरु सबै मेरा प्रिय हुन् । अन्यथा नलागोस्) तीनजना उपाध्यक्षमध्ये वृषेशचन्द्र लाल पनि कायस्थ समुदायमा पर्नुहुन्छ । कार्यसमितिको यो तस्विर महिला अधिकारकर्मी रिता साहले आफ्नो फेसबुक पेजमा देखाएपछि सो पार्टीका विद्यार्थी नेता शम्भु झाले वृजेश गुप्ता, जंगीलाल राय यादव र अनिता यादवलाई देखाउनु भयो ।

 जब कि नौ जना पदाधिकारीमा तीनजना अन्य जातिका मात्र छन् । न त्यहाँ मुस्लिम छ, न त्यहाँ थारु छ, न अन्य जनजाति । यो तमलोपाको रोग मात्र होइन अन्य पार्टीको पनि रोग हो तर तमलोपाले सबै सीमा नाघि सकेको छ । अन्य पार्टीमा विशेष जातीको बर्चस्व रहेपनि कमसे कम पदाधिकारीमा समावेशी देखाएका छन् ।

तर तमलोपा अन्य जातिमाथि यति निर्दय भएका छन् कि अन्य जातिका नेतालाई कुनै गुन्जाइस् छैन । पार्टीमा बसेपनि नबसेपनि हुन्छ भनि किनारा लगाएका छन् । के यहाँ झा, यादव, थारु, तेली, सुरी बाहेकका जातिलाई राजनीतिक गर्ने अधिकार छैन ?

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..