काठमाडौ असार १२ गते । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको मुख्य भवनको प्रवेशद्वारमा ताल्चा लगाइएको छ । प्रवेशद्वारको सामुन्ने बसेर एक युवक टिफिन बक्समा ल्याएको रोटी र तरकारी खाँदै थिए। बिहीबार राति ९ बजेको दृश्य हो यो।
शुक्रबार बिहान कार्यालय खुलेपछि मोटरसाइकलको सवारीचालक अनुमतिपत्रको फाराम बुझाउनका लागि टोकन लिन उनले अघिल्लो दिनबाटै पालो कुरिरहेको थियो ।
तीन दिनदेखि लगातार बिहान ४ बजे आउँदासमेत फाराम बुझाउने टोकन नपाएपछि बिहीबार भने अशोकप्रसाद जैसवाल रात त्यहीँ बिताउने गरी यातायात कार्यालय पुगेका हुन्। एकैछिनमा उनीसँगै मिसिन आए, सिन्धुपाल्चोक बाह्रबिसेका प्रदीप कार्की ।
लगातार नौ दिनसम्म बिहान ४ बजे आउँदासमेत कुपन नपाएपछि उनी पनि राति नै टोकन बाँड्ने सुनेर रातभरि बस्न आएका हुन्। १२ दिनसम्म लगातार आउँदा समेत कुपन नपाएपछि गोपाल झाले पनि रातभरि यहीँ बस्ने बताए।
एकैछिनमा कार्यालयमै बास बस्न आउनेको सङ्ख्या तीन दर्जन नाघिसकेको थियो। दिउँसो भेटिएका चितवनका सञ्जीव पौडेल मोटरसाइकल चालक अनुमतिपत्र लिनका लागि फाराम बुझाउन यातायात कार्यालय धाउन थालेको चार दिन भयो तर फाराम बुझाउनसमेत पाएका छैनन्।
तीन चार दिन धाउँदा पनि सवारीचालक अनुमतिपत्रका लागि फारामसमेत बुझाउन नपाएका सयौं युवा दिनभरि यातायात कार्यालयमा लाइन बस्दै फर्किंदै गर्छन्। पौडेल लाइसेन्स निकाल्नकै लागि चितवनबाट काठमाडौं आएका हुन्। आफू चार दिनदेखि होटलमा बसिरहेको उनले बताए ।
सुर्खेतका सुशील विष्टको पनि हालत त्यही छ। नयाँ लाइसेन्स निकाल्नका लागि फाराम बोकेर यातायात व्यवस्था कार्यालय धाउन थालेको तीन दिन भयो तर पालो आउँदैन ।
टोकन वितरण गर्नेहरूले लाइनमा बसेका भन्दा पनि आफ्ना चिनजानकालाई प्राथमिकता दिएकाले लाइन बस्नेहरूले सहज रूपमा टोकन पाउन नसकेको सेवाग्र्राहीको गुनासो छ । त्यसमाथि लेनदेनको काम पनि हुने भएकाले लाइनमा बस्नेले प्राथमिकता नपाएको सेवाग्राही बताउँछन् ।
लाइनमा बसेका युवाले टोकन बिक्री भएकाले आफूहरूले पाउन नसकेको गुनासो गरे ।
सयौं युवाको भीडले यातायात कार्यालय परिसरमा दैनिक मेला लागेजस्तै देखिन्छ । १४ अञ्चलका यातायात व्यवस्था कार्यालयबाट सवारीचालक अनुमतिपत्र दिने व्यवस्था भए पनि हाल ती कार्यालयबाट काम नहुँदा एकान्तकुनाको कार्यालयमा सेवाग्राहीको सङ्ख्या चौगुना बढेको कार्यालयले जनाएको छ ।
भीड नियन्त्रण गर्न नसक्दा असार २ गते प्रहरीले लाठीचार्जसमेत गर्नु परेको थियो ।
यहाँबाट दैनिक झण्डै तीन सय जनाले नयाँ फारम लिने गर्छन्। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
No comments: