» » गठबन्धनको अन्तरक्रियामा बोल्नु भएका बुद्धिजिवीहरुलाई उपेन्द्र यादवको यस्तो जवाफ


काठमाडौ साउन ६ गते । संघीय गठबन्धनले ३९ दिनको रिले अनसन कार्यक्रम समापन गरेर तेस्रो चरणको आन्दोलनको कार्यक्रम पनि घोषणा गरिसकेका छन् ।
तेस्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन गठनले हिजो बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

सो अन्तरक्रिया कार्यक्रममा नेताहरु भन्दा पनि नागरिक समाजका अगुवा तथा राजनीतिक विश्लेषकहरुलाई कुरा राख्न दिएका थिए । जेठ १ गतेदेखि शुरु भएको काठमाडौ केन्द्रीत आन्दोलन कति सफल कति असफल भयो भने कुरा बारेमा नागरिक समाजका अगुवा तथा विश्लेषकहरुबाट जान्ने उद्देश्य थियो ।

बोल्ने अधिकाँशले गठबन्धनको पछिल्लो पछिल्लो क्रियाकलापको आलोचना नै गरेका थिए ।
खास गरि अहिले शुरु भएको नयाँ सत्ता समिकरणमा गठबन्धन अर्थात मधेशी मोर्चाले खेलेको भूमिका सकारात्मक नरहेको टिप्पणी अधिकाँशको थियो ।

मधेशी, आदिवासी  जनजातिको मुद्दामा तीनटै दलमध्ये कुनै पनि दल सकारात्मक नरहेको टिप्पणी पनि भएको थियो, त्यस अवस्थामा हतार हतारमा आएर माओवादी र काँग्रेसको समिकरणलाई समर्थन गर्नु भूल भएको टिप्पणी नागरिक समाजका अगुवाहरुले गरेका थिए ।

शुरुमा मधेश आन्दोलन जुन गतिमा थियो त्यो गतिबाट एकैचोटी कोठे गोष्ठीमा सिमिति भएको पनि टिप्पणीहरु आएको थियो ।



कसले के भन्नुभयो  ?

तुलानारायण साह
मधेशी मोर्चा वा गठबन्धनले गरेको आन्दोलन कमजोर अवस्थामा छ । त्यसबेला आएर हतार हतारमा काँग्रेस र माओवादीलाई समर्थन गर्नु पहिलो गल्ती हो । तपाईहरुको मत काँग्रेस र माओवादीलाई चाहिएको छैन तर तपाईहरु आफै मत दिन इच्छुक देखिनु हुन्छ । माओवादीले तपाईहरुलाई केही दिँदैन चाहे मत दिनुस् या नदिनुस् । नेपालको राजनीतिको कोर्स १६ बुँदेबाट परिवर्तन भएको हो तर के माओवादी र काँग्रेसले त्यो १६ बुँदे सम्झौतालाई सच्याउन तयार छ कि छैन त्यो कुरा बुझ्नु आवश्यक छ ।



सुरेन्द्र महतो, अधिवक्ता
मधेशी मोर्चाको आन्दोलनबाट जनता निकै निराश छन् । जनताको निराशा र नेताको उत्साहबीच निकै ग्याप छ । ३९ दिनसम्म चलेको रिले अनसन उत्साहजनक थिएन । काठमाडौमा यतिका आन्दोलन भइरहेका छन् तर जनतालाई कुनै मतलब छैन । ओली सरकार गएपछि आउने अर्को सरकारले मधेशको माग पूरा गर्ने कुरामा जनताले विश्वासै गरेका छैन ।





कृष्ण हयातेच्छु, राजनीतिक विश्लेषक
आन्दोलनकारीले जहिले पनि वार कि पार आन्दोलन हुने भनिरहेका हुन्छन् तर जनता मात्रै वारपार भइरहेका छन् । गठबन्धन तथा मधेशी मोर्चाका नेताहरुले त्याग देखाउन सकेन बरु मधेशी जनताले त्याग देखाए । अधिकारका लागि ६० जनाले ज्यान दिए तर नेताहरुले केही गर्न सकेन । सविधान निर्माण नहुँदै सविधानसभाबाट राजिनामा दिएर जनताको बीचमा गएको भए अर्कै परस्थिति हुन्थ्यो तर त्यस्तो भएन । अहिले यो कोठे गोष्ठीले केही हुनेबाला छैन । तीन ठूला दललाई कुनै कुरामा सहमति दिनुअघि आफ्नो एजेण्डा र मुद्दा अघि सार्नुपर्छ र त्यसमा सहमति भए मात्र काम कुरा अगाडि बढाउनु पर्छ ।


विजयकान्त कर्ण, पूर्व राजदूत
यो कोठे गोष्ठीबाट केही हुँदैन, बरु जनतामा जानुस् त्यहीबाट सबै हिसाब किताब हुन्छ । उपेन्द्र यादवजी तपाई राजविराज वा जनकपुर वा वीरगञ्ज गएर बस्नुस् । यहाँ काठमाडौमा बसेर केही हुनेबाला छैन । हामी पनि काठमाडौमा धेरै वर्षदेखि बसिरहेका छौ तर केही सुधार देखेनौ । बरु हुनसक्छ भने तपाईहरु आफ्नो कार्यालय पनि मधेशमै गएर राख्नुस् । यहाँ काठमाडौ सम्पर्क कार्यालय मात्र राख्नुस् ।



धिरेन्द्र प्रेमर्षी, सञ्चारकर्मी
आदिवासी जनजातिहरुसँग साथ साथ लिएर हिड्नु नै असली नेपाल हो । आन्दोलन सफल भएन । आन्दोलन तुहियो भनि निराश हुने अवस्था छैन । सानो सानो कुरामा पनि आशा गरेर अगाडि बढ्न सकिन्छ । आन्दोलन सकारात्मक रुपमा अगाडि बढी रहेको छ, यस अवस्थामा सत्ताको कुरामा नअल्झौ ।








प्रदीप गिरी, राजनीतिककर्मी
आन्दोलन सफल भएन भन्नुको औचित्य छैन । एक दिनमा आन्दोलन सफल हुँदैन । समय लामो लिन सक्छ । माओवादीले जुन योजनाका साथ अगाडि बढेका थिए त्यसमा उनीहरुले नेपाललाई स्वर्ग बनाउनुछु भनेका थिए । त्यसका लागि प्रयासहरु पनि भएका थिए तर पार्टीका एकजना नेता प्रधानमन्त्री भएपछि सबै हरायो, सबै समाप्त भयो । आन्दोलन समाप्त भयो, मधेशबाट खुल्ल मञ्च आयो, खुल्ला मञ्चबाट गोष्ठीमा आयो भन्नु गलत हो । शान्तिपूर्ण आन्दोलन गर्ने तरिका नै यही हो । आन्दोलनले पूर्ण विराम होइन, अर्धविराम लिएको छ ।



डा.सुन्दरमणी दीक्षित, नागरिक समाज
केन्द्रबाट देशको विकास हुनु असम्भव छ । अब प्रान्त प्रान्तबाट नै देश निर्माण हुन्छ । केन्द्रमा सबै भ्रष्ट र लुटेरहरु छन् । यिनीहरुबाट विकास र परिवर्तनको आशा गर्नु बेकार छ । अब प्रान्त प्रान्त मिलेर नै सम्पूर्ण देशको विकास गर्नुपर्छ । अहिले जसरी मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिमहरु मिलेर आन्दोलन गरिरहेका छन् त्यो नै असल नेपाल हो । नेपाल यस्तै हुनुपर्छ ।






उपेन्द्र यादवको जवाफ
संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको माग र मुद्दा सम्बोधन नभएसम्म सत्तामा जानु भनेको आत्महत्या गर्नु जस्तै हो, मधेशको माग पूरा नगरेसम्म कुनै पनि हालतमा मधेशी मोर्चा सरकारमा नजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । मधेशी, आदिवासी जनजातिले आफ्ना माग लिएर विगत एक वर्षदेखि सडकमा आन्दोलन गरिरहेका छन् तर राज्यले कुने सुनुवाई गरेको छैन, त्यस अवस्थामा सरकारमा जाने कुरै आउँदैन, उहाँले भन्नुभयो, केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नु मधेशी मोर्चाका एउटा रणनीति थियो, सरकार गठनको बेला हामी त्यतिकै समर्थन गर्दैनौ, ठोस प्रतिवद्धता नआएसम्म प्रधानमन्त्रीमा समर्थन गर्न सकिदैन किनभने हामीलाई थाह छ, तीनटै दलमध्ये जसको सरकार बनेपनि हाम्रो माग कसैले पूरा गर्दैन ।’

आन्दोलन समाप्त भयो, तुहियो, रोकियो भन्नु भ्रम मात्रै हो भन्दै उहाँले मधेशी, आदिवासी जनजातिको माग पूरा नभएसम्म आन्दोलन नरोकिने दावी गर्नुभयो । यो अन्तरक्रिया, कोठे गोष्ठी आन्दोलनको पूर्व तयारीका लागि भइरहेको उल्लेख गर्दै मधेशी, आदिवासी जनजातिहरुले आफ्नो अधिकार आन्दोलनबाट नै लिने बताउनुभयो ।

कतै युद्ध हुँदा जहिले पनि एकैनाशको हुँदैन, त्यहाँ विश्राम पनि हुन्छ , विश्राम हुँदा लडाकुहरुले आफ्नो तयारीमा हुन्छ, गोली गठा तथा बन्दोबस्तीका समानहरु मिलाई रहेका हुन्छन् त्यस्तै गठबन्धनले पनि गरेको छ, उहाँले भन्नुभयो, यो गोष्ठी, अन्तरक्रिया पनि आन्दोलनको तयारीको एउटा माध्यम हो ।’

२०६३÷२०६४ मा भएको मधेश आन्दोलन होला भने कसैले अनुमान गरेका थिएन, त्यसबेला पनि हामी यस्तै गोष्ठी, सेमिनार, अन्तरक्रिया, प्रशिक्षणहरु दिन्थ्यौं, कहिले कहाँ लुकेर त कहिले कहाँ लुकेर यस्ता कार्यक्रमहरु गथ्र्यौ, त्यो हेर्नेहरुले यस्तै गरि भन्थे यो तरिकाले आन्दोलन हुँदैन तर आन्दोलन त भयो, देशमा संघीयता त्यही आन्दोलनका कारण आयो पनि त्यसैले आन्दोलनको विभिन्न स्वरुप हुन्छन्, त्यसका तयारीका विभिन्न प्रकृयाहरु हुन्छन् आतिने कुरा हुँदैन तयारीमा लागि रहनु पर्छ, उहाँले भन्नुभयो ।




About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..