» » रिले अनसनका बारेमा यस्तो भन्नुहुन्छ मधेशका बुद्धिजिवीहरु


आठ दिनदेखि मधेशी, जनजाति, आदिवासी, महिलाहरु सहिद मञ्चमा रिले अनसनमा छन् । विहान ७ वजेदेखि साँझ ७ बजेसम्म नेताहरु अनसन बस्छन् । अनसनमा विभिन्न अन्तरक्रिया हुनुको साथै कविता गजल पनि हुने गरेको छ । ३९ दिनसम्म हुने यो रिले अनसनका कारण सरकारलाई फरक पर्छ कि पर्दैन । सरकारले सुनुवाई गर्छ कि गर्दैन, यदि गर्दैन भने के गर्नुपर्छ जस्ता जिज्ञासा मधेशका केही विद्धान तथा बुद्धिजिवीसँग राखेका थिए, प्रस्तुत छ उहाँहरुको विचार जस्ताको त्यस्तैः

यो सांकेतिक आन्दोलन हो
–तुलानारायण साह, विश्लेषक
मधेशी, आदिवासी जनजातिहरुले सहिद मञ्चमा रिले अनसन बस्नु सकरात्मक कुरा हो । तर यसले तत्कालै केही फाइदा हुँदैन । यो सांकेतिक आन्दोलन हो । यस प्रकारको सांकेतिक आन्दोलनले नेपालमा तत्कालै फाइदा कहिले भएको छैन । यसको प्रभाव देख्नका लागि वर्षौ कुर्नुपर्ने हुन्छ । जसरी विगतमा गजेन्द्रनारायण सिहले यस्तै अनसन गर्नुभएको थियो तर त्यो बेला कुनै प्रभाव नगरेपनि उपेन्द्र यादवको समयमा आएर त्यसको प्रभाव देखायो । त्यस्तै अहिले हुने यस्तो रिले अनसनले तत्कालै कुनै प्रभाव नदेखाएपनि अर्को पुस्तामा प्रभाव देखाउनेछ । यो निर्णायक आन्दोलन होइन । यसअघि यो भन्दा कडा आन्दोलन भयो, त्यसले केही भएन भने यो रिले अनसनले केही हुँदैन । सरकारलाई तत्कालै कुनै प्रभाव पार्दैन । अब मधेशको माग पूरा गर्ने कुरा काँग्रेस, एमाले र माओवादीमा भर पर्छ । यी दलहरुको इच्छा शक्तिमा भरपर्छ मधेशका माग । यी दलहरुले चाहेमा मात्र मधेशको माग पूरा हुन्छ तर यी दलहरुमा आफै एउटा धारणा छैन त्यसले गर्दा माग पूरा हुने सम्भवना कम छ । जबसम्म उनीहरुको स्वार्थ पूरा हुने सम्भावना देखिदैन तबसम्म मधेशको माग पुरा हुँदैन । तर एउटा कुरा सत्य हो कि मधेशले आन्दोलनको नाममा जेजस्तो गतिविधि हुन्छ त्यसले मधेशलाई नै फाइदा हुन्छ ।



शक्ति सञ्चय गर्ने माध्यम हो
–विजयकान्त कर्ण, पूर्व राजदूत
मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिमले केही दिनदेखि शुरु गरेको रिले अनसनले विश्वको ध्यानाकर्षण गराएको छ । यो आन्दोलन एकदमै सकारात्मक हो । मधेशमा आन्दोलनका लागि फेरि एकपटक शक्ति सञ्चयका लागि अवसर प्राप्त भएको छ । यो निर्णाय आन्दोलन होइन । यो शक्ति सञ्चय गर्ने माध्यम हो । राज्यलाई ध्यानाकर्षण गराउने माध्यम हो । यस प्रकारको आन्दोलनले राज्यमाथि तत्कालै केही प्रभाव नपारेपनि आन्दोलनका लागि शक्ति प्राप्त हुन्छ । शान्तिपूर्ण आन्दोलनको यो सबभन्दा उत्तम नमुना हो, यसले क्षमता प्राप्त गर्छ । आफ्नो अधिकार माग्ने यो पनि एउटा महत्वपूर्ण माध्यम हो । विश्वमा यसप्रकारको आन्दोलनले प्रभाव देखाएको छ । कतिपय ठाउँमा राज्यलाई झुकाएको पनि छ । रिले अनसनको महत्व धेरै ठूलो हुन्छ तर राज्यले बुझेको छैन । बुझोस पनि कसरी ? यो जातिवादी अर्थात नश्लवादी सरकार हो । यसले मधेशको समस्या समाधान गर्न चाहेका छैन । राज्य मधेशप्रति कहिले सकारात्मक देखिएन । सकारात्मक सोचका साथ मधेशलाई हेरेको भए बुझेको भए आज यो समस्या आउने थिएन । राज्य नै पूर्वाग्रही भएपछि कसको के लाग्छ ।



यो निर्णायक आन्दोलन होइन
–सुरेन्द्र महतो, अधिवक्ता
रिले अनसन भनेको आन्दोलनको निरन्तरता हो भन्ने बुझ्नु पर्छ । आन्दोलन रोकिएको छैन भने यो संकेत हो । ठूला ठूला आन्दोलन भइसकेपछि पनि राज्यले नसुनेपछि त्यसमा दवाव बढाउनका लागि यसप्रकारका आन्दोलनहरु हुन्छन् । सहिद मञ्चमा भइरहेको रिले अनसन त्यही नै हो । अहिले सहिद मञ्चमा जारी रिले अनसनले राज्यलाई तत्कालै प्रभाव नपारेपनि आन्दोलनको निरन्तरता हो भने बुझ्नुपर्छ । यो निर्णायक आन्दोलन होइन भने कुरा सबेलाई थाह छ । यस प्रकारको आन्दोलन निर्णाय हुँदैन । यो दवाव बढाउने आन्दोलन मात्र हो । आन्दोलनका विभिन्न स्वरुप मध्येका एक स्वरुप यो पनि हो । यसले माग प्राप्त हुन्छ भने बुझ्नु हुँदैन । सरकारलाई ध्यानाकर्षण गराउन सकिन्छ तर माग पूरा गर्न यो आन्दोलनले बाध्य हुन्छ भने छैन अर्थात यो आन्दोलन निष्कर्षमा पुग्छ भने छैन तर विश्वलाई अवश्यै ध्यान खिच्न सक्छ । लाखौ मधेशी जनता सडकमा आएर नाकाबन्दी र आमहड्ताल गर्दा नसुन्ने सरकारले यो शान्तिपूर्ण आन्दोलनले झन के सुन्छन् होला । हो, यसले राष्ट्रिय, अन्तरराष्ट्रिय जगतलाई ध्यान तान्न सक्छ । यसले राष्ट्रिय, अन्तरराष्ट्रियलाई दवाव बढाउन सक्छ तर तत्कालै फाइदा हुँदैन ।



अनसनले परिवर्तन ल्याएको उदाहरणहरु छन् 
–जय निशान्त, नागरिक अगुवा
लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलनको धेरै महत्व हुन्छ । शान्तिपूर्ण आन्दोलनले विश्वलाई ध्यानाकर्षण गराउन सक्छ र माग पूरा गराउन दवाव बढाउन सक्छ । राजधानीको सहिद मञ्चमा शुरु गरिएको रिले अनसन सर्वथा उचित प्रकृया हो । शान्तिपूर्ण आन्दोलनको यो भन्दा अर्को कुनै स्वरुप हुनसक्दैन । यो अनसनले अवाज सुन्छ, यो प्रभावकारी पनि हुन्छ तर समय लाग्छ । समय लागेपनि घरबराउने कुरा हुँदैन परिणाम सही आउँछ । ढिलो हुन्छ तर परिणाम सकारात्मक हुन्छ । महत्मा गाँधीले सत्याग्रहमार्फत भारतलाई स्वतन्त्र गराएको पनि उदाहरण छ । विश्वमा यस्ता थुप्रै उदाहरणहरु छन् जो अनसले पनि परिवर्तन ल्याई दिएका छन् ।


आन्दोलन जारी राख्ने एउटा माध्यम
–सुनिल रञ्जन, अधिवक्ता
बन्द, हडताल, तोडफोडभन्दा यो रिले अनसन धेरै राम्रो हो । यो जतिको शान्तिपूर्ण आन्दोलन अरु हुनै सक्दैन । जबसम्म माग पूरा हुँदेन, तबसम्म आन्दोलन जारी राख्ने यो एउटा उत्तम मोडल हो । यो भन्दा कडा आन्दोलन भइसकेको छ । ६–६ महिनासम्म मधेशमा आन्दोलन भयो । नाकाबन्दीदेखि लिएर आमहड्तालसम्म भयो । विश्वलाई ध्यानाकर्षण गर्ने खालको आन्दोलन मधेशमा भयो यो भन्दा कडा आन्दोलन अरु हुँदैन । त्यस प्रकारको आन्दोलनले सरकार टेरेन भने अनसनले के टेर्ला र । तर दवाव बढाउने उच्चतम माध्यम हो । लाज शरम नहुने यो सरकारका लागि जस्तो सुकै आन्दोलन गरेपनि केही हुँदैन । सकारात्मक सोच हुनेका विरुद्ध आन्दोलन भयो माग पूरा सम्भावना धेरै हुन्छ तर जो जनताप्रति पूर्वाग्रही हुन्छ भने त्यसको विरुद्धमा जस्तोसुकै आन्दोलन गरेपनि केही हुँदैन । विश्वमा थुप्रै ठाउँमा अधिकारका लागि युद्ध नै भइरहेका छन् । दिन दिनै मान्छेहरु मरेका छन् तर सोच सकारात्मक नभएको कारण सुनुवाई भइरहेको छैन । मधेशसँग पनि त्यही समस्या छ । राज्य नै मधेशप्रति सकारात्मक देखिएको छैन । नश्लवादी चिन्तन राज्यमा देखिएको छ ।



अनसन छाडेर मधेश जानुपर्छ 
रामकेवल साह, नयाँ शक्ति
सहिद मञ्चमा संघीय गठबन्धनका नेताहरु जेठ २५ गतेदेखि रिले अनसनमा बसेका छन् । तर सरकारले कुनै सुनुवाई गरेको छैन । त्यसैले मेरो विचारमा यसले केही प्राप्त हुनेबाला छैन । मधेशमा ६ महिनासम्म त्यस्तो घनघोर आन्दोलन गर्दा पनि नसुन्ने सरकारले यो शान्तिपूर्वक सहिद मञ्चमा बसेकाको कुरा कुनै पनि हालतमा सुन्दैन । नयाँ शक्ति न काँग्रेसले ऐक्यवद्धता जनाई सकेको छ । अब यी दुई दलले पहल लिएर सरकारमाथि दवाव दिएर मधेशी, आदिवासी जनजातिको माग पूरा गराउनुपर्छ । यसमा माओवादीको पनि मुख्य भूमिका हुनुपर्छ । पछिल्लोसमय मातृका यादव माओवादीमा जानु भएको छ । उहाँ मधेशका चर्चित नेता हुनुहुन्छ । मधेशमा बेसमा रहेर राजनीतिक गर्दै हुनुहुन्छ भने उहाँले आफ्ना पार्टीमा दवाव दिएर मधेशको मागप्रति दललाई गम्भीर बनाउनुपर्छ, यो पनि एउटा उपाय हो । अर्को कुरा नकतै सत्ताको खेल भित्र भित्रै शुरु भएको छ । कतै नकतै मधेशवादी दलहरु पनि भित्रभित्रै लागेको जस्तो लाग्यो नत्र मधेशमा भइरहेको आन्दोलनलाई छाडेर किन काठमाडौ पस्यो । उनीहरुले सरकार परिवर्तनको खेलमा दुई पटक खुलेर लागेको कुरा पनि प्रष्ट देखिएको छ । त्यसैले कतै नकतै यो आन्दोलन पनि सत्ताकै भ्रयागं हो कि पनि शंका उपशंका भइरहेको छ । नैतिकता नभएको सरकारले यो खालको आन्दोलनलाई महत्व दिँदैन । अनसनको आफ्नै महत्व छ तर यो सरकारले यो अनसनलाई बुझदैन त्यसलै यसलाई छाडेर मधेश जानुपर्छ वा अस्ति काठमाडौमा सिहदरवार घेरेको जस्तो कार्यक्रम गर्नुपर्छ ।



आन्दोलनलाई निरन्तरता दिने एउटा स्वरुप हो 
–रामकुमार कामत, पत्रकार
जब कुनै संघर्ष रिले अनसनमा परिणत हुन्छ, अनि बुझ्न सकिनछ आन्दोलन लामो जान्छ । सत्याग्रह हो । यो यति समय वा त्यति समयका लागि मात्र हो भन्न सकिदैन । यो लामो लडाई हो । रह्यो कुरा यो रिले अनसन कतिको प्रभावकारी हुन्छ । मधेशवादी दलहरु आदिवासी जनजातिसँग मिलेर आन्दोलन गरिरहेका छन्, त्यसले कहिलेसम्म कसरी साथ दिन्छ त्यसमा भर पर्छ । काठमाडौ केन्द्रीत आन्दोलन जनजातिको भरमा भइरहेको छ । त्यसमा को कति सहभागि भएका छन छैन त्यो पछिको कुरा हो तर जनजातिहरुसँग मिलेर गरेको आन्दोलनले राम्रो सन्देश गएको छ । मधेशीमाथि लाग्दै आएको क्षेत्रियतावादी, विखण्डनवादी आरोपको खण्डन भएको छ । मधेशवादी दल पहाडसम्म आन्दोलन गर्नसक्छ, हिमालमा पनि आन्दोलन गर्न सक्छ भने देखाइसकेको छ । रिले अनसनले त सुन्दैन तर आन्दोलनलाई निरन्तरता दिनका लागि आन्दोलनको यो राम्रो स्वरुप हो । सरकारमाथि एउटा नैतिक दवाव पनि परिरहन्छ र आन्दोलनकारीलाई आन्दोलनमा छु भनि लागि रहन्छ ।



काठमाडौबाट खालि हात फर्किनु हुँदैन
–चन्द्रकिशोर, पत्रकार एवं लेखक
२०६४ माघमा भएको आन्दोलनका कारण काठमाडौ अघोषित नाकाबन्दी भएको थियो त्यो बेला मैले एउटा पत्रिकामा लेखेका थिए कि आन्दोलनले गर्दा काठमाडौवासीले जुन दुख पाएको छ त्यो राम्रो होइन बरु आन्दोलनको स्वरुप परिवर्तन गरेर काठमाडौ केन्द्रीत आन्दोलन गर्दा राम्रो । अर्थात म काठमाडौ केन्द्रीत यसप्रकारको आन्दोलन होस् भनि पहिलादेखि नै भन्दै आएको हुँ । र, आज यस्तो भइरहेको छ । यो राम्रो काम हो । आन्दोलनमध्येका यो राम्रो स्वरुप हो । यसलाई उत्कृष्टस्तरको आन्दोलन मानिन्छ । जुन स्तरको यो आन्दोलन हो, त्यो स्तरको चेतना पनि हुनुपर्छ जुन राज्यसँग छैन । राज्यले त्यो स्तरबाट यो आन्दोलनलाई लिएको छैन । जेठ २५ गते सहिद मञ्चमा रिले अनसन भइरहेको छ तर  काठमाडौलाई कुनै दवाव परेको छ । रिले अनसनले काठमाडौको जनतामाथि दवाव पर्नुपर्यो त्यो परेको छैन । जबसम्म काठमाडौका जनतामाथि दवाव पर्दैन तब आन्दोलनको गति लिन सक्दैन । अर्को कुरा, आन्दोलनसँगै जुन प्रकारको गतिविधि हुनुपर्ने हो त्यो प्रकारको गतिविधि भएको छैन । आन्दोलनसँग काठमाडौवासीसँग अन्तरक्रिया, पत्रकारसँग अन्तरक्रिया, अन्य दलका नेताहरुसँग अन्तरक्रिया कार्यक्रमहरु गर्यो भने काठमाडौवासीलाई छुन सक्छ, काठमाडौमाथि दवाव बढ्न सक्छ । काठमाडौबाट यो आन्दोलन खाली हात फर्कियो भने राम्रो हुँदैन । तर काठमाडौका केही यस्ता समूह छन्, यस्ता वर्ग छन् जसले चाहन्छन् कि मधेशको आन्दोलन खाली हात फर्कियोस् । सकभर काठमाडौमा मधेशीलाई इगेंज गर्नुपर्छ । मधेशको मागप्रति विचार विमर्श हुनुपर्छ र चाँडै टुगों लगाउनुपर्छ ।


काठमाडौमा अल्झाएर राख्न चाहेका छन् 
–बलराम यादव, प्रवक्ता, संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति
मधेशी, आदिवासी जनजातिले शुरु गरेको अनसनले आफ्नै ठूले सन्देश दिएको छ । यदि राज्यले यो सन्देश बुझ्न सक्थ्यो भने आन्दोलन सफल भइसक्थ्यो तर नैतिक पतन यो सरकारले यस्तो आन्दोलनको मर्म के बुझ्नु । रिले अनसनको मर्म बुझेको छैन । मर्म नबुझेको कारण यो अवस्था भएको हो । यदि अनसन, सत्याग्रहको मर्म सरकारले बुझेको भए नन्दकिशोर अधिकारीहरु मर्ने थिएन । विगतमा गजेन्द्रनारायण सिहले पनि रिले अनसन गरेकै हो तर सुनेन । पछिल्लो समय राजेन्द्र महतो र सरिता गिरी पनि शान्ति बाटिकामा अनसन बसिसकेका नेता हुन् । केही भएन । त्यसैले यो आन्दोलनको स्वरुप राम्रो भएपनि सुनुवाई हुने सम्भावना कम छ । तर एउटा कुरा अवश्य देखिन्छ कि यो अनसनले होइन, अनसनबाट केही प्राप्त भएन यिनीहरु मधेशी फर्किन सक्छ । मधेश गयो भने पुनः आन्दोलन चर्किन सक्छ सम्झेर सरकार तर्सेका छन् । सकभर कुनै नकुनै बहानामा मधेशी दललाई काठमाडौमा अल्झाएर राख्न चाहन्छ । यो कुरा मधेशी दलहरु बुझेका छन् । तर, अहिले त्यतिकै फर्किदैन । मधेशमा अहिले आन्दोलन गर्न सम्भव छैन । वर्षातको समय भएका कारणले खेती किसानीमा जाने भएकाले आन्दोनल चाहेको जस्तो उठाउन सक्दैन त्यसैले भदौं, असोजसम्म उतै अल्झाएर राख्दा राम्रो ।

सहारा टाइम्स पत्रिकाबाट

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..