» » सिचाई मन्त्रीले भन्नुभयो, सिचाइको बजेटमा मधेशमा मात्र होइन, हिमाल र पहाडमा पनि छ


काठमाडौ असार २२ गते । सिँचाइ मन्त्री उमेश कुमार यादवले प्रत्येक वर्ष वर्षायाममा बाढी पहिरोबाट हुने धनजनको क्षतिलाई रोक्न मन्त्रालयले विशेष योजनाहरु ल्याउन लागेको बताउनु भएको छ ।

देशको विभिन्न ठाउँमा बाढी र पहिरोबाट क्षति भइरहेको अवस्थामा बुधवार संसदमा बोल्नु हुँदै मन्त्री यादवले वर्षायाममा बाढी पहिरोबाट धनजनको क्षति हुनुको मुख्य कारण वतावरणीय परिवर्तन, जनसँख्याको वृद्धि रहेको बताउनु भयो ।

वतावरणीय परिवर्तनले वर्षाको समयमा अतिबृष्टि हुनु र जनसँख्याको चापले सीमान्तकृत जमीनमा बसोबास बढ्नुको कारणले बढी पहिरोको जोखिम बढेको उल्लेख गर्दै उहाँले विकासका क्रमममा निर्माण गरिने संरचनाहरुलाई बाढी र पहिरोको दृष्टिकोणबाट पर्याप्त अध्ययन नगरी निर्माण कार्य गर्नाले पनि धनजनको क्षति भइरहेको बताउनु भयो ।

यी धनजनको क्षति रोक्नका लागि हालको अवस्थामा विनियाजित बजेट अपर्याप्त रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यद्यपी यसलाई रोक्नका लागि नेपाल सरकारले लगानीमा वृद्धि गर्न लागेको छ । बाढी पहिरो रोक्नका लागि विभिन्न कार्यक्रमहरु भइरहेको उल्लेख गर्दै उहाँले जनताको तटबन्ध कार्यक्रमलाई निरन्तरता दिँदै यसै आर्थिक वर्षदेखि छवटा नदी थपेर जम्मा २४ वटा नदीमा तटबन्ध कार्यक्रम संचालन भइरहेको बताउनुभयो ।

सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत बेनी बजार लगायतका सदरमुकाम बचाउनका लागि रकम पनि विनियोजन भइसकेको बताउँदै उहाँले डडेल्धुराको रंगुन नदी लगायत नदीहरुमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण अन्तर्गत समेत नदी नियन्त्रणका कार्यहरु भइरहेको जानकारी सदनलाई गराउनु भयो ।

त्यसैगरि कृषि योग्य भुमिमा भरपर्दो रुपमा सिचाई सेवा पुर्याउनका लागि भेरी–बबई, सुनकोशी–कमला, काली गण्डकी–तिनाउ जस्ता बढी पानी भएका नदीहरुबाट कम पानी भएका जलाधारहरुमा पानी डाइभर्सन गर्ने कार्यक्रममा मन्त्रालयले विशेष जोड दिएको उहाँले जानकारी गराउनु भयो । त्यसमध्ये भेरी–बबई डाइभर्सन बहुउद्देश्य आयोजनाको कार्यान्वयन शुरु भइसकेको जानकारी गराउँदै उहाँले मध्य तराई तथा मधेशका लागि करिब एकलाख २२ हजार हेक्टर कृषि योग्य भूमिमा भरपर्दो सिचाइ सेवाका लागि सुनकोशी–मरिन डाइभर्सन आयोजनाको विस्तृत अध्ययन गर्ने कार्य सम्पन्न भएको पनि सदनलाई जानकारी गराउनुभयो ।

पहाडी तथा उच्च पहाडी जिल्लाका कृषि योग्य भूमिहरुमा अन्न तथा नगदेवाली, फलफूल तथा चरनका लागि समेत सिचाइको अति नै महत्व रहेको सन्दर्भ उल्लेख गर्दै मन्त्री यादवले त्यहाँका लागि मझौला प्रकृतिका सिचाइका साथै थोपा, फोहरा, पोखरी तथा टार लिफ्ट जस्ता नयाँ प्रविधिमा आधारित सिचाई कार्यक्रमहरुको संचालनमा विशेष जोड दिएको कुरा सदनलाई जानकारी गराउनुभयो । पहाडी तथा उच्च पहाडी जिल्लाका लागि विद्युत, सौर्य उर्जा तथा यान्त्रिक प्रविधिमा आधारित टार सिचाईलाई विशेष कार्यक्रमको रुपमा अगाडि बढाएको छ । पहाडमा टार लिफ्टका लागि ८५ वटा योजना ल्याएको छ जसलका लागि ५० करोड रुपियाँ विनियोजन गरेको छ । यसअघि ३० करोड मात्र थियो ।

गत आर्थिक वर्षको तुलनामा करिब २० प्रतिशतले बजेटमा बृद्धि भएको उल्लेख गर्दै मन्त्री यादवले मधेशका मन्त्री भएर मधेशमा मात्र बजेट लगेको आरोपलाई खण्डन गर्नुभयो । संसदमा बोल्नु हुँदै उहाँले भन्नुभयो, दरौदी पालुङटार सिचाई (नदी नियन्त्रण) आयोजनामा विगतको भन्दा ३२.१५ प्रतिशतले वजेट वृद्धि भएको छ भने कर्णाली अञ्चल सिंचाई विकास कार्यक्रमका लागि ५७.८७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरि सेती महाकाली सिचाइ विकास कार्यक्रमका लागि ३४.२४ प्रतिशतले  बजेटमा वृद्धि भएको छ । हिमाल, पहाडका यस्ता धेरै योजनाहरु छन् जसको बजेटमा वृद्धि भएको छ ।’

मध्यमाञ्चलमा यसअघि पाँच अर्व ६२ करोड २५ लाख ७१ हजार बजेट थियो भने यसपाली सात अर्व ७८ करोड ६७ लाख ३९ हजार भएको छ । त्यस्तै पश्चिमाञ्चलका लागि पहिला १ अर्ब ६९ करोड २९ लाख १८ हजार बजेट थियो भने अहिले २ अर्ब ५२ करोड ४० लाख ४० हजार भएको छ । पूर्वाञ्चलमा पहिला दुई अर्ब ५५ करोड ४ लाख ८१ हजार बजेट थियो भने अहिले चार अर्ब ३० करोड ३ लाख ४५ हजार रुपियाँ भएको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..