» » बाढी पीडितलाई सहयोगमा जुट्न युवा फोरमको आह्वान


काठमाडौं, साउन १३ गते । संघीय समाजवादी फोरम नेपालको भ्रातृ संगठन समाजवादी युवा फोरम नेपालले बाढी पहिरो पीडितको सहयोगका लागि राहत संकलन तथा वितरणमा जुट्न सबैलाई आह्वान गरेको छ ।

युवा फोरम स्वयंले आफ्ना सबै संयन्त्र प्रयोग गरी यसका लागि खट्ने निर्णय गरेको छ । बिहीबार युवा फोरमले प्रेस विज्ञप्ति जारी गर्दै राहत संकलन र वितरणमा लाग्न सबै पक्षलाई आह्वान गरेको हो । उसले आफू मातहत जिल्लाका संगठनहरुलाई पनि यस कार्यमा लाग्न निर्देशन दिएको छ ।

राहत संकलन र वितरणका लागि युवा फोरमका इन्चार्ज संजय यादवको संयोजकत्वमा ११ सदस्यीय समिति बनाइएको छ । समितिको सदस्यहरुमा सुनिलकुमार चौधरी, अजयकुमार यादव, दुर्गामणि सुवेदी, रञ्जित गोश्वामी, सुरेश यादव, रञ्जिव यादव, सरोज यादव, चन्द्रदीप राई र फिरोज मन्सूर रहनु भएको छ ।

‘बाढी पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्दार कार्यका लागि युवा फोरम नेपाल सम्बद्ध सम्पूर्ण युवा जनशक्तिलाई सक्रिय ढंगले परिचालन हुन निर्देश गर्दछौं,’ युवा फोरमका महासचिव अजयकुमार यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समाजवादी युवा फोरम नेपालको नेतृत्वमा बाढी पहिरो पीडितको सहयोगका लागि राहत संकलन तथा वितरण गर्ने निर्णय गर्दै ११ सदस्यीय समिति गठन गरिएको छ । बाढी पहिरो पीडितलाई सहयोग गर्न इच्छुकहरुले सम्पर्क गर्नुहुन अनुरोध छ ।’

पछिल्लो समयको निरन्तर वर्षा र त्यसपछिको बाढी र पहिरोले मुलुकभर ६६ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौ घाइते छन्, कतिपय हालसम्म बेपत्ता अवस्थामा छन् । प्रकृतिले गर्दा मुलुकभरको जनजीवन आक्रान्त बनेको भएता पनि सरकारले आपतकालीन अवस्थामा पनि प्रभावकारी उद्दार र राहतको व्यवस्था गर्न नसकेको भन्दै युवा फोरमले विरोध गरेको छ ।

‘प्राकृतिक विपद्ले जनजीवन आक्रान्त बनेपनि आपतकालीन राहत तथा उद्दार कार्य प्रभावकारी हुन नसक्नु दुर्भाग्यपूर्ण हो,’ विज्ञप्तिमा भनिएको छ, ‘बाढी पहिरो पीडितहरुलाई तत्काल प्रभावकारी ढंगले उद्दार तथा राहत वितरण, औषधोउपचारको व्यवस्था, उचित बासस्थानको प्रबन्ध गर्नको निम्ति युवा फोरम नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..