» » मधेशीलाई होच्याउने यो कस्तो कलाकारिता ?


-माधव ढुगेंल
प्राचीन नाटकहरूमा हास्य रस पैदा गर्नका लागि विदूषकको व्यवस्था हुन्थ्यो । राजाका सहयोगीका रूपमा रहने र राजालाई प्रेमका विषयमा सल्लाह दिने विदूषकहरू शारीरिक रूपले विरूप हुन्थे ।

गलगाँड निस्किएका, भकभकाएर बोल्ने, होचा पुड्का, नपुंसक वा त्यस बेलाको समाजमा कुनै न कुनै ढंगले असुन्दर ठानिएकाहरूलाई विदूषक बनाइन्थ्यो र दर्शक हँसाइन्थ्यो ।

मूक युग (साइलेन्ट इरा) का अमेरिकी फिल्महरूको एउटा विशेषता कमेडी थियो । म्याक सेनेट, चार्ली च्याप्लिन, बस्टर केटन र ह्यारोल्ड लोइडहरूले यस विधालाई विकसित गरे ।

सेनेटका प्रारम्भिक कमेडीमा नैतिक शिक्षा पटक्कै थिएन । तिनीहरू ख्यालठट्टा र पहेलीहरूमा आधारित थिए । अधिकांश कमेडियनहरूले राजनीतिक समस्यालाई कमेडीको विषय बनाउँथे । लोइड बढी मेकानिकल र अमूर्त कमेडीका लागि प्रख्यात छन् । यीमध्ये चार्ली बढी नै मानवीय र राजनीतिक पनि छन् ।

नेपालमा चार्ली च्याप्लिनको लोकप्रियता अरूको भन्दा बढी छ । फरक प्रवृत्ति, रुचि र स्वभावका मानिसमध्ये कसलाई हाँसोको विषय बनाउने र किन बनाउने भन्नेको खास प्रयोजन हुन्छ जुन कुरामा चार्ली गम्भीर थिए ।

कसैलाई हाँसोको विषय बनाउनुभन्दा पहिले उनी त्यसका विषयमा सोची विचारीकन मात्रै निर्णय लिन्थे । उपहास गर्न पाइयो भन्दैमा जसलाई पनि उडाउने र होच्याउने जस्तो विवेकहीन काम उनले गरेनन् । उनलाई स्मरणीय र आदरणीय बनाइराख्ने सबैभन्दा ठूलो कुरा सायद यही हो । हँसाउनैका लागि हँसाउन खोज्नेहरू त नेपालमा पनि धेरै भए, चार्लीबाट सिक्न चाहनेहरू देखिएनन् ।

‘समाजवादी यथार्थवाद’ शीर्षकको लेखमा लुनाचास्र्कीले लेखेका छन्, ‘हास्यव्यङ्ग्यले भरिएको कमेडी, जसले अभाव वा कमजोरीतर्फ इसारा गरेको हुन्छ र ऐनाजस्तै भएर मानिसलाई आफ्ना कमजोरी घटाउन सिकाउँछ । तर, यो त्यस्तो ऐना चाहिँ होइन जसले मानिसमा डर पैदा गरोस् र आत्महत्याको तयारी गराओस् बरु मानिसले थाहा पाओस् कि उसले हातमुख धुन तथा दारी फाल्न आवश्यक भइसकेको छ (सन् १९८७ः १०८०)।

चलचित्रमा कसैलाई हाँसोको विषय बनाउनु भनेको उसको चारित्रिक दुर्बलता वा कमजोरीमाथि उपहास गर्नु नै हो ।

मानिसको चरित्रमा प्रदूषणका रूपमा रहेका अहंकार, ईष्र्या, मूर्खता, शोषण जस्ता तुच्छ प्रवत्तिमाथि उपहास गरेर मानिसलाई ज्यादा मानवीय र सभ्य बनाउनका लागि कसैलाई हाँसोको विषय बनाइन्छ । त्यसैले कसलाई उपहास गर्ने र कसलाई नगर्ने भन्ने बारेमा चलचित्रकर्मीले सोचेकै हुन्छ । सामान्यतया खलपात्र वा खलचरित्रहरूलाई तिनीहरूको अदूरदर्शिताका लागि, मानव हित विपरीतको मूर्खतापूर्ण सोचाइ र असभ्य व्यवहारका लागि हाँसोको विषय बनाइन्छ ।

तर, नेपाली चलचित्रमा जसलाई हाँसोको पात्र बनाएर उपहास गर्ने गरिएको छ, त्यो गलत ठाउँमा गर्ने गरिएको छ । खास समुदाय र वर्गको व्यक्तिलाई उपहासको पात्र बनाएर चलचित्रहरूले उनीहरूमाथि हिंसा गरिरहेका छन् । चलचित्र निर्देशक नवीन सुब्बाका विचारमा ‘इतर समुदाय वा संस्कृतिप्रति चाहे त्यो व्यक्ति नै किन नहोस्, चलचित्रले ‘जेनरलाइज’ गरेर प्रस्तुत गर्छ भने त्यो नश्लवादी हुन्छ’ र ‘रेसम फिलिली’ तथा ‘होस्टेल रिटन्र्स’ जस्ता चलचित्रहरूले यही काम गरेका छन् ।

‘होस्टेल रिटन्र्स’को सन्दर्भ दिँदै नवीन सुब्बा लेख्छन्, ‘एउटा मधेशी युवा इन्जिनियरिङ कलेजको होस्टलमा आउँदा हातमा शिवको मूर्ति बोकेर आएको देखाइएको छ । अहिलेको एफएम र इन्टरनेटको सञ्जाल गाउँगाउँ पुगेको समयमा कुन चाहिँ नेपाली युवा त्यो रूपमा धर्मभीरु होला रु यो त सिधै इतर समुदाय र संस्कृतिलाई ‘रेडिक्युल’ ९उडाउने० गर्ने उद्देश्यले प्रेरित छ ।’

यो ‘रेडिक्युल’ गर्ने काम ‘रेसम फिलिली’मा त झन् पराकाष्ठामा छ भन्दै सुब्बाले थपेका छन्, ‘त्यहाँ मधेशी चरित्रलाई बाख्रासँग शारीरिक संसर्ग राखिरहेको भाव मात्र होइन, पात्रले पिसाब फेर्दा बसेर पिसाब फेर्ने गरेको समेत देखाइएको छ । यी चलचित्रमा मधेशी चरित्रलाई उपहास गरेर हास्य सिर्जना गर्न खोजिएको छ ।’

‘होस्टेल रिटन्र्स’ र ‘रेसम फिलिली’ मात्रै होइन मधेशको संवेदनशील मुद्दामाथि बनाइएको भनिएको ‘भैरव’ले पनि मधेशी चरित्रलाई खलनायकका रूपमा पेश गरेर अपमान नै गरिएको छ । यस चलचित्रको प्रदर्शनका बेलामा मधेशी समुदायबाट प्रदर्शन नै रोक्ने हदसम्मको विरोध जनाइएको भन्ने समाचार आएको थियो ।

मधेशी समुदायको आत्मसम्मानको रक्षा गर्ने खालका नेपाली चलचित्रहरू त हातका औँलामा गन्न सक्ने जति पनि छन् कि छैनन् तर अपमान गरेर बनाइएका चलचित्रहरू चाहिँ प्रशस्तै छन् ।

प्रायः यस समुदायका व्यक्तिहरूलाई कहिले सोही समुदायको कलाकार प्रयोग गरेर र कहिले पहाडे समुदायको कलाकारको सहयोग लिएर उपहास गर्ने काम नेपाली चलचित्रमा प्रारम्भदेखि नै हुँदै आएको छ र आजसम्म पनि त्यसले निरन्तरता पाइराखेको छ ।

लुनाचास्र्कीका विचारमा कमेडीहरूमा विद्रूपता, व्यंग्य र कटाक्षमार्फत शत्रुलाई प्रहार गरिन्छ । त्यसलाई विघटन गर्न, गिराउन, उसको आदर्शलाई ध्वस्त गर्न व्यंग्य गरिन्छ र देखाइन्छ कि ऊ कति हास्यास्पद छ (सन् १९८७ः९९०)।

भूमण्डलीकरणको आजको समयमा कुनै पनि राष्ट्र अन्तर्राष्ट्रिय शक्ति संघर्ष र प्रभावबाट नछोइन कठिन छ । नेपालजस्तो देशमा त आजको दिनमा अन्तर्राष्ट्रिय प्रभावलाई अस्वीकार गर्नु केवल आदर्श हो । यस्तो परिस्थितिमा के मधेशी, के पहाडे सबैमा विदेशी शक्ति केन्द्रहरूको दलाली गर्ने तथा त्यसको प्रतिरोध गर्ने दुवै खालका व्यक्ति र नेताहरू छन् ।

सुगौली सन्धिदेखि कोशी, गण्डक र टनकपुर सम्झौता हुँदै आजसम्म भएका हरेकजसो राष्ट्रहित विपरीतका सन्धि सम्झौतामा हस्ताक्षर गर्ने व्यक्ति पहाडे समुदायकै छ, देशको प्रमुख कार्यकारी वा प्रधानमन्त्रीका रूपमा मधेशी समुदायको व्यक्ति आजसम्म पुग्न सकेको छैन तर पनि पहाडे राष्ट्रवादी अहंकारले राष्ट्रियताको प्रश्न मधेशी समुदायमाथि नै ज्यादा उठाउने गरेको छ । काम उस्तै र उही गर्दा पनि एक प्रकारको भाषा, अनुहार र रङ भएका व्यक्ति पवित्र नै भइरहने र अर्को भाषा, अनुहार र रङका व्यक्तिले लाञ्छित मात्रै हुनुपर्ने परिस्थितिलाई कसरी सभ्य र न्यायपूर्ण मान्न सकिन्छ ?

मधेश आन्दोलनको रापतापमा मधेशी समुदायबाट डा। रामवरण यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बने । उनका प्रतिस्पर्धी रामराजाप्रसाद सिंह पनि यसै समुदायका प्रतिनिधि थिए ।

नेपाली समाजलाई राष्ट्रपतिका रूपमा मधेशी स्विकार्न कुनै आपत्ति भएन । मधेश आन्दोलनमा पहाडे समुदायको समर्थन जतासुकैबाट देखिएकै छ । मधेश आन्दोलनका पक्षमा सशक्त कलम चलाउने खगेन्द्र संग्रौला, युग पाठक वा उज्ज्वल प्रसाईंजस्ता लेखकहरू पहाडे समुदायकै प्रतिनिधि लेखक हुन् ।

आभास लाभले गाएको प्यारोडी ‘मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ’ले उत्साहित भएर ताली बजाउने र त्यसको भिडियो फेसबुक आदिमा सेयर गर्नेहरूमा पहाडे समुदायका मानिसहरू प्रशस्त थिए । मधेश
आन्दोलनलाई साथ दिन काठमाडौँमा समेत अभियानात्मक कार्यक्रमहरू पहाडे समुदायले सञ्चालन गरे । वीरगञ्ज लगायतका शहरमा मधेशीसँग कदम मिलाउँदै पहाडे समुदायका मानिसहरू जुलुसमा निस्किए ।

जनस्तरबाट पहाडेहरूले मधेशीहरूलाई अपमान गरेका छैनन् । तर, नेपालको शासक वर्गले अझै पनि उनीहरूलाई सहजै स्वीकार गर्न सकिराखेको देखिँदैन । नेपाली चलचित्रहरूले शासक वर्गको सांस्कृतिक मतियार बनेर मधेशी समुदायमाथि जुन हिंसा गरिराखेका छन्, त्यो साम्प्रदायिक हिंसामात्रै होइन, खासमा देशद्रोह पनि हो ।

प्रशंसाको शिखरमा पुगेको र नेपालको यथार्थमा आधारित भनिएको ‘कालो पोथी’ ले पनि मधेशी समुदायलाई उपहास नै ग¥यो । आफ्नो समुदायको प्रतिनिधि चरित्रलाई चलचित्रमा विद्रूपीकरण गरिएको देखेपछि मुकेशले लेखेका छन्, ‘अहिले खुबै चर्चित चलचित्र ‘कालो पोथी’मा पनि संक्षिप्त मधेशी चरित्र छ । मुगुको दुर्गम गाउँको विद्यालयमा नेपाली सञ्चारले प्रेषण गरेको टिपिकल मधेशी छवि भएको शिक्षक जसले उजेली मिस (नायिक) लाई ताकेको छ ।

नेपाली सञ्चार र कला क्षेत्रमा मधेशी चरित्र सधैँ अन्टसन्ट बोल्ने, नेपाली लवज हिन्दी, भोजपुरी र मैथिली मिश्रित बोल्ने, अनि अति नै लोभी र फोहोर हुने । अपवादबाहेक पहाडी समुदायमा सधैँदेखि ‘मधेशी’ यस्ता टिपिकल हुन्छन् भनी प्रस्तुत गर्ने काम गरिएको छ । अहिले पनि त्यसैलाई निरन्तरता दिनु भनेको पहाडी र मधेशी समुदायबीचको खाडल पुर्नु होइन कि झन् झन् बढाउनु हो।।। टिपिकल मधेशीको चरित्र मात्र प्रस्तुत गर्नु र मधेशी कलाकारलाई त्यस निम्ति मात्र उपयुक्त ठान्नु दुवै दुर्भाग्यपूर्ण छ ।’

आफ्नो समुदायको प्रतिनिधि छविलाई चिनाउने, त्यसका बारेमा बहस गर्ने र परिभाषित गर्ने पहिलो अधिकार सोही समुदायको सदस्यलाई हुन्छ ।

मुकेश पनि मधेशी समुदायकै सदस्य भएकाले ‘कालो पोथी’को मधेशी चरित्रप्रतिको उनको बुझाइ फरक समुदायको व्यक्तिले गरेको व्याख्या र अनुभूतिभन्दा ज्यादा गम्भीर र ज्यादा आधिकारिक हुन्छ । मुकेशले चलचित्रबाट आफू र आफ्नो समुदाय अपमानित भएको अनुभव गरेका छन् ।

‘कालो पोथी’ चलचित्रले मधेशी चरित्रको विकृत छवि निर्माण गरेर मनोरञ्जित गर्न खोजेको पहाडे समुदायलाई हो ।

पहाडे समुदायमा पनि शासक वर्गीय मनोविज्ञान भएकाहरूलाई मात्रै यसले हँसाउन सक्छ । जो शासक होइन र पनि उक्त छविका कारण हाँस्छ, उसको मनोविज्ञान शासकीय ढप र ढाँचामा ढलिसकेको हुनुपर्छ । नत्र कुनै उत्पीडित समुदायको व्यक्तिको बेइज्जत गर्दा उसलाई दुःख लाग्नुको साटो हाँसो किन उठ्छ रु विद्वान्हरू के भन्छन् भने मान्छेले जब आन्तरिक अवस्थामा विजय प्राप्त गर्छ, तब हाँस्छ । उसलाई पूर्ण विश्वास हुन्छ कि अन्ततः उसको जीत निश्चित छ, तब हाँस्छ ।

मधेश आन्दोलन जारी रहेको अवस्थामा मधेशीलाई हेपेको वा उडाएको देख्दा कुनै जिम्मेवार मानिसलाई हाँसो उठ्ने कसरी हुन्छ रु उसलाई त बरु शासकीय मनोविज्ञान र त्यसको प्रचारक बनेको चलचित्रसँग रिस पो उठ्छ, होइन भने पनि चिन्ता वा दुःख त अवश्य लाग्छ ।

कलाको काम नयाँ यथार्थलाई परिभाषित गर्नु हो । त्यसैले चलचित्र बनाउनु भनेको शक्तिशालीहरूको प्रभुत्व र मानवताविरोधी हेपाहा प्रवृत्तिविरुद्धको संघर्ष पनि हो । यस क्रममा यसले मानिसका प्रचलित मानसिक वा सांस्कृतिक आदतहरूमाथि आक्रमण गर्छ । प्रचलित सामाजिक मूल्य, विश्वास, धार्मिक–शैक्षिक आदि संस्था, पहिरन, साझा ज्ञान, लोकतत्व आदिमाथि नयाँ र विशिष्ट दृष्टिकोण प्रक्षेपण गर्छ । यसले राजनीतिक सिर्जनशीलता र कल्पनाशीलतालाई तिखार्ने र प्रबुद्ध  तथा परिष्कृत गर्ने काम गर्छ । फलतः यसले मानिसहरूलाई विकल्पको खोजीका लागि प्रेरित गर्छ ।

चलचित्रसम्बन्धी फ्रान्सको प्रसिद्ध पत्रिका ‘कहिएर्स दु सिनेमा’ले भनेको थियो, ‘सिनेमामा परिवर्तनकामी राजनीतिक विषय हुन्छ तर त्यो विचारधारा त्यसको कथाको संरचनामा प्रकट हुन्छ ।’ हुनुपर्ने त त्यही थियो । चलचित्रले समाजलाई नयाँ चेतना र सौन्दर्य दृष्टिले समृद्ध गर्न सक्नुपथ्र्यो । समाजको अनुगामी भएर होइन मार्गदर्शक भएर अगाडि लम्किन सक्नुपथ्र्यो ।

मानवद्वेषी संस्कृतिका विरुद्ध दर्शकहरूसँग सार्थक संवाद गर्दै बृहत्तर मानव हितका पक्षमा एक कदम अगाडि निस्कन सक्नुपथ्र्यो । उपनिवेशवाद र साम्राज्यवादका विरुद्ध सांस्कृतिक प्रतिरोधको बलियो माध्यमका रूपमा खडा हुन सक्नुपथ्र्यो । तर, यस्तो हुन सकेन । सांस्कृतिक सिर्जना भएका कारण चलचित्रहरू परिवर्तनका पक्षमा हुनुपर्ने थियो तर हाम्रा चलचित्र त परिवर्तनका विरोधी भएर पो निस्किए ।

अझ दयालाग्दो स्थिति त ती कलाकारहरूको छ जो आफूलाई सेलिब्रिटी भनाउनका लागि जस्तोसुकै भूमिकामा देखिन पनि तयार भएका छन् । शासक वर्गले जोकर बनाए जोकर भइदिने, अपराधी बनाए अपराधी भइदिने, उनीहरू जस्तो स्वरूपमा देखाउन चाहन्छन् सेलिब्रिटी हुने लोभमा त्यहीत्यही बन्न तयार भइदिने ।

मानौँ आफूलाई चिनाउनका लागि उनीहरूसँग आफ्नो भन्नु कुनै दृष्टिकोण नै छैन । आफूले गरिराखेको काम ठीक भएको छ कि बेठीक भएको छ भन्नेमा उनीहरूलाई चासो नै छैन । के आफूलाई कलाकार बनाउन चाहनेहरूले यतिसारो लम्फु र दास भइरहन मिल्छ र ?

जाह्नु बरुवाको भनाइ छ, ‘कलाकारको काम मानिसहरूको रुचिलाई बदल्ने हो, त्यसको स्तरलाई माथि उठाउने हो । कलाकारको अर्थ पथप्रदर्शक नै हो । जब ऊ सोच्छ कि दर्शकले जे माग्छन् त्यही दिन्छु, तब ऊ कलाकार रहँदैन । कलाकारले हमेसा समाजप्रति जिम्मेवार हुन सक्नुपर्छ ।’ तर, यस्तो पनि त हामीसँग कहाँ छ ?

लोकप्रियताका नाउँमा कलाकारहरू आफ्नो धरातल नै बिर्सेजसरी कुदिराखेका छन् । आफूलाई संघर्ष गरेर आएको हुँ भन्नेहरू नै संघर्षशील चेतनालाई भुत्ते बनाउने अभियानमा कस्सिराखेका छन् । आफ्नै वर्ग, आफ्नै समुदाय, आफ्नै विचारधारा र आफ्नै परिचयका विरुद्ध काम गर्दा पनि अप्ठ्यारो मानिरहेका छैनन् । तिनीहरूलाई के भन्ने ? अझ त्यसैमाथि कोही गर्व नै पनि गर्दै छ भने त उसलाई हामीले भन्नैपर्छ– ‘उपहास’ खासमा तिम्रै लागि बनेको शब्द हो ।

स्रोतःशुक्रवार

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..