» » बालक अपहरण मुक्त


सुनसरी, असार १९ गते । सुनसरीको इलाका प्रहरी कार्यालय दुहवीले शुक्रबार अपहरणमा परेका मधेली गाविस–८ का १२ बर्षीय दिलवर मियाँलाई भारत अररिया जिल्लाको फुल्काबाट अपहरणमुक्त गर्न सफल भएको बताएको छ ।

बालक दिलवर मियाँलाई सुनसरीको सोनापुर–१ निवासी रिजवान अन्सारी र अमाहीबेलाहा–५ का अलाउद्दिन मियाँले अपहरण गरेर भारत विहारको अररिया जिल्लाको फुल्काहा–६ मा मुखमा कालोपट्टिले मुख बाँधेर राखेको अवस्थामा अपहरणकारीको मोबाइल नम्बरका आधारमा प्रहरीले फेला पारेर फिर्ता ल्याउन सफल भएको हो ।

अपहरणको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिव पोख्रेलको नेतृत्वमा गएको प्रहरी टोलीले बालकलाई अपहरणमुक्त गर्न सफल भएको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।

अपहरणकारीद्वयले बालकको बुबा जियाबुल मियाँसँग पाँच हजार रुपियाँ मागेको र सो रकम नपाएपछि ती दुवैले बालक दिलवर मियाँलाई दिउँसै अपहरण गरेर लगेको प्रहरीलाई पीडित जियाबुलले सूचना दिएको आधारमा प्रहरीले शुक्रबार राति १२ बजे बालकलाई अपहरणमुक्त गर्न सफल भएको बताइएको छ ।

अपहरणकारीमध्ये रिजवान अन्सारीका दाजु सुनसरी सोनापुरकै सद्दाम हुसैनलाई नियन्त्रणमा लिएपछि उनकै मोबाइलमा आएको फोन कलका आधारमा अपहरणकारी रिजवान अन्सारीलाई पक्राउ गरिसकिएको पनि प्रहरी निरीक्षक शिव पोख्रेलले जानकारी दिनुहुँदै अर्का अपहरणकारीको खोजी भइरहेको बताउनुभएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..