» » गठबन्धनको असनसन र बाबुरामको प्रवृति


–उपेन्द्र महतो
नयाँ संविधान विभेदकारी भएको ठहर गर्दै मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम लगायत विगत दश महिनादेखि आन्दोलित छ । करिब पाँच दर्जनले यस सविधानको विरोध गर्दै बलिदानी दिइ सकेका छन् भने विभिन्न चरणको आन्दोलन जारी छ । कुनै पनि देशमा नयाँ सविधान सँधै अग्रगामी र प्रगतिशील हुन्छ । तर नेपालको नयाँ सविधान अन्तरिम संविधान भन्दा पनि विभेदकारी छ ।

अन्तरिम संविधानमा स्वीकार गरेको समानुपातिक समावेशी, जनसँख्याको आधारमा निर्वाचन क्षेत्र, समान नागरिकता जस्ता मुद्दाहरूलाई पनि नयाँ सविधानमा नराखिएको अवस्था छ । पहिलो सविधानसभामा सर्वसम्मत भई टुगिं सकेका मुद्दाहरूलाई पनि नयाँ सविधानमा उल्ट्याईएको छ । जसको विरोधमा भएको मधेश अन्दोलन र संविधानमा रहेको विभेदले पनि अहिले अन्तराष्ट्रिय ध्यानाकर्षण गरेको छ । सरकारले मधेश आन्दोलनलाई भारतसँग जोडेर जुन विश्व भरी प्रचार गर्यो स्वतः मधेश आन्दोलन पनि अन्तराष्ट्रियकरण भएको छ ।

सरकारले प्रायोजितरूपमा अमेरीका, ब्रिटेन, अष्ट्रेलिया, भारत, संयुक्त राष्ट्र संघ अगाडी प्रदर्शन गराईरहँदा आन्दोलनकारी मधेशी आदिवासी जनजातीको तर्फबाट पनि यी सबै ठाउँमा विभेदकारी संबिधान र सरकारद्वारा आन्दोलनकारी माथि गरिएको दमन र हत्याको बिरोध पनि भयो ।

पहिला मधेशमा मात्र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा जारी आन्दोलन अहिले २९ दलरमोर्चाद्वारा गठित संघिय गठबन्धनको आन्दोलन देश भरी नै फैलिएको छ । अहिले संघिय गठबन्धनले बालुवाटार घेराउ, सिंहदरवार खेराउ, बिभिन्न ठाउँमा बिरोध सभा हुँदै रिले अनसन जारी राखेको छ । आन्दोलनलाई समर्थन गर्न दिनहुँ जस्तो विभिन्न दल, व्यक्ति, संघ संगठन अनसनस्थल पुग्ने गरेका छन् ।

गठबन्धनको आन्दोलनमा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल, इन्सेक अध्यक्ष सुबोध प्याकुरेल, मानवअधिकार आयोगका पूर्व सदस्य सुदिप पाठक, मधेस अधिकारकर्मी दीपेन्द्र झा, नेपाल मधेशी निजामती कर्मचारी मंच, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई लगायत खुला मन्च पुगेर रिले अनसनमा उठाईएका मागहरू प्रति एक्यबद्धता जनाएका छन् ।

नयाँ विभेदकारी सविधान ल्याउन मुख्य योजनाकार रहेका तत्कालीन एमाओवादी नेता र हाल नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई संघिय गठबन्धनको रिले अनसनमा आएर ‘जनताको अधिकार खोसेर देशलाई अन्तहीन द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको छ’ भन्दै गोहीको आँशु बहाएको हेर्दा अचम्म लाग्यो ।

उक्त सबोधनमा बाबुरामले ‘जनताको अधिकार गुम्यो भने द्वन्द्वको घाउ बल्झन सक्छ, देश डरलाग्दो अन्तहीन द्वन्द्वमा फस्न सक्छ, इराक, अफगानिस्तान, इरान, सिरियाजस्तै अस्थिरतातर्फ धकेल्ने समेत कोसिस भइरहेको छ’ भन्न समेत भ्याए ।

आफुलाई दुरदर्शि नेताको रूपमा प्रस्तुत गरिरहेका बाबुरामलाई बिभेदकारी सम्बिधान बनाईरहँदा देशमा आउन सक्ने दुर्घटनाको बारेमा हेक्का थिएन ? यही जेष्ठ ३० गते नया दल घोषणा गर्न लागेका बाबुरामले एकतर्फ विभेदकारी सविधानको बिरूद्ध आन्दोलनरत संघिय गठबन्धनको मागमा समर्थन गरेको छ भने अर्को तर्फ आफ्नो प्रचार सामाग्रीमा देशले नयाँ सविधान पाईसकेको र अब देशमा सम्रिद्धी र विकासको खाँचों औंल्याउँदै द्वेद्ध चरित्र प्रदर्शन गरिरहेका छन् ।

सविधानसभा–१ मा मधेशी आदिवासी जनजाती, दलित, मुस्लिम लगायतको पक्षमा २ र ३ बहुमत थियो र यिनीहरूको पक्षमा सविधान बन्ने निश्चित थियो तर तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले अफ्नो सहगोत्री खस आर्यको पक्ष लिंदै सविधानसभालाई नै भंग गर्यो । सविधानसभा–२ मा मधेशी आदिवासी जनजाती, दलित, मुस्लिम लगायतको विपक्षमा २ र ३ भयो र बाबुराम भट्टराईले आफ्नो सहगोत्री खस आर्यको पक्षमा र मधेशी आदिवासी जनजाती, दलित, मुस्लिम लगायतको विपक्षमा सविधान बनाउन प्रमुख योजनाकारको भूमिका निर्वाह गरियो ।

बाबुराम आज आएर ‘जनताको अधिकार खोसेर देशलाई अन्तहीन द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको छ’ भन्दै आन्दोलनरत संघिय गठबन्धनको आन्दोलनलाई समर्थन गरेका छन् । बाबुरामको नैतिकता कहाँ थियो जब मधेशी आदिवासी जनजाती, दलित, मुस्लिम लगायतको विरोधी सम्बिधान ल्याउने मुख्य योजनाकारको रूपमा काम गरिरहेका थिए ।

यदी बाबुराम ईमान्दार भएको भए संबिधानसभा–१ मा नै मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम लगायतको पक्षमा सविधान बनिसक्या हुन्थ्यो र सम्बिधानसभा–२ मा मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम लगायतको बिरोधी सविधान आउँदैनथ्यो । आफ्नो सहगोत्रीको अनुकूल र मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम लगायतको प्रतिकुल सविधान बनाएर सविधानसभाबाट राजिनामा दिएर पानी माथिको उभानो बन्न खोज्दैछ ।

अहिले बाबुराम मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम लगायतको सविधानमा अधिकार खोसिएको कुरा गरेर भोंटको राजनिती गर्दै हिंडेको छ । आज देशको यस्तो अवस्थाको मुख्य दोषीहरूमध्ये बाबुराम भट्टराई पनि एक हो ।
(लेखकः सदभावना पार्टीका केन्द्रीय सदस्य हुन्)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..