» » क्षमायाचना अभियान र यसका अन्तरविरोधहरु


–काशिन्द्र यादव

मधेशको राजनीति आन्दोलन अलि सुस्त रहेको अवस्थामा मधेशका केही अगुवा सञ्चारकर्मी र अधिकारकर्मीहरुको पहलमा शुरू भएको ‘क्षमायाचना अभियान’ नामक सामजिक अभियान शुरूदेखि नै विवादित बन्न पुगेको छ । लोकप्रिय सामजिक सञ्जाल फेसबुकको माध्यमबाट शुरू भएको यो अभियान फेसबुकमा नै आलोचित र प्रशंसित दुवै बनेको छ । यो अभियानले  काठमाण्डौ केन्द्रित मधेशी अधिकारकर्मी र सञ्चारकर्मीलाई स्पष्ट रुपमा दुई ध्रुवमा विभाजित गरेको छ भने मधेशका ठूलो हिस्सा यो अभियानबाट निष्प्रभावी छन् ।

अहिलेसम्म फेसबुकमा सिमित यो अभियानको सक्रिय समर्थन र सक्रिय आलोचना कुनै वैचारिक वा सैद्धान्तिक अधार भन्दा पनि व्यक्तिगत लगाव वा आग्रह पूर्वाग्रहबाट प्रभावित देखिन्छ । तर यो दुबैबाट स्वतन्त्र मधेशमा ठूलो जमात पनि छ जो आफ्नो व्यक्तिगत बुझाईको अधारमा यसलाई आलोचनात्मक समर्थन र तार्किक आलोचना गरिरहेका छन् ।

मधेशमा जातीय, धार्मिक र लैंगिक विभेदहरु विधमान छन् । समाजमा रहेका विभेद, अन्तरविरोधहरु र सामाजिक कुरीतिहरुलाई केवल राजनीति बन्दोबस्तले समाधान गर्न सकिदैन । यसको विरुद्धमा विभिन्न किसिमका सामजिक अभियानहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । यस्ता अभियानहरुले मधेश राजनीतिलाई पनि सही दिशा दिनेछन् ।          

आजको दिनमा एकातिर उपभोगतावाद, भूमण्डलीकरण र बजारतन्त्रमा कमजोर वर्ग समुदाय असुरक्षित भएका छन् भने अर्कोतिर उदारवादी लोकतन्त्रले उनीहरुको हितलाई सम्बोधन गर्न सकिरहेका छैन । यस्तो अवस्थामा स्वैच्छिक र सचेतना पूर्ण सञ्चालन हुने सामाजिक अभियानहरुले उनीहरुको सरोकारलाई सम्बोधन गर्ने वैकल्पिक अधार दिन्छ ।

मधेशी दल वा मधेशी राजनीतिकर्मीहरु मधेशको नागरिक समाजमा आफ्नो साख निरन्तर रूपमा गुमाइरहेको सन्दर्भमा सामाजिक अभियानले मधेशको आन्दोलित मानोविज्ञानको व्यवस्थापन गर्नेछ र अधिकार प्राप्तिको आशालाई जीवित राख्नेछ । मधेशको राजनीतिमा लोकतान्त्रिक परीपाटीको विकास गर्न पनि यस्ता अभियानहरुको महत्वपूर्ण उपयोगिता हुन्छ । यसले राजनीतिलाई यान्त्रिकीकरण हुन पनि जोगाउँछ ।

कुनैपनि सामजिक आन्दोलनको सार्थकता र सफलता उसको समय सान्दर्भिकता र  त्यस आन्दोलनका अभियन्ताहरुको पात्रता र आन्दोलनको मूल्यप्रति उनिहरुको निष्ठामा निर्भर हुने गर्दछ । यस सन्दर्भमा यो आलेखमा सकेजति व्यक्तिगत लगाव वा आग्रह पूर्वाग्रहबाट निरपेक्ष रहि यो अभियानलाई आलोचनात्मक समीक्षा गर्ने प्रयास गरिएको छ ।

समय–सान्दर्भिकताको अभाव   

अहिले चर्चामा रहेका ‘क्षमायाचना अभियान’ मुलतः द्विज समुदायका सदस्यले उनका समुदायले दलित, मुश्लिम वा अन्य समुदायप्रति गरको भेदभाव, दमन र उत्पीडनको आत्मस्वीकृति र अगामी दिनमा यस्ता नगर्ने प्रतिवद्धता पनि व्यक्त गर्नमा केन्द्रित छन । यो अभियान अहिलेसम्म मूलत फेसबुकमा शाब्दिक माफीनामा र अभियन्ताहरुले दलितको घरमा  चिया वा भात खाईरहेको तस्विरको प्रदर्शन गर्नमा सिमित छन् ।

कुनै कालखण्डमा कुनै सवर्णले दलितको घरमा खाना खानु आफैमा क्रन्तिकारी कदम थियो र यसले हिन्दू समाजमा ठूलो तरंग ल्याउथ्यो तर अहिले यो सामान्य भइसकेको छ । यस्ता क्रियाकलापले कुनै प्रकारले पनि दलित समुदायको हित हुन्छ भन्ने सोच्नु आफैमा रोमानी ख्याल मात्रै हुनेछ ।

बरु यो अभियानले द्विज समुदायको अपराधवोधबाट कलुषित चितलाई केही हदसम्म शान्ति अवश्य दिन सक्छ । तर द्विज समुदायले यही शाब्दिक मायाजाल र भावनात्मक अपिलबाट पाप मोचन र आत्मिक शुद्धी गर्न खोजेको हो भने उनीहरुले आफ्नो लागि सबभन्दा कम जोखिम युक्त बाटो रोजेको हुनुपर्छ । समय सान्दर्भिक सामाजिक अभियानले मात्र समाज रूपान्तरणमा वा सुधारमा योगदान दिन सक्छ ।

आफू प्रधानमन्त्री भएको बेला डा. बाबुराम भट्टराईले शुरू गरेको दलितको घरमा खाना खाने लोकलुभावन र सस्तो लोकप्रियता हासिल गर्ने कार्यक्रमले न कुनै दलितलाई फायदा गर्यो न यो अभियानले कुनै सामाजिक प्रतिष्ठता हासिल गर्न सक्यो । आजको दिन कुनै सवर्णले दलितको घरमा खाना खानु वा मस्जीदमा गएर नवाज पढनु र त्यसलाई महिमा मंडित गरि प्रचार प्रसार गर्नु कुनै छट्टु राजनीतिकर्मीको चुनावी राजनीतिमा गरेको तमासा भन्दा फरक हुन सक्दैन ।    

परिणाममुखी हुनेमा सैद्धान्तिक आशंका     

यो अभियानको नेक नियतिमाथि शंका नगरे पनि यसको परिणामुखी हुनेमा आशंका गर्न सक्ने यथेष्ठ स्थान छन् । नेक नियतिको भरमा मात्रै संरचनागत विभेदलाई कम गर्न सकिदैन । भारतका मुर्धन्य समाजवादी नेता जयप्रकाश नारायणलाई गाँधीको नेक नियतिमाथि अलिकता शंका थिएन तर पनि उहाँले गाँधीको समाज सुधारका दर्शनलाई आलोचना गरेका थिए ।

उहाँको विचारमा गाँधीवाद नेक नियतमा आधारित भए पनि यो आफैमा खतरनाक सिद्धांत हो जो वास्तविक समस्यामाथि पर्दा हाल्छ र समाजको बुराईलाई नेक नियतले समधान गर्न सकिन्छ भन्ने सोचको विकास गर्छन् । यसरी उसले आम उत्पीडित वर्गलाई धोखा दिन्छ र अन्तगत्वा समाजका संभ्रान्त वर्गलाई नै हित गर्छ ।

भारतका अर्का दलित मुक्तिका अभियन्ता डा. भीमराम अम्बेडकरले गाँधीको आत्म परिवर्तनको दर्शनले दलितलाई हित गर्छ भन्ने कुरामा कहिल्यै पनि विश्वास गरेन । उहाँको विचारमा उपल्लो जातले दिखावाको लागि दलितलाई केहि दिए जस्तो गरे पनि मुलभुत अधिकारमा कहिल्यै पनि अंशियार बनाउने छैन ।

हुन त संसारका प्राय जसो सबै भूखण्ड र कालखण्डमा मानिसले मानिसमाथि कुनै न कुनै अधारमा शोषण दमन र उत्पीडन गरेको पाइन्छ । तर दक्षिण एसियामा हिन्दू धर्ममा आधारित वर्ण व्यवस्थाको दर्शनमा जन्मको अधारमा गर्ने संरचनागत विभेद, छुवाछुत र मानवीय उत्पीडनलाई संसारको अरु कुनै पनि विभेदसँग तुलना गर्न सकिदैन ।

हाम्रो समाजमा विधमान संरचनागत एतिहासिक विभेदले दलित र यस्ता अन्य उत्पीडित समुदायको स्रोत साधनमा पहुँच सिमित गरेका छन् भने अर्कोतिर उनिहरुलाई उपयुक्त शिक्षाबाट पनि वञ्चित गरेका छन् ।

 जसले गर्दा  उनीहरुमा क्षमताको पनि अभाव देखिन्छ । आजको सेकुलर लोकतान्त्रिक परिवेशमा पनि उनिहरु
अन्य समुदायसँग प्रतिस्पर्धा गर्न सक्दैन । यसका लागि धेरै हदसम्म हिन्दू धर्म दर्शनमा आधारित सामाजिक सांस्कृतिक संरचना र प्रभु वर्गको विभेदकारी संस्कार नै जिम्मेवार रहेका छन् ।

द्विज समुदायको नेक नियति, अपराध बोध, आत्म स्वीकृति र आत्म रूपान्तरणको भाववादी प्रदर्शनले मात्र
उत्पीडित समुदायलाई कुनै प्रकारले भलो गर्दैन । यसका लागि ठोस पहलकदमी लिनुपर्ने हुन्छ । यो
अभियानद्वारा केहिले जातिय समन्वयको आशा पनि राखेको देखिन्छ । सामाजिक न्याय र समता विनाको सामाजिक समन्वको कुनै अर्थ हुदैन ।

आजको दिनमा शाब्दिक लाफ्फावाजी र भावनात्मक अपीलको अधारमा दलित वा अन्य उत्पीडित समुदायसँग भएको विभेदको अन्त्य हुन्छ भने सोच्नु आफैमा हवाई परिकल्पना हो । बरु केहिको बुझाईमा यो अभियानले काठमाण्डौ केन्द्रित मधेशी बुद्धिजीविहरुलाई जातीयताको आधारमा विभाजित गरेका छन् । यदि यो कुरामा लेसमात्र पनि सत्यता छ भने यो आफैमा यो अभियानको खतरनाक उपलब्धि हुनेछ ।

विश्वसनीयता र निष्ठाको संकट 

अभियन्ताहरुको पात्रता उपयुक्त भयो र उनीहरु अभियानको मूल्यप्रति निष्ठावान भयो भने आत्म रूपान्तरणका गाँधीवादी अभियानले पनि समाजमा केही मात्रामा सुधार ल्याउन सक्छन् ।

यही दर्शनमा आधारित उच्च आदर्श व्यक्तित्वका सन्त सामाज सुधारक विनोभा भावेको भूदान आन्दोलनले भारतमा उल्लेखनिय सफलता हासिल गरेको थियो । सामाजिक अभियानमा राजनीति आन्दोलन जतिको आलोचनालाई सहन गर्न सक्ने सामथ्र्य हुदैन । यसका अभियन्ता वा अगुवाजनहरु आमजनतामा विश्वासनिय चरित्रको हुनुपर्छ ।

नेपालको समाजमा परम्परागत राजनीतिकर्मी र गैर सरकारी संस्था कर्मीहरुको विश्वसनीयता यति कम छ कि यिनीहरु समान्यता समाज सुधारका कुनै पनि अभियान प्रभावकारी रूपले संचालन गर्न सक्दैन । यो अभियान संचालन गर्ने अधिकांश अभियन्ताहरुको पृष्ठभूमि गैर सरकारी संस्था भएकोले पनि यसका अभीष्टको बारेमा आम लोकमा केहि आशंका हरु जन्मिएको हुनु पर्छ ।

हाम्रो हिन्दू धर्म दर्शनमा सँस्कारित मनोविज्ञानमा सामाजिक वा सामुदायिक हितको अभीष्टमा व्यक्तिगत लाभ प्राप्तिको कुनै स्थान हुदैन । यसको अंश मात्रको पनि आशंका भएमा लोक कल्याणका जतीसुकै परिणाममुखी संकल्प भएपनि यसले सामाजिक स्वीकृयता र आदर प्राप्त गर्न सक्दैन । एकचोटी मात्र पनि यो अभियानमा लोकलाई अभियन्ताहरुको निहित स्वार्थको गन्ध लाग्यो भने यो समाज सुधारमा कुनै प्रकारले पनि कारगर हुन सक्दैन ।

केहिदिन पहिले आफ्नो महाधिवेशनको क्रममा तराई मधेश लोकतान्त्रिक पार्टीले संस्थागत रूपमा नै यो अभियानप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्यो र यो अभियानलाई अगाडी बढाउने निर्णय गर्यो । तर महाधिवेशनको क्रममा आफ्नो पदाधिकारीहरुको चयनमा यो प्रतिबद्धतामा कुनै सत्यता देखिएन । सबै पदहरूमा द्विज जातको एकलौटी अधिपत्य देखियो ।  यो त ‘भोट तुम्हारा राज हमारा’ भने जस्तै प्रभु वर्गको पुरानै शासकीय रणनीतिको निरन्तरता हो । निष्ठा वेगरको संकल्पले अभियानको साखलाई नोक्सान पुर्याउने छन ।

यो अभियानमा यस्ता पात्र र शक्तिहरुको सहभागिताले यसलाई विमर्शमा स्थापित गरेपनि यसको विश्वसनीयता भने घटाउने छन् र आमलोकमा यसको विश्वसनीयता नै यसको पूँजी हो भन्ने कुरा यसका अभियन्ताहरुले हेक्का राखेको हुनुपर्छ । हुन त यस अभियानका अभियन्ताहरुको मधेश आन्दोलनमा ठूलो योगदान रहेका छन् तर यो अभियानको फरक प्रकृति र उहाँहरुको एनजियो पृष्ठभूमिले केही आशंकाहरु जन्माएका छन् ।

यस सन्दर्भमा यो अभियानका अभियन्ताहरु शाब्दिक प्रचार प्रसार र कुनै दलितको घरमा सँगै खाना खाइरहेको तस्विर फेसबुकमा पोस्ट गर्नु भन्दा पनि उत्पीडित समुदायको हक हितमा केही ठोस काम गर्दा यो आत्म स्वीकृति सही हो भन्ने ठहरिनेछ । एतिहासिक रूपमा अन्याय र विभेदमा परेका समुदायको लागि यी अभियन्ताहरु जमीनी यथार्थमा कतिको र कसरी काम गर्छ त्यसमा यो अभियानको सार्थकता हुनेछ ।

निष्कर्ष 

मधेशको राजनीतिक अधिकार प्राप्तिको आन्दोलन कमजोर भइरहेको अवस्थामा आन्दोलनको दायरालाई विस्तार गर्नु अपरिहार्य थियो । यस सन्दर्भमा मधेशका अधिकारकर्मी र संचारकर्मीहरु वा मधेशका बुद्धिजीवीहरु जे जस्ता किसिमको सामाजिक आन्दोलन वा अभियानहरु संचालन गरिरहेका छन् ती सबै स्वागत योग्य नै छ । यस्ता सामाजिक आन्दोलनले नागरिकमा आलोचनात्मक चेतनाको विकास र सार्वजनिक दायरालाई विस्तार गर्ने छन् ।


यो अभियानलाई सैद्धान्तिक वा अन्य धरातलमा जति पनि आलोचना गरे पनि यसले मधेशी समाजमा एउटा सार्थक बहस शुरू गरेका छन । यो अभियानको सरोफेरोमा मधेशमा केही महत्वपूर्ण तर कम चर्चित अभियानहरु छिटफुट रुपमा सञ्चालन भइरहेका छन् । जनकपुरको आन्दोलनमा क्रममा शहीद भएका निकू यादवको परिवार र अन्य सहिद परिवारलाई सरोज राय र रियान अंसारीहरुको समूहले गरेको सहयोग वा बीपि साह र हुलकी डट कमले स्थानीय सामाजिक अभियन्ताहरुसँग मिलेर कैलाली काण्डले गर्दा बिच्चलीमा परेका एउटा थारू परिवारलाई सहयोगको लागि सञ्चालन गरेको अभियानहरुको आफैमा धेरै महत्व छ ।

अन्त्यमा भन्नै पर्ने हुन्छ एतिहासिक रूपमा उत्पीडित समुदायसँग क्षमायाचना गरेको केही तस्विर र क्षमायाचनाको केही शब्दहरु फेसबुकमा पोस्ट गर्दैमा न सवर्ण वर्गको जिम्मेवारी पूरा हुन्छ र न जातिय व्यवस्थाले उनीहरु प्रति भएको  एतिहासिक अपराधको छतिपूर्ति हुन सक्छ । यसका लागि उनीहरुलाई स्रोत साधन र अवसरको वितरणमा अंशियार बनाउनु पर्छ ।

यो आफै लामो प्रकृया हुनेछ । यस अर्थमा केही उपल्लो समुदायको अभियन्ताहरुले शुरू गरेको छमायाचना अभियान यथार्थमा नेक नियति र आत्म स्वीकृतिबाट निर्देशित छन् भने यो यस प्रकृयाको पहिलो कदम हुनेछ । आउने दिनमा उहाँहरु र अन्यको पनि व्यवहारमा यो प्रतिवद्धताको सत्यता देखियो भने यो अभियानले सार्थकता पाएको बुझ्नु पर्ने हुन्छ ।

एकातिर सस्तो लोकप्रियता कमाउनको लागि यो अभियान शुरू गरिएको हो भने यो उनिहरुकै साखलाई घटाउने छन् भन्ने अर्को तिर व्यक्तिगत आग्रह पूर्वाग्रहको आधारमा आलोचना गर्नु वा आलोचनाको लागि मात्र आलोचना गर्नु भन्दा पनि आलोचकहरुले बैकल्पिक सामजिक अभियान संचालन गर्दा बढ़ी सार्थक हुनेछ ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..