» » स्थानीयको विरोधको बाबजुद मानववस्तीसँगै खुल्दैछ सिमेन्ट उद्योग

फाइल फोटो

भैरहवा साउन ४ गते ।  मानव बस्ती नजिक रहेको भन्दै विरोधपछि दुई वर्षसम्म रोकिएको सिमेन्ट उद्योगको निर्माण फेरि सुरु भएको छ।

निर्माण सुरु भएसँगै रूपन्देही हर्नैया–९ स्थित भैंसाखादरका बासिन्दा चिन्तित बनेका छन् । उद्योगबाट हुने वायु र ध्वनि प्रदूषणबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै निर्माण बन्द गर्न उनीहरूले माग गरेका छन् ।

स्थानीयवासीको स्वीकृतिबिना तयार गरिएको प्रारम्भिक वातावरणीय प्रतिवेदन (आईई) को आधारमा पाँच वर्षअघि श्रीराम सिमेन्ट उद्योगको निर्माण थालिएको थियो ।

गाउँलेले विभिन्न निकायमा उद्योग हटाउनुपर्ने लिखित माग गरेका थिए । लुम्बिनी विकास कोषले उद्योग ‘लुम्बिनी संरक्षित क्षेत्र’ भित्र पर्ने जनाउँदै रोक्न २०७१ वैशाख ७ मा पत्राचार गरेपछि काम रोकिएको थियो ।

‘दुई महिनादेखि दु्रतगतिमा निर्माण अघि बढाइएपछि हामी चिन्तित छौं’ स्थानीय रामलखन हरिजनले भने, ‘उद्योगको प्रदूषणबाट हामी र सन्ततिको स्वास्थ्यमा असर पर्ने भएकाले तुरुन्त उद्योग निर्माण कार्य बन्द गरी अन्यत्र स्थानान्तरण गरिनुपर्ने माग हाम्रो हो ।’

आफ्ना मागप्रति स्वयम् उद्योग लगानीकर्ता, उद्योग विभाग, वातावरण मन्त्रालय तथा विभाग, स्थानीय प्रशासनलगायतका जिम्मेवार निकायले बेवास्ता गरेको भन्दै उनीहरू आक्रोशित छन् ।

गलत प्रतिवेदन र स्थानीयवासीको स्वीकृति लिनुपर्ने लगायत उद्योग स्थापना गर्नका लागि आवश्यक मापदण्ड पूरा नगरी निर्माण गरिँदा पनि जिम्मेवार निकाय मौन छन् ।

गत वैशाख २२ मा गुठी संस्थान प्रधान कार्यालयले उद्योग मन्त्रालय, संस्कृति मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई उद्योगको निर्माण रोक्न गरेको पत्राचार थन्किएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले निर्माण रोक्नेबारे संस्थानको पत्र प्राप्त भएको जनाउँदै यसबारे आवश्यक कारबाही प्रक्रिया बढाइने प्रतिकृया दिए ।

गत जेठ ३ मा केन्द्रीय बाल कल्याण समितिले पनि निर्माण रोक्न पत्राचार गरेको छ । निर्माणाधीन उद्योगको ५० मिटर दूरीमा मानव बस्ती छ।

त्यहाँ डेढ सय घर छन्। दुई सय मिटर दूरीमा श्रीराम जानकी मन्दिर छ । नजिकै हर्नैया स्वास्थ्य चौकी, रामजानकी बाल विकास केन्द्र, दिव्य ज्योति बोर्डिङ स्कुल, गणसारी निमावि, समयमाई निमावि लगायत छन् ।

सबैले उक्त उद्योगबाट धूलो, धूवाँ र ध्वनि प्रदूषणबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै बेलैमा उद्योग स्थानान्तरण गरिनुपर्ने लिखित माग गर्दै आएका छन् ।

‘आईई गलत’
प्रारम्भिक वातावरणीय प्रतिवेदन (आईई) तयार पार्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा कारबाहीमा परेको हो । उसले स्थलगत अध्ययन नगरी उद्योगीलाई अनुकूल हुने गरी प्रतिवेदन बनाएको पाइएको छ । त्यही प्रतिवेदनलाई स्वीकृत गरी उद्योग विभागबाट सञ्चालनको अनुमति दिएको थियो । उद्योग निर्माण सुरु हुनासाथ स्थानीय बासिन्दाले विरोध थालेका थिए ।

प्रतिवेदनमा १ किमि वरपरसम्म मानव बस्ती नभएको उल्लेख गरिएको छ । विद्यालय, स्वास्थ्य चौकी, मठमन्दिरका बारेमा केही उल्लेख गरिएको छैन। प्रतिवेदन तयार पारिँदा आम जनतासँग सोधपुछ नगरिएको स्थानीयले बताएका छन् । उपलब्ध आईई प्रतिवेदनमा प्रतिवेदन तयार पार्ने संस्थाका बारेमा केही खुलाइएको छैन ।

कुनै विभाग वा कार्यालय नखुलाइएको एक केमिकल इन्जिनियरले प्रतिवेदन प्रमाणित गरेको दाबी स्थानीयले गरेका छन् ।

स्थापनाका लागि पेस गरिएको प्रतिवेदनमा उल्लेख बेहोरा गलत पाइएको अख्तियारले जनाएको भनि कान्तिपुरमा समाचार छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..