» » बाढीका कारण जिल्लाका जनजीवन प्रभावित


कपिलवस्तु, साउन ११ गते । कपिलवस्तुका विभिन्न नदीमा आएको बाढीका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

जिल्लाको बाणगङ्गा, सुरही, कोइली, गुड्रुङ्ग लगायतका नदी तथा खोलामा पानीको सतह बढेपछि नदी किनारका बस्ती उच्च जोखिममा परेका छन् ।

बाणगङ्गा नदीमा आएको बाढीमा फसेका ६ जनालाई धनकौली गाविसका स्थानीय युवाले उद्धार गरेका छन् । सो नदीको तिलौराकोट नजिक रामघाट नदी बीचमा बिहान ६ बजेदेखि फसेकालाई स्थानीय धनकौली गाविसको मोतीनगर प्रकोप व्यवस्थापन समितिका युवाले उद्धार गरेका छन् । यसरी उद्धार गरिएकामा कबनपा–१८ रुधौलाका शिव केवट, रामचन्द्र केवट, राजेन्द्र विश्वकर्मा, बब्लु केवट, सन्दीप हरिजन र शिवचन्द्र कहार रहेका छन् ।

यसैगरी बाणगङ्गा नदीको कजरहवा क्षेत्रमा एकजना स्थानीय युवालाई बगाएको छ । स्थानीयवासी योगेन्द्र केसीले दिएको जानकारीअनुसार कजरहवा–९ सिङ्ग्राहा का २१ वर्षीय रामगुलाम कलवार बाणगङ्गा नदीले बगाएको हो । बगेका कलवारको अझै कुनै पत्तो नलागेको प्रहरीले जनाएको छ ।

नदी गाउँ पसेपछि जिल्लाको लक्ष्मणघाट, कोपवा, निग्लिहवा, अकवरपुर, हरदौना, सिहोखोरलगायत स्थानका सर्वसाधारण नदी गाउँ पस्ने डरले त्रसित भएका छन् । यस क्षेत्रका करिब ५०० घर बढी डुबानमा परेको प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो ।

बाढीबाट आउन सक्ने सम्भावित क्षति कम गर्न स्थानीय प्रशासनले विपद् व्यवस्थापनका उच्च सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले बताउनुभयो ।

बाढीका कारण पूर्व पश्चिम राजमार्ग, तौलिहवा बहादुरगन्ज सडकखण्ड अवरुद्ध भएको छ । बाढीको खतरा बढेपछि जिल्लाको उत्तरी क्षेत्रका निजी विद्यालय बन्द गरिएको थियो । कपिलवस्तुमा यसै साता बाढीबाट बगाएर दुई जनाको ज्यानसमेत गएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..