» » प्रमुख आयुक्त यादवले भन्नुभयो, मंसिरमा स्थानीय चुनाव गराउन तयार


काठमाडौ असार २८ गते ।  नवनियुक्त प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले संविधान कार्यान्वयन गराउन २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन गराउन आयोग तयार रहेको बताउनु भएको छ ।

‘मंसिरमा स्थानीय निकायको चुनाव गराउने सरकारको प्रतिबद्धता छ,’ हिजो पदभार ग्रहणपछि कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा यादवले भन्नुभयो, ‘यसका लागि व्यवस्थापिका संसद्ले कानुन र सरकारले स्रोतसाधन उपलब्ध गराउनुपर्छ ।’

सरकारले यसअघि नै २०७४ माघ ७ भित्र तीन तहको निर्वाचन गराउने लक्ष्यसहितको संविधान कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ । ‘निर्वाचनका लागि आयोग तयारी अवस्थामा छ,’ उहाँले भन्नुभयो,  ‘अब थप छलफल गर्दै जान्छांै ।’

यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसँग हिजो पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । शपथलगत्तै उनले बहादुरभवनस्थित आयोगको कार्यालयमा पदभार ग्रहण गर्नुभएको थियो ।

२०६९ चैत ११ मा निर्वाचन आयुक्त पदमा दोस्रो पटक नियुक्त भएका यादवले बाँकी अवधिका लागि प्रमुख आयुक्त पदमा नियुक्ति पाउनु भएको हो ।

दोस्रो संविधानसभाको अवसानपछि पहिलो कार्यकाल सकिएका तत्कालीन पदाधिकारीलाई अन्तरिम संविधानमा बाधा अडकाउ फुकाएर पुनर्नियुक्ति गरिएको थियो ।

यसअघि प्रमुख आयुक्त पदमा नियुक्तिका लागि संवैधानिक परिषदको सिफारिसलाई संसदको सुनुवाइ विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको थियो ।

प्रमुख आयुक्तसहित ५ सदस्यीय आयोगमा ३ आयुक्त पद रिक्त छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..