» » शान्ति सुव्यवस्था कायम गर्न नागरिकसँग प्रहरीको हातेमालो

मनिष गुप्ता
कपिलवस्तु, जेठ २४ गते । इलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा सोमबार परिचयात्मक कार्यक्रम गरिएको छ । काठमाडौंबाट हालै सरुवा भई इलाका प्रहरी कार्यालय कृष्णनगर आउनुभएका प्रहरी निरीक्षक सञ्जय रिजाललाई कृष्णनगरको समग्र वस्तुस्थितिबारे जानकारी गराउन र स्थानीय नागरिकबीच सम्बन्ध बढाई काममा सहजता ल्याउन परिचयात्मक कार्यक्रम गरिएको हो ।

परिचयात्मक कार्यक्रममा सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक शिवप्रसाद गैरे, सद्भावना पार्टीका केन्द्रिय सदस्य रविदत्त मिश्र, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष गुरुशरण सिंह, नेपाली कांग्रेस कृष्णनगर नगर समिति सभापति अकिल मिया, कृष्णनगर स्पोर्टस् क्लबका अध्यक्ष जयप्रकाश गुप्ता, कृष्णनगर होटल व्यवसायी संघका अध्यक्ष गोपीकृष्ण भट्टराई, केआई नेपालका जिल्ला संयोजक केशर विश्वकर्मा, उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेशचन्द्र गुप्ता, राजनीतिज्ञ अक्रम पठान, भारतीय सुरक्षा निकाय बढनीका प्रमुख हरिनारायण दीक्षित, उद्योगी व्यवसायी नन्दकिशोर शर्मा लगायतले कृष्णनगरको समग्र वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो ।

सीमाक्षेत्रका कारण विभिन्न अपराधिक घटनाहरु हुनसक्ने सम्भावनालाई रोक्न सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने वक्ताहरुले माग राखेका थिए ।
यता इलाका प्रहरी कार्यालयमा हालै आएका प्रहरी निरीक्षक सञ्जय रिजालले स्थानीय नागरिकहरुसँग सहकार्य गरी काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले राखेको सवालको जवाफ दिंदै प्रहरी निरीक्षक रिजालले कसैले पनि पूर्वाग्रह राखेर काम गर्न नहुने बताउनुभयो । उहाँले विगतमा के भयो भनी कोट्याउनुभन्दा वर्तमानलाई हेरेर काम गर्ने सबैसामु तर्क राख्नुभयो ।

सानातिनाका नाममा ठूला स्मग्लिङ् गर्नेलाई कुनै पनि हालतमा नछाड्ने सचेत गराउँदै प्रहरी निरीक्षक रिजालले साना माछाभन्दा ठूला माछालाई विशेष निगरानी बढाउने जानकारी दिनुभयो ।

उहाँले अन्यायमा परेका सर्वसाधारणले सोझै कार्यालयमा आई गुनासो गरे पक्षपातका दृष्टिकोणले नहेरी पक्कै सुनुवाई गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । प्रहरी निरीक्षक रिजालले आफूमा इन्भेष्टिगेसन र इन्टेलिजेन्सको राम्रो दक्खल भएको गर्व गर्दै परिस्थितिले अप्ठ्यारोमा परेका बाहेक चाहे आफ्नै मान्छे किन नहोस् कुनै पनि अपराधीलाई नछाड्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

साथै उहाँले सबैसँग सहकार्य र हातेमालो गरी समग्र कृष्णनगरको शान्तिसुरक्षाका लागि सदैव तत्पर रहने बताउनुभयो । कार्यक्रम संचालन गर्दै अस्थायी प्रहरी पोष्ट सुरक्षा जाँच चौकी लिङ्कगेटका प्रहरी नायव निरीक्षक रमेश गुरुङले सीमा निगरानीमा आफूले स्थानीयसँग हातेमालो गरी काम गर्दै आएको र आगामी दिनमा समेत अपराधिक क्रियाकलापलाई निरुत्साहित पार्न र शान्ति सुव्यवस्था कायम गर्न आफ्नो संगठनले भरपूर कोशिश गर्ने बताउनुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..