» » ठूला दलमा सत्ताका लुछाचोडी, मधेशी दल भन्छन् ‘हाम्रो लागि हर्ष न विष्मात’


काठमाडौं, जेठ २४ गते । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले राष्ट्रिय सहमतिको सरकार मधेशी मोर्चाको लागि हर्ष न विष्मात् भएको टिप्पणी गर्नुभएको छ
राजधानीमा आयोजित एका कार्यक्रममा उहाँले भन्नुभयो, ‘हाम्रो माग पूरा नभएसम्म हामीलाई सरकार गठनबारे कुनै चासो छैन, सहमतिको सरकार गठन गर्ने विषय हाम्रो लागि कागलाई बेल पाक्यो, हर्ष न विष्मात जस्तै हो ।’
अध्यक्ष यादवले मधेशी मोर्चाको माग नै संविधानको संशोधन वा पूनःलेखन भएको भन्दै त्यो माग पूरा नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने बताउनुभयो । उहाँले भन्नुभयोे, ‘व्यक्ति जो भएपनि हाम्रो लागि काँग्रेस, एमाले र माओवादी–केन्द्र सबै एकै हुन्, जुन पार्टीको नेतृत्वमा सरकार गठन भएपनि हामी जाँदैनौ ।’
यादवले तीन दल मधेशी, आदिवासी, जनजाति लगायतको मागप्रति गम्भिर नभएको आरोप लगाउँदै भन्नुभयोे, ‘तीन दलको अकमण्र्यताका कारण मुलुक अनिर्णयको बन्दी बनेको छ, यही अवस्था रह्यो भने मुलुक ठूलो द्धन्द्धमा फस्न सक्छ ।’

यसैबीच नेपाली काँग्रेसका नेता महेन्द्र यादवले शक्ति सन्तुलनको लागि भएपनि नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनु भएको छ ।
नेता यादवले नेकपा एमाले र एमाओवादीले मुलुकको महत्वपूर्ण पद सम्हालिरहेको उल्लेख गर्दै आफ्नो पार्टी सबैभन्दा ठूलो संसदीय दल भएको कारणले पनि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न पाउनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सभापति शेर बहादुर देउवाले गर्ने समेत उहाँले खुलाउनुभयो ।

यादवले भन्नुभयो, ‘शेरबहादुर देउवावाहेक अरु नेताले मुलुकको निकाश दिनै सक्दैनन्, विगतमा पनि उहाँले मिलिजुली सरकारको नेतृत्व कुशल रुपमा गरिसक्नु भएको छ, त्यसैले अब बन्ने सहमतिको सरकार पनि उहाँकै नेतृत्वमा बन्नुपर्छ, यसमा काँग्रेस एक छ, हामीभित्र कुनै विवाद छैन ।’
देउवाको नेतृत्वमा सहमतीय सरकार गठन भए मधेशको समस्याको समाधान समेत हुने विश्वास व्यक्त गर्दै उहाँले आन्दोलनरत मधेशी मोर्चामात्रै नभएर छिमेकी तथा अन्र्तराष्ट्रिय समूदायले समेत देउवालाई नै विश्वास गर्ने दावी गर्नुभयो ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्ने र भुकम्प पीडितहरुलाई राहत तथा पूर्नस्थापना एवम् पूर्ननिर्माण कार्यमा उदासिन मात्रै नभएर पूर्ण रुपमा असफल भएको समेत यादवको टिप्पणी थियो ।

उहाँले भन्नुभयो, ‘काँग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई कार्यान्वयन गर्ने कुरामा वर्तमान सरकार पूरै असफल भएको छ, आन्दोलनरत मधेशी मोर्चासँग ठोस वार्ता नगर्ने अनि मुलुकलाई अनिर्णयको बन्दी बनाउने काम भएको छ, त्यतिमात्रै होईन काँग्रेसले जम्मा गरेको पुँजीलाई वर्तमान सरकारले कार्यकर्तालाई छर्ने काम गरेको छ ।’
नेकपा एमालेका नेता केशव बडालले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने स्पष्ट पारेका छन् ।

नेता बडालले ओलीको नेतृत्वमा सरकार बनाउँदा नै मुलुक र जनताको हित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमिकतालाई मजबुद बनाउन पनि ओलीजीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।’

उहाँले यसअघि आफूहरुले देउवा र प्रचण्डको नेतृत्वको सरकार समेत हेरिसकेको उल्लेख गर्दै ओलीको नेतृत्वमा सरकार बनाउँदा सबै पक्ष खुशी हुने जिकिर गर्नुभयो ।

यद्यपी उहाँले राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण भए व्यक्ति जो कोही बनेपनि त्यसमा नेकपा एमाले बाधक नबन्ने स्पष्ट पार्नुभयो ।

संविधान कार्यान्वयन गर्नेदेखि लिएर अन्य विषयमा समेत प्रतिपक्षी दल नेपाली काँग्रेसको महत्वपूर्ण भूमिका हुने भन्दै ओली नेतृत्वकै सरकारमा काँग्रेस सहभागी हुनुपर्ने बताउनुभयो ।

ओली अत्यधिक बहुमतबाट प्रधानमन्त्री भएको भन्दै उहाँले तत्काल राजिनामा दिनुपर्ने कुनै कारण नभएको समेत नेता बडालले दाबी गर्नुभयो ।

बडालले बजेटपछि सरकारको नेतृत्व प्रचण्डले गर्ने भन्ने कुरा हल्ला मात्रै भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जे हो हामीबीच ९ बुँदे सहमति भएको हो, यो भन्दा बाहेक तीन बुँद प्रस्ताव पनि आएको थियो तर तर केपी ओलजीले ठाडै अस्विकार गर्नुभएको थियो जुन कुरा प्रचण्डजीलाई पनि थाहा छ, त्यसैले तीन बुँदे भद्र सहमति भएको थिएन तर कुरा आएको थियो ।’

नेकपा (माओवादी) केन्द्रका नेता दिनानाथ शर्माले राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण भएमात्रै प्रचण्ड प्रधानमन्त्री बन्ने नभए ओलीजीलाई नै निरन्तरता दिने स्पष्ट बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहमतिको सरकार गठन भएमात्रै हाम्रो अध्यक्ष प्रधानमन्त्री बन्नुहुन्छ, अन्यथा बहुमतीय सरकारको नेतृत्वमा हामी जाँदैनौ ।’

नेता शर्माले राष्ट्रिय मुद्दा सम्बोधन गर्ने, चुनाव समयमै सम्पन्न गराउने, मधेश आन्दोलनको सम्बोधन गर्ने, भूकम्प पीडितहरुलाई लागि काम गर्ने र पूर्ननिर्माणको कार्यलाई सशक्त बनाउने लगायत महत्वपूर्ण कार्यहरु प्रभावशाली ढंगले गर्ने प्रतिबद्धता आए केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनेपनि आफ्नो पार्टीलाई कुनै आपत्ति नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयोे, ‘तर अहिलेसम्मको सरकारको स्थिति हेर्ने हो भने राष्ट्रिय मुद्दाहरु गौण भएका छन्, व्यक्तिगत धन्धाहरु चलिरहेका छन्, पार्टीगत, व्यक्तिगत गुटबन्दी देखिएको छ ।’

शर्माले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व काँग्रेस, एमाले र माओवादी केन्द्र जो कोहीबाट भएपनि त्यसमा कसैले विरोध गर्न नहुने सुझाव दिए ।

बजेट पारित भएपछि प्रचण्डको नेतृत्वमा सरकार निर्माण गर्ने भद्र सहमति नेकपा एमालेसँग भएको दाबी गर्दै नेता शर्माले भन्नुभयोे, ‘हाम्रो देशमा अहिलेसम्म भद्रसहमतिको कार्यान्वयन भएको ईतिहास छैन, भद्र सहमति भनेको नै अलिखित सहमति हो, यहाँ लिखित सहमति त कार्यान्वयन हुँदैन अब कहाँबाट मौखिक सहमति कार्यान्वयन हुनु?’

नेकपा एमालेकै प्रभावशाली नेता माधव नेपाल र झलनाथ खनालले भद्र सहमति भएको स्विकार्दै अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीले त्यसको विरोध गर्नुभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यो नेकपा एमालेभित्रको आन्तरिक कलह हो ।’


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..