» » लिखित सहमति भए फोरम नेपाल सरकारमा जाने

काठमाडौं, साउन १२ गते । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय परिषदको बैठक सकिएको छ ।

दुई दिनसम्म चलेको सो बैठकले गत ७ र ८ साउनमा बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु सुझाव तथा परिमार्जन सहित अनुमोदन गरेको छ । केन्द्रीय समितिको बैठकले संविधान पुनर्लेखन वा संशोधन नभएसम्म पार्टी सरकारमा नजाने निर्णय गरेको थियो ।

केपी ओली सरकार ढले लगत्तै हाल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउने तयारी गरिरहेको छ । कांग्रेस–माओवादी गठबन्धनले आन्दोलनरत दलहरुलाई पनि अबको सरकारमा सहभागी गराउने प्रयास गरिरहेको छ ।

दुई दलीय गठबन्धनले आन्दोलनका माग सम्बोधन गर्ने लिखित सहमति गरेको खण्डमा सरकारमा सहभागी हुनुपर्ने मत पनि आएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाले पठाएको समाचारमा उल्लेख छ । लिखित सहमति भए तपाईहरु सरकारमा जानुहुन्छ ? भन्ने प्रश्नमा केन्द्रीय पार्षद् ध्यानबहादुर राईले भने, ‘उहाँहरुको गठबन्धनले मात्रै संविधान पुनर्लेखन हुन सक्दैन, जसरी उहाँहरुले संविधान कार्यान्वयन गर्नका लागि आन्दोलनका माग सम्बोधन गर्नु पर्छ भन्ने निष्कर्ष निकाल्नु भएको छ, त्यसलाई हामी सकारात्मक लिन्छौ ।’

आन्दोलनका माग सम्बोधन नभएसम्म आपूmहरु ‘पर्ख र हेर’ को अवस्थामै रहने राईले बताउनुभयो । माग सम्बोधन नभएको खण्डमा भने आन्दोलन जारी राखिने उहाँको भनाइ छ । अब बन्ने नयाँ सरकारले भने मुलुकले निकास पाउने गरी र संविधान संशोधन वा पुनर्लेखन हुने गरी राष्ट्रिय सहमतिको वतावरण बनाउनु पर्ने उहाँले बताउनुभयो ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय परिषद्को पहिलो बैठकको उद्दघाटन गर्नु भएको थियो । तीनवटा पार्टी एकीकरण भई नयाँ पार्टी गठन भएको एक वर्षपछि मात्रै फोरम नेपालको केन्द्रीय परिषद् बैठक बसेको हो ।

बैठकको पहिलो दिनलाई प्रशिक्षणात्मक बनाइएको थियो । बैठकमा पार्टीका अध्यक्ष यादव र वरिष्ठ नेता तथा संसदीय दलका नेता अशोक राईले समसामयिक राजनीतिक विषयवस्तु, व्यवस्थापिका–संसदमा पार्टीको भूमिका, संघीय गठबन्धनको आन्दोलनमा पार्टीको संलग्नता, सांगठनिक, वैचारिकलगायत विषयवस्तुमा लामो प्रशिक्षण दिएका थिए ।

बैठकको दोस्रो दिन राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदनहरूमा  बहस गरी आवश्यक सुझावसहित पारित गरिएको छ । परिषदमा केन्द्रीय तदर्थ समितिको पदाधिकारी तथा सदस्यहरू, चारवटा केन्द्रीय निकायका सदस्यहरू, मनोनित र पदेन सदस्य गरी ३ सय ८८ सदस्य छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..