» » काँग्रेसलाई समर्थन गर्नु भुल (सम्पादकीय)


नेकपा (माओवादी) केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पुनः चर्चामा आएको छ । जसलाई समर्थन गर्छ उसैको नेतृत्वको सरकार बन्छ । तर यही मौका हो, मधेशी मोर्चा सावधानी पूर्वक आफ्नो कदम चाल्नुपर्छ । हामीले आफ्नो समाजिक सञ्जल फेसबुकमार्फत गरेको सानो सर्वेक्षण अनुसार मधेशका लागि यी तीन दलमध्ये कुनै दल हितकर छैन । मधेशका लागि तीनटै घातक छ । यद्यपी, तथ्यांक र विगतको चुनावी जोड घटाउको हिसाब गर्ने हो भने मधेशका लागि यी तीन दलमध्ये सबभन्दा बढी खतरनाक काँग्रेस नै हो ।

चुनावी जोड घटाउमा काँग्रेसका लागि मधेश मुख्य आधारशिला हो । काँग्रेसको संगठनको हिसाब किताब मधेशबाट नै हुन्छ । मतदाताको कुरा गर्ने हो भने तीनटै दलमध्ये काँग्रेसको सबभन्दा बढी मतदाता मधेशमै रहेको छ र अधिकाँश मधेशवादी दलमा नेपाली काँग्रेस पार्टी छाडेर आएका कार्यकर्ताहरु रहेका छन् । अर्थात मधेशवादी दलको भोटर काँग्रेसीहरु नै हुन् । माओवादी र एमाले बलियो हुनुमा जति घाटा मधेशी दललाई नै छैन त्यति घाटा काँग्रेस बलियो हुँदा हुने हो ।


पहिलो सविधानसभाको चुनावमा माओवादी पहिलो दल हुँदा मधेशवादी दलको अवस्था राम्रो थियो । दोस्रो सविधानसभा चुनावमा काँग्रेस पहिलो दल भएपछि मधेशी दलको अवस्था खराब भयो । खराब मात्र होइन, दोस्रो सविधानसभा चुनाव लगतै आन्दोलनमा जान बाध्य पार्यो । काँग्रेसकै सोच र नीतिका कारण मधेशमा आन्दोलन भयो ।

६ महिनासम्म नाकाबन्दीलगायत आम हडतालको रुपमा आन्दोलन भयो । काँग्रेसका पूर्वसभापति स्व.सुशिल कोइराला प्रधानमन्त्री रहेको बेला ४० जनाभन्दा बढीले ज्यान गुमाउनु पर्यो । जसरी पनि सविधान बनाउने, आफ्नो पार्टीले नै ऐतिहासिक सविधान निर्माण गर्यो त्यो देखाउनका लागि पनि जवर्जस्ती सविधान निर्माण गर्न तिर लागे । मधेशी, आदिवासी जनजातिहरुले जति कराए, जति उफ्रे, जति आन्दोलन गरेपनि काँग्रेसले त्यसको सुनुवाई गरेन । दर्जनौ युवाहरुले सहादत दिए तै पनि काँग्रेसले कानमा तेल हालेर सुतेका थिए ।

अन्ततः काँग्रेसकै नेतृत्वमा सविधान जारी भयो । सरकार बनाउनका लागि भएर होला काँग्रेसले जुन सद्भाव आज मधेशप्रति देखाई रहेका छन् त्यस्तो सद्भाव शुरुमा देखाएको भए सायद यो अवस्था आउने थिएन । राजनीतिक जोडघटाउमा मधेशी मोर्चाको आवश्यकता भएर नै खोजि खोजि ल्याई रहेका छन् । आजै उनै काँग्रेसले मधेश नेताको टाउकोमा टेकेर मधेशलाई हान्न खोजेको छ । तर मधेशी मोर्चालाई थाह छैन, उल्टै काँग्रेसलाई स्पेश दिइरहेका छन् ।

यदि काँग्रेसले साँच्चै मधेशवादी दलको समस्या समाधान गर्न चाहेका छन् भने पहिला सुदुर पश्चिमको लागि थारुहरुको जुन समस्या छ त्यसलाई पहिला समाधान गरोस् अनि मधेशी र थारुले पत्याउनेछ । आजकै मितिबाट घोषणा गर्दियोस् । सुदुर पश्चिमका दुई जिल्ला कैलाली, कञ्चनपुर तराई मधेशको जिल्लामा छन् ती जिल्लालाई थरुहटमा राख्न सकिन्छ भन्ने कुरा देउवाले आज भन्दियोस् तर सबैलाई थाह छ त्यो गर्दैनन् । मधेशी मोर्चाका नेताहरुलाई गुमराहमा राखेर आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न चाहेका छन् । मधेशी मोर्चाका भुलका कारण मधेशी जनताले फेरि एकपटक दुख पाउनेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..