» » महोत्तरीका कार्यालयहरु डुवानमा

फाइल फोटो

महोत्तरी, साउन २ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए रातिदेखि लगातार परेको पानीले यहाँका चार कार्यालय डुबानमा पारेका छन् ।

गए राति १ बजेदेखि सुरु भई अहिलेसम्म निरन्तर रुपमा परिरहेको पानीले जलेश्वरमा अवस्थित नेपाल प्रहरी, जिल्ला अदालत, मालपोत र कारागार कार्यालयलाई डुबानमा पारेको छ ।

वर्षाको पानीले चारवटै कार्यालयका परिसर जलमग्न भएका छन् भने अगाडिको बाटो र नालासमेत डुबानमा परी बाटो समेत नदेखिने अवस्थामा पुगेको छ ।

चारवटै महत्वपूर्ण कार्यालय वर्षाको पानीले जलमग्न भएपछि सुरक्षाकर्मी तथा अदालत, मालपोत र कारागारका कर्मचारीलाई विभिन्न कामकाज गर्न समस्या भएको छ । कामको सिलसिलामा आएका सेवाग्राहीलाई पनि लगातारको वर्षाले गर्दा निकै समस्या भएको छ ।

जलेश्वरमा एक किमी पनि पक्की बाटो छैन । नगरमा ढल निकासको उचित व्यवस्था नभएका कारण पानी परेपछि पटक पटक ती कार्यालय डुबानमा पर्ने गरेका छन् ।

ढल निकासका नाममा बर्सेनि लाखौँ रकम आए पनि जलेश्वर नगरपालिका र जिविस महोत्तरीको लापर्बाही र उदासीनताका कारण सदरमुकाममा वर्षौंदेखि पक्की बाटो र नालाको समस्या यथावत् छ ।

जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माधवेन्द्र चौधरीले आफू केही दिअघि मात्रै नगरपालिकामा आएको बताउँदै अहिले वर्षायाम लागिसकेकाले यसको स्थायी निकास सम्भव नभएको तर आउँदो सुख्खायाममा निकास दिन ठूलो नाला निर्माण र ह्युम पाइप राखिने योजना रहेको जानकारी दिनुभयो ।

स्थानीय विकास अधिकारी कृष्ण चापागाईले नगरक्षेत्रभित्रको ढल निकास मर्मतसम्भार तथा निर्माण लगायत काम नगरपालिकाको रहेको बताउँदै सानातिना मर्मत सम्भार गर्न सकिने भए पनि जिविससँग त्यसका लागि बजेट नरहेको स्पष्ट गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..