» » प्रहरीले आँट गर्छ कि गर्दैन ? (फरकमत)

–सुरेशकुमार यादव
नक्कली डाक्टर पक्राउ भने असार पहिलो हप्ताको समाचारले नै निकै चर्चा पायो । कतिपयले यसमा खुशी मनाए भने कतिपयले यसमा दुख मनाए । पक्राउ गर्न गलत काम होइन । गलत काम गर्नेलाई पक्राउ गर्नुपर्छ तर तरिका फरक भयो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले देशभरबाट ३६ जना नक्कली डाक्टरहरु पक्राउ गर्यो ।

पक्राउ पर्नेमा ३० पुरुष र ६ महिला छन् । अपरेसन क्वाक नाम दिइएको प्रहरीको अनुसन्धान टोलीले झापा, मोरङ, चितवन, पर्सा, धनुषा, दाङ, सुनसरी, कास्की, काठमाडौं र ललितपुर गरी १० जिल्लाबाट नक्कली डाक्टरहरुलाई पक्राउ गर्यो । अधिकाँश डाक्टर फिल्डमै काम गरिरहेको बेला पक्राउ परेका छन् । कोही विरामीलाई चेकअप गरिरहेका अवस्थामा पक्राउ परे भने कोही अप्रेशन रुमबाट पक्राउ परे ।

सबैलाई अनुसन्धानका लागि भन्दै धमाधम पक्राउ गरि काठमाडौ ल्याए र उहाँहरुलाई एउटा एउटा कुख्यात अपराधीको रुपमा प्रहरी अनुसन्धान ब्यूरोले प्रस्तुत गरे । पक्राउ गरेर ल्याए, ठिक्कै छ तर उहाँहरुको नाम जसरी सार्वजनिक गरियो, त्यो तरिका पनि ठिक भएन । त्यसो यस्तो भन्नु प्रहरी अनुसन्धानमा हस्तक्षेप जस्तै हुन्छ तर समान्य व्यवहारिक चलि आएको कुरा अनुसार त्यसरी प्रस्तुत गर्नुहुँदैन्थ्यो । प्रहरीले हतार गरे जस्तो देखियो । अनुसन्धानका लागि भन्दै पक्राउ गर्ने र एउटा अपराधीको जस्तो नाम, वतन, पोस्ट खुल्ने गरि नामावली सार्वजनिक गरि दिने यो राम्रो भएन ।

अनुसन्धानका लागि ल्याइएको छ भने त्यसको बारेमा अनुसन्धन गर्नुपर्छ । अनुसन्धानबाट पुष्टि भइसकेपछि मात्र नाम सार्वजनिक गर्नु पथ्र्यो तर त्यस्तो नगरि यिनीहरु नक्कली डाक्टर अर्थात नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको भनि नाम सार्वजनिक गर्यो ।
हाम्रो समाजमा डाक्टरलाई उच्च पद तथा बहुतै सम्मानित पेसा मानिन्छ । मानवको जीवन रक्षा गर्ने पेसा हो भन्छन् । जनताको प्रत्यक्ष सेवामा संलग्न हुन्छ ।

त्यही डाक्टरसँग राज्यले यस्तो व्यवहार गरेको छ भने भोली गएर ती डाक्टरको मानसिक अवस्था कस्तो हुन जान्छ । मानौ, अनुसन्धानबाट नक्कली डाक्टर ठहरिए, त्यसको लागि केही छैन । उ सजायको भागेदार हुन्छ तर जो अनुसन्धानबाट पुष्टि हुँदैन भने त्यसको अवस्था कस्तो हुन्छ ? त्यसलाई राज्यले क्षतिपूर्ति दिन्छ कि दिँदैन । त्यसको साथमा कुनै दुर्घटना भयो भने त्यसको भागेदार को हुन्छ ? प्रहरीले दावी गरिए अनुसार प्रारम्भिक अनुसन्धान गरेर नै उहाँहरुलाई समातिएको हो । प्रारम्भिक अुसन्धानबाट उहाँहरु शंकाको घेरामा आएपछि मात्र पक्राउ गरिएको हो ।

तर प्रहरीले किन बुझ्न सकेन कि एउटा आशंकाले कतिको घर बर्बाद हुन्छ । यदि कुनै डाक्टर गलत, नक्कली हुनुहुन्छ भने उहाँमाथि गोप्य ढंगबाट पनि अनुसन्धान गर्न सकिन्थ्यो । उहाँलाई गोप्य ढंगबाट सिविआईमा बोलाएर अनुसन्धान गनृ सकिन्थ्यो ।

कुरा बाहिर आउन नदिने धेरैवटा उपायहरु छन् तर प्रहरीले त्यस्तो नगरि सस्तो लोकप्रियताका लागि धमाधम पक्राउ गरि ल्याएर न्यायको कठघारामा उभ्याई दिए । यो नक्कली डाक्टर प्रक्राउ प्रकरण त्यतिकै बदनाम भएको होइन । यहाँ प्रहरीको नियतमाथि प्रश्न चिन्ह खडा गरिएको छ । पक्राउ परेकामध्ये अधिकाँश मधेश समुदायका नै हुनुहुन्छ । प्रहरीले त्यस्तो अप्रेशन चलाएको ठाउँमा पनि अधिकाँश जिल्लाहरु मधेशमा नै पर्छ ।

मधेशमा आन्दोलन चलिरहेको बेला प्रहरीले क्वाक अप्रेशन सञ्चालन गरेर अधिकाँश मधेशीलाई नै पक्राउ पर्नु आफैमा शंकास्पद कुरा हो । मधेशी पक्राउ पर्नु एउटा संयोग मात्र हुनसक्छ तर प्रहरीमाथि आरोप लगाउनु पनि गलत होइन । नेपालमा डाक्टरको जुन सँख्या छ । मेडिकल क्षेत्रमा गैरमधेशीको जुन पकड छ त्यसको अनुपातमा मधेशी मात्र यतिको सँख्यामा समातिनु पूर्वाग्रही हुनसक्छ ।

आन्दोलन भइरहेको बेला राज्यद्धारा सुनियोजित ढंगबाट पनि मधेशलाई बदनाम गराउने प्रयास हुनसक्छ वा मधेशको ध्यान अन्यत्र तान्नका लागि पनि यस्तो कदम चालेको हुनुपर्छ । ३६ जनामध्ये २३ जना मधेशी समुदायका छन् यो संयोग मात्र हुनसक्दैन । र मधेशी जनताले शंका गर्नु जायज पनि हो । प्रहरीहरुले नै भन्छन्, नेपालमा १७ हजार डाक्टर छन् त्यसमध्ये २ हजार नक्कली डाक्टर रहेका छन् ।

प्रहरीले जुन प्रकारको क्वाक अप्रेशन डाक्टरका लागि चलाएको छ त्यस्तै अप्रेशन अन्य पेसामा चलाउँछ कि चलाउँदैन प्रश्न उठेको छ । सेनामा चलाउँछ कि चलाउँदैन, प्रहरीमा चलाउँछ कि चलाउँदैन, निजामतीमा चलाउँछ कि चलाउँदेन ? अप्रेशन चलाए यस्ता थुर्पै सेना, प्रहरी र कर्मचारी नक्कली प्रमाणपत्रधारीको रुपमा समातिने छ । जसमा ठूला ठूला हस्तीपनि पर्छन । प्रहरी अनुसन्धान ब्यूरोले यो हिम्मत गर्छ कि गर्दैनन् हेर्न बाँकी छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..