» » ...जहाँ बेहुला प्रदर्शन गरिन्छ


-विरेन्द्र कर्ण
धनुाषा साउन ४ गते । सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ ।

मिथिलाञ्चलअन्तर्गत भारतको मधुवनी जिल्लाको सौराठ गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्दछ जहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहुलाको खरिद बिक्री हुने गर्दछ । यहाँ बेहुला पक्षले आफ्नो छोरालाई परम्परागतरुपमा रातो धोती र पाग लगाएर बेहुलालाई सजाउने गरिन्छ र बेहुली पक्षका आफन्त आर्थिक अवस्थाअनुसार बेहुला किन्ने परम्परा कायम अहिले पनि रहेको छ ।

प्राचीन मिथिला संस्कृति, सामाजिक तथा पारिवारिक व्यवस्थामा विवाहलाई स्त्रीपुरुषको साश्वत एवम् पवित्र सम्बन्धको रुपमा मानिँदै आएको छ । तसर्थ युवा युवतीलाई दाम्पत्य सुत्रमा बाँध्न अनेक धार्मिक एवम् सामाजिक परम्परा रीतिरिवाज सम्पन्न गर्नुपर्दछ । युवायुवती विवाह बन्धनमा बाँधिनुपूर्व सम्बन्धित परिवारको एक अर्काको पारिवारिक पृष्ठभूमि तथा सामाजिक प्रतिष्ठाको विषयमा गहन अध्ययन गर्ने गरिन्छ ।

इतिहासकार सौराठ सभाको सुरुवात १४ औँ शताब्दीमा कर्नाटक वंशिय राजा हरिसिंह देवले सुरुवात गर्नुभएको बताउँछन् । राजा हरिसिंह देवको दरबारमा समय समयमा विद्वान्बीच शास्त्राचर्य प्रतियोगिता हुनेगथ्र्यो जसमा विजयी विद्वान्लाई पुरस्कृत गर्ने परम्परा रहेको थियो ।

सन् १३२६ मा राजा हरिसिंह देवले अविवाहित मैथिली ब्राह्मण युवकबीच शास्त्राचर्य प्रतियोगिता गराएका थिए । लामो समयसम्म सो प्रतियोगिता चलिरह्यो र त्यसमा वेद, वेदान्त, योग र न्याय आदि विषयमाथि गहन चर्चा भएको थियो । राजा हरिसिंह देवले ब्राह्मण युवकको विद्वता देखेर प्रभावित हुनुभयो र उहाँले अनौठो तरिकाले ती युवकलाई पुरस्कृत गर्नुभयो । यद्यपि शास्त्राचर्यमा भाग लिने युवक अविवाहित भएकाले पुरस्कार स्वरुप उनीहरुलाई एउटा एउटा गरी सुन्दर बेहुली विवाह गर्न दिनुभयो ।

भनिन्छ त्यसपछि यसको आयोजना प्रत्येक वर्ष हुन थाल्यो । पहिले मैथिल ब्राह्मण युवकको सभा हुने गथ्र्यो जसमा उनीहरुबीच शास्त्राचर्य हुन्थ्यो र बेहुली पक्ष आफ्नो छोरीका लागि योग्य बेहुलाको खोजीमा त्यहाँ भेला हुन्थे । तर समयको परिवर्तनसँगै शास्त्राचर्यको पुरानो परम्परा समाप्त भएको छ र सौराठ सभा मैथिल बेहुलीको लागि बेहुला खोज्ने एउटा प्रमुख केन्द्रको रुपमा विकसित हँुदै गयो ।

सौराठ सभा सीमावर्ती भारतको विहार राज्यअन्तर्गत बासोपट्टी, कलुवाही चोकदेखि कुनखौरीबाट एक किलोमिटर पूर्व तथा मधुवनी बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा अवस्थित यस गाउँमा एउटा ऐतिहासिक पोखरी किनारमा रहेको पिपलको प्राचीन रुखमुनि प्रतिवर्ष सौराठ सभाको जेठदेखि मेला लाग्ने गर्दछ ।

यस वर्ष मलमास पर्ने भएकाले असारको सट्टा जेठमै सौराठ सभा मेला लागेको छ । पोखरी नजिक भगवान् महादेवको ऐतिहासिक तथा प्राचीन मन्दिर रहेको छ । करिब दुई सातासम्म चल्ने यो सौराठसभामा मैथिल ब्राह्मण बेहुला खोज्न यस सभामा पुग्ने गर्दछन् ।

यस सभामा विवाह हुने बेहुला परम्परागत रुपमा धोती, पाग, चन्दनको टीका र आँखामा गाजल लगाएर आफ्ना अभिभावकसँगै भुइँमा ओछ्याएको दरी र चटाइमा बसेको हुन्छ । यदी कुनै केटी पक्षलाई केटा मन प¥यो भने उसको अभिभावकसँग कुराकानी गरेर बेहुलाको खान्दान, उसको उमेर, आर्थिक अवस्था, सम्भावित दाइजोबारे पत्ता लगाउने प्रयास गरिन्छ । बेहुला पक्ष र बेहुली पक्षबीच कुराकानी मिलेपछि विवाहका लागि पञ्जिकार ९पुरोहित० बाट परामर्श लिने गरिन्छ ।

पञ्जिकारसँग प्रत्येक मैथिल ब्राह्मण परिवारको पूर्ण वंशावली रहन्छ । पञ्जिकारले पात्रो हेरी केटा र केटीको विवाहको साइत हेर्ने गर्दछन् । यसमा बेहुला पक्षका सात पुस्ता र बेहुली पक्षको पाँच पुस्ताबीच रगतको सम्बन्ध नदेखिएमा पञ्जिकारले विवाहको अनुमति दिने गर्दछन् ।

यसमा एउटा अनौठो परम्परा ‘हथघडी’ विधिले स्थान पाएको छ जसमा बेहुलालाई बेहुली पक्षका विशिष्ट मानिसले बेहुलाको हात समातेर उठाउँछन् । तत्पश्चात् बेहुलाले आफ्ना सासू, ससुरा तथा पुजनीय व्यक्तिको खुट्टा ढोगेपश्चात् दुवै पक्ष एक अर्काको अङ्गालो हाली खुसी व्यक्त गर्दछन् ।

समयको परिवर्तनसँगै पञ्जिकारको भूमिकामा समेत परिवर्तन आएको छ । पञ्जिकारले आफ्नो भूमिकामा परिवर्तन गरी धनाढ्य बेहुली पक्षको खोजीमा रहन्छन् । बेहुला र बेहुली पक्षबीच हुने दाइजोको विषयमा पञ्जिकारले टुङ्गो लगाउने गर्दछन् ।

सौराठ सभाको सुरुवात मैथिल ब्राह्मणको कल्याण र धनीगरिब ब्राह्मणबीचको भेद्भाव हटाउनका लागि भएकाले ब्राह्मण समाज एकजुट भएर यो परम्परागत संस्कारको रक्षा गर्दै सुन्दर समाजको निर्माणको लागि सौराठ सभा निरन्तर राख्दै आएको सौराठसभा विकास समितिका सचिव डा शेखरचन्द्र मिश्रले बताउनुभयो ।

कालान्तरमा आएर सौराठसभाको ऐतिहासिक आकर्षण भने रहेको देखिँदैन । कारण दाइजो प्रथा, आधुनिकता र सरकारी उपेक्षाका कारण यो सभाको पौराणिकतामा ह्रास आउन थालेको छ । पहिले देशविदेशमा बस्ने मैथिल ब्राह्मण आफ्ना छोराछोरीको विवाहको लागि सौराठसभामा भाग लिने गर्दथे । तर अब यो सभाको आवश्यकता देखिँदैन ।

पढे लेखेका केटाको एउटा ठूलो वर्ग यसप्रकार खुलेआम सभामा लिलाम हुनबाट डराउने गर्दछन् । सौराठ सभामा भाग लिने परम्परा हराउँदै गएपछि यस सभाको पौराणिकता र प्राचीनता पनि कालान्तरमा आएर हराउँदै गएको छ । अब यो मेला गरिब ब्राह्मणमा मात्र सिमित हुन पुगेको छ । मधुवनीका स्थानीय प्रतिष्ठित ब्राह्मण समाजका मानिस सौराठ सभालाई नयाँ स्वरुप दिनुपर्नेमा प्रयास गरिरहेका छन् ।

हराउँदै गएको यस्तो ऐतिहासिक सौराठ सभाको संरक्षणमा युवा अगाडि आउनुपर्ने मधुबनी नाजीपुरका रामपृत पाण्डेको भनाइ रहेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..