» » मधेशी कर्मचारी मञ्चमा भाँडभैलो, अध्यक्ष नै अवैध भएको आरोप


काठमाडौं, असार १४ गते । अनियमित र अवैध प्रक्रियाले नेपाल मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशनबाट पदाधिकारी छनौट भएपछि मञ्चभित्र चर्को असन्तुष्टि उत्पन्न भएको छ ।

गत जेठ महिनामा सम्पन्न मञ्चको महाधिवेशनमा फरक र असन्तुष्ट पक्षहरुलाई बेवास्ता गरेर अध्यक्ष विनोद सिँहले बलमिच्याइँ गरेर विधि तथा विद्यानविपरीत आफ्नै नेतृत्वमा कार्यसमिति घोषणा गर्नुभएको थियो ।

मञ्च तराई मधेश लोकतान्त्रिक पार्टीको भातृ संगठन भएपनि विनोद सिहले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा निकटको कर्मचारी संगठन हो भनि सबैलाई भ्रममा राखेर आधिकार ट्रेड युनियनको चुनावमा भाग लिनु भएको थियो । र, मधेशी मोर्चाको नाममा राम्रै मत पाउनु भएको थियो तर आफ्नै मञ्चमा अनियमितता गरेर भाँडभैलो मचाउनु भएको छ ।

महाधिवेशनको बन्दसत्रमा कुनै पनि किसिमको प्रतिवेदन, दस्ताबेज र विधान संशोधन प्रस्ताव पारित नगराएर जबर्जस्ती नेतृत्व चयनको प्रक्रिया आरम्भ गर्नुभएका अध्यक्ष सिँहले आफूलाई अध्यक्ष घोषित गर्दै अन्य पदाधिकारीहरुको नाम सोझै प्रस्ताव गरेर अनुमोदन भएको निर्णय सुनाउनु भएको थियो ।

यसअघि गोप्य मतदानका लागि प्रढंगले निर्वाचन समिति बनाउनुपर्ने, मतदाताहरुको नामावली प्रकाशन हुनुपर्ने, प्रस्तावक र समर्थकसहित विभिन्न पदका लागि उम्मेदवारी हुनुपर्ने र गोप्य मतदानबाट चुनाव गराउनुपर्ने माग गर्दै आएका महाधिवेशन प्रतिनिधिहरुको आवाजलाई अध्यक्ष सिँह र उहाँका पक्षधरहरुले सुनावाइ नगरेको आरोप छ ।

असन्तुष्ट पक्षलाई समेटेर सोझै कार्यसमिति घोषणा गर्ने अध्यक्ष सिँहको प्रपञ्चविरुद्ध असन्तुष्टहरुले महाधिवेशन बहिष्कार गरेका थिए ।

‘असन्तुष्ट पक्षलाई समेट्न उपाध्यक्ष र सचिवलगायतका पदाधिकारीहरुको सँख्या बढाइएको छ । तर उनीहरुसहितको कार्यसमितिमा कतिजना र को को छन् भन्ने कुरालाई अहिलेसम्म सार्वजनिक गरिएको छैन–मञ्चका महाधिवेशन प्रतिनिधि एवं पर्सा जिल्लाका उपाध्यक्ष हिरालाल साहले भन्नुभयोे,–‘मञ्चमा आबद्ध कर्मचारीहरुलाई सामाजिक सञ्जालमा आफू अमूक पदाधिकारी भएको दाबी गर्नेहरुबाट मात्र को र कुन पदमा छन् भन्ने जानकारी लिने स्थिति छ ।’

दासका अनुसार विधान संशोधन भएर विधिसम्मत ढंगले निर्वाचन हुनुपर्ने माग गर्दै महाधिवेशनको बन्दसत्र बहिष्कार गरेकाहरुमध्ये पनि कतिपयलाई आफुखुशी कार्यसमितिमा समेटिएको छ । तीमध्ये उपाध्यक्ष बनाइएका रामप्रसाद मेहता र भुवनेश्वर चौधरी, सचिव बनाइएका राजकुमार महतो र नवलकिशोर साहले शपथ ग्रहण गर्नुभएको छैन । उहाँहरुमाथि शपथग्रहण गर्न दबाव बढाइएको छ ।

कार्यसमितिका महासचिव जिल्ला भूसंरक्षण कार्यालय महोत्तरीका प्रमुख बेचन महतोलाई बनाइएको छ । निजामती कर्मचारी ऐनका अनुसार तृतीय श्रेणीका राजपत्रांकित अधिकृत कार्यालय प्रमुखको जिम्मेवारीमा हुँदा ट्रेड यूनियनमा आबद्ध हुन पाउँदैनन् ।

महतो उपसचिवको दरबन्दी रहेको जिल्ला भूसंरक्षण कार्यालय महोत्तरीमा गत दुई वर्ष छमहिनादेखि आर्थिक अधिकारसहितको निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदै आउनु भएको छ ।

कार्यालय प्रमुख पनि हुने र सामूहिक सौदाबाजी गर्ने राष्ट्रियस्तरका ट्रेड यूनियनका महासचिव पनि हुने कार्य गैरकानूनी र अख्तियारको दुरुपयोग भएको प्रारम्भिक ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेचन महतोविरुद्ध छानबिनसमेत सुरु गरेको छ ।

यसअघि अकूत सम्पती कमाएको आरोपमा मञ्चका अध्यक्ष विनोद सिँहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँलाई पटक पटक बयानका लागि आयोगको कार्यालयमा हाजिर गराएको छ ।

महाधिवेशनमा भएको अनियमिततालाई ढाकछोप गर्नका लागि अध्यक्ष सिँह र महासचिव महतोले घरघरै पुगेर अघिल्लो मिति राखेर भएको माइन्यूटिङमा हस्ताक्षर गराइरहनु भएको छ । अध्यक्ष सिँहले गरेको अनियमित कार्यविरुद्ध असन्तुष्ट कर्मचारीहरु कानूनी कार्वाहीको प्रक्रियालाई अघि बढाउने भएपछि उहाँ राजधानीबाट बाहिरिनु भएको छ ।

उहाँले मधेशी दलका नेता तथा पत्रकारहरुमार्फत असन्तुष्ट पक्षलाई सम्झाइबुझाइ गर्न दबाबसमेत सिर्जना गरिरहनु भएको छ ।

अनियमितताविरुद्ध सम्बद्ध सरकारी निकाय र अदालतसमेत जाने तयारी गरिरहेका कर्मचारीहरुलाई मञ्चको बबरमहलस्थित केन्द्रीय कार्यालय गत केही सातादेखि लगातार बन्द भएपछि मर्का परेको छ ।

मञ्चका पूर्वसचिव एवं महाधिवेशन प्रतिनिधि शुभकान्त झाले अध्यक्ष विनोद सिहले नयाँ कार्यसमिति बनेको भनिरहनु भएको छ तर त्यो कसरी कुन विधिबाट बन्यो आफूलाई थाह नभएको बताउनुभयो ।

कुनै पनि कार्यसमिति बनाउनका लागि प्रकृया हुन्छ, प्रकृयाबाट बनेको कार्यसमितिले मात्र वैधानिकता प्राप्त गर्नेछ, उहाँले भन्नुभयो, महाधिवेशनको वैधानिकतामाथि प्रश्न चिन्ह खडा भएको छ । मञ्चको केन्द्रीय कार्यालय बन्द हुँदा अदालती प्रयोजनका लागि जुटाउनुपर्ने आवश्य कागज बन्दोबस्त हुन नसकेको र यो स्थिति सिर्जना गर्न अध्यक्ष सिँह जिम्मेवार रहेको आरोप लगाउनु भएको छ ।

मञ्चका रामप्रसाद मेहताले अवैधानिक रुपमा गठन भएको कार्यसमितिका कुनै वैधानिकता नहुने जिकिर गर्नुभयो । नयाँ कार्यसमिति गठन भएको कुरा आफ्नो जानकारीमा नरहेको बताउँदै उहाँले नयाँ कार्यसमितिका लागि त बन्दसत्र हुनुपर्छ त्यसको प्रकृया हुन्छ तर यी मध्ये केही नभएको बताएनुभयो ।

यो विवादको बारेमा अध्यक्ष सिहलाई पटक पटक सम्पर्क गर्दा उहाँको मोबाइल स्वीच अफ पाइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..