» » तमलोपामा आयो हिन्दु राष्ट्र बनाउने प्रस्ताव (हेर्नुस् पत्र)



काठमाडौ असार १९ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशन सकेको आज १० दिन भइसक्यो तर पार्टीमा महाधिवेशनको रौनक सकिएको छैन । नेताहरुको दौडधुप र चहलपहलले गर्दा लाग्दा पार्टीमा दैनिक जस्तो महाधिवेशन भइरहेका छन् ।
कुनै नकुनै कुराको चर्चा परिचर्चा भइरहेका हुन्छन् । फलानो महासचिव बन्दैछ, फलानो बनिरहेका छैन, फलानोले फलानो नेतासँग भेट्यो आदि आदि कुराहरु भइरहेका हुन्छन् ।
यस्तैमा आज सुनिएको नयाँ कुरा हो, तमलोपामा हिन्दु राज्यको माग । मधेशवेशको राजनीतिक गर्ने एउटा पार्टीमा हिन्दु राष्ट्रका लागि आन्दोलन गर्नुपर्छ भनि चर्चा पाउनु सानोतिनो कुरा होइन । यो कुरालाई यो समाचारदातालाई खुल्दुली लाग्यो । साँच्चै हिन्दु राष्ट्रको कुरा उठेको हो त । खोज्दै गए । खोज्दै जाँदा यो चर्चा कुनै बोलि व्यवहार र कुनै पान वा चिया पसलमा मात्र भएको होइन । नवलपरासीमा तीन दिनसम्म भएको महाधिवेशनमा औपचारिक रुपमा प्रस्तावकै रुपमा आएको कुरा हो । 
यो प्रस्ताव ल्याउने व्यक्ति सो पार्टीका नेता सिताराम अग्रवाल हुनुहुन्छ, जो मधेशी जनअधिकार फोरम र मधेशी जनअधिकार फोरम गणतान्त्रिक हुँदै तमलोपामा प्रवेश गर्नुभएको हो । उहाँसँग यो विषयमा जिज्ञासा राख्दा उहाँले आफूले हिन्दु राष्ट्रका लागि आफूले प्रस्ताव लगेको स्वीकार गर्नुभयो । 
उहाँले भन्नुभयो, मधेशवादी दलसँग मधेशमा वा देशमा राजनीतिक गर्न अब कुनै एजेण्डा बाँकी छैन, अब सबभन्दा दुरुस्त चुरुस्त एजेण्डा भनेको हिन्दुत्वको हो । यदि तमलोपाले हिन्दु राष्ट्रका लागि मधेशबाट अभियान शुरु गर्यो भने एक नम्बरको पार्टी बन्छ । मधेशमा सबभन्दा बढी हिन्दु समुदायको जनसँख्या छ । उनीहरुको बारेमा, उनीहरुको मनोभावना बोलि दिने कोही भएन । यदि तमलोपाले अगुवाई गर्यो भने पार्टीको हितमा हुने कुरा मैले महाधिवेशनमै उठाएका थिए ।
तपाईले लगेको प्रस्ताव किन पास भएन त भने जिज्ञासामा उहाँले सिधै भन्नुभयो, अरु कसको प्रस्ताव पास भयो त । कसैको केही पास भएको छैन । सबैको विचाराधिन र पेन्डिगंमा छ ।
अग्रवालले आफ्नो प्रस्ताव मौखिक रुपमा राख्नु भयो भने लिखित डकुमेन्ट्स सचिवालयमा दर्ता गराउनु भएको छ । यस बारेमा सचिवालयका संयोजक गोविन्द चौधरीसँग बुझ्दा उहाँले पनि दर्ता भएको स्वीकार गर्नुभयो ।

अग्रवालले प्रस्तावको रुपमा दर्ता गराएको पत्र यस्तो छ ।  
संघीय लोकतान्त्रिक हिन्दू गण्तन्त्र नेपालको प्रस्ताव

प्रस्तोताः–सिताराम अग्रवाल
तराई मधेश लोकतान्त्रिक पार्टी
महाधिवेशन प्रतिनिधी,

सर्वप्रथम मधेश आन्दोलनमा शहीद भएका मधेशका वीर सपुतप्रति श्रद्धा सुमन अर्पित गर्दै, महाधिवेशन प्रतिनिधीहरुलाई आदरणीय अभिवादनका साथ पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसंध्यामा देशको, मधेशको जल्दोबल्दो समस्यासँगै हिन्दुराष्ट्रको औचित्यमाथि छलफल गर्न यो प्रस्ताव अगाडि सारेको छु ।

(१) आफ्नो स्थापनाकालदेखि मधेश मुक्ति आन्दोलनमा तराई मधेश लोकतान्त्रिक पार्टीको अहम् भूमिका रहँदै आएको छ । मधेशमा आन्दोलन जारी रहेको अवस्थामा तराई मधेश लोकतान्त्रिक पार्टीले देखाएको समन्वयकारी भूमिका कसैबाट लुकेको छैन । यसले गर्दा पार्टी अग्रस्थान रहेको छ । राजनीतिको चढाव उतारमा सांगठनिक एकता कायम राख्दै  निष्कलंक छविका कारण जनतामा लोकप्रिय बन्दै गएको तराई मधेश लोकतान्त्रिक पार्टीको व्यवहारिक पक्षलाई परिमार्जित गर्दै अझ सशक्त रुपमा मधेशमा उभिन आवश्यक देखिएको छ ।

 यसका लागि जनताको आवाजलाई एजेण्डा बनाउने, संगठनलाई सशक्त बनाउने, समान रुपमा नेतृतवको विकास गर्नेे, समय र परिस्थितिले निर्देशित गरे अनुसार धर्म, संस्कृति, भेशभुषा, रीतिरिवाज, सामाजिक संरचना आदिको जगेर्ना गरि पार्टीलाई सक्षम बनाउने जिम्मेवारी महाधिवेशन प्रतिनिधीको काँधमा आएको छ । सबैको आवाज सुन्ने जनजनको पार्टी बनाउने दायित्व हामी सबैको भएकाले नयाँ विचारका साथ जनतामा प्रस्तुत हुन पार्टीलाई सक्षम बनाऔैं ।

(२) नेपाललाई आफनो प्रभावमा लिन खोज्ने शक्तिकेन्द्रहरु बडो सक्रियताका साथ नेपालको राजनीतिमा लागेको छ । परम्परागत परालम्बी संस्कारमा हुर्केको राज्यसत्ता आफनो स्वार्थका लागि शक्तिकेन्द्रको उपयोग गर्दै सक्रिय भएको छ । नेपाललाई आफ्नो प्रभावमा राख्नका लागि शक्तिकेन्द्रहरुको रणनीति अनुसार नै यहाँ लगानी भित्रिएको हो । यही रणनीति अनुसार हिन्दूराष्ट्र नेपाल क्षयीकरणको दिशामा उन्मुख भएको छ ।

 गरिब मुलुकको रुपमा परिचित नेपालमा आर्थिक प्रलोभनमा पारेर विगत चार दशकदेखि धर्म परिवर्तन गराउने अभियान बिना रोकटोक सञ्चालनमा रहेपनि राज्यले त्यसलाई नजर अन्दाज गर्दै रणनीतिक ढंगबाट त्यसलाई बढावा दिने काम गर्यो । रेडियो, टी.वी.बाट आफनो धर्म संस्कृतिको रक्षा गर्न नैतिक उपदेश दिएपनि हिन्दूधर्मको क्षयीकरणको तीव्रतालाई शासकवर्गले नजरअन्दाज गरिे रहे ।

पहाडमा प्रभाव जमाएपछि मधेशलाई टारगेट बनाउने रणनीति लिएको शक्तिकेन्द्र विकास, उन्नति, प्रगतिको नाममा मधेशमा विस्तारै खुट्टा टेक्ने काम भइरहेको छ तर हालसम्म सफलता हात लागेको छैन । किनभने मधेश कट्टर हिन्दू धर्मालम्बी क्षेत्र हो । तर शक्ति केन्द्रहरुले आफ्नो प्रयासलाई जारी राखेका कारणले हिन्दूधर्म क्षयीकरणको दिशामा गइरहेको छ र यो चिन्ताको विषय हो ।

शासकवर्गको आफ्नो स्वार्थपूर्ति भईरहेका कारणले जानी जानी यसप्रति कुनै चासो देखाएको छैन र नेपालको पहिचान, परम्परादेखि चल्दै आएको र ८० प्रतिशत जनताले मान्दै आएको हिन्दुधर्म अहिले संकटमा परेको छ ।

यसलाई जोगाउने अवाज चारैतिरबाट उठिरहेको बेला यसलाई कसरी जोगाउन सकिन्छ भन्नेतिर ध्यान दिनु जरुरी छ । काँग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) मा लागेकाहरु पनि हिन्दु धर्मको वकालत गर्न थालेका छन् ।

बौद्धमार्गी र मुस्लिमले पनि पश्चिमा धर्मको खतरालाई ध्यानमा राखी हिन्दूधर्मको बहालीको पक्षमा आफनो समर्थन जनाउन थालेका छन् । सबैको समर्थन प्राप्त गर्दै हिन्दुत्वको आवाज अब संघर्षको रुप अगाडि बढाउनेमा अलिकतिप पनि शंका गर्नुहुँदैन । जनताको यो आवाजलाई हामीले बेलैमा सम्बोधन गराउने उद्देश्यका साथ सैद्धान्तिक समर्थन जनाउनु हाम्रो नैतिक दायित्व बन्नु पर्दछ ।

विश्वले नै हिन्दूधर्म, संस्कृतिलाई अब्बल दर्जामा मानेकोले परिवर्तनको नाममा हिन्दू समाजको विशिष्ट पहिचान भएको संरचनालाई भत्काउने, विगार्ने र लोप नै बनाउने दुष्प्रवृतिप्रति सरकार पनि मौन देखिएबाट यो राष्ट्रिय समस्याको रुपमा प्रकट भएको छ ।

 धर्म र संस्कृति हाम्रो पहिचानको आधार भएकाले यसको नाश हुनु हाम्रो समाजको पतन हो । प्रगति भनेको आर्थिक उन्नति हो, धर्म परिवर्तनलाई आर्थिक समृद्धिको आधार कदापि मान्न सकिन्न । धर्म परिवर्तन गरि अर्थ जुटाएर विकास गर्ने तर्क भिखारी प्रवृति हो र भिखारीको कुनै मौलिकता हुँदैन, कुनै धर्म संस्कृति र पहिचान हुँदैन ।

नेपालमा आर्थिक विपन्नताले धर्म परिवर्तनलाई बढावा दिएको यथार्थलाई सरकारले वेवास्ता गरेबाट दुई दशकमा यो क्रम तीब्रता लिएको हो । प्रगितिको माध्यम न क्रिश्चियनिटी हो न अवरोधको रुपमा मानिने हिन्दधर्म । प्रगतिको अवरोधक सरकारको रुढिवादी, यथास्थिति सोच हो । देशको प्रगतिभन्दा वर्गीय प्रगति प्यारो रहेकाले देश विपन्नताको खाडलमा जाँकिएको हो । हाम्रो विपन्नताको माध्यमलाई प्रयोग गरि ईसाई धर्म भित्रिएको यथार्थलाई बुझेर हिन्दूधर्मको क्षयीकरणलाई रोक्न अब हाम्रो रणनीति आर्थिक विकासतिर केन्द्रीत हुनु पर्दछ ।

आर्थिक एजेण्डा

पार्टीले मधेशको आर्थिक विकासको एजेण्डालाई पार्टीको राजनीतिक एजेण्डा बनाउनुपर्छ । आर्थिक विकास बिना मधेश चरम अभाव भोगि रहेका छन् । कतै नकतै आर्थिक अभावका कारण आन्दोलनमा असर परिरहेका छन् । जनता आर्थिक रुपमा सवल भए आन्दोलन आफै अगाडि बढ्छ । कृषि, वन, स्वास्थ्य, शिक्षा, उर्जाको क्षेत्रमा व्यक्ति, समूह, निजीक्षेत्र आदिलाई प्रोत्साहन गरि उत्पादन वृद्धिको दिशामा पहल हुनु पर्दछ ।

धरातलीय संगठनलाई उत्पादनको क्षेत्रमा प्रोत्साहन गर्दा सांगठनिक सशक्तिकरणको आधार तयार हुने तथा जनतामा पार्टीको लोकप्रियता पनि बढ्ने भएकोले यसप्रति सबै प्रतिनिधीको ध्यान आकृष्ट गर्न चाहन्छु । धन्यवाद ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..