» » बाहिरी कुरा जे भएपनि भित्रि कुरा अर्कै छ


पहिलो सविधानसभामा एक नम्बरको पार्टी बनेका नेकपा (माओवादी) केन्द्र दोस्रो सविधानसभाबाट तेस्रो स्थानमा पुगेपछि सो पार्टीका अध्यक्ष प्रचण्डले पटक पटक सार्वजनिक रुपमै कसम खाए कि न मलाई प्रधानमन्त्रीको लोभ छ न राष्ट्रपतिको । आफ्नो उद्देश्य भनेको पार्टीलाई एक नम्बरको पार्टी बनाउने हो । १६ बुँदे सम्झौता हुँदा उहाँलाई प्रधानमन्त्रीको अफर नआएको होइन, अथवा उहाँले प्रधानमन्त्री बन्न चाहेको भए कसैले रोक्न सक्दैन्थ्यो । राष्ट्रपति बन्नका लागि पनि पहल गरेको भए उहाँ बन्न सक्नु हुन्थ्यो तर त्यसबेला उहाँले कुनै लोभ नदेखाई आफ्नै अगुवाईमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनुभयो ।

जब कि काँग्रेसले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्नुछ भने बनुस् पनि भनेका थिए । काँग्रेसले यतिसम्म भनेका थिए कि सरकार गठन गर्नमा सहयोग गर्नुस् र तपाईले इच्छाएको कुरा पुरा हुन्छ तर एक ताका आफैले पागल घोषणा गरिसकेका केपी शर्मा ओलीलाई छाड्नै नसक्ने गरि ओलीसँग टासिए र उहाँलाई प्रधानमन्त्री बनाउनु भयो । आज त्यही प्रचण्ड काँग्रेसको बैशाखी टेकेर प्रधानमन्त्री बन्न ललाइत देखिनु भएको छ । यस्तो अवस्था किन आयो त ? बुझ्दै जाँदा ‘चोर चोर मसौरे भाइ’ जस्तो भएको छ ।

अहिलेको गठबन्धनमा मुख्य तीन घटक दखिएका छन् । नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र र मधेशी मार्चामध्ये दुई घटक काँग्रेस र माओवादी आन्तराष्ट्रिय कानुनको कठघारामा उभिने सम्भावना देखिएपछि हतार हतारमा गठबन्धन बनाएको छ । आफ्नै हातमा डाडु पेन्यु लिएपछि अब के को डर जस्तो ओलीको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएको हो ।

यो कुराको पुष्टि अध्यक्ष प्रचण्डलै आफै गरेका छन् । सत्ता गठबन्धनका लागि असार २७ गते बसेको कार्यालयको बैठकमा अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले आफूमाथि ठूलो षड्यन्त्र गरेको खुलासा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले आफैसँग राखेर कुनै कुराको भनक नै नदिइकन भित्रैदेखि माओवादीलाई समाप्त पार्ने षड्यन्त्र गरेको कुरा बैठकमा राख्नु भएको थियो । उहाँले बैठकमा भन्नुभएको थियो, म अष्ट्रेलिया किन गइनन् तपाईहरुलाई थाह छ, एमालेले मलाई अष्ट्रेलियामा नै समात्न लगाउने व्यवस्था मिलाई सकेका थिए । अष्ट्रेलिया जानका लागि ठिक परिसकेको, लुगा पनि लगाई सकेको अवस्थामा एका एक त्यही कारणले भ्रमण क्यान्सिल गरेको हुँ ।’

उहाँले त्यति मात्रै भन्नुभएन, उहाँले सत्यनिरुपन मेलमिलाप आयोगमा आएका उजुरीका आधारमा एमालेका वकिल, एनजियो तथा आइएनजियोले माओवादीलाई घेरा हालेर फँसाउन चाहेको कुरा राख्दै तत्कालै गठबन्धन नतोडिए जे पनि हुनसक्ने कुरा राखेका थिए । माओवादीको तर्फबाट शेरबहादुर देउवाको विरुद्धमा पनि थुप्रै उजुरीहरु परेका छन् । त्यही उजुरीका आधारमा देउवा पनि फँस्ने देखिएपछि बाध्य भएर प्रचण्डलाई सरकारको नेतृत्व सुम्पेर मुद्दा मिलाउने तिर लाग्नु भएको छ ।

मधेशी मोर्चा अन्तराष्ट्रिय अदालतमा नगएपनि राष्ट्रिय अदालतमा उभिने खतारा त्यतिकै छ । मधेशी मोर्चामा रहेका अधिकाँश दलका नेताहरुको फाइल अख्तियारमा तयार भएको छ । राजेन्द्र महतोदेखि राजकिशोर यादवसम्मको फाइल अख्तियारमा छ । र, त्यही फाइलका कारण बेला बेलामा ती नेताहरुलाई शक्ति केन्द्रहरुबाट धम्की पनि आउने गरेका हुन्छन् । त्यसबाट बच्नका लागि बाध्य भएर सत्ताका नजिक पुगेका हुन् । सरकारमा नगएपनि सत्ताधारी दलको रुपमा आफूलाई ल्याइसकेका छन् ।  

ओलीको हठ
संसदको दोस्रो ठूलो दल तर तेस्रो ठूलो दल माओवादी र चौथो ठूलो दल राप्रपा नेपालदेखि सानातिना दलहरु समेत समेटेर इतिहासमै नभएको ६–६ जना उपप्रधानमन्त्रीसहित मन्त्रालयहरु फुटाएर बनाइएको ४१ सदस्यीय मन्त्रिपरिषद्को अध्यक्षता गर्ने एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा नदिएर संसदमा मुकाविला गर्ने तयार हुनुभएको छ । ८२ जना सांसद भएको माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नैतिकताको आधारमा राजीनामा देलान भने आशा थियो माओवादी र कांग्रेसको तर संसदमा मुकाविला गर्न तयार भए ।

माओवादीले असार २८ गते र कांग्रेसले असार २९ गते बिहानको केन्द्रीय कार्यसमितिको बैठकपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए । माओवादी मन्त्रीहरुले सामूहिक राजीनामा पनि असार २९ गते बुझाएपछि पनि उहाँले क्याबिनेट पुनर्गठन गर्नुभयो । माओवादी मन्त्रीहरुको जिम्मामा रहेको मन्त्रालयहरुको कार्यभार अरु मन्त्रीलाई तोक्नु भयो । टोपबहादुर रायमाझीले सम्हाल्नु भएका ऊर्जा मन्त्रालय अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई दिनुभयो । रेखा शर्माले सम्हाल्नुभएको सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीले आफै लिनुभएको छ ।

त्यस्तै अग्निप्रसाद सापकोटाले सम्हाल्नुभएको वन तथा भू –संरक्षण मन्त्रालय उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारलाई, शक्तिबहादुर बस्नेतले सम्हाल्नुभएको गृह मन्त्रालय रक्षामन्त्री भीमबहादुर रावललाई, गणेशमान पुनले सम्हाल्नुभएको आपूर्ति मन्त्रालय श्रम तथा रोजगारमन्त्री दीपक बोहोरालाई, गिरिराजमणि पोखरेलले सम्हाल्नुभएको शिक्षा मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेललाई, उमेशकुमार यादवले सम्हाल्नुभएको सिँचाइ मन्त्रालय भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बालाई, हरिबोल गजुरेलले सम्हाल्दै आउनु भएको कृषि मन्त्रालय पशुपक्षी विकासमन्त्री शान्ता मानवीलाई प्रधानमन्त्री ओलीले जिम्मा दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले संविधानको धारा २९८ बमोजिम आफूसहित अन्य मन्त्रीलाई थप कार्यभार दिएको र नयाँ जिम्मेवारी दिइएको पत्र असार २९ गते नै राष्ट्रपति कार्यालय पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अविश्वासको प्रस्ताव दर्ता गराउनुभयो जसमा कांग्रेससहित सात दलको समर्थन रह्यो । मधेसी मोर्चासहित २८० सांसदले त्यसमा हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्ताव पास हुन भने २९८ मत चाहिन्छ । संसद ६०१ सदस्यको भए पनि तत्काल कायम संख्या ५९५ मात्र रहेको छ । यसको बहुमत २९८ हुन आउँछ । प्रस्ताव दर्ता गरेपछि सात दिनमा परिपक्व हुन्छ र छलफल र मतदानको मिति तोकिन्छ । सातौँ दिन साउन ५ गते पर्नेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..