» » विश्वमा मिथिला सँस्कृतिलाई चिनाउने अजितसँगको एउटा भेट

-सुरेशकुमार यादव

जनकपुर महावीर चौकका अजित साह, मिथिला आर्ट तथा ह्याण्डी क्राफ्टको क्षेत्रमा नाम चलेको व्यक्ति हुनुहुन्छ तर नाम कमाएका व्यक्ति हुनुहुन्छ भनि थाह पाउनु अघि कुनै चिना जान थिएन । करिब पाँचवर्ष अघि उहाँले नै मसँग फेसबुकमार्फत दोस्तीलाई अगाडी बढाउनु भयो । शुरुमा मैले उहाँलाई त्यति वास्ता गरिन ।

पाँच हजार फेसबुक साथीमध्ये उहाँ पनि एक साथी होला । यसो टाइमपासका लागि मलाई रोजेको होला जस्तो लाग्यो । उहाँले मलाई मेरो म्यासेन्जरमा प्रत्येक दिन जस्तो हेलो हाइ भन्नुहुन्थ्यो, मन नमाने पनि मैले पनि हेलो हाई भन्थे लागेको कुरा केही सोधि दिन्थे ।

एक दिन तपाई के गर्नुहुन्छ नि भनि मैले जिज्ञासा राखे । उहाँले पनि हल्का ढंगले जवाफ दिनुभयो, हाल्का आर्ट सार्ट गर्छु अरु खासै छैन ।’ उहाँले अल्छि अल्छि गरेर लागि दिनु भएको जवाफपछि मलाई झनै चासो लिन मन लागेन तर उहाँले फेसबुक सम्बन्धलाई निरन्तरता दिन छाड्नु भएन । पछि, मैले उहाँकै फेसबुकमा उहाँको बारेमा खोजविन गरे । उहाँले लेखेको स्टाट्स, पोस्ट गरेका फोटाहरु मैले हेरे अध्ययन गरे ।

निष्कर्षमा पुगे मान्छे त ठूलै रहेछ । तराई मधेशका लागि संघर्ष गरेकै रहेछ । भित्र भित्र मलाई आत्मग्लानी पनि भयो । मधेशका यस्ता रत्नलाई वेवास्त गरेको रहेछु । त्यसपछि मैले नै उहाँसँग हिमचिम बढाए । फेसबुकको म्यासेन्जरमा उहाँलाई हेर्ने वित्तिकै हेलो हाई भन्दै कुरा अगाडि बढाउँथे । त्यसपछि हाम्रो दोहोरो कुरा हुन थाल्यो । त्यसपछि त हामी निकै बेरसम्म कुरा गर्थियौं फेसबुकमा । कहिले काही त राती ११–१२ बजेको पत्तै हुँदैन्थ्यो । लगभग हामीले फेसबुकमार्फत नै एक अर्कालाई राम्रैसँग चिन्यौं ।

मधेशको राजनीतिक, कला, सँस्कृतिको क्षेत्रका कलम चलाउने म, उहाँको बारेमा केही लेखौं जस्तो लाग्यो । उहाँसँग भेटेर नै कुराकानी गरौं भनि पनि लाग्यो । फेसबुकमै उहाँको लोकेशन मागे । उहाँले स्वागत भन्दै लोकेशन पनि भन्नुभयो, मैले कति दिन त्यहाँ जाने मुड पनि बनाए तर म आफ्नो व्यस्तताको कारण जान पाइनन् । त्यसपछि लगभग तीन वर्ष हाम्रो कुनै संवाद भएन । अर्थात जसरी पहिला फेसबुकमा देखा देख हुन्थ्यो । त्यसरी हुनै छाड्यो ।

कहिले काही समाचारमा सुन्न पाउँथे कि अजित साहको फोटो प्रर्दशनी फलानो ठाउँमा । त्यसबेला बधाई दिन पनि मन हुन्थ्यो, फेसबुकमा सर्च पनि गर्थे तर अहँ भेट हुँदैन्थ्यो । तर मैले पनि गहन रुपमा खोज्ने प्रयास पनि गर्दैन्थे । चाहेको भए नम्बर पत्ता लगाउन सक्थे ।

यसरी भयो भेट
यसो कहिले काही उहाँको झझल्को आउँथ्यो, सम्झना आउँथ्यो तर भेट्ने ब्यग्रता हुँदैन्थ्यो । कहिले प्रत्यक्ष नभटेपनि उहाँको बोली व्यवहारहरु मेरो मानसपटलमा कुनै एउटा फिल्म जस्तै बसेको थियो । गत होलीमा जनकपुरीया संस्थाले गरेको होली मिलन कार्यक्रममा म पनि रिर्पोटिगंका लागि बालकुमारी पुगेका थिए । त्यहाँ अजित साहले नै मलाई चिन्नुभयो । उहाँले सो कार्यक्रममा आफ्ना केही आर्टहरु राख्नु भएको थियो ।

 तर आफ्नो व्यस्तताका कारण एकदमै छोटो समयका लागि त्यो कार्यक्रममा गएका थिए । पूर्व राष्ट्रपति डा.रामवरण यादवको मन्तव्य सम्पन्न भएपछि हिड्न थाल्दा अजितसँग भेट भएको थियो । सायद लाग्छ उहाँसँग एक मिनेट पनि कुरा भएन । म हतारमा थिए, निस्के । तर बाटो भरि अजित साहकै बारेमा सोच्दै गए । यति दिनपछि भेट भयो तर कुरा हुन सकेन ।

उहाँले के सोच्नु भएको होला आदि आदि । त्यसपछि पनि उहाँसँग फेसबुक वा अरु कुनै माध्यमबाट संवाद भएन ।
यही असार १८ गते बानेश्वरको चौरासी ब्यन्जनमा एउटा कार्यक्रम थियो । त्यहाँ अचानक उहाँसँग भेट भयो । उहाँले नै मलाई चिन्नुभयो र भन्नुभयो, सुरेशजी होइन तपाई । मैले भने हो त । म पनि उहाँलाई चिने । कार्यक्रम छाडेर उहाँसँग बाहिर उभेर गफिए । भेटघाट नभएको कुरा पनि उठ्यो । त्यसै सन्दर्भमा उहाँले आफ्नो फेसबुक ह्याक भएको कारण बन्द गरि अर्को अर्को खोलेको छु, तपाईलाई रिक्वेस्ट पठाउँछु भन्नुभयो । त्यसैले हामीबीच भेटघाट हुन छाड्यो भनि दुवैजना हाँसियौं ।

उहाँसँग भेटेर कुराकानी गरी केही लेख्ने प्रस्ताव गरेपछि उहाँ सहस्रै स्वीकार गर्नुभयो र भन्नुभयो, तपाई जहाँ भन्नुस् म भेटन तयार छु । उहाँलाई आजै साँझसम्म भेटौ न भने । उहाँले हुन्छ भन्नुभयो । मैले म साँझमा फोन गर्छु भने । तर म आफ्नै व्यस्तताको कारण त्यो दिन फोन गर्न सकिन । त्यसको भोलीपल्ट फोन गरे अब उहाँ नै व्यस्त ।

चार दिन अब भेट हुँदैन । जनकपुरको एउटा कार्यक्रममा जाँदैछु अब चार दिनपछि मात्र भेट हुन्छ उहाँले भन्नुभयो । मैले पनि चार दिनपछि फोन गरे । उहाँले विहानै १० बजे आउनु भन्नुभयो । तर १० बजे उहाँले नै फोन गर्नुभयो, र भन्नुभयो, सरी सर १० बजे म भेट्न भ्याउदिन, एक ठाउँमा इमर्जेन्सी जानु पर्यो ।

मैले सम्झे फेसबुकको सम्बन्ध यस्तै हुन्छ कि क्या हो, कहिल्यै भेट्ने फुर्सदै नहुने । तर म प्रयास छाडिनन् । त्यसको भोलीपल्ट फेरि फोन गरे । उहाँले म बाहिर छु, साँझमा भेटौ हामी भन्नुभयो । असार २५ गते साँझ ६ वजे पानीमा रुझ्दै उहाँको निवास शंखमुलको पुल छेउमा पुगे । उहाँका छोरा अंकित कुमार साह गेटसम्म लिन आउनु भएको थियो ।

गेटमा छिर्नै वित्तिकै मलाई बेग्लै आनन्द महसुस भयो । तलैदेखि माथिसम्म मिथिल आर्ट झुण्डाईएको थियो । भित्ताहरुमा त छँदै थियो, ढोकाको पर्दादेखि लिएर बेडको तन्नामा पनि मिथिलाको सँस्कृति कोरिएको थियो ।

मैले उहाँको घरमा जता नजर कुदाए उतै मिथिला सँस्कृति पाए । चियाको कपदेखि बस्ने मुढासम्म । सिरानीदेखि कार्पेटसम्ममा मिथिलाको कला कोरिएको पाए । मेरो आँखा र मनले यति सुखानुभूति गर्यो बयान गर्न सक्दिन । मलाई त एकछिन लाग्यो म आफ्नो गाउँमा छु जहाँ घरको भित्ताहरुमा मयुर, हात्ती, दुल्हा दुल्ही मौलिक चित्रहरु हेरिरहेको छु ।

मैले अजित सरलाई भने, सर मैले त तपाईको बारेमा सोचेको भन्दा धेरै फरक पाए त । यहाँ त पुरै मिथिला विरजमान छ ।’ उहाँ मधुरो हाँसोको साथ भन्नुभयो, सुरेशजी यति गर्दा पनि मधेशले पत्याउदैन । मलाई भन्छन् आर्टलाई विजनेश बनायो । मेरै सहकर्मी (सहकर्मीको नाम गोप्य राखिएको) बाट मेरो विरोध हुन्छ । मैले मिथिला सँस्कृतिलाई देश विदेशमा पुर्याएको छु के त्यो गलत काम हो त ? तपाई नै भन्नुस् त ।’
मैले सयौं जनालाई रोजगारी दिएको छु त्यो गलत हो त ? सयौंलाई तालिम दिएको छु त्यो गलत हो त ? यदि यस्तो कामलाई कसैले विरोध गदर्छन् भन्ने मलाई केही भन्नु छैन ।

 मैले गलत गरिरहेको छु भने गलत भन्नुपर्छ, त्यसको विरोध गर्नुपर्छ तर म मैथिली समाजका लागि केही गर्न चाहन्छु, त्यसमा रमाउन चाहन्छु, त्यसैलाई आफ्नो जीवनको एउटा पार्ट बनाउन चाहन्छु भने के त्यो गलत हो ?’
मलाई लाग्यो यी सबै प्रश्नमाथि किन बर्साइएको होला । किकर्तव्यविभुढ भएर उहाँको कुरा सुनि रहे । उहाँको हरेक शब्द, हरेक वाक्यमा पिडा थियो । मानौ, उहाँको चित्त फाँट्ने गरि कसैले जवर्जस्त रुपमा बाटो छेक्ने प्रयास गरेको छ । तर उहाँ आफ्नो स्पष्ट बाटो रोजि सक्नु भएको छ । कसैले छेकबार गरेर त्यो रुक्नेबाला छैन ।

मैले भने, अजित सर तपाईको काम देखेर डाह गर्नेहरु विरोध गरिरहेका छन् । त्यसबाट तपाई नडगमागाउनुस् । तपाई अगाडि बढ्नुस् सफलता तपाईको कदम चुम्नेछ । तपाई ती आरोपहरुबाट घबराउनु भयो वा डराउनु भयो भने तपाई पछि पर्न सक्नुहुन्छ ।’

उहाँको घरमा ६.१५ मिनेटमा पसेको थिए । ९ कसरी बज्यो पत्तै भएन । घडी हेरेपछि मात्र थाह भयो ढिलो पो भएछ । निस्कन लाग्दा उहाँले आफूले गरेको कामहरुको बारेमा देखाउनु भयो । मैले त गिनिन तर सायद चार तल्ले घर होला । एउटा कोठा बाहेक कुनै कोठा बाँकी छैन जहाँ अजितको कलाकारिता नहोस् । उहाँले प्रत्येक घरमा लगेर मलाई देखाउनुभयो ।

ऐना, लेडिज ब्याग, लेडिज पर्स, भेस्ट, बाकस, पेन्सिल, चाभी रिगं, खेलौना, लुगाको बटनलगायत थुप्रै थुप्रै समान देखाउनु भयो जसमा सिर्फ मिथिलाको चित्र कोरिएको थियो । मिथिलाको कला सँस्कृति झल्काईएको थियो । तराई मधेशका निरठ गाउँघरमा देखिएका ढिक्की, जता, इनार, पोखरी, कल, हलो, कोदालो, गरगहना, बागबगैचा, मन्दिर, पाटीपौवालगायत सानाभन्दा साना कुराहरु चित्रमा कोरिएको थियो । ठूला ठूला फ्रेमहरुमा पनि विभिन्न चित्रहरु कोरिएको थियो ।

कतिपय चित्रको भाव मैले नबुझ्दा उहाँलाई सोध्दा मन छुने गरि सम्झाउनु भयो । एउटा चित्र त ३५ मिटरको कपडामा कोरिएका पनि देखाउनु भयो । साँच्चै अदभुत लाग्यो मलाई अजितको कलाकारिता ।

शहरमा गफाडीहरुको कमि छैन जस्तो लाग्यो, अजितको मेहनत हेर्दा । म अरु अरुको ग्यालरीमा गएको छु, धेरैको प्रदर्शनी पनि हेरेको छु तर अहँ अजितको अगाडि मलाई फिका लाग्यो, उनीहरु । अरुलाई पनि त्यस्तो लागेको होला वा लाग्नु पर्छ भने छैन तर मेरो मूल्यांकनले पनि त्यस्तै भन्यो, पछि गलत पनि हुन सकुँला तर अहिलेलाई त्यही नै हो ।

अतित
तीन घण्टाको बसाईमा उहाँको धेरै अतितहरु पनि कोट्याए । कतिपय लेख्ने खालको त कतिपय नलेख्ने खालको । उहाँले आफ्नो अतित भनि रहँदा बीच बीचमा यो न लेख्नु होला हैं पनि भन्नुहुन्थ्यो । र, एउटा पत्रकारको धर्म पनि हो, स्रोत व्यक्तिको गोपनियता कायम राख्न । र, मैले त्यस्तै गरे पनि ।

सानै छँदा उहाँका आमा फुलकुमारी देवीले घर आँगनमा अर्पण बनाउँदा वा घरको भित्ताहरुमा कुनै चित्र बनाउँदा उहाँले बडो घतलाग्दो तथा जिज्ञासु नजरले हेर्नुहुन्थ्यो । र उहाँले आफ्ना आमालाई विभिन्न जिज्ञासा पनि गर्नुहुन्थ्यो । सकेजति फुलकुमारीले आफ्ना छोराको जिज्ञासा मेटाउने प्रयास गर्नुहुन्थ्यो । चार पाँच कक्षा पढ्दा नै उहाँले विभिन्न चित्रहरु बनाउनु हुन्थ्यो । चित्रहरुको बारेमा बुझ्नका लागि उहाँ गाउँ डुल्नु हुन्थ्यो ।

गाउँ परिवेशका वस्तुहरुलाई फोटो खिचेर राख्नु हुन्थ्यो । यस्तो गर्दा कतिपयले त अजितलाई बौलायो पनि भन्थ्यो भनि अहिले पनि अजितले सम्झनु हुन्छ । विद्यालयमा हुने चित्रकाला प्रतियोगितमा जहिले पनि उहाँ पहिलो हुन्थ्यो । त्यसपछि झन प्रोत्साहित हुँदै त्यसलाई झन परस्कृत बनाउन जुट्नु हुन्थ्यो ।

घरबाट निकाला
जीवनमा एउटा यस्तो घटना भयो जसले गर्दा उहाँलाई आज यसम्म पुर्याएको छ । अजित साह चार दाजु भाइ हुनुहुन्छ । उहाँ साइलो हुनुहुन्छ । घरमा अंशबण्डा हुँदा दाइ भाइहरुमा एउटा सर्त लागु भयो कि घरमा कोही बस्दैनन् । घरमा बसि बसि कोही खान पाउँदैनन् । सबै आआफ्नो विजनेश व्यपार गरेर वा केही गरेर गुजारा गर्नुपर्छ ।

हुन त अजितको घरपरिवार आर्थिक रुपले कमजोर थिएन । उहाँका बुवा फुटबल खेलाडीको साथै सानोतिनो व्यवसायी गर्नुहुन्थ्यो । अंशबण्डा भइसकेपछि दाजु भाइमा लागेका सर्त अनुसार सबैजना आआफ्नो विजनेश व्यपारका लागि घर छाड्नु भयो । अब, अजितलाई छाड्ने बाध्यता आइ लाग्यो । छोराहरु आफ्नै खुट्टामा उभियोस् भने चाहना उहाँका आमाबुवालाई पनि थियो ।

र, अजितका बुवा रामसुन्दर प्रसाद साहले पनि अजितलाई घरबाट निस्कन सल्लाह दिनुभएको थियो ।
अविवाहित अजितलाई बाहिर दुनियाँको बारेमा केही थाह थिएन । जाने त कहाँ जाने । तर घरबाट यस्तै निर्देशन थियो कि कतै गएर कमाएर खाउ । र, अजितले पनि त्यस्तै गर्नुभयो । उहाँसँग कुनै इलम थिएन सिवाय आर्टको ।

२०४८ सालमा भएका यो घटना त्यसबेला अजितले आर्टमा पनि त्यति सफल भएका थिएन तैपनि त्यसैलाई नै पेसा बनाएर गुजारा गर्ने निधो गरेर निस्केका थिए । घरबाट निस्केपनि उहाँ आफ्नै घरकै छेउमा रहेको काका (अरुणकुमार साह) को घरमा बस्नु हुन्थ्यो तर त्यही छेउमा रहेको आफ्नो घरमा कहिले जानु हुन्थेन किनभने अजितलाई पनि केही गरेर मात्र घर फर्किने जुनुन सवार थियो ।

तर त्यो काकाको घरमा पनि धेरै दिन टिक्न सक्नु भएन । कारण थियो उहाँको आमा । आमा जहिले पनि टिफिनमा भात लिएर अजित कहाँ पुग्नु हुन्थ्यो । मातृप्रेमले अजितलाई ओतप्रोत बनाउथ्यो तर त्यही रहनु भएका बुवालाई कुने मतलब हुँदैन्थ्यो । अजितले सोच्नु भयो, यहाँ म बसे भने आमाको कमजोरीले मलाई अगाडि बढ्न दिँदैन ।’

उहाँले त्यो घर छाडेर अलि टाढा रहेको आफ्नै गोदाम घरमा बस्नु थाल्नु भयो । रातभरि त्यहाँ सुत्नु हुन्थ्यो दिनभरि काममा भौतारिनु हुन्थ्यो । र, त्यसले गर्दा नै उहाँमा निखार आयो ।

एकपटक घरमा पूजा हुँदा अजितलाई उहाँको बुवाले बोलाउनु भएको थियो । अजित डराई डराई नै घर पुग्नु
भएको थियो । घर पुगेपछि बुवाले अजितलाई अँगालोमा लिई भन्नुभयो, मबाट तिमीमाथि अन्याय भएको छ ।’ अजितका आमाबुवाले छोरा डाक्टर ओभरसियर बनोस भनि चाहना राख्नु भएको थियो । आर्ट गरेको मन पर्दैन्थ्यो । तैपनि आफ्नो आमाबुवाको कुरा काटेर आर्टमै आफूलाई सम्र्पण गर्नुभयो ।

श्रीमतिको आदेश
२०५२ सालमा कैलैया बाराका रिना कुमारी साहसँग विहे गर्नुभएका अजितलाई श्रीमतिलाई सम्झाउन हमे हमे परेको थियो । जसरी आमाबुवाले आर्टको काम मन पराएका थिएन त्यसरी नै रिनाले पनि अजितको कामबाट खुश हुनुहुन्थेन । बी.कम. पढ्नु भएका रिनाले आर्टको काम छाडेर अजितलाई कुनै विजनेश व्यपार गर्न दवाव दिनुहुन्थ्यो र रिनाको अगाडि अजितको केही चलेन अन्ततः अजितले किराना पसल खोल्नै पर्यो । अजितले किराना पसल खोलेपनि त्यसमा उहाँको मन थिएन । मन आर्टमै थियो । कतिखेर यो पसल बन्ज गरेर भागि हालौ जस्तो लाग्थ्यो अजितलाई ।

तर अप्रत्यक्ष रुपमा मिथिला आर्ट तथा ह्याण्डीक्राफ्टको काम हुने शुरु गरिसक्नु भएको थियो । पसल खोलेको तीन महिना पुगेपछि अजितले पसलको लगानी र आम्दानी र मिथिला आर्टको लगानी र आम्दानीको हिसाब गरेर रिनालाई देखाउनु भयो । कम लगानीमा आर्टबाट नै फाइदा हुँदो रहेछ भनि रिनाले पनि पत्याउनुभयो ।

त्यसपछि किराना पसल छाडेर फुली ह्याण्डी क्राफ्ट तथा आर्टमै दिन थाल्नुभयो । र, रिनाले पनि सहयोग गर्न थाल्नुभयो । त्यसपछि रिना र अजित दुवैजना मिलेर जनकपुरमै व्यवस्थ्ति ढंगबाट मिथिला आर्ट र ह्याण्डी क्राफ्टको कारोवारलाई अगाडि बढाउनु भयो । अजितले डिजाईन तथा रंग छनोट गर्ने काम गर्नुहुन्छ भने त्यसलाई भर्ने तथा फिनिस गर्ने काम रिनाले गर्नुहुन्छ त्यसका लागि उहाँले कामदारहरु पनि राख्नु भएको छ ।

तालिम र सम्मान
यो कार्यका लागि तपाईले कुनै औपचारिक शिक्षा वा तालिमहरु लिनु भएको छ कि छैन भने जिज्ञासा राख्दा उठेर उहाँले दराजबाट चार पाँचवटा मोटामोटा फाइल झिक्नु भयो र भन्नुभयो, मैले कति तालिम र सम्मान लिएको छु सबै यसैमा छ, म कति भन्नु तपाई आफै हेर्नुस् भनि म तिर सार्नु भयो । हेरेर साध्य छैन । त्यही फाइलबाट एउटा बायोडाटा पाए, त्यसमा हेर्दै गए ।

विभिन्न १४ वटा अवार्डहरु पाउनु भएको छ त्यो पनि महत्वपूर्ण अवार्डहरु । सानातिना अवार्डहरु त कति छन् कति घरैभरि छरिएका छन् । जपानदेखि अमेरिकासम्म विभिन्न ठाउँबाट पनि अवार्ड पाउनु भएको छ । १७ वटा विभिन्न तालिमहरु नै लिनु भएको छ । आर्टमा काम लाग्ने सबै तालिमहरु उहाँले लिनु भएको छ तर उहाँ भन्नुहुन्छ अझै पूर्ण भएको छैन । देश विदेश गरि विभिन्न ठाउँ गरि उहाँले २३ ठाउँमा आफ्नो आर्ट प्रदर्शन गर्नुभएको छ । हालै उहाँले अमेरिकाको चार ठाउँमा आफ्नो आर्ट प्रदर्शन गरेर आउनु भएको छ ।

मिथिला आर्टका बजार

उहाँ भन्नुहुन्छ, मैले गर्ने आर्टको ४० प्रतिशत बजार नेपालमै छ । राम्रो क्वालिटी भएको आर्ट छ भने विश्वमा यसको बजार राम्रो छ । खासगरि मिथिला आर्ट जपान, अमेरिका, जर्मनी, इटाली, नेदरल्याण्ड, अस्ट्रेलियालगायतको देशमा यसको राम्रो बजार छ । भारत, चीन र बंगलादेशसँग नेपालको प्रतिस्पर्धा छ मिथिला आर्टमा ।

तर, यो व्यवसायी दीर्घकालिन होइन । मान्छेलाई धेरै पैसा भएका छ । पकेटमनी धेरै भएको छ भने मात्र आर्टहरु खरिद गर्छन् । यदि आर्थिक मन्दी भयो भने सबभन्दा बढी असर यसैमा पर्छ । कहि भुकम्प, बाढी, महामारी, युद्ध भयो भने यो व्यवसायी चौपट हुन्छ । कोही खरिद गर्न आउँदैन । भएको आम्दानीबाट आफ्नो पेट पूजा गर्नुहुन्छ कि आर्ट किन्नुहुन्छ त्यसैले यो पेसा भरपर्दो छैन भन्नुहुन्छ अजित सरले । यद्यपी यो पेसा आत्मसन्तुष्टिका लागि हुन्छ ।

आफूले खोजेको, आफूले मन पराएको, आफ्नो मनमा लागेको चित्र कोर्न सकिन्छ । त्यसमा रमाउन सकिन्छ, आफ्नो कला सँस्कृतिलाई चिनाउन सकिन्छ यो भन्दा अरु आनन्द कुनैमा छैन, आत्मसन्तुष्टिका साथ अजित सरले मसँग खुलेर भन्नुभयो ।

काम गरेको देख्दा छोरा छोरी पनि बेला बेलामा रिसाउनु हुन्छ, श्रीमतीले पनि दिक्क मान्नु हुन्छ तर यो बाहेक अरु मेरो कुनै संसार छैन भन्नुहुन्छ अजित साह । श्रीमतीलाई जनकपुरको जिम्मा दिनुभएको छ आफू काठमाडौमा बसेर मिथिलाको कला र सँस्कृतिलाई विश्वमा चिनाउने काममा लाग्नु भएको छ अजित साह । उहाँको एउटा सपना छ, जनकपुरमा रहेको आफ्नो घरमा तराई मधेशका पुराना र ऐतिहासिक समानहरुको म्यूजियम बनाउने ।

 र, त्यसको तयारीमा उहाँ अहिलेदेखि नै लाग्नु भएको छ । समानहरु कलेक्सन गर्ने काम शुरु गर्नुभएको छ । पछि थाह पाए अनुसार उहाँ असार २९ गते राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट राष्ट्रिय प्रतिभा पुरस्कार पाउनु भएको छ । बधाई छ उहाँलाई

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..