» » नश्लवादी चिन्तन र मुसा प्रवृति

–उपेन्द्र यादव
नेपालमा राणाजीहरुले सविधान निर्माण गर्दा अढाई वर्ष पनि चलेन । त्यसपछि काँग्रेस र राजा, राणाहरु बनाए त्यो पाँच–सात वर्ष पनि चलेन । अर्को सविधान बनाए त्यो अढाई वर्ष पनि चलेन । पछि आएर विश्वका उत्कृष्ट सविधान भनि काँग्रेस, वामपन्थी र राजाहरुले बनाए, त्यसलाई आफै कतिखेर मसानघाटमा पुर्याए थाहै भएन । सविधान बनाउँदाखेरि मुलुकको भविष्य र त्यसले कति लामो सयमसम्म देशलाई गति दिनसक्छ त्यो एउटा आधार हुन्छ ।

अमेरिकाको सविधान बनेको २२९ वर्ष भयो । अहिलेसम्म त्यही सविधान चलिराखेको छ । नर्वेमा सविधान निर्माण भएको २०२ वर्ष भयो तर अहिलेसम्म त्यही सविधान चलिरहेको छ । यहाँ ९० प्रतिशतको बहुमतबाट सविधानसभाबाट सविधान बन्यो तर त्यो पनि पूर्ण छैन । यहाँ केही व्यक्तिहरु बालुवाटारमा बसेर सविधान बनाए जवर्जस्ती लाद्न खोजिएको छ ।

सविधानमा व्यापक छलफल नै नगरिकन, सविधान बनाउनेलाई सम्पर्क पनि नगरिकन जवर्जस्ती सविधान घोषणा गरे र हप्ता दिन नपुग्दै जवर्जस्ती संशोधन पनि गर्यो । त्यो आपति कहाँबाट आएको थियो ? यसले सविधान निर्माण गर्नेहरुमा दुरदर्शिता कति रहेको छ भने कुरा पुष्टि गरेको छ । अहिलेको जुन सविधान हो त्यो मधेशी जनताको रगत, खसाङ्गका जनताको रगतको छिटेछिटाले भरिहेको कलंकित कार्य भएको सविधान हो ।

सविधानको स्वीकार्यता
संसदमा आएपछि सविधान सबैले स्वीकार गर्यो भन्छन् । यस्तो भन्नुको कारण उहाँहरुको संगत हार्डलाइनर पंचहरुसँग भएको छ र बानी व्यहोरा पनि त्यस्तै त्यस्तै हुन लागेको छ । जनमत संग्रहपछि राजाले सबै नेपाली पंच र सबै पंच नेपाली रहेको भन्नु भएको थियो । र, त्यही बेलाको आदत अहिले पनि ती नेताहरुमा रहेको छ । त्यसबेला काँग्रेस, कम्युनिष्ट हामीले आन्दोलन थियौं ।

 हामी अहिले संसदमा यो नश्लवादी सविधान स्वीकार गर्न आएको होइन । हामीले सविधान स्वीकार गर्यौं भन्दै एकछिनका लागि खुशीयाली नमनाए हुन्छ ।
सविधान निर्माण गर्ने बेलामा अलि अलि बुद्धि पुर्याए हुन्थ्यो कि उहाँहरु नभइकन सविधान कार्यान्वयन हुनसक्दैन । मैले कुनै नेताको मुखबाट सुनेको थिए कि यो सविधान निर्माण र प्रणाली खच्चरको जस्तो  छ । बाइलोजीमा खच्चर भनेको घोडा र खच्चरको क्रस प्रोडक्ट हो । सविधान निर्माण गर्दाखेरि को गधा थिए, को घोडा थिए त्यो कुरा उहाँले खुलाउनु भएन ।

नाकाबन्दी
नाकाबन्दी फिर्ता गरायौं भन्दै सरकारले त्यसलाई ठूलो उपलब्धी भन्दै खुशीयाली मनाएको छ । यो भनेर सरकारले कति भ्रम छरेको छ । देशमा खासगरि मधेशमा कफ्र्य लगाएर, निषेधज्ञा घोषणा गरेर राज्यले नरसंहार गर्यो । त्यहाँका जनताहरु दशगज्जामा गएर प्रदर्शन गर्न बाध्य भएका थिए । त्यो दशगज्जाको आन्दोलनलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रुपान्तरित गर्ने भनेको थियो ।

 त्यसबेलाका सरकारले आफ्नै देशका जनतालाई विदेशी भन्ने, विखण्डनकारी भन्ने र मुलुकको राष्ट्रिय एकता समाप्त गरि देशमा सम्प्रदायिक दंगा फैलाउने काम सरकारले गरिरहेको थियो । त्यसबेला राष्ट्रिय एकतालाई बचाउन, सम्प्रदायीक दंगा फैलाउने प्रयासलाई निस्तेज पार्नका लागि हामीले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निर्णय गर्यो ।

अबको आन्दोलन काठमाडौ केन्द्रीत गर्नपर्छ भन्दै हामी नाका छाडेर काठमाडौ आयौं । के सरकारको यो सफलता हो ? यो जतिको हस्यास्पद कुरा अरु के हुनसक्छ । जहाँ हामी आन्दोलनको स्वरुप बदलियौं त्यसलाई यो राज्यले उपलब्धी मानेको छ ।

मुसा प्रवृति
अब सरकारको जहाज (सरकार) डुब्न लाग्यो । आफैसँग गठबन्धनमा रहेकाहरु (मुसा) जहाज (सरकार) मा प्वाल पार दिए । यहाँसम्म आफ्नै पार्टीका नेताले पनि प्वाल पारे । आफ्नै पार्टीका नेता र सहयात्रीले प्वाल पारिसकेपछि त्यो जहाज डुब्न शुरु भयो । एउटा भनाई छ, ‘जब जहाज समुन्द्र में डुबने लगती हैं, सबसे पहले चुहे भागता हैं ।’ यहाँ पनि सरकारको जहाज डुब्न थालेपछि मुसाहरु धमाधम भाग्न थालेका छन् । भोलीको सरकारको नेतृत्व गर्ने दलका नेतालाई भन्न चाहन्छु कि मुसो भनेको यस्तै हो, कतिखेर भाग्छ भनि थाहै हुँदैन । जब जहाज डुब्न थाल्छ अनि जहाज छाडेर भाग्न थाल्छ । मुसाहरुको फौज तयार गरेर सरकारले केही उपलब्धी हासिल गर्नेबाला छैन, त्यसकारणले यसमा अलि सतर्क नै रहनु होला ।

दमन
मधेशी, आदिवासी जनजाति, सिल्पी, महिला, पिछडिएका, अल्पसँख्यकहरुको अधिकार यो सविधानमा समेटिएन त्यही कारणले हामी आन्दोलनमा गयौं । आन्दोलनमा चलिरहेको समयमा चारवर्षको बच्चादेखि लिएर ८० वर्षका बुढामाथि राज्यले गोली चलाएर हत्या गर्यो । त्यो हत्या नभएर एकखालको नरसंहार थियो । मधेशी समुदायको विरुद्ध जातीय नरसंहार थियो । त्यो नरसंहारले मानवतावादी कानुन र मानवअधिकारको घोर उल्लघंन भएको छ । त्यो नरसंहारको लागि अन्तरराष्ट्रिय मापदण्ड अनुसारको छानविन आयोग बन्नुपर्छ । र, अपराधीलाई अन्तराष्ट्रिय फौजदारी अदालतमा उभ्याउनै पर्छ ।

मुलुलकलाई कालाबजरीया र तस्करको हातमै दिदियो । अहिलेको अर्थतन्त्र तस्करले चलाएको अर्थतन्त्र हो । सरकारले नै प्रस्तुत गरेको आँकडामा व्यपारघाटा मात्र ६ खर्ब २० अर्ब १३ करोड पुगेको छ । निकासी ६० अर्ब ८२ करोड र आयात ६ खर्ब ८० अर्ब १५ करोड रहेको छ । आयात ९१.८ प्रतिशत र निर्यात ८.२ प्रतिशत भएका मुलुकलाई के भन्ने ? आर्थिक रुपले टाट पल्टाइएको छ मुलुकलाई । यस्तो कमजोर अर्थतन्त्र, आर्थिक रुपले धरासायी नेपालको इतिहासमा कहिले भएको थिएन ।पंचायतकाल र राजा, महाराजाको पालामा पनि ७ प्रतिशतसम्म पनि ग्रोथ रेट पुगेको थियो । अहिले आएर ०.७ प्रतिशतमा झरेको छ, यसलाई जिरो प्रतिशत भन्दा पनि हुन्छ ।

नश्लवाद
नश्लवाद सबैलाई थाह होला । जर्मनीका हिटलर पनि समाजवादी नै थिए । उ पनि चुनाव लडेर नै राष्ट्रपति हुनुभएको थियो । उनका बिचारमा फरकमत राख्ने यहुदीहरुलाई उनले नरसंहार गरेको थियो । जसरी यो सरकारले मधेशीको नरसंहार गरेको थियो । यहुदीहरुको नरसंहार र नश्लवादी चिन्तनले जर्मन ध्वस्त भयो । दोस्रो विश्वयुद्धले जनता दुख पाए । जर्मन ध्वस्त भएर विभाजित भयो ।

नेपाली नश्लवादीहरुको चिन्तनले मधेशी समुदायलाई विदेशी ठान्ने, अपमानित गर्ने, आदिवासी जनजातिहरुलाई यी थेप्चे, नेप्चे भनेर अपमानित गर्ने, पहिचानलाई मान्यता नदिने, दलित, शिल्पी समुदायलाई समाजिक रुपले अपहेलित गर्ने र विपन्न वर्गलाई शोषण र उत्पीडिनमा पार्ने सरकारबाट भएको हो । मेरै जात ठूलो हो । यिनै चारजनाले मिलएर बनाउने सविधान सर्वस्वीकार हुने चिन्तन नै नश्लवादी चिन्तन हो । यो नश्लवादी चिन्तनले राष्ट्रिय एकतालाई कमजोर पार्ने कार्य गरेको छ ।

राष्ट्रिय एकता

यहाँ हंगामा मचाईएको छ कि यो सरकार राष्ट्रवादी सरकार हो । मैले राष्ट्रवादी सरकारको एउटा अनुहार देख्याछु । एउटा उदाहरणको चर्चा मात्र गरौः हामी आन्दोलनमा थियौं । ३६ पटक वार्ता भयो । तर सरकारको तर्फबाट कुनै प्रस्ताव आएन । जब हामी दिल्ली पुगियौं, त्यहाँ नेपालको सरकारको प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्ना उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई पठाएर यो चार बुँदे प्रस्ताव दिएका छ, यसमा सम्झौता गराई दिनु भनेको थियो ।

यो कुन राष्ट्रवाद हो ? नेपाली जनताको स्वभिमान र सम्मानलाई आँच पुर्याउने सरकार कही राष्ट्रवादी हुन्छ ? राष्ट्रिय एकतालाई कमजोर पार्ने सरकार कही राष्ट्रवादी हुन्छ ? यदि राष्ट्रिय एकतालाई दरो बनाउने हो भने आदिवासी जनजाति, मुस्लिम, थारु, दलित अल्पसँख्यक समुदायलगायत सिमान्तकृत सुमदायहरुले उठाएको मागहरुलाई सम्बोधन गरेन भने अहिलेको यो सविधान काम लाग्दैन । 

यो विभेदकारी सविधानलाई पुनर्लेखन गरी ती मागहरुलाई सम्बोधन गरे मात्र यो मुलुकको राष्ट्रिय एकता बलियो हुन्छ । संसारमा कही पनि राष्ट्रिय एकता उखान र टुक्काले बलियो भएको छैन । मेचीदेखि महाकालीसम्म मधेशका जनताहरु मानव साङ्गलो बनाए, जो ऐतिहासिक बन्यो त्यसलाई पनि माखो साङ्गलो भनियो । नरसंहार गर्दा दुईचार वटा आँप झरेको भन्ने, घरघरमा ग्यासको पाइप पुर्याई दिने भन्ने, कहिले हावाबाट विजुली निकाल्ने हावा कुरा गर्ने अनि संघीयता र गणतन्त्रलाई बाख्राको टाउकोमा भैंसीको सिंह भन्ने यस्ता कुराले देशको राष्ट्रिय एकता बलियो हुनसक्दैन ।

यति मात्र होइन, यो मुलुकमा रहेको विविधतालाई सम्बोधन नगरिकन, राष्ट्रिय सवालहरुलाई सम्बोधन नगरिकन देशका कुनै पनि समस्याको हल हुँदैन । यो भ्रम नपालौ कि हामी संसदमा हौं, सविधानसभा पनि रहेकै हो । आज आए सेता कुर्सीमा बसे र समस्या हल भयो । सबैले मान्यो भनि भ्रम पाल्यौं भनि उही राजा महाराजाले भने जस्तै सबै पंच नेपाली, सबै नेपाली पंच भ्रम पालेर सिधिने बेर छैन ।

(संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले संसदमा दिएको भाषणको सम्पादीत अंशः) 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..