» » टुहुराको घरका खुशियाली


मनिष गुप्ता
कपिलवस्तु असार २२। अति विपन्न गरीब परिवारकी १२ वर्षीय सपना नाउ अहिले निकै खुशी छिन् ।

उनी मात्र होइन उनको चार जनाको परिवारमा नै खुशीको लहर छाएको छ । उनले जिन्दगीमा कहिल्यै नसोंचेको सपना साकार भएपछि उनको परिवारमा नै यतिबेला खुशियाली छाएको हो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कपिलवस्तु र स्टोमा फाउण्डेसनले शिवराज नगरपालिका ८ धर्मनगरमा संचालन गरेको नेपालमा दलित युवायुवतीका लागि अधिकारमा आधारित शिक्षा परियोजना संबाद कार्यक्रमले उनको परिवारमा परिवर्तन ल्याएको उनी सुनाउँछिन् ।

आमा अर्कैसँग गएपछि सानै उमेरमा तीन भाइबहिन टुहुरा बने । बुवाले उनीहरुको पालनपोषण गरी हुर्काए । अहिले सपना १२ वर्षकी छिन्, उनको जेठो भाइ मनोज नाउ १० वर्ष र अर्का कान्छा भाइ ६ वर्षका छन् । कान्छो भाइ तीन महिनाको छँदै आमाले छोडेर गएपछि दुई भाइलाई हुर्काउने जिम्मा सपनाकै काँधमा आइपर्यो ।

भाइहरुको सेवासुसार गर्ने, खाना बनाउनेदेखि गृहिणीको सबै जिम्मेवारी सपनाले नै गर्दै आएकी छिन् । बुवा चन्द्र किशोर नाउले कपाल काट्ने र मिहिनेत मजदूरी गरी कमाएको रकमले घरव्यवहार चलाउँदै आएको सपना बताउँछिन् ।

गरीबीका कारण विद्यालयको मुहार समेत देख्न नपाएका सपना र उनका भाइ मनोज किशोरकिशोरी सम्बाद केन्द्रमा भर्ना भए । सपना जनजागृति किशोरी संबाद केन्द्र र मनोज दिव्यज्योति किशोर संबाद केन्द्रमा भर्ना भई छलफलमा सहभागिता जनाए । संबाद केन्द्रमा जीवनोपयोगी सीपबारे छलफल हुँदा उनीहरुको समस्या बाहिर आएपछि सहयोगी हातहरु अघि बढेका हुन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (सीबीएमएफ) की सहजकर्ता चन्द्रकला भण्डारीले उनीहरुको समस्या समाधानमा गम्भीरता देखाउनुभएको थियो ।

नागरिकताबाट बन्चित सपनाका बुवा चन्द्रकिशोर नाउको नागरिकता बनाउन सहजकर्ता भण्डारीले सम्पूर्ण प्रक्रिया पूरा गर्न ठूलो भूमिका खेलेको बताउनुहुन्छ । चन्द्रकिशोरका बुवाआमाको मृत्युदर्ता बनाएर नागरिकताका लागि सर्जमिन लगायतका महत्वपूर्ण प्रमाण जुटाएर चन्द्रकिशोरले नेपाली नागरिकताको प्रमाण पत्र हात पारे ।

साथै संबाद केन्द्रकी अध्यक्ष एवं महिला स्वास्थ्य स्वयंसेविका शोभा कुर्मीले अधिकारबाट बन्चित चन्द्रकिशोरको प्रमाण जुटाउन भण्डारीलाई सहयोग पुय्राउनुभएको थियो ।

उनीहरुको विशेष सहयोगले अहिले चन्द्रकिशोरको नागरिकता बनेको छ । सपनाका तीन भाइबहिनाको जन्मदर्ता बनेको छ । अहिले तीन भाइबहिना नजिकैको श्री निमावि धर्मनगरमा भर्ना भई पढ्न गइरहेका छन् ।

सपना २ कक्षामा र दुई भाइ एक कक्षामा भर्ना भएका छन् । सदियौंदेखि डी–ब्लकमा खरको झुपडीमा जीवन निर्वाह गर्न बाध्य सपनाको समस्यालाई मध्यनजर गर्दै सहजकर्ता भण्डारी र संबादकेन्द्रकी अध्यक्ष कुर्मीको पहलमा विभिन्न व्यक्तिसँग सहयोग जुटाई टिनको छानो भएको पक्की घर निर्माण भएको छ ।

झण्डै ५० हजारको लागत रहेको घर निर्माणमा विभिन्न इँट्टाभठ्ठाहरुले इँट्टा सहयोग गरे भने विभिन्न व्यक्तित्वहरुले आर्थिक चन्दा सहयोग गरी घरको संरचना पूरा भएको सहजकर्ता चन्द्रकलाल भण्डारीले जानकारी दिनुभयो ।

जीवनमै नचिताएको काम भएपछि अहिले सपनाको परिवारमा हर्षको वर्षा छाएको हो । सानैदेखि निकै दुःखकष्ट भोग्नुपरेको व्यथा सुनाउँदै सपना भन्छिन् –“ बल्ल मैले सुखको अनुभूति गरिरहेकी छु । अब त हाम्रो पारिवारिक जीवनमा पनि आशाका किरण अवश्य आउनेछ ।”

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..