» » मधेश राजनीतिक र अपरिपक्क नेतृत्व

–बिक्की यादव

आन्तरिक लोकतन्त्र बलियो नभइकन संसारको कुनै पनि देशको राजनीतिक विकास हुन सकेको छैन । नेपालको वास्तविकता पनि लोकतन्त्रको नाममा गुटतन्त्र, जातितन्त्र नै चलिरहेको छ । देशको आधा जनसँख्या ओगटेको मधेश नेपाल देशको आर्थिक मेरुदण्ड नै हो । देशका अािर्थक भार बहन गर्दै आएका मधेशको दुरदासा किन यस्तो भएको छ ? यस विषयमा चिन्तन मनन हुन आवश्यक छ । आर्थिक, समाजिक र राजनीतिक रुपमा मधेशको जुन अवस्था छ, यदि यस्तै रह्यो भने मधेशलाई मरुभूमि हुनमा धेरै समय लाग्ने छैन ।

यसको मुख्य दोषी राज्य हो कि मधेशवादी दल पनि हो ? यो मनन गर्नुपर्ने कुरा हो । निश्चित रुपमा यसको दोषी दुवै पक्ष रहेको देखिन्छ । राज्यलाई मात्र दोष दिएर पनि हुँदैन, मधेशलाई पनि मात्र दोष दिएर हुँदैन । दुवै पक्ष आआफ्नो ठाउँमा दोषी देखिन्छ नै । राज्यको वर्गीय सोच, नश्लवादी चिन्तनले गर्दा मधेशप्रति त्यस्तो व्यवहार गरेको छ भने मधेशी दलको असक्षम नेतृत्वले गर्दाले पनि मधेशको यस्तो दुरदाशा भएको हो । यद्यपी राज्य अलि बढी जिम्मेवार हुनुपर्ने देखिन्छ ।

राज्यले जहिले पनि मधेशलाई विभेद गरेको कुरा कसैबाट लुकेको छैन । नेपालको मुख्य भुभाग अथवा स्रोत मधेश भएपनि जहिले पनि मधेशसँग सौताको जस्तो व्यवहार गरेको छ । जुन कुरा मधेश आन्दोलनमा पुष्टि भयो । सविधान जारी हुन लाग्दा पुरै देश नै आन्दोलित भएको थियो । हिमालदेखि पहाडसम्म र तराई मधेशका समथर भागहरुमा आन्दोलन भएको थियो तर सबभन्दा बढी क्षति मधेशमै भयो, त्यस्तो किन भयो त राज्यको नियतलाई सहजै बुझ्न सकिन्छ ।

पहाडी क्षेत्रमा आन्दोलन हुँदा उनीहरुले चाहेको जस्तो माग पूरा पनि भयो । तर मधेशमा झण्डै एक वर्षदेखि आन्दोलन भइरहेको छ तर कुनै सुनुवाई भएको छैन । काठमाडौमा आदिवासी जनजातिहरुले सविधानसभा (अहिले संसद) भवन घेराउ गर्न खोज्दा उनीहरुलाई पानीको फोहोरा दिएर नियन्त्रणमा लिएका थिए तर त्यही दिन वीरगञ्जमा आन्दोलन गर्नेलाई गोली हानेर नियन्त्रणमा लियो र त्यसमा दुईजनाको मृत्यु पनि भयो । मधेशप्रति राज्यको सोच यस्तो छ ।

मधेशी दलले कुनै नयाँ विषय माग गरेको छैन । उनीहरुको कुनै नयाँ मुद्दा छैन । विगतमा भएको सहमतिहरुको कार्यान्वयन गर्नुपर्ने मात्र भनेको छ ।

यहाँसम्म कि अन्तरिम सविधानमा उल्लेख भएकालाई नै मान्यता दिएर नयाँ सविधानमा ल्याइ दिए पनि हुने भनिरहेका छन् तर राज्य खासगरि मुख्य तीन दल (काँग्रेस, एमाले र माओवादी) ले सम्झौता भएका त के कुरा त्यसभन्दा पनि प्रतिगमनकारी सविधान बनाएको छ । मधेशका नागरिकहरुले पनि आफ्नो सार्वभौमिक अधिकार, उनीहरुको कर्तव्य र जिम्मेवारी, आधारभूत र मानवअधिकार, कानुनी शासन, राजनीतिक दलको भूमिका, प्रजातान्त्रिक शासन व्यवस्थामा निर्वाचनको महत्व जस्ता विषयहरु बारेमा बहस गर्न थालेका छन् ।

सार्वजनिक चासोका विषयमा छलफल गर्नु किन आवश्यक छ र  असल शासनको निर्माणद्धारा लोकतान्त्रिक शान्ति कसरी प्राप्त गर्न सकिन्छ । आफ्ना आकाँक्षाहरु पूरा गर्न नागरिकले कस्ता संस्थाहरु र नागरिक सँस्कृतिहरुको विकास गर्नु पर्दछ । अहिले मधेशमा विभिन्न चुनौतिहरु देखा परेका छन् र ती चुनौतिहरुको व्यवस्थापन गर्न विकल्पहरुको चयन गरी आफ्ना निर्णयहरु कार्यान्वयन गराउन आवश्यक राजनीतिक सांँस्कृति र सम्पूर्ण मधेशी राजनीतिक पार्टीबीच एकता र सहयोगको भावना आवश्यक छ भन्ने कुरा मधेशको युवाहरुको माझमा बहसको विषय बनेको छ ।

चुरे विनाश

नेपाल कृषि प्रधान देश हो तर राष्ट्रिय योजना आयोगको प्राथमिकतामा कृषि कहिले पनि परेन किनकि खेती योग्य उर्वर भूमि सबै मधेशमा छ । त्यहाँ थोरै प्रयासले कृषिबाट राम्रा आम्दानी गर्न सकिन्छ तर राज्यले त्यतातिर चासो दिएन । राज्यले व्यवस्था नगरेपनि मधेशी जनताले आफ्नै स्रोत साधनले पनि सिचाइको व्यवस्था गर्न थाले । विभिन्न विकल्पहरु अपनाउन थाले तर राज्यको नियत नै खराब भएपछि कसको के लाग्छ ।

जानी जानी चुरे क्षेत्र विनास गर्न थाले । राज्यको योजना अनुसार नै चुरै क्षेत्रको वन विनाष गर्न थाले र आज मधेशमा यस्तो अवस्था छ कि इनार छ त्यसमा पानी छैन, कल छ त्यसमा पानी आउँदैन, बोर्डिगं छ त्यसले पानी दिँदैन, पोखरी छ त्यसमा पानी छैन अर्थात  पानीको मुल नै सुकेपछि अरुमा आउने कुरै भएन ।
चुरेविना मधेशका कल्पना पनि गर्न सकिदैन ।

यदि चुरै संरक्षणलाई राज्यले विशेष जोड दिएन भने आउने दश वर्षमा मधेश पुरै मरभूमिमा परिणत हुने छ । जहाँ २१ फिटमा पानी आउँथ्यो, अहिले ६० फिटमा पनि आउँदैन । यस अवस्थाले मधेशको हरेक क्षेत्रमा असर गरेको छ । त्यसैले यसलाई रोक्नका लागि मधेशका युवाहरु पनि आउनु पर्छ ।

मधेशको नेतृत्व

मधेशलाई कमजोर गर्न र आफ्नो प्रभाव कायम गर्न नेपालका राजनैतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीलगायत राज्यका हरेक निकाय प्रहरी प्रशासन, सेना, न्यायलय र नश्लवादी सञ्चारमाध्यमले न्वारनदेखिको बल लगाइरहेका छन् भने नागरिक समाज र मानवअधिकारवादीहरु चुप लागेका बसेको देखिन्छ ।

पटक पटक भएको आन्दोलन, जनविद्रोह, जनयुद्ध र मधेश आन्दोलन पश्चात बनेको सविधानबाट नेपाली जनताले समान अधिकार पाउन आशा गरेका थिए तर बडो चलाखीपूर्वक लोकतान्त्रिक, गणतान्त्रिक, संघीयता, धर्म निरपेक्षता सहितको सविधान त घोषणा गर्यो तर मधेशी, आदिवासी जनजाति दलित, पिछडिएकाहरु आफ्नो अधिकारबाट बन्चित रहे । २५० वर्षको शाह वंशीय राजतन्त्रको समाप्तिपछि बाहुनवादी व्यवस्था कायम गर्न ठूला दलका नेताहरुले सात प्रदेशको खाका कोरेका छन् । जसलाई मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्गले स्वीकार गरेको छैन । त्यसलाई अस्वीकार गर्दै ती समूहहरु अहिले आन्दोलनमा छन् ।

लामो समयदेखि मधेशको नाममा राजनैतिक हुँदै आएको छ । विगत १० वर्षको अवधिमा भएको मधेश आन्दोलनले राज्यलाई तीन पटक झुकाएको छ तर त्यही मधेशी नेताको अपरिपक्कताका कारण मधेश असफल हुँदै गएको छ । पहिलो सविधानमा मधेशी, आदिवासी जनजातिको बहुमत रहेपनि त्यसलाई सदुपयोग गर्न सकेन । पटक पटक उनीहरु सत्तामा गए तर त्यसलाई आफ्नो व्यक्तिगत स्वार्थमा बढी प्रयोग गरे । त्यही सत्तास्वार्थकै कारण पार्टीहरु टुक्रा टुक्रा भए । राजनीतिक दललाई आफ्नो व्यक्तिगत सम्पत्तिको रुमपा प्रयोग गरे । दलका नेताहरुलाई भन्दा पार्टीका नेतृत्व पंक्तिले आफ्ना नाता गोतालाई बढी प्राथमिकता दिएको देखिन्छ ।

सहिद परिवारलाई वेवास्ता गर्नु, अधिकार र पहिचानका मुद्दालाई पद र पैसासँग साट्नु, राजनीतिकलाई जातीयकरण गर्नु, एक अर्काको अस्तित्वलाई नस्वीकार्नु, विना तयारी, विना योजना आन्दोलनको घोषणा गर्नु, कार्यकर्ता भन्दा दलाल उत्पादन गर्नुलगायतका कमजोरी मधेशवादी दलका नेतृत्वकर्ता नेताहरुको रहेको छन् । हुन त मधेश आन्दोनल पश्चात पहिलो सविधानसभामा मधेशबाट राजकिशोर यादव, अनिल झा, अभिषेक प्रताप शाह, आमेप्रकाश गुल्जारी, विजय यादव, महेश यादवलगायतका होनहार युवाहरु आएका थिए । ती युवाहरुले पार्टीमा पनि अवसर पाएका थिए तर दोस्रो सविधानसभाको चुनाव पश्चात अवस्था ठिक उल्टो भयो ।
न ती युवाहरु पुनः आउन सके न भूमिका पाउन सके । हुन त राजकिशोर यादव र अनिल झा एउटा एउटा पार्टीको अध्यक्ष नै हुनुहुन्छ । तर उहाँहरुले पार्टीमा अरु कार्यकर्तालाई संरक्षण गर्नुभन्दा पनि आआफ्ना श्रीमतीलाई नै सभासद बनाएर आआफ्नो ओजलाई कमजोर बनाउने काम आफै गर्नुभयो । विजय यादव, अभिषेक, गुल्जारी पनि पार्टीको मूलधारमा नै रहनु भएको छ तर उहाँहरुको त्यहाँ केही चल्दैन ।
त्यस्तै पहिलो पुस्ताका राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ ठाकुर, विजयकुमार गच्छदार र शरतसिह भण्डारी, महेन्द्रराय यादवलगायतका नेताहरुले पनि आफ्ना श्रीमती, प्रेमिका, आफन्त र पैसालाई बढी महत्व दिएर अपरिपक्ता देखाउनु भयो । परिणाम कुनै पनि नेताले मधेशी जनताकको विश्वास जित्न सकेन ।

मधेश आन्दोलन
मधेशी जनता बाध्यताबस आन्दोलनमा सरिक हुँदै आएका छन् तर आन्दोलनको सफलताको लागि विश्वासिलो र दुरदृष्टि भएको नेताको आवश्यकता देखिन्छ । अहिले मधेशवादी दलका अवस्था विगतको भारतीय क्रिकेट टिम जस्तै भएको छ । व्यक्तिगत स्कोरको लागि पूरा टीमलाई नै हराएको घटना दोहोरिदैछ ।

त्यत्रो लामो आन्दोलन मधेशवादी दलको व्यक्तिगत टकरावका कारण समाप्त भएको हो । र, उनीहरुको जुन रवैया थियो, जुन सोच थियो त्यसले गर्दा त्यो त हुनु नै थियो । किनकि राजनीतकि संस्कार विनाका नेता र संगठनमा आफ्नै मनमानी हुन्छ । त्यहाँ कार्यकर्ता होइन, करिन्दा मात्रै हुन्छ । जहाँ नेताको मात्रै चल्छ, कार्यकर्ताको केही पनि चल्दैन । हरेक आन्दोलनले नेता उत्पादन गर्दछ तर यत्रो लामो मधेश आन्दोलनले कुनैपनि नयाँ अनुहारका नेता उत्पादन हुन सकेन वा हुन दिएन ।

जबकि २०६३÷०६४ मा भएको मधेश आन्दोलनबाट थुप्रै नेताहरुले जन्म लिएका थिए तर यसपटकको आन्दोलनमा त्यस्तो भएन । त्यस्तो नहुनुमा पार्टीको नेतृत्वकर्ता नै दोषी हो । पार्टीभित्र रहेका नेताहरुलाई कहिले पनि अगाडि आउन दिएन जहिले पनि झण्डा र झोला बोकाएर पछि पछि हिडाए । मूलधारको गतिविधिमा कहिल्यै पनि समावेश हुन दिएन ।

दोस्रो सविधानसभाको मत परिणामले मधेशी जनताले केही पाउँदैन भनि कुराको आँकलन पहिला नै भइसकेको थियो र त्यही कारणले आन्दोलन पनि शुरु भयो तर त्यो आन्दोलनलाई जसले नेतृत्व गरे त्यसैका कारणले सफल हुन सकेन । आन्दोलनमा पहिलो र दोस्रो तहका नेताहरुको नै अगुवाई थियो तर आन्दोलन गर्ने विल्कुल युवा जमात थिए त्यही भएर उनीहरुको आन्दोलन सफल हुन सकेन ।

आन्दोलन कमजोर हुनुका मुख्य कारण सत्ताको लोभ, अख्तियारको डर, शक्ति केन्द्रको दवाव र मधेशको मसिहा बन्ने नै थियो । यस्तो अवस्थामा आन्दोनलाई अन्तिम विन्दुसम्म नेताहरुले पुर्याउन सक्दैन र आन्दोलन तुहिन्छ । अहिले पनि केही विग्रेको छैन । आन्दोलनको नेतृत्व युवाको हात दियोस् र पार्टीका नेतृत्वकर्ताहरु अभिभावक भएर बस्यो भने आन्दोलनले अर्कै उचाइ लिन्छ ।

‘स्वभिमान मधेश विचार समूह’ ले यसअघि युवाहरुलाई बसाएर प्रयास पनि गरेका थिए तर पार्टीका अध्यक्षहरुबाट नै दवाव आएको कारण सफल हुन सकेन । पार्टीमा आवद्ध युवाहरुले पनि एउटा एउटा नेता समातेका छन् र त्यसैको भरमा राजनीतिक अभिष्ट पूरा गर्न चाहेका छन् । आफ्नो अस्तित्व आफै बनाउने प्रयास गरेको देखिन्दैन ।

अहिले पनि मधेशवादी दलका नेताहरुको सोच हैकमवादी नै छ । लोकतान्त्रिक मूल्य मान्यतामा आधारित कुनै पनि संगठन नरहेको कुरा विभिन्न दलहरुको हालै सम्पन्न महाधिवेशनले पनि देखाएको छ । अध्यक्षको विरुद्धमा उम्मेदवारी दिने हैसियता वा क्षमता पनि राख्दैन भने उनको राजनीतिक सोच कस्तो होला भनि सहजै अनुमान गर्न सकिन्छ ।

यस्तो अवस्थामा मधेश राजनीति र आन्दोलनलाई निरन्तरता दिन कठिन हुनेछ । हुनत युवाहरुको नेतृत्वमा राजनीतिक दल नखुलेको पनि होइन तर ती युवाहरु जो कुनै पनि राजनीतिक पार्टीका एउटा राम्रो कार्यकर्ता पनि हुन सकेको छैन । एक वर्षभित्रै तीन चार पार्टी परिवर्तन गरिसकेका नेताहरुले चाकरी र दलालीबाहेक समाजमा अरु पहिचान बनाउन सकेका छैन । न त मधेश र राष्ट्रियस्तरमा आफ्नो प्रभावशाली नेतृत्व कायम गर्न सकेका छन् । त्यस्ता विचलित, अपरिपक्क राजनीतिक संस्कार र नभएका अयोग्य युवाहरु पार्टी अध्यक्ष भएका छन् । यस्तो राजनीतिक पार्टी र नेताबाट समाजले के नै आशा गर्न सक्छ ।

अन्त्यमा,  दिशा विहिन मधेशलाई सही मार्ग दर्शन दिनका लागि मधेशका सक्षम र समाजप्रतिको जिम्मेवार युवाहरुको एकतालाई आवश्यकता महसुस गरि ‘स्वभिमान मधेश विचार समूह’ का जिम्मेवारी साथीहरुको पहलमा मधेशी, दलित, आदिवासी, जनजातिलगायका युवाहरु राजनैतिक वैचारिक आर्थिक, शैक्षिक समाजिक र साँस्कृतिक विषयमा बहसका लागि साझा थलोको रुपमा स्वराज फाउण्डेशन गठन गरिएको छ । विगत केही महिनादेखि विभिन्न विषयमा सप्ताहिक रुपमा निरन्तर छलफल र बहस गर्दै आएको छ । यसले राजनीतिक संस्कारको स्थापना गर्दै परिपक्क र सक्षम नेतृत्वको उत्पादन पनि गर्ने भनि लागेको छ ।
(लेखक यादव स्वराज फाउण्डेशनको सदस्य हुनुहुन्छ)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..