» » सहिद परिवारको बिच्चली, मधेशी दल बेखबर


तराई मधेशमा ६ महिनासम्म लगातार भएको आन्दोलनमा ६० जनाले सहादत प्राप्त गरेको मधेशवादी दलहरुको दावी छ । मधेशवादी दलले अहिले काठमाडौ केन्द्रीत आन्दोलन गरिरहेको छ । त्यस दलका नेताहरुले भनि रहनु भएको छ, ‘६० जनाभन्दा बढी मधेशी युवाले सहादत दिएपनि राज्यले सुनेन, हामीले ३६ पटक भन्दा बढी वार्ता गरियौं तर सरकारले वेवास्ता गर्यो ।’ तर मधेशका लागि जसले सहादत दिए, जसको परिवारले सहादत दिए, त्यसको कुनै खबर छैन । कुनै सोधखोज छैन ।’

आन्दोलन चलिरहेको बेला मधेशी दलका नेता अर्थात संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलका नेताहरु आफ्नो पपुल्यारिटीका लागि सहिद परिवारको घरमा पटक पटक जानु हुन्थ्यो र, सहिद परिवारको आँखाको आँसु पुछ्दै सरकारलाई दुहाई दिँदै ठूला ठूला भाषण दिनु हुन्थ्यो ।

तर जब २०७२ माघ २४ गतेदेखि आन्दोलन समाप्त भयो, नेताहरु आन्दोलनको बाहानामा काठमाडौ पसे अनि मधेशवादी दलका नेताहरु सहिद परिवारको घर जाने बाटो पनि बिर्सिनु भयो, बिराएर पनि कोही कसैले हालचाल पनि पुछ्न जानु भएन । यतिका दिन भयो, उनीहरुले राहत पायो कि पाएन, उनीहरुको अवस्था के छ, सरकारले दिने सहयोग पायो कि पाएन, अरु राहतको व्यवस्था गर्नुपर्छ कि पर्दैन, बालबच्चाको अवस्था के छ आदि इत्यादी । अहिले मधेशवादी दलका सबै नेताहरु केन्द्रमा केन्द्रीत भएर आनदोलनको स्वाँग गर्दै मधेशमा सहादत दिएकाहरु नाम भजाइ रहेका छन् ।

ल केन्द्रीय स्तरका नेताहरु केन्द्रमा व्यस्त हुनुभयो रे, उहाँलाई पार्टी सञ्चालन गर्नुछ र केन्द्रीय राजनीतिकको ह्याण्डिल पनि गर्नुछ तर स्थानीय नेताहरु पनि सहिदको हालचाल सोध्न जानु हुन्न । कतिपय नेताहरु जहिले सहिद परिवारको घर छेउबाटै हिडिरहेका हुन्छन् तर एकपटक चियाएर पनि हेर्नु हुन्न हालचाल सोध्नु धेरै टाढाको कुरा । सहिद परिवारलाई सक्दो सहयोग गरिरहने अभियानका साथ उनीहरुको घर गइरहने अभियन्ता सरोज रायका अनुसार सहिद परिवारलाई अहिले कम्ति समस्या छैन ।

अहिलेसम्म उनीहरुको परिवार शोकमै छन् । समान्य अवस्थामा फर्केका छैनन् । उनीहरुको आँसु अझै सुकेको छैन । जतिखेर पनि सहिदका आमा, बुवा, भाइ तथा आफन्तको आँखा रसाएकै हुन्छ । यस अवस्थामा उनीहरु केही गर्न सक्दैन । उनीहरुलाई अहिले आश र भारोस दिने समाज चाहिन्छ ।’

शिवकुमारीको पीडा
२०७२ मंसिर १७ गते मधेश आन्दोलनमा सहादत दिनु भएका राधिका देवीको घरपरिवारको अवस्था बुझि साध्य छैन, अभियन्ता रायले भन्नुभयो, सरकारबाट पाउनु पर्ने १० लाख रुपियाँ अझै पाएका छैन । सिडियोले राधिका देवीका छोरी शिवकुमारी दासलाई सिधै काठमाडौ जान भन्छन्, तर कहाँ जाने कोसँग भेट्ने के गर्ने केही भन्दैनन् सिधै भन्छन् काठमाडौ जानुस् ।

 यस अवस्थामा एकजना सहयोगीको अवस्था त्यहाँ परेको छ । त्यो नेताहरुबाट मात्र सम्भाव छ तर कोही पनि नेता आजसम्म गएर सोधेका छैन कि हालसम्म किन पैसा पाउनु भएको छैन ।’ प्रहरीको गोली लागेर नमरेको कारण राहत दिन नमिल्ने भन्दै सिडियोले यसको बारेमा काठमाडौ गएर कुरा गर्न शिवकुमारीलाई भनि सकेको छ तर शिवकुमारी कहाँ जाने के गर्ने कुनै खबर छैन, कुनै आइडिया पनि छैन ।

शिवकुमारी भन्नुहुन्छ, सिडियोले काठमाडौ जा त भन्नुहुन्छ तर कहाँ जाने, कोसँग भेट्ने सबै जानकारी दिए पो एक्लै भएपनि काठमाडौ गएर काम गराउन सकुँ तर सिडियो केही बोल्नुहुन्न सिधै काठमाडौ जा भन्नुहुन्छ ।’ यस अवस्थामा त्यहाँका स्थानीय नेताले सहयोग गर्नुपर्ने हो तर यो समाचार तयार पार्दासम्म कोही पनि सोध्न गएका छैन कि कस्तो अवस्था छ ।

 शिवकुमारी भन्नुहुन्छ, मैले त्यहाँ नेताहरुलाई आफ्नो समस्याको बारेमा जानकारी गराई सकेको छु  तर कसैले वास्ता गरेको छैन । आमाको मृत्यु भएको बेला सान्तवना दिनेहरुको लाइन हुन्थ्यो, त्यसमा सबभन्दा बढी नेताहरु नै हुन्थे तर अहिले कोही पनि आउनु हुन्न जब कि ती नेताहरुको अहिले मलाई आवश्यकता छ ।

शिवकुमारीसँग एकधुर जमिन पनि छैन । एलानी जग्गामा घर बनाएर बस्नु भएको छ । बुवाको मानसिक सन्तुलन ठिक छैन । घरको कामकाज सबै शिवकुमारीलाई नै हेर्नुपर्ने हुन्छ । सरोज रायले लुगा सिउने मेसिन सहयोग गरेपछि त्यसबाट घरव्यवहार जसोतसो चलिरहेको छ । तर कुनै पनि नेता एकपटक पनि सोध्न गएका छैन । जब कि यसबेला शिवकुमारीलाई मान्छेको आवश्यकता छ । शिवकुमारीका चार भाइ वहिनी छन् ।

नितु र निकुले रपुलाई पीडा

नितु यादवको ठाउँमा निकु यादव लेखाएको कारण सहिद नितु यादव (धनुषा) का परिवार कम्ती दुख पाएन । नितुका दाजु रपु यादव सिडियो कार्यालय धाउँदा धाउँदै हेरान हुनुभएको छ । केही दिन पहिले मात्र सिडियोले निकु र नितु भन्ने व्यक्ति एउटै हो भनि गाविसबाट प्रमाणित गरेर ल्याए मात्र १० लाख रुपियाँ दिने भन्नुभएको छ तर त्यसअघि निकै दौडधुप गर्नुपरेको पीडा सुनाउनुभयो । १० लाख रुपियाँ चाँडै पाऊन भने आशाले जनकपुरका चिनिएका आन्दोलनकारी अधिकाँश नेतालाई सहयोगका लागि रपुले आग्रह गर्नुभएका थियो । तर, कुनै नेताले वास्ता गर्नुभएन । एक दिन सिडियो कार्यालय गएर पनि भनि दिनुभएन, रपुको गुनासो ।

रपुले आफ्नै प्रयासमा नितु र निकु एउटै व्यक्ति हो भनि प्रमाणित गराएर गाविसबाट दिएपछि असार १४ गते सिडियोले तोक लगाई दिएपछि १० लाख रुपियाँ पाउने आशा जागेको छ । रपु भन्नुहुन्छ, मेरो भाइको मृत्युसँगै मेरो घरमा नेताहरुको लाइन लागेको थियो । बसाउने ठाउँ हुँदैन्थ्यो । आएर सबैले अनेक अनेक आश्वासन दिएर जानु भयो तर अहिले आएर आवश्यता पर्यो अनि कोही साथ दिनुभएन ।’ एकजना भाइ थियो, त्यो पनि सहादत हुनुभयो, घरमा आमा र बुवा हुनुहुन्छ, सम्पतीको नाममा तीन कठ्ठा जमिन मात्रै छ, रपुले भन्नुभयो, घरमा कर्जा भएपछि म विदेश कमाउन गएका थिए तर १५ महिना नबित्दै यो घटना भएपछि घर फर्के । १० लाख रुपियाँ आएपछि पहिलो काम ऋण सकाउने हुन्छ अनि बाँकी काम पछि हुन्छ ।’

नेताकै विरोध 
सहिद शैलेन्द्रकुमार श्रीवास्तवका बुवा उदयबहादुर लाल श्रीवास्तव सरकारले दिने सहयोगबाट निकै टाढा हुनुहुन्छ । कसले के सहयोग दिन्छन्, सरकारले के सहयोग दिन्छन् ती बारे उहाँलाई केही थाह छैन, उदयबहादुरले भन्नुभयो, कसैले यो यो पाउँछन्, फलानो ठाउँमा पाउँछन्, त्यहाँ जानु भने कुराको जानकारी दिए पो त्यहाँ गएर कुरा गरौं । विना जानकारी त्यतिकै पागल जस्तो घुम्न त हुँदैन नि ।’ भदौ ५ गते मेरो छोराको निधन भएपछि नेताहरुको लाइन नै लागेको थियो । विभिन्न ढाढस र प्रतिवद्धताहरु दिएर जानु भयो तर पछि विस्तारै आफै आउजाउँ कम गर्नुभयो ।

उदयबहादुरले सरकारबाट १० लाख रुपियाँ पाएको छैन । कारण, उहाँको छोरा प्रहरीको गोलीबाट मरेको छैन रे, त्यही भन्छन् स्थानीय प्रशासनले, उदायबहादुरले राज्यको बिडम्बना सुनाउँदै भन्नुभयो, आन्दोलनकै क्रममा कन्हैया चौधरीलाई बचाउन खोज्दा प्रहरीले कुटपीट गरेर बेहोस बनाएका थिए, पछि भारततिर उपचार गराउन लग्दा उतै मृत्यु भयो तर सिडियो भन्छन्, गोली लागेर मेरेको हुनुपर्छ ।’

तर यसका लागि त त्यहाँका नेताहरुले बोलि दिनुपर्ने हो तर कसैले चुँई शब्द बोल्दैनन् । उल्टै तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद कमलेश्वर पुरी गोश्वामीले (रुपन्देही) उदयबहादुरको विरोध गर्नुहुन्छ । शैलेन्द्र श्रीवास्तवको मृत्यु अर्कै कारणले भएको कुरा चारैतिर उहाँले नै फैलाउनु भयो, उदयबहादुरले भन्नुभयो, यहाँका अरु नेताले शैलेन्द्रलाई सहिद मान्ने तयार भएपनि गोश्वामी तयार हुनुभएको छैन । उहाँले उल्टै विरोध गर्नुभएको छ ।’ घरको हर्ताकर्ता छोराको निधनले परिवारमा साह्रै समस्या भएको छ तर नेताहरुले पनि सहयोग गर्न नसकेको बुवा उदयबहादुरको गुनासो छ ।

१० लाखले के हुन्छ ?    
महोत्तरीका सहिद रामशिला देवी मण्डलका श्रीमान शम्भु मण्डलले सरकारले दिने १० लाख रुपियाँ पाएपनि उहाँ नेताहरुको क्रियाकलापप्रति निकै आक्रोशित हुनुहुन्छ । उहाँले भन्नुभयो, मेरो श्रीमतीले दिएको योगदान खेर गइ रहेको छ । नेताहरु केही महिना आन्दोनल गर्नुभयो तर विना कुनै सम्झौता आन्दोनल समाप्त पारि दिनुभयो । अब जसको घरबाट सहादत दिएका छन् त्यो घरको अवस्था कस्तो होला आफै विचार गर्नुस्, तर नेताहरुलाई कुनै मतलब छैन ।’

 रामशिला देवी मण्डलको मृत्यु भएको ११ महिना भइसक्यो तर हालसम्म सहिद पनि घोषणा भएको छैन, सरकार तथा मधेशी दलको आलोचन गर्दै शम्भु मण्डलले भन्नुभयो, अन्दोलन गर्यो यत्रोजनाको ज्यान लियो तर कुनै ढंग पुर्याएन । अब यिनीहरुबाट केही हुनेबाला छैन । आखिर कतिपयको ज्यान त फोकटमा गयो, घरका मान्छेहरु फोकटमा दुख पायो, नेताहरुलाई त केही भएका छैन, उनीहरु सुखि सम्पन्न छन् । दुख हामीले मात्र पाएका छौ ।’

आन्दोलनको शुरुवातमै आफ्नो ज्यान गुमाएका सप्तरीका राजिव राउतका श्रीमती निमल राउतको गुनासो पनि त्यस्तै त्यस्तै छ । उहाँले भन्नुभयो, ‘मधेशी नेताहरु वेवास्ता गरेको आरोप लगाउनु हुन्छ । आन्दोलनको बेला आफ्नो घरमा आउ जाउ गरेका नेताहरुको अनुहार हेरेको पनि धेरै भइसक्यो । आन्दोलनको क्रममा मधेशी नेता तथा अन्य सरोकारबालाहरुको लाइनै हुन्थ्यो । सबै आएर ठूला ठूला भाषण दिएर जानु भयो तर फेरि फर्केर आउनु भएन ।’

के सरकारले दिएको १० लाख रुपियाँले राजिव राउतको घर चल्छ त ? चल्दैन, उहाँका दुईटा बच्चा छन् । एउटा अढाई वर्षका र अर्को एकवर्षको । उहाँहरु त प्रतिनिधि पात्र हुनुहुन्छ । मधेशमा सहादत दिएका सबै परिवारको अवस्था यस्तै छ । उहाँहरु विभिन्न समस्यालाई झेलि रहेका छन् । कसैलाई हातमुख जोड्ने समस्या छ भने कसैलाई छोराछोरी पाल्न र हुर्काउन समस्या छ तर मधेशी नेताहरु काठमाडौमा बसेर सहिदको नाममा राजनीतिक गरिरहेका छन् ।

मधेश आन्दोलनको क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागि शहिद भएका जलेश्वर १४ का अमित कापरको बुवा अरुको घरमा गाईको स्याहार सुुहार गरि जिविका चलाउन बाध्य हुनुभएको छ । ५५ भन्दा बढी उमेर काटिसकेका अमितका बुवा प्रतिमहिना ५५ सय रुपैयाँँमा गाँउकै एकजना साहुको घरमा पालिएको गाईलाई नुहाउँने, गोबर उठाउने, अनि गाईलाई चारा खुवाउने काम गरिरहनु भएको छ । शहिद अमितकी आमा पनि उमेरले ५० नाघि सक्नु भएको छ । उहाँहरुको मनमा एक त छोरा गुमाएको पिडा त्यसमाथि पनि तीन छोरी रेणु, नेहा र वर्षाको पढाईको साथै विवाहको चिन्ता छाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..