» » यही लोकमा हुँदैछ, नगद होइन उधारो सहमति


एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न जति हतार नेकपा (माओवादी) केन्द्र र काँग्रेसलाई थिएन त्यो भन्दा बढी हतार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई थियो । सरकार ढाल्ने सुरसार शुरु नहुँदै मोर्चाका नेताहरुले ओलीको विरुद्धमा अभिव्यक्ति दिन थालेका थिए । मानौ, ओली सरकार ढलेपछि जादुको छडी जस्तै मधेशको सबै समस्या समाधान हुन्छ ।

मधेशी जनता अझै आन्दोलनमा छन् । मधेशी युवाले मधेशको लागि बगाएको रगत सडक र गल्लीमा अझै पनि सुकेको छैन । आमा, छोरी, श्रीमती, छोरा, बुवाको आँखाको आँसु अझै सुकेको छैन र मधेशी मोर्चा सत्ताको खेलमा लागि सकेका छन् । मधेशी दलका नेताहरु भन्छन्, ‘ओली सरकार ढाल्नलाई जस्तो सुकै बलिदान दिन तयार छौ तर सरकारमा जाँदैनौ ।’ मधेशतिर एउटा भनाई छ, ‘स्याँ स्याँ सब कहे स्याँ के नाम केयो नई लैइ’ अर्थात आफ्नो श्रीमानलाई चिनेका हुन्छन् तर नाम लिन कोही चाहेका हुँदैन ।’

सरकार बनाउन मतादान गर्ने सबै दल सत्ताधारी दल हुन् चाहे त्यो मन्त्री बनुन या नबनुन् । मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे जहिले पनि सरकारलाई समर्थन गर्नुहुन्छ । मतदान गर्नुहुन्छ तर सरकारमा जानु हुन्न के उहाँलाई सत्ताधारी दलका अध्यक्ष नभन्ने ? के उहाँ सत्ताधारीको लाइनमा बसेको हुँदैन ? अर्को उदाहरण, पार्टी गठन भएदेखि तराई मधेश लोकतान्त्रिक पार्टी पटक पटक  सरकारमा गएका छन् तर सो पार्टीका अध्यक्ष महन्थ ठाकुर कहिले पनि मन्त्री बन्नु भएन । के उहाँलाई सत्ताधारी दलका नेता वा अध्यक्ष भनिदैन्थ्यो ?

पक्कै पनि सरकार बनाउनु र मन्त्री नबन्नु कुनै तात्विक फरक होइन । चाहे त्यो सरकार गलत होस वा सही त्यसको जस अपजस जजसले सरकार बनाउमा सहयोग गरेका हुन्छन् सबैले लिनुपर्छ ।

दोस्रो सविधानसभाको चुनावपछि बनेको सुशिल कोइरालाको सरकारलाई तत्कालिन संघीय सद्भावना पार्टी हाल नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले समर्थन गर्नुभएको थियो तर सरकारमा जानु भएन । के त्यतिबेला उहाँलाई सत्ताधारी दलका अध्यक्ष भनिदैन्थ्यो ? यही मधेशवादी दलका नेताहरु हुन् जसले उहाँलाई सत्ताधारी दलको नेता भन्दै मधेशी मोर्चामा पनि सामेल गराई रहेका थिएन । कुनै आन्दोलनमा पनि सहभागि गराई रहेका थिएन । मधेशी मोर्चा र संघीय गठबन्धनबाट धेरै दिनसम्म टाढा राखे ।

आज त्यही मधेशवादी दलका नेताहरु नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर पनि गरिसक्नु भएको तर भन्नुहुन्छ, हामी सरकारमा जाँदैनौ । अधिवक्ता सुरेन्द्र महतोले भन्नुहुन्छ, मधेशी मोर्चाका नेताहरु अहिले नै हतार गर्नु हुँदैन्थ्यो ।

अन्तिम समयमा गएर मतदान नगरि हुँदैन भनि अवस्था आएको बेला मात्र हस्ताक्षर वा मतदान गर्नुपथ्र्यो तर मधेशी मोर्चाले हतार गरेर मधेशी आन्दोलनलाई कजमोर गरेको छ । अविश्वासको प्रस्तावको पक्षमा अहिले नै हस्ताक्षर गर्ने बेला थिएन ।’
आन्दोलनमा उठाइएको मागहरुको बारेमा काँग्रेस र माओवादीले कुनै प्रतिवद्धता जनाएपछि अविश्वासको प्रस्तावमा सहमति जनाएको भए, यसको सन्देश छुट्टै जान्थ्यो तर मधेशी मोर्चाले हतार हतार गरेर लिखित रुपमा समर्थन जनाएको छ ।

यस विषयमा सद्भावना पार्टीका महामन्त्री मनिष सुमनसँग सम्पर्क गर्दा उहाँले ओली नेतृत्वको सरकार ढाल्नका लागि नै आफूहरुले अविश्वासको प्रस्तावमा समर्थन जनाएको बताउनु भयो । अब उधारोमा केही गरिदैन, उहाँले भन्नुभयो–‘जे हुनुथियो भयो, अ‍ोली सरकार जसरी पनि ढाल्नु थियो । ढल्यो अब सरकार बनाउने बेला हामी आफ्नो कुरा राख्छौ । ११ बुँदामा प्रतिवद्धता आएमात्र हामी प्रधानमन्त्री बनाउनमा मतदान गर्छौ ।’

सविधानमा ५० भन्दा बढी ठाउँमा संशोधन गर्नुपर्ने हुन्छ, अब बन्ने प्रचण्ड नेतृत्वको सरकारले सविधान संशोधन गरेपछि मात्र आफूहरु सरकारमा जान सोच्ने बताउँदै उहाँले आफूहरुले उठाउँदै आएको माग पूरा नभएसम्म सरकार टिकाइ राख्नुको आवश्यकता नरहने बताउनुभयो । यद्यपी उहाँकै पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारमा जाने संकेत देखाउनु भएको छ ।

काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा मधेशी मोर्चा सहभागी हुन्छ कि हुँदैन भन्ने जिज्ञासामा उहाँले भन्नुभयोे–‘हामी राजनीतकर्मी हौं, हामी मठमन्दिरको पूजा गर्न आएका जोगी होईनौं, सन्यासी भएर बसिरहन हामीले राजनीति गरेकै होईन, हामी बाहिर बस्नुपर्छ भन्ने केही छैन, संविधानमा हाम्रो अधिकार सुनिश्चित भएको भोलिपल्टै हामी सरकारमा जान्छौं ।’

काँग्रेस मात्र किन ?

सविधानसभाबाट सविधान घोषणा अघि संघीयताको विवाद समाधान गर्न चार दल (काँग्रेस, एमाले र माओवादी) को बैठक बसेको थियो । बैठकमा काँग्रेसका सभापति (तत्कालिन वरिष्ठ नेता) शेरबहादुर देउवाले पश्चिका दुई जिल्ला त के एउटा रौं पनि दिन सकिन्न भनि बैठकबाट बाहिरिनु भएको थियो । आज त्यही देउवा मधेशी मोर्चाको प्यारो भएको छ । मधेशी मोर्चाका नेताहरु भन्नुहुन्छ, उग्रराष्ट्रवादी विरोधी सरकारका नेतृत्व कर्ता केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनका लागि हामीले जे योगदान दिनुपर्छ हामी दिन्छौ तर सरकारमा जाँदैनौ ।’

आज मधेशको जुन अवस्था छ त्यो काँग्रेस, खास गरि शेरबहादुर देउवाको कारणले भएको हो भने कुरा मधेशी नेताहरु यति छिट्टो कसरी बिर्सिनु भयो ?

थारुहरुको छुट्टै प्रदेश दिनुपर्छ माग गरेपछि मधेशी मोर्चाका नेताहरुलाई बालुवाटारमा देउवाले कस्तो जवाफ दिनु भएको थियो त्यो कुरा आज ती नेताहरु कसरी बिर्सियो ? पूर्वका तीन जिल्ला झापा, मोरगं र सुनसरी केपी शर्माले कुनै पनि हालतमा दुई नम्बर प्रदेशमा जान नदिने अडी कसेर बस्नु भएको छ भने पश्चिमका कैलाली र कञ्चनपुर थरुहट प्रदेश अर्थात तराई मधेशलाई नदिने भनि देउवाले अडिकसेर बस्नु भएको छ यी दुई नेतामध्ये देउवा मधेशको प्रिय पात्र कसरी भयो ?

मधेश आन्दोलन काँग्रेसकै पालामा भयो । त्यसबेला ४० जनाभन्दा बढीले मधेशीले ज्यान गुमाउनु पर्यो । बाँकी २० जना ओलीको पालामा ज्यान गुमायो भने मधेशीका लागि देउवा कसरी प्रिय पात्र भयो ? तत्कालिन प्रधानमन्त्री स्व.सुशिल कोइरालाले वार्ताका लागि जति पत्र पठाए त्यो भन्दा कम पत्र ओलीले पठाएको छैन । सुशिल कोइरालाले मधेशी मोर्चाका नेताहरुलाई जसरी चिया विस्कुट खुवाएर पठाउनु हुनथ्यो त्यसरी नै ओलीले चिया विस्कुट खुवाएर पठाउनु भएको हो अनि देउवा कसरी भयो प्रिय पात्र ?

हो ओलीको बोली कडा छ । अलि छाडा बोल्नु हुन्छ, उखान टुके धेरै बोल्नु हुन्छ । उहाँको बोलीले मधेश आन्दोलनमा घिउ थप्ने काम भयो तर मधेशी मोर्चासँगको विभिन्न बैठकहरुमा देउवाले बोलेका कुरा अहिले पनि मधेशी नेताहरुको कानमा गुन्जिएकै होला । यदि मधेशी नेताहरु इमान्दार छन् भने देउवाले मधेशको बारेमा बोलेका कटुवचन सार्वजनिक गर्नुपर्छ । ओलीले बाहिर खुल्ला रुपमा बोल्ने कुरालाई बढी उचाल्ने तर मधेशी मोर्चालाई बसाएर सामुनेमा देउवाले भनेका कुराहरु नजर आन्दाज गर्ने मधेशी नेताहरुको दोहोरो चरित्र हो ।

बरु एमाले र एमाओवादी नेतृत्वको सरकारबाट सम्झाएर बुझाएर सविधान संशोधन गराएर अधिकार सुनिश्चित गराउँदा उचित थियो । अब त झन अप्ठ्यारो भयो । सविधान संशोधनका लागि ५९७ सांसदबाट ४४७ को समर्थन चाहिन्छ नै ।

कांग्रेस र माओवादी केन्द्रले जेसुकै सहमति गरेपनि सविधान संसोधनको लागि एमालेको साथ चाहिन्छ नै जो आउने दिनमा असम्भव देखिन्छ । मधेश आन्दोलनमा काँग्रेसले दमन गरेर ४० जनाको ज्यान लियो सोही दलका सभापतिलाई तमलोपाले नवलपरासीमा भएको महाधिवेशनमा अतिथि बनाएर लग्यो । तर त्यही सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री ओलीलाई महाधिवेशनमा आउनबाट तमलोपाकै नेताहरुले रोक लगाउनु भएको थियो । मधेशी जनताको त्यो भन्दा ठूलो अपमान के हुन सक्छ ?

त्यही दिन देउवाप्रति मधेशमा आधाभन्दा बढी आक्रोश कम भयो । त्यति मात्र होइन, रिले अनसनमा बोलाएर पनि ऐक्यवद्धता दिन लगाए । मधेशी नेताहरुले सोच्दो हो कि देउवा मधेशप्रति नरम भएर आएको हो । अब मधेशको सबै समस्या समाधान हुन्छ भने सोचेका छन् भने त्यो दिवास्वप्न भन्दा अरु केही हुन सक्दैन भनि टिप्पणी भइरहेका छन् ।

देउवाको रणनीति हो मधेशमा टेक्ने । काँग्रेस एक नम्बरको पार्टी हुँदा मधेशवादी दलको मधेशमा के हालत भयो छर्लगं छ । माओवादी एक नम्बरको पार्टी हुँदा मधेशवादी दलको अवस्थामा मधेशमा के थियो त्यो पनि छर्लगं छ । अर्थात भोटको खेलमा पनि काँग्रेस मधेशका लागि ठूलो घातक हो त्यो कुरा पनि मधेशी दलले विर्सिनु हुँदैन ।

अर्को कुरा, माओवादीसँग मधेशी मोर्चा पुनः सति जान लागेका हुन् । आश्चर्य लाग्छ, १६ बुँदे सम्झौताको घटना मधेशी मोर्चाले यति छिट्टो कसरी विर्सियो ? जुन बेला माओवादीका अध्यक्ष प्रचण्ड गठबन्धनको नेतृत्व गरेर आन्दोलन गरिरहेका थिए र एकाएक मधेशी मोर्चालाई बीच बाटोमै छाडेर एमाले, काँगेससँग मिलेर १६ बुँदे सम्झौता गरेर सरकारमा गएका थिए । आज त्यही मधेशी मोर्चाका नेताहरु माओवादीको गठबन्धनलाई सहयोग गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..