» » सरकारमा नजाने भन्दै तीन पक्षले गठन गरे कार्यदल


काठमाडौँ, साउन १५ गते । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आजको बैठकले मोर्चाका माग र सरकारमा सहभागी हुनेबारे मस्यौदा तयार गर्न नौ सदस्यीय समिति गठन गरेको छ ।

कार्यदल सदस्यमा मोर्चाको तर्फबाट तमलोपाका हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ र संघीय लिम्बुवान नेपालका कुमार लिङ्गदेन् छन् ।

कार्यदलमा माओवादी र कांग्रेसले भने सदस्य तोक्न बाँकी रहेको नेताहरुले बताएका छन् ।

सिंहदरबारस्थित राज्य व्यवस्था समितिको सभाकक्षमा बसेको बैठकबारे जानकारी गराउँदै काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेस, माओवादी र मोर्चाका तर्फबाट तीन तीन गरी नौ जनाको समिति गठन गरिएको जानकारी दिनुभयो ।

समिति सदस्यको नामावली बेलुकासम्म टुङ्गो लगाइने छ ।

“नयाँ प्रधानमन्त्रीको निर्वाचनमा मधेसी मोर्चाको समर्थन जुटाउन आज छलफलको आयोजना गरिएको हो, खासगरी काँग्रेस र माओवादी गठबन्धनबीच भएको सातबुँदे सहमतिको पहिलो बुँदामा केन्द्रित भएर छलफल भयो”,उहाँले भन्नुभयो ।

सातबुँदे सहमतिको पहिलो बुँदामा मधेसी समुदायको माग सम्बोधन गर्नका लागि संविधान संशोधन गर्न सकिने उल्लेख छ ।

छलफलका क्रममा मोर्चाले आफ्ना मागबारे प्रस्ट रूपमा लिखित सहमति भएका खण्डमा मात्र नयाँ प्रधानमन्त्रीको निर्वाचनमा आफूहरुले मतदान गर्ने अडान लिएको नेता निधिले जानकारी दिनुभयो ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मोर्चा सरकारमा जाने वा नजाने भन्नेबारे प्रश्न उठेकै छैन भन्नुभयो ।

सहमतीय सरकारका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आइतबार सकिँदै छ ।

बैठकमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता महेश आचार्य, माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा तथा मोर्चाका तर्फबाट ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झालगायत नेता सहभागी हुनुहुन्थ्यो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..